सेना परिचालन गर्ने ? बाँकि रहँदैन कांग्रेसपनि
माओवादीले देशभरि ‘सुरक्षा तालिम, आत्मरक्षा तालिम’ जस्ता अनेक तालिम दिईरहँदा सरकारले सबै सुरक्षा निकायलाई उच्च सुरक्षा सतर्कमा बस्न निर्देशन दियो । स्वभाविकै हो, देशमा जनबिद्रोह गरेर सत्ता कब्जा गर्छु भनिरहँदा सरकारी सुरक्षाकर्मी चुप लागेर बस्ने कुरा भएन । तर अहिले नेपाली कांग्रेसका केहि नेताले त्यसैका नाममा सुरक्षाका अन्य अंगलाई परिचालन नगरिकनै नेपाली सेनालाई ब्यारेकबाट बाहिर निकाल्नुपर्ने माग गरेका छन् । त्योपनि सिधै ब्रिहद शान्ति संझौता बिरुद्द गएर नेपाली सेनालाई बाहिर उतार्ने र शान्ति संझौता एकै पटक पुरै उल्लंघन गर्ने मनशायले ।
जनताको जिउधनको सुरक्षा गर्ने पहिलो जिम्मेवारी नेपाल प्रहरीको हो । कुनै दंगा भए अहिले शसस्त्र प्रहरी बल गठन छ । उसको जिम्मेवारीनै त्यस्तै दंगा र मारपिट हुँदा नियन्त्रण गर्ने हो । सरकारले अहिले नेपाल पहरीलाई समेत परिचालन गरेको छैन । एक्कासी नेपाली सेनालाई ब्यारेकबाट बाहिर निकाल्न माग गरिएको छ ।
नेपाली कांग्रेसलाई थाह हुनुपर्छ, २००७ साल देखिको प्रजातान्त्रिक उपलब्धी सेनाकै कारणले पटक पटक खोसिएको छ । नेपाली सेना कहिल्यैपनि जनताको प्रजातान्त्रिक आन्दोलनमा, प्रजातान्त्रिक पार्टीको पक्षमा देखिएको छैन । जनयुद्दकालमा होलेरीमा माओवादी बिरुद्द नेपाली सेना परिचालित गर्न आदेश दिँदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आदेश सेनाले मानेन । गत जनआन्दोलनमापनि नेपाली सेनाले अन्तिम अवस्थासम्म राजतन्त्रकै वकालत गरिरहेको थियो । अहिलेपनि नेपाली सेना पूर्ण रुपमा प्रजातान्त्रिक भैसकेको छैन । उदाहरण, ब्रिहद शान्ति संझौतापछिपनि नेपाली सेनाले सरकारले दिएको निर्देशनलाई पालना गरेको छैन ।
त्यसैले यदि अहिलेनै नेपाली सेनालाई बाहिर निकाल्ने हो भने उ सरकारी नियन्त्रणमा बस्दैन । न एमाले न त नेपाली कांग्रेस कुनैपनि सरकार र पार्टीको उसले निर्देशन पालना गर्ने छैन ।
सामान्य सुरक्षा तालिमलाई नियन्त्रणमै लिनकालागि नेपाली सेनालाई परिचालन गरेर सुरक्षाको जिम्मेवारी लगाउने हो भने सेनाले सजिलै त्यो जिम्मेवारी सुम्पेला र ? सकभर आफ्नो हातबाट उम्किन दिने छैन । सेना आफुखुशि चल्छ । त्यस्तो बेला कांग्रेसको हालत के होला ? अन्तिम अवस्थासम्म राजतन्त्रको वकालत गरिरहेको नेपाली सेना पूर्ण प्रजातान्त्रिक भैसकेकै छैन । पूर्ण प्रजातान्त्रिक भैनसकेको सेनाले नेपाली कांग्रेसलाई नै निल्ने छ फेरीपनि । त्यसले देशमा भयंकर रक्तपात मच्चाउने छ । जनताले ल्याएको गणतान्त्रिक अधिकार फेरीपनि राजतन्त्रको हातमा जाने र त्यसको अपजस नेपाली कांग्रेसले बोक्नुपर्ने हुनसक्छ ।




