गिरिजा, प्रचण्ड, माधव र झलनाथ : युगपुरुष बन्ने की कलंकित ?
अहिलेको राजनितिक अवस्थालाई कसले पार लगाउन सक्छ ? यिनै चार नेताले होइन ? यो सबै राजनितिक उतार चढाव र बिक्रितिलाई सम्हालेर देशलाई अगाडि बढाउन सक्ने क्षमता, पद, अवसर र जिम्मेवारी भएका नेतापनि यिनै हुन् ।
–कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको नेत्रित्व अझै निर्णायक मात्रै होइन उनले अरु झिना मसिना दललाईपनि विश्वासमा लिन सक्छन् ।
–माधव नेपाललाई यस्तो गम्भिर अवस्था र संबिधान बनाउन पाउने अवस्थामा प्रधानमन्त्री जस्तो जिम्मेवारी मिलेको छ ।
–प्रचण्ड देशको सबैभन्दा ठुलो पार्टीको अध्यक्ष छन्। प्रमुख प्रतिपक्षी दलको अध्यक्ष हुनु चानचुने कुरो होइन ।
-झलनाथ खनाल यहि गम्भिर अवस्था र संबिधान बनाउने अवसर दुबै भएको सरकार सञ्चालन गरिरहेको पार्टीको अध्यक्ष । यि चार ब्यक्तिले चाहने हो, गम्भिर भएर सहमतीका साथ अगाडि बढ्ने हो भने देशलाई पार लगाएर युग पुरुष बन्न पाउने मौका छ । तर यि चारै नेता युग पुरुष हुने दिशातिर अगाडि बढेका छन् कि झन ईतिहाँसमै कलंकित ?
नेपालको प्रजातान्त्रिक आन्दोलनमा माधव नेपाल निक्कै योगदान गरेका छन् । तर अहिलेको यस्तो जटिल परिस्थितिमा उनमा जुन संयमता, सुझबुझ र दूरदर्शिता हुनुपर्ने हो त्यो देखिएको छैन । उनी आफ्नो पदिय लाभका लागि अरुलाई बन्देज गर्ने राजनीति गरिरहेका छन् । एकातिर माओवादीले राष्ट्रपतीय निर्वाचनमा आफुलाई धोका दिएकोले त्यसको बदला लिने र अर्कोतिर आफ्नो प्रधानमन्त्रीय पद जोगाउने लोभमा उनी आफ्नो पहिलेको राजनितिकि छबी ध्वस्त मात्रै पारिरहेका छैनन् कि देशलाईनै बर्बादीतिर अँचेटीरहेका छन् ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनी स्वयं लखनउ पुगेर वार्ता गरेका होइनन् ? तर अहिले त्यहि आफुले गरेकै काम भताभुंग पार्ने दिशातिर उनको ध्येय देखिन्छ । उनी सरकारको नेत्रित्वमा छन् अहिले। उनैको प्रधानमन्त्रीत्वकालमा नेपालमा गणतान्त्रिक संबिधान बनेन, नेपालको शान्ति प्रक्रिया भंग भयो भने नेपाल के हुन्छ ? लामो समयसम्म हत्या र हिंसाको चपेटामा पर्छ देश । अनि त्यसको दोष के माधव नेपालले लिनु पर्दैन ? उनी यो देशका केहि कलंकित ब्यक्ति मध्ये एकमा गनिन्नन् ? तर उनमा त्यो हेक्का के नभएकैले हो त्यहि दिशातिर अगाडि बढेको ?
गिरिजाप्रसाद कोइरालाको त झन मिनेट मिनेटले गन्ति गरिरहेछ युग पुरुष बन्ने कि कलंकित हुने भनेर । उनी जिवनका पछिल्ला र चिकित्सकको सुझावमापनि अन्तिम अवस्थामा छन् । माओवादीसित वार्ता गर्न उनी भारत पुगेर त्यत्रो जोखिम लिए। शान्ति संझौता गराए । प्रधानमन्त्री बने, चुनाव भयो। उनी अहिले नेपाली कांग्रेसको सभापती छन् । अन्तर्राष्ट्रिय जगत र देश भित्रैपनि उनको प्रजातान्त्रिक छबी, क्षमता र प्रभाव बलियो छ ।
तर उनी कम्युनिष्टहरुलाई जुधाएर कलह मच्चाउने ध्याउन्नमा देखिन्छन् । कम्युनिष्ट कम्युनिष्ट लडाभाँति गरे भने त्यसले समग्र राष्ट्रकै राजनितिक वातावरणलाई धुमिल बनाउँछ भन्ने हेक्का उनमा देखिन्न । बरु कम्युनिष्टको बुई चढेर अर्को कम्युनिष्टलाई हान्न पाइन्छ कि भन्ने दाउमा देखिन्छन् । सकभर माओवादीलाई हान्न पाए भन्ने उनको दाउ देखिन्छ । चिकित्सकले समेत सक्रिय नहुन सुझाव दिइएका उनी नेपालको संबिधान नबन्दै, शान्ति संझौता भंग भएर रक्तपात मच्चियो र त्यस्तो बेला यि बुढा घुत्रुक्क भए भने ईतिहास भरि कलंक लागेन ? आम नेपालीले यि बुढालाई सदा घ्रिणित पात्रको रुपमा लिँदैनन् ?
प्रचण्डमा फेरी हामीसित जनसेना छ, हामी सबैभन्दा ठुलो दल, जनताले पत्याएका भोट दिएरपनि, सबैभन्दा क्रान्तिकारी कार्यकर्ता भएको भन्ने अहं देखिन्छ । पटक पटक जनताबाट तिरस्कार भएका दललाई के टेर्ने भनेर हो कि ! एमाले र कांग्रेस जति सरकारमा बस्यो यि दुई उति गन्हाउँछन्, उति लड्छन् र ति दुईको असफलताबाट हामीले फाइदा लिने हो भनेर कुरेर बसेको देखिन्छ ।
आफ्नै जनसेना भएको पार्टी अरुसित किन डराउने भन्ने अहंले सहमतीको राजनिति गर्ने,संसदमा सबैभन्दा ठुलो दलका हिसाबले वार्ता, छलफल र सहमतीको प्रयास गर्ने गरेको देखिन्न । बरु संबिधान नबनोस्, संबिधान सभा भाँडमै जाओस्, शान्ति संझौता भंग भएपनि हेरम्ला भन्ने आभास देखिन्छ । तर शान्ति संझौता भंग भएर भोली देश रक्तपातमा गयो भने कति जनाको अनाहकमा ज्यान जान्छ ? अबको रक्तपात कस्तो हुन्छ ? संबिधान नबनेको, देशलाई युद्दमा धकलेको, भर्खरै ल्याएको गणतन्त्र गुमेको अवस्थाको प्रचण्डको ईज्जत कस्तो होला ? त्यो अवस्था आयो भने प्रचण्डलाई पो सहजै माफी गर्लान र जनताले ?
उता झलनाथ, सरकारको नेत्रित्व गर्ने पार्टीको अध्यक्ष। पार्टीले एकथोक निर्णय गर्छ तर उनैको सरकारका रक्षामन्त्री लगायतले पार्टी निर्णय टेर्दैनन् र शान्ति संझौता भंग गर्ने अभिब्यक्ति दिन्छन् । आफ्नै पार्टीका तर्फबाट मन्त्री बनेकालाई उनले पार्टी निर्णयमा प्रतिबद्द गराउन सकेका छैनन् । उनी आफु स्वयं संबिधान बनाउने, शान्ति संझौतालाई टुंगोमा लैजाने र देशलाई स्थिर राजनितिक गती दिनेतिर भन्दा आफैं प्रधानमन्त्रीको कुर्सी ताक्ने र दलिय स्वार्थमै केन्द्रित अनि पार्टी निर्णयमा फितलो देखिएका छन् ।
त्यसैले, अहिले अरु दलका जुनसुकै नेता र कुनैपनि बिदेशी जति कुर्लेपनि यि चार नेतामा सुझबुझ हुने हो, सहमतीय राजनिति गर्ने हो कसैको केहि लाग्दैन । देशलाई कतातिर लैजाने भन्ने मुख्य लगामनै यिनै चार नेताको हातमा छ मुलत । यिनैको बिबेकमा छ, आफु ईतिहासकै कलंकित हुने कि नेपाली जनताको ह्रिदयमा सधै बसेर युग पुरुषका रुपमा पूजनिय हुने । तर यि चारै नेताले कलंकित हुने रहरलाई नै मौलाउँदै लगेका छन्।




