कसले बनायो ज्ञानेन्द्रलाइ प्वाक्क बोल्ने अवस्था ?
-मनोजकुमार श्रेष्ठ
[वर्तमानमा जति झगडा गरे पनि आखिर सबै नेताहरु पनि अन्य र्सवसाधारण जस्तै गरी गिरिजाप्रसाद गएकै बाटोमा कुनै न कुनै दिन जानै पर्छ । त्यसैले किन एक दिनमा चौबिस घण्टा नै पद र कुर्सीको मोहमा अडिक रहने ? ]
कांग्रेस सभापति कोइरालाको निधन भए पछि राजनीतिक दल र तिनका नेताहरुले दुःख व्यक्त गरेको बताए । दुःख मात्रै हैन गहिरो दुःख व्यक्त गरे माधव नेपाल, प्रचण्ड, झलनाथ, लगायत कांग्रेसका सबै नेताहरुले । सहमति, सहकार्य र एकताको मुल मन्त्रलाई आत्मसात् गर्दै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन सकिए कोइराला प्रति सच्चा श्रद्धाञ्जली हुने पनि उनीहरुले बताए । यो सबै घटना हेर्दा कोइरालाको मृत्यु पछि अब चाहि नेपालका नेताहरुको चेत खुलेछ भन्ने आभाष धेरैलाई भयो । तर उनीहरुले धेरै लामो समयसम्म यस्ता राम्रा कुरालाई कायम राखि रहन सकेनन् । गिरिजाप्रसाद कोइरालाको काजक्रियाको सामान्य अवधीसम्म पनि दलहरु विवादवाट टाढा रहन सकेनन् ।
तर कोइरालाको मृत्युको एक हप्ता पछि दलका नेताहरुले आफ्नो साँचो रुप सबैसामु देखाइ हाले । उच्च स्तरीय राजनीतिक संयन्त्रमा प्रमुख रहेका गिरिजाप्रसाद कोइरालाको निधन पछि त्यही पद दलहरुको लागि विवादको बिषय बन्यो । एकिकृत माओवादीलाई पनि कोइराला रहेको उच्च स्तरीय राजनीतिक संयन्त्रको पद चाहियो अनि नेपाली कांग्रेसकै नेताहरुलाई पनि त्यही पद चाहियो । झनै कांग्रेस भित्र त राजनीतिक संयन्त्रको नेतृत्व मात्रै हैन पार्टी नेतृत्वको बिषय पनि छताछुल्ल भएर बाहिर आइरहेको छ । देउवालाई पनि पद चाहियो, पौडेल झनै कांग्रेस संसदीय दलका नेता अनि शुसिल कोइराला त कोइराला खानदानमा नै परिहाले । कांग्रेस एकल या सामूहिक जुनसुकै नेतृत्वमा गए पनि अब नम्बर १ को पदको लागि कांग्रेस भित्र पटक पटक झगडा हुने अनुमान लगाउन सकिने लक्षण अहिलेकै घटनाक्रमले पुष्टि गरिसकेको छ ।
यी सबै कुरा तर्फ नागार्जुनवाट नजर घुमाइरहेका ज्ञानेन्द्र शाह पनि दल र तिनका नेताहरु भन्दा के कम । पक्कै मौका आएछ भन्ठानेर ज्ञानेन्द्रले पनि फेरी राजतन्त्रका बारेमा प्वाक्क बोलिहाले । राजतन्त्रको अन्त्य भएको कुरामा ज्ञानेन्द्रलाई अझै पनि विश्वास रहेनछ । ज्ञानेन्द्रको अभिव्यक्तिले दलहरु भित्र भुइचालो गयो । अनि ज्ञानेन्द्रको अभिव्यक्तिको खण्डन गर्दै सबै दलका नेताहरुले फटाफट बोल्न थालिहाले । ज्ञानेन्द्र एक पटक बोले, दलका नेताहरु त्यसको खण्डनमा सयौं पटक बोलिरहेकाछन् ।
तर दलहरुले ज्ञानेन्द्रको कुरा बेठिक भए पनि, उनी सपनामा बोलेको भनेर जे सुकै भने पनि ज्ञानेन्द्रलाई यस्तो बोल्ने मौका कस्ले दियो भन्ने प्रश्नमा दलहरु घोत्लिनु जरुरी छ । कमल थापा, काली बाबा जो सुकै बोले पनि ज्ञानेन्द्र लामो समयदेखि खुल्ला रुपमा बोलेका थिएनन् । ज्ञानेन्द्र, राजतन्त्र गएको भन्नेमा विश्वस्त नहुनु भनेको फेरी पनि राजतन्त्र ब्यूँझन सक्छ भन्ने आशा उनमा हुनु नै हो । दलहरुको दिनहुँको झगडाले उनको यो आशा चम्किलो भएको हुन सक्छ र उनले प्वाक्कै बोलेका हुन सक्छन् । ज्ञानेन्द्रको बोलीमा किन पनि दम छ भने जानेरै भए पनि वा नजानेरै भए पनि माओवादीले पटक पटक राजतन्त्र ब्यूँझाउने षडयन्त्र भइरहेको भनेकाछन् । कतै हिन्दु राज्य त कतै राजतन्त्रको वकालत भईरहेको वर्तमान अवस्थामा संविधान बनाउने समय ढल्किदै जानु अनि संवैधानिक बाधा अड्चनका कुराहरु पटक पटक उठाइदै गरेको अवस्थामा ज्ञानेन्द्रले प्वाक्क बोल्दा फेरी पनि एक पटक दलहरुले सोच्ने बेला आएको छ । किनकी मुलुकको अवस्था भताभुंग बनाउनमा दलहरु बढी जिम्मेवार छन् र भताभुंग अवस्थालाई सपार्नका लागि पनि दलहरु नै बढी जिम्मेवार हुनु जरुरी छ ।
सधै झगडामा अल्झिएर ज्ञानेन्द्रलाई प्वाक्क बोल्ने अवस्थाको श्रृजना दलहरुले नै गरेका हुन् । किनकी न त दलहरुले समयमा संविधान बनाउनमा ध्यान दिए न त मुलुकका समस्याहरु समाधानका लागि नै कुनै बिशेष चासोका साथ नै उनीहरुले काम गरे । समयमा संविधान बनाउनमा ध्यान नदिई सरकार प्रति सधै गिद्धे नजर लगाइ रहने दलहरुले नै ज्ञानेन्द्रलाई राजतन्त्रका बारेमा बोल्ने आँट र मौका प्रदान गरेका हुन् । ज्ञानेन्द्रलाई मात्रै हैन गणतन्त्र मन नपर्राई रहेका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टर्राईलाई पनि ४७ सालको संविधान सबै भन्दा राम्रो भन्न सक्ने आँट दलहरुले प्रदान गरेका हुन् । यस कारण अरुलाई मात्रै दोष दिएर उनीहरु उम्कने कुनै ठाउँ छैन ।
दिनानुदिन जारी रहेको हत्या, अपहरण, आतंक, दलहरु बीचको पदीय झगडाले नागरिक वाक्क दिक्क भइसकेकाछन् । बेरोजगारीको संख्या घट्न सकेको छैन, मलेसिया अरबको घाममा तात्तिने नेपालीको संख्या बढ्दैछ । सहमति, सहकार्य र एकताका माध्यमवाट प्रशंसनीय कामहरुलाई अगाडी बढाउने सपना र चाहना गिरिजाप्रसादको मात्रै नभएर सारा नेपाली नागरिकहरुको हो । तर सारा नेपालीहरुको चाहना पुरा गर्न प्रचण्ड, नेपाल, खनालहरु किन पटक पटक चुक्छन् र विवादमा परिरहन्छन् । अरुको आलोचना, आफ्नो वर्णन र पदीय मोहमा सदा ध्यान केन्द्रित गर्ने दलहरुले आफूहरु फुटिरहे अरुले शीर उठाउन पाउछन् भन्ने कुरा बुझ्नु जरुरी छ । उठ्ने त्यो शीर ज्ञानेन्द्र शाहको नै पनि हुन सक्छ । अनि वर्तमानमा जति झगडा गरे पनि आखिर सबै नेताहरु पनि अन्य र्सवसाधारण जस्तै गरी गिरिजाप्रसाद गएकै बाटोमा कुनै न कुनै दिन जानै पर्छ । त्यसैले किन एक दिनमा चौबिस घण्टा नै पद र कुर्सीको मोहमा अडिक रहने ?




