यस्तो छ बर्मुडाका नेपालीको कथाब्यथा

[बर्मुडा भन्ने देश सुन्नु भएको छ ? कहाँ होला त्यो फुच्चे देश ? कति होलान त्यो टापू राष्ट्रमा नेपाली ? र ति के गर्दै होलान ? त्यस्तो टापूमा कुन नेपाली होला पहिले पुग्ने ? के कसरि दिन काट्छन त त्यहाँका नेपालीले ? के सोच्छन त्यहाँका नेपाली आफ्नो देशको परिस्थितिबारे ? कहिँ कहिल्यै चर्चा नहुने त्यो देशका नेपालीबारे नेपाल प्लसका एक जना पाठक नारायण अर्याल ले जानकारी पस्कने जमर्को गरेका छन ।]
 

-नारायण अर्याल, बर्मुडा
 
barmuda-3.jpg

(लेखक नारायण अर्याल) ।

देशको अवस्थाले गर्दा अन्य धेरै नेपाली झैं म पनि पहिले खाडी राष्ट्र दुबाई आएको थिएँ । मानिसका इच्छा, आकांक्षा र उद्देश्य कहिल्यै पूरा नहुने रहेछन । नत मानिस स्थिर रहन रुचाउँछ एकै ठाउँमा । पहिलो पटक पाइला टेक्दा रमाएको म पनि दुबाईमा स्थिर रहन सकिन । र त्यतिबेला प्राप्त सेवा, सुबिधा र अवसरबाट टाढाको खोजि गर्दै म यो टापू आइपुगेको हुँ । मैले यहाँ आउँदा इन्टरनेट सञ्जाल सुबिधा भरपुर उपयोग गरेको थिएँ-काम खोज्न, भिसा लिन लगायत यहाँका अन्य प्रावधानहरु बुझ्न ।
 
त्यसो त, हामीले यहाँ आएर कामगर्ने अनुमति (वर्क परमिट) हुँदाहुँदैपनि अन्य समस्या झेल्नुपर्छ । किनभने यहाँ आउन अमेरिका, क्यानडा वा बेलायतको ट्रान्जिट भिसा लिनुपर्छ । किनकि यो टापूमा आइपुग्न तिनै देशका बिमानस्थल ओर्लनुपर्छ । तैपनि यहाँको भिसा पाइसकेपछि भने बेलायत वा अमेरिकाको भिसा लिएर यहाँ आइपुग्न त्यति कठिननै चाहिँ पर्दैन । किनभने यो मूलुक अझैपनि बेलायतकै अधिनमा छ । बर्मुडा सानो टापु हो । यो टापू अमेरिकाको न्युयोर्कबाट ६३५ माइल टाढा पर्छ । तर त्यहाँका मानिसहरुले भने क्यारिबेनमा भएझैं महसुस गर्छन । यहाँ १२ वर्ष देखिको नेपाली इतिहास छ । त्यतिबेला यो टापूमा भाग्य र अवसर खोज्दै आउने पहिलो नेपाली थिए राम थापा ।देखिने आधारले त्यसै भन्छन । उनी यो ठाउँमा आफ्नै बल, बुद्दी, मेहनत र कोसिसले  आइपुगेका थिए । जसरि तिन वर्ष अघि म यहाँ आएँ । र अधिकांश नेपालीहरु यहाँ त्यसैगरि आउने गरेका छन । यहाँ अहिलेसम्म करिब ६० जना नेपालीहरु छन ।

 barmuda-7.jpg

यहाँ आउनका लागि मैलेपनि बिभिन्न प्रावधानहरु बुझेर तिन जना साथीहरु ल्याएँ । त्यसरि आफ्ना साथिभाइ, आफन्त र इष्ट्रमित्रहरुलाई सहयोग गरेर अन्य नेपालीहरुलेपनि ल्याएका छन । यहाँ सबै क्षेत्र, जाति भाषा र समूहका नेपालीहरु छरिएर रहेका छन । ब्राह्मण, क्षेत्री, नेवार, तामाङ, मधेशी सबै जात र समूदायको मिश्रण छ । तर यो र त्यो जात, भिन्न भाषा, पहाडे र मधेशी आदि कुनै भिन्नता छैन । सबै नेपालीहरु एक अर्कामा मिलेर बसेका छन । यहाँ उपयुक्त याम (गुड सिजन) का बेला नेपालीले तिन हजार डलरसम्म कमाउँछन । हुन त त्यो कहाँ र कस्तो काम गरिन्छ भन्नेमा पनि भर पर्छ नै । अनुपयुक्त भनिने याम (अफ सिजन) मा एकदेखि दुइ हजार डलर कमाउँछन । कमाइ राम्रो देखिएपनि यहाँको समस्या के हो भने एउटा कोठाकै प्रति महिना करिब एक हजार पाच सय डलर भाडा तिर्नुपर्छ। त्यति तिर्दापनि दुइ जनाभन्दा बढि बस्न पाइँदैन । नियम र कानुन अति कडा छन । तैपनि अमेरिका जस्तै स्वतन्त्र मुलुक हो यो पनि । यहाँ काम गरिरहेकाहरुले अमेरिकी भिसा सजिलै पाउँछन । त्यति सजिलो भएकैले गत वर्ष अमेरिका घुमेर आएको म यस वर्षपनि जाउँ जाउँ लागिरहेको छ ।
 
अलि नमजाको कुरा त के छ भने आफ्नै देश जान चाहिँ हामीलाई निकै टाढा पर्छ । बेलायत हुँदै जानु पर्ने हुनाले त्यहाँ पुगेपछिपनि सात घण्टा लाग्छ । यहाँका नेपालीहरु फुर्सद र छोटो बिदाका दिन पौडी खेलेर, समुद्रमा टहलाएर, माछा मारेर बिताउँछन । कोही नेपालका समाचार हेरेर कटाउँछन । बिदेशको भुमीमा दुइ चार पैसा कमाएपनि, भौतिक सुबिधा रामै लिएपनि हरेक क्षण मात्रिभुमिमा के भइरहेकोहोला भन्ने कौतुहलता रहिरहन्छ । चासो, चाख र चिन्ताले पछ्याइरहन्छन हरेक क्षण । अनि उनीहरु बीबीसी नेपाली सेवा, सगरमाथा, टिभी र नेपालप्लस जस्तै ब्लग र अनलाइनहरु हेर्छन।
 
barmuda-2.jpg

वरिपरिका सबै नेपालीहरु भेट्नु एकै साथ मुस्किलको कुरा हो । तिनलाई कामले हत्तपत्त फुर्सद दिँदैन । त्यसैले दशै, तिहार र नयाँ वर्षमा भने सकभर सबैजसो नेपालीहरु एकै ठाउँ जम्मा हुने कोसिस गर्छन । त्यस्तोबेला आफ्ना सुख दुख साट्छन । अनुभवहरु बाँड्छन । नाचगान गरेर मन फुरुङ्ग बनाउँछन । सहयोगका उपायहरुबारे चिन्तनमनन गरेर बिताउँछन ।
 
मेरो यहाँको अनुभव के छ भने यो एउटा सुन्दर ठाउँ हो संसारकै । त्यो बिदा मनाउन र काम गर्नकालागि । प्रक्रितिले यो ठाउँलाई निकै सिँगारेको छ । अध्ययनका लागि यो ठाउँ त्यति उपयुक्त छैन । किनभने यहाँ त्यस्ता विश्व बिद्दालय नै छैनन । यहाँ क्याम्पहरु छन र तिनले क्याम्पस स्तरको पढाइ सकेपछि अमेरिका, बेलायत वा क्यानडा जान्छन विश्वबिद्दालय स्तरको पढाइकालागि । यो एकदमै पर्यटकिय ठाउँ हो र यहाँ आउने पर्यटक मध्येपनि झण्डै ८५ प्रतिशत त अमेरिकि हुने गर्छन ।  ति कि त बिमान वा पानी जहाजबाट आउने गर्छन ।
 
barmuda-_8_jpg.jpg

के सोच्छन त यहाँका नेपाली आफ्नो देशको राजनितिबारे ?
 
हुनत मैले सबै नेपालीको धरणा यहि हो भन्न सक्ने कुरा भएन । आआफ्नै हुन्छन नै तर्क र धारणा । तर साथिभाइहरुसँग छलफल हुँदा म के पाउँछु भने उनीहरु नेपालको अवस्था देखेर दिक्क मान्छन । थुप्रै वर्षदेखि उहि र उनै नेता सत्तामा बसिरहेका छन । उनीहरुको पुरानै चिन्तन, पुरानै कार्य शैली र असक्षमताको कारणले देशमा शान्तिले दिर्घकालिन बाटो समाउन पाउदैन । उनीहरुमा नयाँ द्रिष्टिकोण नै छैन देशलाई अग्रगमनतिर लैजाने, बिकासगर्ने, सब्रिद्दशाली बनाउने । उनीहरु जताबाट जसरि हुन्छ कुर्सी मा मात्रै बस्न चाहेको देखिन्छ । हामीलाई त यस्तै लाग्छ।
माओवादीले केहि गर्छन कि जस्तो लाग्थ्यो । तिनलाई एक पटक मौका दिए केही गरेर देखाउँछन कि भन्ने आशा थियो। तर यो कुर्सीको हानथाप र मोहले गर्दा तिनलाई सरकार बनाउन देलान जस्तो छैन । हामी नेपालको समाचार हेर्‍यो कि हरेक दिन नेपालमा हड्ताल भएको खबर पाउँछौं । यस्तो गतिबिधी यो देशको बिकास, अग्रगमन र हामी जस्ता सर्वसाधारणका लागि निकै कठिन कुरा हो । यस्तो हुँदापनि नेताहरुलाई मतलबै छैन । तिनले त आफ्नै भविष्यका बारेमा मात्र सोच्छन । गत निर्वाचनका बेला म नेपाल गएको थिएँ । देशको अवस्था देखेर म अवाक भएँ । अनि चुनाव हुनुभन्दा दुइ दिन अघि म फर्किएँ । मलाई साँच्चिनै भोट हालौं हालौं जस्तो नै भएन । देखिहाल्नु भो नी नजिता कस्तो आयो । मैले नेपालमा यस्ता क्षणहरु देखें, भेटें कि जुन स्विकारयोग्य नै थिएनन । पचाउनै नसकिने खालका थिए । त्यसैले बरु काममै फर्किनु राम्रो यो भोट पर्खिनु भन्दा त भन्ने लाग्यो ।
 
मेरो द्रिष्टिकोणमा नेपालमा यसो गर्दा कसो होला ?
 
-नगरि नहुने अवस्थामा बाहेक कसैले पनि हड्ताल गर्नुहुन्न ।
-ब्यापारी र उद्दोगपतिहरुलाई लगानि गर्न बोलाएर रोजगारी स्रिजना गर्नुपर्छ ।
-बिदेशी सामान भित्याउँदा महँगो कर लिनु पर्छ । स्वदेशी सामान बिदेश लैजाँदा कर निशुल्क गर्नु पर्छ ।
-अर्काको देशसँग पैसाको सहयोग माग्ने, हात थाप्ने गर्नु हुन्न । हामी आफैं कसरि निर्भर हुने, कसरि पैसा कमाउने सोच्नुपर्छ ।
-सबैलाई आदर र सम्मान गर्नुपर्छ । सबैको सेवा गर्ने परिपाटि बसाल्नुपर्छ ।
-भ्रष्टाचार सबैतिर छ । यो सबैलाई थाह छ, कसैले लुकाउनु पर्दैन । त्यसको अन्त्य गरिनुपर्छ ।

तपाइँको प्रतिक्रिया