अपजसको धोक्रो बोकेर भीरबाट हाम्फाल्दै छ माओवादी
हरेक दललाई फुटाएर, जुधाएर, खेलाएर, चखाएर, तर्साएर वा फकाएर परिस्थिति आफ्नो अनूकुल पार्छन् भनिन्छ माओवादीले । तर अहिलेको ताल हेर्दा माओवादी त्यो बाटोमा देखिन्न । माओवादीले फेरी राष्ट्रिय सरकार भन्दै आफ्नै नेत्रित्वको सरकारको दाबी शुरु गरेर त्यहि छनक दिएको छ । सबैले बोकेर थाकेको, मक्किएको, रित्तिएको सरकार नामको झुम्रे थैलो बोकेर भिरबाट हाम्फाल्न खोज्दै छ माओवादी । त्यसो भन्दा माओवादी मित्रहरुका, समर्थकका कन्सिलीका रौं तात्लान । तर वास्तबिकता त्यहि हो कि माओवादी अपजसै अपजसको भारी बोकेर हाम्फाल्न अग्लो भिर खोज्दै हिँडेको छ ।
माओवादी, एमाले लगायतका वामपन्थि दलले हाकै भन्छन्- नेपाली कांग्रेस आम दलाल पूँजीपती र शोषक तथा शामान्त वर्गको हित हुने संबिधान बनाउन चाहन्छ । पिछडिएका वर्ग, सुकुम्बासी, तल्लो भनिने जाति, जनजाति, हेपिएका वर्गको वास्तबिक उत्थान हुने संबिधान बनाउन चाहन्न । नेपाली कांग्रेसकालागि २०४७ सालकै संबिधान उत्क्रिष्ठ थियो । त्यसैले अहिले भनिएझैं जातिय स्वायत्तता, प्रान्तिय राज्य, दलितहरुको उत्थान, आत्मनिर्णयको अधिकार, सबै जात र जातिको मुक्ति उ चाहन्न । धेरै उत्पिडित वर्ग, तराईवासी र दलित तथा जनजातिबाटपनि यो आरोप लगाइन्छ ।
एमालेको बहुमत शक्ति (कार्यकर्ता पंक्ति होइन) सामान्य सुधार गरेर अगाडि बढ्न चाहन्छ । वास्तबिक रुपमा एमालेका अधिकांश नेतापनि उहि शामान्त वर्गकै हित हुने संबिधान बनाउन चाहन्छन् । किनभने एमाले खासै कुनै कम्युनिष्ट जस्तो रहेकै छैन । अधिकांश नेत्रित्वकर्ता धनाढ्य वर्गमा रुपान्तरित भैसकेका छन् । तिनले दुखि गरिबको हित हुने होइन कि आफ्नै वर्गको हित हुने संबिधान बनाउँछन् ।
रह्यो माओवादी । उ राज्य पूनर्संरचना त भन्छ तर अन्य दलले चाहे भन्दा निकै अगाडि बढेर जन गणतान्त्रिक संबिधान बनाउन चाहन्छ । त्यस्तो संबिधान भनेको जनवादको प्रारम्भिक तहको मान्ने गरिन्छ । यसको अर्थ अहिले जनतालाई भन्ने गरे जस्तो कुनैपनि दल संबिधान बनाउन चाहँदैनन् । त्यसैले अहिले भनिएको संबिधान बन्दै बन्दैन । बनेपनि अहिलेको समयसिमा भित्रमा बन्दैन र अहिले भनिए जस्तो देशको आमूल संरचना बदल्ने खालको संबिधान बन्ने संभावनानै छैन ।
संबिधान सभाको निर्वाचन पछि बनेका सरकारको प्रमुख काम भनेकै गणतान्त्रिक संबिधान बनाउने । माओवादी तेत्रित्वको सरकारको जेम्मेवारी त्यहि थियो । एमाले नेत्रित्वको सरकार बन्दा आश्वाशन दिइएको र जिम्मेवारी लिएकोपनि त्यहि हो । माओवादी नेत्रित्वको सरकारले संबिधान बनाउन सकेन, हामीले बनाउँछौं भनेर प्रधानमन्त्री माधव नेपालले कुर्सीमा उक्लिँदा कसमै खाएका हुन् । तर संबिधान बनाउनतिर कुनैपनि काम गर्न सकेनन् । अब संबिधान बन्दै बन्दैन । सबैलाई जानकारी भएकै कुरो हो । यदि यो सरकार रहिरहेको खण्डमा सबैभन्दा ठुलो संबिधान नबन्नुको अपजसको भारी यसैले बोक्नुपर्छ । चाहे जो सुकैले जुनसुकै दललाई किन आरोप नलगाउन् । किनभने संबिधान बनाउने भन्ने प्रमुख जिम्मेवारीनै सरकारको हो । स्रोत, साधन र शक्तिपनि सबै त्यसकालागि सरकारसितै हुन्छ ।
जेठ १४ भित्र संबिधान नबन्ने पक्कापक्कि हुँदापनि यस्तो बेला माओवादीले किन सरकार बदल्न खोजेको हो ? अन्तिम अवस्थामा आएर यदि माओवादीले सरकार बनायो भनेपनि माओवादीलाई संबिधान बनाएको जस लिने अवसर पक्कै दिँदैनन् नेपाली कांग्रेस र एमालेले । जसरि अहिले माओवादी त्यो जस दिन तयार छैन । त्यसैले माओवादी सरकार बनेपनि जेठ १४ भित्र कुनैपनि हालतमा संबिधान बन्दैन नै । कि बनिहालेपनि यस्तो संबिधान बन्छ जुन कि त रक्षा मन्त्रालयबाट जारी हुन्छ । कि भारतीय दूतावासबाट । पहिलेनै बनिबनाउ संबिधान । र त्यो जारी भएपनि तत्कालै बिद्रोहको अर्को ज्वाला दन्किन्छ ।
एमालेलाई अहिले संबिधान बनाउन नसकेको अपजसको महाभूकम्प कुन पार्टीको थाप्लोमा लगेर छोडिदिउँ भैराखेको छ । एमाले र माओवादी जुधुन र आफु रमिते बन्न पाइयोस्, उनीहरु कमजोर् भए लोकप्रियता आफ्नो बढ्छ भन्ने दाउमा नेपाली कांग्रेस छ । त्यसैले, उसले एमाले नामको भरियालाई सरकारको भारी बोकाएर फाइदा आफुलेपनि लिइरहेको छ । अनि ‘एमाले नेत्रित्वको सरकार हो, प्रधानमन्त्री नै हामीले एमालेलाई दिएको, ग्रिह, सञ्चार, रक्षा सबै उसैको’ भन्दै अपजसजति एमालेको टाउकामा थोपर्न सफल भएको छ । अहिलेको सरकार जति कमजोर भयो उति हाम्रो दाउ लाग्छ भन्ने मानसिकतामा कांग्रेस देखिन्छ । त्यसैले उ कुनै हालतमा सरकार नामको भारी बोक्न तयार छैन । त्यो माओवदीले सर्लक्क आफ्नो टाउकोमा बोक्न खोज्दै छ ।
अविश्वासको प्रस्ताब ल्याएर सरकार बनाएपनि न त उसले जनताका पक्षमा यति छोटो समयमा कुनै काम गर्न सक्छ । न माओवादीलाई त्यस्तो काम गरेर देखाउन नै दिन्छन् । न त जनताको पक्षमा संबिधान बन्ने न जनताको लागि कुनै राहत दिन नै सक्ने । यस्तो बेला सरकार हाम्रो नेत्रित्वमा बन्नुपर्छ भनेर ज्यान फाल्नुको कारण के होला ? उल्टो माओवादीलाई सरकार गिराउन लागेर संबिधान बनाउने काममा भाँजो हालेको, कुर्सीकालागि ज्यान फालेको भनेर आरोप लाग्ने छ । जनताका अगाडि माओवादी सत्ता स्वार्थी देखिने। कांग्रेस र एमाले चोखिने । यस्तो स्पष्ठ देखिँदा देखिँदैपनि माओवादी ७० दिन सरकार चलाउछु भनेर किन दाह्रे भीर खोज्दै हिँडेको हो ?




