वर्षौं बन्दुक बोकाएर आँसु झार्दै फर्काइएकाहरु कतिन्जेल चुप लाग्लान ?
उमेर नपुगेको र बिभिन्न कारणले छनौटमा नपरेका २०१ जनसेना घर फर्काईए । आफ्नो इच्छाले ति फर्केनन् । नत जे उद्देश्यले तिनले बन्दुक बोक्न हिँडेका थिए, हिँडाइएका थिए त्यो नै पुरा भएको छ । कसैले परिवार छोडेका छन् । कोहि सँगैका उहि उमेरका एउटै उद्देश्य बोकेर हिँडेका साथी छोडेर बाहिरिएका छन् । तिनका आँखाभरि अनिश्चितताका बादल छचल्किएका छन् । जिवनमा अब के गर्ने भन्ने अन्यौताको भूमरी मँडारिएको छ । मनमा भविष्यको त्रास छ । मन धुरु धुरु रुवाएका छन् । बस्ने ठाउँको वास न जिवन धान्ने आधार । आँखाबाट बलिन्द्र धारा आँसु बगाउँदै र मनमा हुरुरु डढेलो बाल्दै ति क्याम्पबाट बाहिरिन बाध्य भएका छन् । रित्तो हात र मन भरि पीडा, बेदना, रिस र आवेग लिएर बन्दूक खेलाउन जानेकाहरु त्यसरि बाहिरिँदा राज्यले भोली के शान्ति पाउला ?
हिजो के का लागि बन्दूक बोक्न हिँडेका थिए ति ? दुखि र गरिबको भलो हुन्छ । न्यायपूर्ण समाज बन्छ । अत्याचारीहरु ठेगान लाग्छन् । शामान्ति सत्ता किनारा लाग्छ । गरिबलेपनि हाम्रो समाज, हाम्रो देश, हामी समान भन्ने दिन आउँछन् । गासको चिन्ता हुन्न । तारा हेर्दै आकाशमुनी सुत्नु पर्दैन । भोको पेट ढल्नु पर्दैन । रोजगारी, शिक्षा र स्वास्थ्यमा सबैको हक लाग्छ । स्वावलम्भि भएर बाँच्न पाइन्छ । यहि उद्देश्यकालागि लडेका थिए । त्यहि उद्देश्यकालागि तिनले स्कूल जाँदै गरेको झोला फ्याँकेर हाले शामान्ति सत्ता फ्याँक्न बन्दूक काँधमा ।
तिनलाई ‘आ साथी बुर्जुवा शिक्षा लिएर के काम ? जनवादी राज्यसत्ता ल्याम्ला र यो यूग बदलम्ला’ भन्दै झोला मिल्काउन लगाइएको थियो । कलम भाँच्न उक्साईएको थियो । त्यहि उद्देश्यकालागि ति लडे । कतिलाई ढाले । कति ढले । जो बाँचे तिनले भन्दै आएको शामान्ति सत्ता ढाल्न बन्दूक तेर्स्याए । अहिले तिनलाई अयोग्य ठानिएपनि तिनले युद्द मोर्चामा योग्य काम गरे बिद्रोहीका हिसावले । तिनले कहिल्यै सोचेनन् कि कुनै दिन सामान्ति सत्ताका पुराना अवशेषहरुलाई यथावत राखेरतिमाथि अयोग्यताको टिको धस्दै रित्तो हात घर फर्काइन्छ ।
अहिले भयो के ? जसका बिरुद्द ति लडे तिनैका अगाडि पार्टी झुक्यो । जसका बिरुद्द तिनले बन्दूक उठाए तिनैले तिनलाई अयोग्य घोषित गरे, आफ्नै पार्टीले सही धस्कायो । न समाज परिवर्तन भयो । न हिजो भनिएको राज्य ब्यवस्थानै बदलिने भो । न रोजगारी, न त स्वास्थ्य, न वास । नाम मात्र फेरिएको त्यहि ब्यवस्था । उनै हिजोका फटाहा र शामान्तको हाली मुहाली । राज्यसत्तामा उनै वासी अनुहार । उहि परिपाटी । खोइ त परिवर्तन ? हिजो शामान्ति सत्ताका कुनैपनि अवशेष बाँकि राख्दैनौ । अन्तिम अवस्थासम्म लडिरहन्छौं । गरिब र दुखि जनताका दिन ल्याएरै छोड्छौं भन्दै तिनलाई बन्दूक बोकाउन लगाइएको होइन ? अनि खोइ त आज के ति सपना पूरा भए ? अब त्यसरि रित्तो हात लघारिएकाहरुको भविष्य के हुने ?
तिनलाई ‘आआफ्नो घर जाउ’ भनेर फर्काइएको छ । तर कहाँ छ तिनको वास्तबिक घर ? तिनले आफ्नो घर भनेको पार्टी हो भन्दै त्यागेर हिँडेका थिए । जिवन सम्पूर्ण भन्नु नै त्यहि पार्टी हो भनेर हिँडे । निजि जिवन, निजि सम्पत्ती, आफ्नो परिवार त्यागेर हिँडे । जुन चिज उनीहरुले त्यागेर हिँडे तिनको रहन्छ के ? काम गरौं के गर्ने ? पढ्न जाउँ त उमेर अनुसारको स्तर मिल्दैन । केहि पेशा गरौं पेशा छैन । लगानी गरौं न हातमा दाम छ । न सिप सिकिएको छ । के गर्ने ? देश, जनता र पार्टी भनेर बन्दूक काँधमा हल्लाउँदै हिँडेको ब्यक्ति फेरी घर फर्किँदा परिवारले कस्तो ब्यवहार गर्ला ? त्योपनि यतिका वर्ष पछि रित्तो हात जाँदा । तिमीहरु चाहिँदैनौ भन्दै घर त्यागेर हिँडेको ब्यक्ति रित्तो हात त्यहि घर जाँदा त्यो परिवारले सहर्ष स्विकार्ला ? राज्य, परिवार, पार्टी र समाज सबैतिरबाट अस्विक्रित हुने अवस्थामा तिनले गर्लान के ?
यसरि अयोग्य भन्दै फिर्ता पठाउन लागिएकाहरुको संख्या थोरै हो र ? ४००८ जना छन् । बन्दूक बोक्न जानेका । गोला र बारुद बनाउने सिप भएका । मर्न र मार्नको धक पचाइसकेका । पुरानो परिपाटी, चलन, अन्याय र अत्याचार बिरुद्द लड्नुपर्छ भनेर दिक्षित भएका यूवा जोस र जाँघरको यो जमात कम हो ? तिनको भविष्यको पूर्ण सुनिश्चित नगरि ‘लौ घर फर्क’ भनेर आँखाबाट बलिन्द्र धारा आँशु बगाउँदै पठाएर के राज्यले जायज काम गर्यो ? माओवादीले बाँडेको सपना पूरा भयो ? के यो दिर्घकालिन समाधान हो ? युवाहरुको यो जमात के समाजमा त्यसै चुप्प लागेर बस्ला ? देशै भरि राज्यप्रति बदलाको भावना उर्लिएको बेला, अनेक गूट, समूह र सम्प्रदायका नाममा थरी थरीका हतियारधारी समूह निस्किएका बेला पुरानो राज्यसत्तासित लडेर कम्तिमा गणतन्त्रसम्म आइपुगेकाहरुलाई रित्तो हात, आँखाबाट आँशु बगाउँदै शिबिरबाट निस्किएकाहरु कतिन्जेल चुप्प लागेर बस्लान ?




