पाँचौं चरणको आन्दोलन घोषणा, चौथो चरणले पुरा गर्यो उद्येश्य ?
[माओवादीको पाँचौ चरणको कार्यक्रमको सम्पूर्ण विवरणपनि हेर्नुस]
माओवादीले हिजै एउटा पत्रकार सम्मेलन गरेर आगामी कार्यक्रमको घोषणा गर्यो । कार्यक्रम पाँचौं चरणको हो । प्राय: कुनै एक चरणको कार्यक्रमले आफ्नो उद्येश्य पुरा गरेपछि अर्को चरणको घोषणा गरिन्छ । वा सफल नभए त्यसलाई सफल बनाउन झन उच्च तहको कार्यक्रम घोषणा गरिन्छ । तर माओवादीको चौथो चरणको कार्यक्रमले के उपल्ब्धि हासिल गर्यो ? के त्यो कार्यक्रमले घोषणा गरिएझैं आफ्नो लक्ष्य पुरा गरेकाले अहिले पाँचौं चरणको तर भिन्न कार्यक्रम घोषणा गरिएको हो ?
स्पष्ठ छ, माओवादीले चौथो चरणको कार्यक्रममा प्रमुख विषय राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथि भारतीय हस्तक्षेपको आरोप लगाएको थियो । अहिले सबैभन्दा प्रमुख नै राष्ट्रिय स्वाधिनता र राष्ट्रियता बिरुद्द भारतीय हस्तक्षेप बिरुद्द लड्नु भनेको थियो । जबसम्म नेपालको राष्ट्रियता र राष्ट्रिय अखण्डताको सुनिश्चित गरिन्न तबसम्म कार्यक्रम टुंगिन्न भनेर उद्घोषपनि गरेका थिए । नेपालको राष्ट्रियता रक्षाको लागि परिआए भारत बिरुद्द लड्न समेत जनतालाई आव्हाननै गरिएको थियो ।
त्यहि अनुसार माओवादीका उच्च तहका नेता हाम्रो सिमा मिचिएको भनिएका क्षेत्रमा गएपनि । त्यहाँ उनीहरुले जनतालाई सकेको जागरणपनि गराए । “हाम्रो मिचिएको जमिन फिर्ता नपाएसम्म अब आन्दोलन रोकिन्न” पनि भने । चौथो चरणको कार्यक्रम त सकिएछ । तर खोइ न त हाम्रो मिचिएको जमिन फिर्ता हुने कुनै छाँट देखियो । नत त्यसमा नेताले राष्ट्रिय तहकै बहससम्म चलाए । फिर्ता त के पाउनु, भारतसित कुरासम्म नराखिँदै कार्यक्रम सकिएछ । झन राष्ट्रिय अखण्डताको सुनिश्चितता त के हुनु ? किनभने हाम्रो राष्ट्रिय अखण्डताको हालत उहि छ । सिमा मिचिएको मिचियै छ । मिचिएको फिर्ता भएको छैन । भारतसित त्यसबारे कुरा सम्म राखिएको छैन ।
कार्यक्रमले नेपालीहरुमा केहि जागरण ल्याए होला पक्कैपनि । भारतप्रति माओवादीको अहिलेको धारणा र हाम्रो राष्ट्रियताका बारेमा माओवादीको नीतिबारेपनि जनता सचेत भए होलान् । तर कार्यक्रम जुन नारा र उद्येश्य भनेर घोषणा गरिएको थियो त्यो भने प्राप्त नगरि सकियो ।
छिमेकीहरुसितका समस्या सबैभन्दा पहिले त कुटनितिक तवरबाट हल गरिनुपर्ने र राष्ट्रिय मुद्दामा प्रमुख दलहरु एक भै प्रस्तुत हुनु बुद्यीमानी हुँदो हो । तर माओवादीले एकातिर त्यसो नगरि भारतलाई चिढ्यायो भने अर्कोतिर कार्यक्रमको मुल उद्येश्यनै पुरा भएन । यस्ता कार्यक्रमले जनतालाई सचेत गाराउन सहयोग गरेपनि बिदेशीले झन हेप्छेन् कि ? यि दल त नेता सस्तो लोकप्रियताकालागि केहि समय कराउँछन् अनि त्यसै हराउँछन् । दह्रोसित यिनले कहिल्यै बोल्न सक्दैनन् भन्ने नपर्ला छिमेकीका अगाडी ?
—————————————————————————————————–
एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी
केन्द्रीय समिति
प्रेस विज्ञप्ती
हाम्रो गौरवशाली पार्टी (एकिक्रित नेकपा-माओवादी) को स्थायी समितिको बैठक यही २०६६ माघ १३ गतेदेखि २० गतेसम्म बस्यो । देशको अत्यन्त गम्भीर एवम् संवेदनशील मोडमा पार्टीको आन्दोलन र नेपाली जनताको अगाडि रहेको ऐतिहासिक कार्यभारलाई स्पष्ट पार्दै त्यसलाई पूरा गर्न ठोस् दिशा निर्देश एवम् कार्ययोजना बनाई बैठक सफलतापूर्वक सम्पन्न भयो । पार्टी अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा बसेको उक्त बैठकका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
१. बैठकको प्रारम्भमा महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र विभिन्न समयमा देश र जनताको मुक्तिका निम्ति जीवन बलिदान गर्नुहुने सबै ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२. पार्टीको लाईन (विचार, कार्यदिशा, नीति) लाई संश्लेषण र निर्धारण गर्न मूल भूमिका निर्वाह गर्दै सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिका रुपमा अध्यक्ष क. प्रचण्डले पार्टीको क्रान्तिकारी आन्दोलनको सही एवम् कुशल नेतृत्व गर्दै आउनुभएको यथार्थलाई बैठकले पूर्ण गम्भीरताका साथ आत्मसात गर्यो । विचार र नेतृत्वको सही केन्द्रीकरणका साथ पार्टी फलतापूर्वक अघि बढिरहेको यो सच्चाईका विपरित लाइन र नेतृत्वलाई अलग अलग प्रस्तुत गर्दै हाल केही समययता प्रमुख नेतृत्वलगायतका नेताहरूमाथि भइरहेका चौतर्फी आक्रमण र दुस्प्रचारलाई बैठकले पार्टीको आधिकारिक विचार एवम् पार्टी माथिकै आक्रमण र पार्टीमा बिग्रह पैदा गर्ने उद्देश्यका साथ गरिएको प्रतिक्रियावादी तथा अवसरवादी शक्तिहरुको सुनियोजित षड्यन्त्र ठहर गरेको छ । बैठकले यस प्रकारको षड्यन्त्रप्रति सचेत रहन सिङ्गो पार्टी पंक्ति र जनसमुदायलाई आग्रह गर्दै अध्यक्ष क. प्रचण्डको नेतृत्वमा एक ढिक्का भएर क्रान्तिकारी उद्देश्यमा अविचल भएर अघि बढ्ने दृढता प्रकट गरेको छ ।
३. शान्ति र नयाँ संविधान निर्माण प्रक्रियाका विरुद्ध देशी/विदेशी तत्वहरुद्वारा भइरहेको प्रतिक्रान्तिकारी षड्यन्त्रलाई असफल पार्न वृहत शान्ति-सम्झौता अनुरुप शान्ति-प्रक्रियालाई सफल पार्ने र संविधानसभाबाट जनताको संघीय गणतन्त्रात्मक नयाँ संविधान निर्माण गर्ने काममा ध्यान केन्द्रीत गर्ने निर्णय गरिएको छ । यसका विरुद्ध षड्यन्त्र गरिएमा जनताको व्रिदोहको अधिकार सुरक्षित रहने कुरा पनि बैठकले स्पष्ट गरेको छ । त्यसका निम्ति सम्पूर्ण देशभक्त गणतन्त्रवादी र नयाँ संविधान पक्षधर शक्तिहरुलाई परिस्थितिको गम्भीरता एवम् संवेदनशीलतालाई ध्यान दिई एकताबद्ध भएर अघि बढ्न आव्हान गरिएको छ ।
४. हाम्रो ठोस सर्न्दर्भमा संविधानसभा शान्ति-प्रक्रियाको अभिन्न अंग भएकाले संविधानसभाबाट नयाँ संविधान निर्माण नभएसम्म शान्ति प्रक्रिया सफल हुन सक्दैन । संविधानसभाबाट नयाँ जनसंविधान निर्माण शान्ति-प्रक्रियाको सफलताको लागि अनिवार्य हुन्छ । शान्ति-प्रक्रियाको महत्वपूर्ण अंगको रुपमा रहेको सेना समायोजनलाई नयाँ संविधान निर्माण प्रक्रियाबाट अलग थलग गरेर होइन, दुवैलाई साथसाथै अघि बढाउनु पर्ने आवश्यकताप्रति सम्बन्धित सबै पक्षलाई स्पष्ट हुन आग्रह गरिएको छ । यस पर्रि्रेक्षमा पहिले माओवादी जनमुक्ति सेनाको क्यान्टोन्मेन्ट खाली गर्ने र त्यसपछि मात्र संविधान निर्माण हुन्छ भन्ने दृष्टिकोणले शान्ति-प्रक्रिया विरुद्ध भइरहेको षड्यन्त्रलाई मात्र व्यक्त गर्दछ । बस्तुतः नयाँ संविधानमा राज्यपूनर्संरचना र सुरक्षा नीति स्पष्ट भइसकेपछि सेना समायोजन गर्नु अझ उपयुक्त हुने कुराप्रति सम्बन्धित सबैको ध्यानाकर्षा गर्ने निर्णय बैठकले गरेको छ ।
५. पार्टीको पूर्व निर्धारित राष्ट्रिय स्वाधीनता, नागरिक सर्वोच्चता, शान्ति, नयाँ संविधान र राष्ट्रिय संयुक्त सरकारको कार्यनीतिक श्रृङ्खलालाई निरन्तरता दिँदै त्यसै आधारमा अघि बढ्ने निर्णय बैठकले लिएको छ ।
६. राष्ट्रिय स्वाधीनता तथा नागरिक सर्वोच्चतालाई मुख्य जोड दिँदै त्यो ऐतिहासिक कार्यभारलाई केन्द्र विन्दुमा राखेर सञ्चालन गरिएको आन्दोलनलाई निरन्तरता दिने क्रममा २०६६ फागुन १ गतेदेखि चैत्र २४ गतेसम्मका कार्यक्रमहरु निश्चित गरिएको छ । “सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु एक जुट होऔं । राष्ट्रिय स्वाधीनताको रक्षा गरौं” भन्ने मूल नारा र ‘प्रतिक्रान्तिकारी षड्यन्त्र बन्द गर, शान्ति र नयाँ संविधान निर्माण सुनिश्चित गर, राष्ट्रपतिको असंवैधानिक कदम खारेज गर, नागरिक सर्वोच्चता कायम गर’ लगायत यस अघिका अन्य नाराहरु कायमै गरिएका छन् । आन्दोलनका कार्यक्रमको मूल स्वरुप देशव्यापी जनपरिचालनको अभियानलाई बनाइएको छ । यस अन्तरगत फागुन १ गतेको जनयुद्ध दिवस, फागुन १४ गतेको बलिदान दिवस, फागुन १४-२१ गतेसम्मको सहिद सप्ताह, फाल्गुण २४ गते श्रमिक महिला दिवस (८ मार्च) को सतवाषिर्की, चैत्र ५ गतेको साँस्कृतिक दिवस (अनेकोट हत्याकाण्ड) र चैत्र २४ को जनआन्दोलन दिवस कार्यक्रमहरु पनि उक्त नारालाई नै मूल बनाई आन्दोलनकै कार्यक्रमको रुपमा मनाइने छन् । चैत्र २४ गते देशव्यापी जनप्रदर्शन तथा जनसभाहरु गरिनेछन् ।
आन्दोलनका कार्यक्रमहरुमा पर्चा, पोष्टरिङ्ग, भित्ते लेखन, राष्ट्रिय स्वाधीनता बारेको प्रचार प्रदर्शन, विभिन्न गोष्ठी, अन्तरक्रिया, साहित्यिक साँस्कृतिक अभियान, पैदल मार्च लगायतका अभियानात्मक कार्यक्रमहरु सञ्चालन गरिने छन् । यसमा फागुन १ गतेदेखि चैत्र २४ गतेसम्म राष्ट्रिय स्वाधीनता लगायतका हाम्रो आन्दोलनका विषयलाई लिई देशका सबै घरहरुमा पुग्ने गरी घरदैलो विशेष अभियान सञ्चालन गरिनेछ । गत केही समय अघि उच्चस्तरीय राजनैतिक संयन्त्र गठन भएको र त्यसले विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्ने विषयलाई पहिलो एजेण्डा बनाई छलफल सुरु गरेको र शान्ति एवम् संविधान निर्माण प्रक्रियामा सहमति निर्माण गर्ने उद्देश्य राखेको सर्न्दर्भमा संयन्त्रबाट सकारात्मक निष्कर्षएवम् भूमिकाको अपेक्षा गर्दै हाम्रो पार्टी पर्ूवनिर्धारित अनिश्चितकालिन आम हड्ताल स्थगित गरेको कुरा सबैलाई विदित छ । अहिले पनि संयन्त्रप्रति सकारात्मक एवम् आशावादी रहँदै यसलाई प्रभावकारी रुपमा क्रियाशील गराउने पक्षमा रहिआएका छौं । तर, यसले सहमति कायम गर्न र सकारात्मक निस्कर्षनिकाल्न सकेन भने त्यो अत्यन्त दुःखद् स्थिति हुनेछ । त्यस अवस्थामा अझ उच्च प्रकारको संर्घषको कार्यक्रम सञ्चालन गर्न पार्टी बाध्य हुने कुरा पनि स्पष्ट गरिएको छ ।
७. बैठकले कैलाली, बारा, पर्सा, ताप्लेजुङ्ग, धादिङ्ग, सिन्धुलीलगायतका जिल्लामा भएका हाम्रो पार्टी कार्यकर्ताहरुको श्रृङ्खलाबद्ध हत्या र साँघातिक आक्रमणको घोर भर्त्सना गर्दै दोषिमाथि कडा कारबाही र मृतकलाई सहिद घोषणा एवम् उनका परिवारलाई उचित राहातका निमित्त जोडदार आग्रह गरेको छ ।
८. सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरुका बीचमा संयुक्त मोर्चा निर्माण गर्ने पक्षमा ठोस् पहलकदमी अघि बढाउने निर्णयपनि गरिएको छ ।
९. संगठन सुदृढीकरण लगायत विभिन्न फाँटका कामहरुलाई व्यवस्थित गर्न कार्यविभाजन सहितका ठोस निर्णयहरु गरिएका छन् ।
१०. २०६६ फागुन १ गते गर्ने भनिएको पार्टी केन्द्रिय समितिको विस्तारित बैठक आन्दोलनलाई निरन्तर अगाडि बढाउनु पर्ने आवश्यकता एवम् अन्य सांगठनिक कामको आवश्यकता समेतलाई ध्यान दिई हाललाई स्थगित गरिएको छ ।
११. बैठकको अन्त्यमा विचार, नीति, नेतृत्व, योजना र कार्यक्रमका हरेक दृष्टिले समग्रमा स्थाइ समितिको यो बैठक ऐतिहासिक रहेको संश्लेषण अध्यक्ष क. प्रचण्डबाट गरियो ।
मिति: २०६६/१०/२१




