कद घटाउँदै एमाले
-मनोजकुमार श्रेष्ठ / सोलुखुम्बु
{एमाले र एमालेका नेताहरुले आफू सरकारमा भएकै हिसाबमा ठुलो भएको र राजनीतिक कद् बढेको ठानेको भए, त्यो उनीहरुको ठूलो भुल हो । किनकी सरकारमा सहभागी भएर नत एमालेको कद् बढेको छ नत एमालेका नेताहरुको नै । }
राजनीतिक दल र नेताहरु हरेक बिषयमा आफ्नो उपस्थितिलाई अनिवार्य ठान्छन् । जुनसुकै बिषयमा पनि मौका पाउँदा अरुको ध्यानाकर्षण गराउनु र त्यसवाट सक्दो लाभ लिनु उनीहरुको बिशेषता हो । राजनीतिमा पार्टीलाई पल्ला छेउ छाडेर आफू मात्र माथी उक्लन खोज्नेहरु पनि प्रशस्तै छन् । तर यतिखेर नेपाली राजनीतिमा नेकपा एमालेको कुरा गर्ने हो भने नत उ पार्टी माथी उक्लन सकेको छ नत दलका नेताहरु माथी उक्लन सकेकाछन् । एमाले र यसका नेताहरु लगातार आफ्नो कद घटाउन तिर लागेका छन् ।
मुलुकभरी हत्या, अपहरण, चन्दा आतंक लगायतले यतिखेर चरम रुप लिएको छ । जहाँ, जस्ले जतिखेर जस्लाई पनि जे पनि गर्न सकिन्छ भन्ने दिन प्रतिदिन नेपालमा प्रमाणित हुँदै गएको छ । मुलुकको सरकारको नेतृत्व यतिखेर संविधान सभाको तेश्रो ठूलो दल नेकपा एमालेले नै गरिरहेको छ र गृह प्रशासनमा पनि एमालेकै जिम्मेवारी रहेको छ । शान्ति सुरक्षाका लागि प्रतिबद्ध रहेको कुरा भनेर नथाक्ने गृहमन्त्रीका बोलीहरु दिनप्रतिदिन झुटो आभाष हुँदै गएको छ । “एमालेको कद दिनदिनै घट्दैछ” भन्ने कुरा सरकारमा गएर काम गर्ने भन्दा पनि कुर्सी टिकाउने खेलमा लागिरहेको एमाले र तीनका नेताहरुले यतिखेर बुझेका छैनन् वा बुझेर पनि वास्ता गरेका छैनन् । वास्तवमा एमाले यतिखेर लगातार आफ्नो कद घटाउनमा व्यस्त छ ।
संविधान सभाको चुनाबमा तेश्रो दल बनेको एमालेवाट सरकारमा १० जना मन्त्रीहरु सहभागी भएका छन् । १० जना मध्ये प्रत्यक्ष निर्वाचनवाट जितेर मन्त्री बन्ने मोहमद रिजवन अन्सारी एक मात्र व्यक्ति थिए । र्सलाहीको क्षेत्र नम्बर २ वाट ९,१५६ मत ल्याएर अन्सारी विजयी भएका हुन् । एमाले नेतृत्वको वर्तमान सरकारमा उनी गृहराज्य मन्त्री बनेका थिए । तर उनले हालै मात्र राजिनामा दिए । देशको शान्ति सुरक्षाको अवस्था नाजुक भएको र यो नसुध्रिएमा १५ दिन भित्र राजिनामा दिने घोषणा अन्सारीले राजिनामा दिनु केही दिन अघि मात्रै गरेका थिए । गृह प्रशासन हत्या, अपहरण र आतंकको मुकदर्शक बनिरहेका बेला अन्सारीले जे जसरी राजिनामा दिए पनि राजिनामाले एमालेकै कद घटाएको छ । गृहमन्त्री रावलको कार्य प्रक्रियाको खुलेरै आलोचना गरेका अन्सारीलाई राजिनामा दिन बाध्य पारिनुले एमाले भित्रको गुटगत राजनीतिलाई पनि उदांगो बनाएको छ । अन्सारी आएको क्षेत्र, जाती लगायतका विविध कुरालाई मनन गर्ने हो भने अन्सारी त्यहिँ रहनुपर्ने थियो । एमालेले बरु लगातार हत्या आतंक बढिरहेको अवस्थामा नौतिकताको आधारमा रावललाई पदवाट हटाएर अरु कसैलाई जिम्मेवारी दिन सक्थ्यो । तर त्यसो भएन किनकी एमाले आफ्नो कद घटाउनमा लागेको छ ।
खरो आलोचक र प्रखर वक्ता केपी ओलीले चढेको प्राधिकरणको गाडी खोसिनु र रातारात प्रहरी लगाएर लानुले पनि एमालेको कद बढाएको छैन, घटाएकै छ । कार्यकर्ताहरुले चप्पल लगाउन नपाइरहेको अवस्थामा नेताले लगातार नोक्सानी व्यहोर्दै आएको प्राधिकरणको गाडी चढिरहनुले नेताहरुको छबि प्रष्ट पारेको छ । तर यसरी गाडी चढ्ने ओली मात्रै एक जना भने होइनन् ।
केही समय अघि एक मन्त्रीले सीडीओलाई चडकन हानिन्, सरकारको नेतृत्व गरिरहेको एमालेले केही गर्न सकेन । पटक पटक रक्षा मन्त्री भण्डारीले सेना समायोजन लगायतका विविध बिषयमा बोलेका कुरा प्रति पनि प्रधानमन्त्री बनेका एमाले नेता माधवकुमार नेपाल लाचार बन्नु भयो । गभर्नर नियुक्तीदेखि लिएर विभिन्न आयोगका नियुक्तीहरुमा समेत सरकार अक्षम साबित भएको छ । किन की सरकारले केही गर्न सकेको छैन । एमाले नेतृत्वको सरकार न नियुक्ती गर्न सक्छ, न कारबाही गर्न सक्छ न त प्रष्ट बोल्न नै सक्छ किनकी यतिखेर एमाले आफ्नो कद घटाउनमा लागेको छ ।
संविधान जारी गर्न अब धेरै दिन बाँकी छैन । संविधान निर्माणको समग्र बिषयलाई हेर्ने हो भने राज्यको पूनर्संरचना र शासकीय स्वरुप महत्वपूर्ण बिषय हो । तर एमाले दुवै बिषयमा एउटा धारमा छैन । बिषय महत्वपूर्ण भए पनि सरकारको नेतृत्व गरिरहेको एमालेले जसरी भए पनि निर्णय पुग्नै पर्ने हो । जुन नेताको मुख भए पनि एमालेको एउटै धारणा र बोली हुनु पर्ने हो । तर एमाले नेताहरुको खुट्टा दुई धारमा छ यतिखेर । कोही राष्ट्रपतीय प्रणालीमा अडिग छन् कोही प्रधानमन्त्रीय प्रणालीमा । कोही जातीय राज्यको पक्षमा नारा लगाइरहेकाछन् अनि कोही भने जातीय राज्य सम्भव नभएको बताइरहेकाछन् । आफै निर्णय गरेर आफै नमान्न पनि छुट छ एमालेका सभासद्हरुलाई किनकी एमाले आफ्नो कद घटाउनमा लागेको छ यतिखेर ।
यी विविध प्रसंगहरु सामान्य मात्रै हुन् यस्ता दर्जनौं प्रसंगहरु छन् जसले एमालेको कद घटाइरहेको छ । प्रधानमन्त्री, मन्त्री, सहायक मन्त्री, राज्यमन्त्री बन्दा ठुलो भइने, व्यापक रुपमा कद् बढ्ने ठानिने एउटा समय थियो तर अहिले त्यो समय परिवर्तन भइसकेको छ । मन्त्री, प्रधानमन्त्री भइदैमा कद बढ्ने समयले अब नेटो काटी सकेको छ । यदि नेकपा एमाले र एमालेका नेताहरुले आफू सरकारमा भएकै हिसाबमा ठुलो भएको र राजनीतिक कद बढेको ठानेको भए, यो उनीहरुको ठूलो भुल हो । किनकी सरकारमा सहभागी भएर नत एमालेको कद बढेको छ नत एमालेका नेताहरुको नै । जहाँ रहे पनि कामले कद् बढ्छ भन्ने कुरा अब एमालेले पनि राम्ररी बुझ्नु जरुरी छ । होइन भने एमालेको कद लगातार घट्दै जानेछ, लगातार घटिरहनेछ ।
(लेखक सोलुखुम्बु जिल्लास्थित सोलु एफ एममा कर्यरत छन्) ।




