चुरिफुरी हरुवाहरुकै चर्को

जनताका लागि राजनिति गर्छु भन्नेहरु जनताबाट फालिएपछि चुपचाप बस्नुपर्ने हो । कम्तिमा अर्को निर्वाचनसम्म । कि त जनतामाझ जानुपर्ने हो लोकप्रिय बन्न । अनि जित्नेहरु हो नयाँ निति बनाउन, जनताका आवाजहरुलाई संबोधन गर्न सल्बलाउनुपर्ने । तर नेपालका हरुवाहरुको ताल त गज्जब छ बा ! उनीहरुनै पार्टी वरिपरि घुमेका छन। उपल्लो तहका नेतालाई घेरेका छन । मेडियाहरु समातेका छन र बेतुकका उपदेश, धाक र धम्कि, फुर्ति र शान देखाउँदै हिडेका छन । को को हुन त त्यस्तो चुरीफुरी देखाउने हरुवाहरु ?
 
नेकपा एमालेका नेता के पी ओलीको ताल हेर्नुस त । जनताले “तिमि हाम्रो लागि काम छैन” भन्दै गत निर्वाचनमा जुठेल्नोतिर मिलाइएका हुन यिनी । अहिले उनी देशको सर्बोच्च शक्तिमान, जनताको आदेश लिएर आएझैं उपदेश दिँदै हिँडेका छन। यस्ता हरुवाहरुलाई लाज लाग्नु त कहाँ हो कहाँ उल्टै हरौटे उपदेश पो बाँड्छन । उनको शान र चुरीफुरी यहाँ क्लिक गरेर हेर्नुस त ! 
 
एमालेकै अर्का नेता छन प्रदिप नेपाल । आफु कम्तिमा तिन चार पटक मन्त्रि भए । तर यिनि सञ्चार मन्त्रि हुँदा ८ हजार पर्ने फोन ६० हजारसम्म कालोमा बिक्रि भयो । जागिर आफ्नै कार्यकर्ता र आफन्तले भेटे । स्वच्छ प्रतिस्पर्धा देखिन मुश्किल परेको थियो । नत शिक्षा मन्त्रि हुँदा जनताले कुनै राहत महसुस गरे न त यि सञ्चार मन्त्रि हुँदा । अहिले पद खुस्किएपछि यिनको चिरीफुरीपनि हेर्न र सुन्न लायकको छ । जनताले सभासद बन्न पनि नालायक ठानेर मिल्काएका यिनि राष्ट्रपति को बन्ने, प्रधानमन्त्रि को बन्ने भन्ने विषयमा उपदेश दिँदै हिँडेका छन। पार्टीमा अरुले केहि जान्दैनन झैं गरेर । उनले गत हप्ता त के सम्म फुइँ लगाए भने पार्टीको स्थायि कमिटी बैठकले राष्ट्रपतिको नाम चयन गरेको भए उनले भण्डाफोर गरिदिन्थे रे ! अनि हरुवालाई त हरुवाकै माया लाग्ने रहेछ क्यारे ! आफु हारेकाले उनले राष्ट्रपति पदमा हरुवा माधव कुमार नेपाललाईनै समर्थन गर्ने पो भन्छन । त्यस्तो चर्को फुइँ काठमाडौंमा भएको एउटा कार्यक्रममा लगाएका हुन । त्यसबारे हाम्रो ब्लगको समाचार यहाँ क्लिक   गरेर हेर्नुहोस।
 
जनताको परिक्षणमा बल्ड्याङ खाएका अर्का भष्टाचारी ईश्वर पोख्रेलको स्वरपनि त्यस्तै चर्को छ। उनीपनि पार्टीमा खुब सक्रिय देखिएर हरुवा उपदेश बाँडिरहेका छन । नेपाली कांग्रेसकोपनि हालत उस्तै छ। अर्जुन नरसिं केसी, प्रकाशशरण महत,  गोबिन्दराज जोशी, शुसिल कोइराला, बलबहादुर केसी सबै हरुवाहरु उपदेश बाडिरहेका छन । त्यस्तै, श्यामसुन्दर गुप्ता, वामदेब गौतम,  भरत मोहन अधिकारी लिलामणी पोख्रेल, कमल थापा, डा. प्रकाशचन्द्र लोहनी सब हरुवाहरु हुन । तर अहिले सरकार कस्तो बनाउने, को प्रधानमन्त्रि हुने, को राष्ट्रपति बन्ने, कस्तो संबिधान बनाउने आदि हरेक कुरामा यिनै तँछाडमछाड गरिगरि उपदेश सुनाइरहेका छन । जबकि चुनावमा जितेकाहरुको स्वर कम गुञ्जिने गरेको छ। झिनो छ । फाट्टफुट्ट सुनिन्छ ।
 
सात दलले संबिधान सभाको निर्वाचनमा हारेकाहरुपनि मन्त्रि, राज्यमन्त्रि र सहायक मन्त्रि बन्न पाउने ब्यवस्था गरेका छन । त्यो ब्यवस्था गरिएको सात दलभित्रैका सायद यस्तै हरुवाहरुको जोरजुलुमले होला । उनीहरुले यो ब्यवस्था अन्तरिम संबिधान मा संशोधन गरेर थपेका हुन । यो हरुवाहरुलाई फेरि चल्मलाउन दिने अर्को सजिलो उपाए हो । त्यसैले हारेर के भो त ? मन्त्रि बन्न पाइनेनै भो भन्ने आशाले पनि हुनुपर्छ हरुवाहरुको चुरिफुरी बढेको।
 
यि हरुवाहरुको चुरिफुरि देख्दा त्यत्रो ६०१ जना जनताले छानेका सभासद कतै अलप भएछन कि जस्तो लाग्छ । नत्र जनताले चुनेका यिनै सक्रिय देखिनु पर्ने हो । राजनितिक पार्टीहरुपनि हरुवाहरुनै रुचाउँछन कि के हो ? नत्र जनताको लागि राजनिति गर्छौं भन्नेहरु जब जनताबाट रुचाइँदैनन तब तिनलाई पाखा लगाएर जनताले रुचाएकालाई अगाडि सार्नुपर्ने होइन ? हारेकाहरुलाई नै किन पार्टीको उच्च ठाउँमा राखिरहने ? निर्वाचनमा जनताले नरुचाएपछि तिनले पार्टीमा बनाएको निति नियम चाहिँ के जनताले रुचाउलान त ? जनताको मत, भावना र चाहनाको कदर गर्ने हो भने ति हरुवालाई हुत्याएर नयाँलाई ल्याउनुपर्ने होइन ?

तपाइँको प्रतिक्रिया