के हुन्थ्यो सहमती ? झन भिड्ने मनशाय !

आज तिनै प्रमुख दलका नेतालाई एकै थलोमा बोलाएर सहमती गराउने प्रयास गरेको थियो उद्योग वाणिज्य महासंघले । तर नेताले आआफ्नै डम्फु बजाए । एक अर्कालाई दोष लगाए । उहि बासी अडान तेर्स्याएर हिँडे आफु चोखो बन्ने प्रयास गर्दै । बरु बहस सकिए लगत्तै त झन दुई पक्ष भिडन्ततिरै पो लाग्न थालेको संकेत देखा पर्‍यो । कारण ? सरकारले मात्रै सुरक्षाका सबै अंगलाई उच्च सतर्कमा राखेकोमा हिजो साँझ माओवादीलेपनि क्यान्टोन्मेटका सबै जनसेनालाई उच्च सतर्कमा बस्न आव्हान गरेर भिडन्त हुन सक्ने संकेत दियो ।

सरकारले माओवादीको आम हडताल हिंसात्मक हुन सक्ने भन्दै सबै सुरक्षाका अंगलाई उच्च सतर्कमा रहन निर्देशन दिएको थियो । नेपाली सेनालाई समेत त्यसैगरि रहन निर्देशन दिएको खबर बाहिर आयो । अनि ? माओवादीपनि के कम ? ब्रिहद शान्ति संझौता अनुसार नेपाली सेनाले जे पनि गर्न हुन्छ भने हामी के कम भन्ने सोचेर होला । हिजो जनसेनाका कमाण्डर नन्द किशोर पुन: ‘पासाङ’ ले हिजो आफ्ना जनसेनालाई रक्षात्मक कारवाहीका सम्पूर्ण उपाय उपयोग गरेर प्रतिरोध गर्न सक्ने अवस्थामा रहन निर्देशन जारी गरे।  सरकारले घर बिदामा गएका सुरक्षाकर्मीलाइ फिर्ता बोलाउने र बिदा नदिने निर्णय गरे जस्तै पुनले पनि जनसेनालाई त्यस्तै निर्देशन दिएका छन् आफ्ना जनसेनालाई ।

मई १८ मा गरिने प्रदर्शन र त्यसपछिको आम हड्तालका लागि त्यसरि उच्च सतर्कमा रहन उनले निर्देशन जारी गरे । यसलेपनि देखायो, बाहिर बाहिर दलहरुले सहमती सहमती, हामी हदै लचिलो बन्न तयार छौं भने पनि दुबै पक्ष भिडन्तकै मनशायमा छन् । उनीहरु जनतालाई ढाँट्न मात्रै सहमतीको कुरा गरिरहेका छन् तर चाहेका भने दुबै पक्षले युद्द नै हो । सरकारले भिड्ने मनशायले सुरक्षा अंगलाई बढि उत्तेजित बनाउँदै छ । उता माओवादीले त्यसै गरिरहेको छ आफ्ना वाईसियल र जनसेनालाई ।

पुनले जारी गरेको बिज्ञप्तीमा सिधै भनिएको छ’ ‘सम्भावित घटनालाई मध्यनजर गरी उच्च सतर्कतामा रही, सबै रक्षात्मक उपायहरुलाई भरपुर प्रयोग गरी प्रतिरोधात्मक तयारीमा रही निरन्तर पहलकदमी आफ्नो हातमा राख्न, सबै शान्तिप्रक्रिया विरोधी हर्कतलाई निस्तेज पार्न एवं सूचना संचारलाई चुस्तदुरुस्त बनाई, आफ्ना इलाका र क्षेत्रलाई पहुँचमा राख्न पनि निर्देशन गरिएको छ’ । बिदामा घर गएकालाईपनि तुरुन्त शिविरमा फर्किने निर्देशन दिईएको छ ।

साँच्चै दलहरुबिच सहमती हुने भए, आन्दोलन स्थगित हुने अवस्था रहेको भए यस्तो बिज्ञप्ती जारी हुने थियो ? अहिले दुबै पक्षका बिज्ञप्ती र तयारी अनि सुरक्षा अंगका परिचालन हेर्दा शान्ति संझौता पुरै अवरुद भएर आक्रमण हुन मात्र बाँकि रहेको जस्तो देखिन्छ । पुनले बिज्ञप्ती मार्फतआन्दोलनमा जनसेनाको भौतिक सहभागि नरहने त भनेका छन् । तर शिविरका जनसेना हतियार सहित पक्राउ पर्न थालेका घटनाले त्यस भनाईलाई सत्य मान्न नसकिने देखिँदै छ  ।

तपाइँको प्रतिक्रिया