नसक्नेले राजीनामा दिने कि बुढो गोरुझैं गाई ओगट्ने ?

-सरोजदिलु विश्वकर्मा

sarojdilu_bk1राज्यमन्त्री करिना वेगमले पनि पर्सा जिल्ला प्रशासन अधिकारीलाई पड्काएर वहादुरी देखाईन् । त्यसको वहादुरीपनि वर्तमान प्रधानमन्त्रीलाई दिनै पर्दछ, जवकि यस्ता वहादुर मन्त्रीलाई झापु हान्ने मन्त्री बनाउने त प्रधानमन्त्री नै हुन् । हाम्रो क्रान्तिकारी अग्रगामी पार्टीको प्रधानमन्त्री- माधव नेपाल ! उनको प्रधामन्त्री हुने इतिहाससंगै एउटा इतिहास अर्को पनि इतिहास बस्यो, चिल्लो गाडी नपाएपछि, जिअ कुटिने नजिर । वरु पीडित अधिकारी उल्टै सरुवा गरिन्छन् । महिला प्रहरीमाथि सहकर्मीलेनै सामुहिक वलात्कार गर्ने गरेको पनि यसैपाली वाहिर आयो । तर सुत्केरीलाइ जाजरकोट पुगी राजधानी ल्याई उपचार गराउने प्रधानमन्त्रीद्धारा अपराधीहरुलाई कारवाही गरिदैन । आफ्नै पार्टीका वामदेव गौतमलाई खुस्काएर गृहमन्त्री बनेका भिम रावलको पनि यी दुवैलाई कारवाही गर्ने केही जोर चल्दैन ।

फेरि माधव नेपाल धनगढीमा पुगेर डुक्रिन्छन्- माओवादीको अस्तित्व सखाप हुन्छ । आफ्नो धोतीमा फलेको भैंसी नदेख्ने, अर्काको जिऊको जुम्रोको वखान । उनले पत्तै पाएका छैनन्- मदन भण्डारी र मनमोहनको योगदानले श्रृजिएको एमाले स्वयं पतनको संघारमा पुगीसकेको । फेरिपनि उनी भन्दैछन्- संविधान नबने त्यसको जिम्मा माओवादीले लिनुपर्दछ । तर सायद सत्ताको शूरमा इतिहास बिर्सेर होस गुमाएको हो की बुढो भएर पनि गाई ओगटीरहेको हो- आफ्नै कार्यकर्ताहरुको भावना विपरीत नाम्ले लागेको गाईको पुच्छर समाएर वैतर्नी तर्न खोज्ने आफैं, आफैं अरुलाई दोष दिने ! न त वाछीलाई पार तर्न दिन्छन् उनी न त पुच्छर नै छोड्छन् । अतः पार् तर्न नसक्नुको दोष कसले लिने त्यो भविश्यले नै बताउने छ ।

२०५२ साल पछि कुनै जमाना यस्तो थियो- वहुमत र अल्पमतको नाममा नेपाली कांग्रेस र शेरहादुर देउवाहरु कौरव खान्दान र हस्तिनापुरको दुगर्तीको प्रमुख पात्रका रुपमा थिए र नारायणहिटी दरवार धृतराष्ट्रको अनिर्णयको वन्दी बनेको थियो र त्यसैमा गिरिजा, देउवा, सूर्यबहादुर, लोकेन्द्रवहादुर र मिलीजुली द्रौपदी वस्त्रहरण गर्नुमा आफ्नो विजय ठानीरहेका थिए । सो ताका यिनै गच्छेदार, खुमवहादुर र शरदसिंहरु सुतक भई वैंकक् पुगेका थिए, जुनवेला यिनै सूर्यबहादुर, लोकन्द्रवहादुर र शेरवहादुरहरु ती मान्याहरुलाई होटल-होटलमा वन्धक बनाई गर्भधान गर्राईरहेका थिए । अनि माधव नेपालहरु पाण्डु-पुत्र बनेर असत्यको विजयमाथि निरिह थिए । आज माधव नेपाल नै यो कान्तिपुरको प्रमुख कौरव पात्र बनिरहेका छन् भने गच्छेदार, भण्डारीहरु लगायतका काग्रेस मन्त्रीहरु तिनका प्रीय अनुजहरु । जसले अर्का द्रौपदीहरुको वस्त्रहरण गर्दै सत्यको विजय भएको अहम् पालीरहेका छन् । ओली मार्काहरु भने सकुनी बनेर पासा पल्टाइरहेका छन् । परिणामतः महिला प्रहरीमाथि नै सहकर्मीहरुको वलात्कार, रुन्ची महराजस्ता दलित वालिकाहरुको सामुहिक वलात्कार अनि हत्या । वेगमहरुको ताण्डव नृत्य । यस्ता घट्नाका दुशासनहरुलाई कौरव पात्रहरुले आफ्नै द्धारदलानमा पालेर राखेका छन् ।

यता एमाले दरवार भने कर्णकुटी बनेर असत्यलाई निरिह स्वीकारीरहेको छ । ऊ कट्वाललाई कारवाही गर्न सहमति दिन्छ, अनि कारवाही गरेपछि एकल निर्णय भन्छ । मध्यराती राष्ट्रपति भवन पुगेर विन्ती बिसाउँछ, अनि विहान उठेर राष्ट्रपतिको गलत कदम भन्छ । संविधान बनाउन गएका सभाषदहरु भत्ता खान्छन् र माधव, गिरिजा र प्रचण्डको सत्ता सयरका लागि घोडे-तवेले, हुक्के र जुत्ते बनिरहेका छन् । उदाउँदो नेता भनेका विद्या भण्डारी, शंकर पोख्रेल र मिनेन्द्र रिजालहरु तिनै कौरवहरुका पुजारी बनि आफ्ना अनुजहरुको दुस्साहसलाई विज्ञान बनाई यत्रतत्र प्रसारप्रसार गरिरहेका छन् भने विचरा गगन थापा, नरहरी, प्रदीप गिरी र प्रदीप ज्ञवालीहरु द्रोणाचार्य बनेर नुनमा विकाऊ भईरहेका छन् । आज हाम्रो मुलुकले यही दुगर्तीहरुको भोगीरहेको छ ।

यहाँ माओवादीको वखान गाइएको होईन । एकक्षण कुनै स्वाथै नराखिकन, पहिले म यो मुलुकको नागरिक हुँ । त्यसपछि कार्यकर्ता वा मेरो जाति भनेर सोच्दा जो-कोहीको मन-मथिङ्कगलमा यही परिणाम उब्जिन्छ । यस अर्थमा वामदेव गौतमले भनेजस्तै भुस, वियाँ, कनिका मिलेर चामललाई अल्पमतमा पार्ने यो सरकार नै यो मुलुकको दुगर्ती र संविधान नबन्नुको कारक हो भनेर नभनिरहन सकिदैंन । यस कौरव विज्ञानले स्वयं हाम्रो एमाले पनि पतनको दोसाँधमा पुगिसकेको छ । अर्थात हिजोका अनुजहरुको चक्रब्युहमा नेकपा एमाले नराम्ररी फस्दै गएको छ । अतः एमाले र कांग्रेसमा देश भाँड्मै जाओस् नभन्ने, सत्यको पक्षक्षर अभिमन्युहरु कोही ज्युँदा छन् भने यी पुराना अनुजहरुको चित्कारबाट दुवै पार्टीलाई जोगाउनु पर्दछ ।

यता माओवादी पनि आफैंले गरेको गल्तिमा आज पछुताईरहेको छ । हिजो गिरिजा वा माधवलाई राष्ट्रपति नदिँदाको परिणाम आज ऊ नागरिक सर्वोच्चताको स्वस्तानी कथा भजन गरीरहेको छ । आफ्नो वाईसीयल दस्ताले हिजो सत्ताको मातमा प्रचण्ड थैवहरुलाई हत्या गर्दाको पाप भागीरहेको छ । तर जो-कोहीले बुझेको छ- माओवादीले नेतृत्व पाएकै घढीमा यस्ता नागरिक सर्वोच्चताहरु एकैदिनमा वहाली हुनेछन् । अनि उसले फेरि नागरिक सर्वोच्चताको नाममा सत्ता सयरको वल्छीमात्रै थाप्दै स्वायत्त जातीय राज्य घोषणा गर्ने अर्को चरणको आन्दोलनको घोषणा गरेको छ, जुन शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म विपरीत हो । यसो गर्ने हो भने संविधान सभाको कुनै अर्थ रहदैंन । जसले तत्कालै मुलुकलाई भयावह टकरावको स्थितीमा पुर्याइरहेको छ भने भविश्यमा यो जातीय राज्यले अर्का छोटा-वढा राजाहरु र राजखलकलाई जन्माउन खोजीरहेको छ । परन्तु यसको प्रतिफलमा दलित, मुश्लिम तथा जनजजाति र मधेसी भित्रैका जनहरुलाई रैतीको दर्जामा पुर्याउँने छ र अन्ततः यो मुलुकमा जातजातिका नयाँ-नयाँ जंगवहादुर जन्मने छन् । तिनै जंगवहादुरहरुको दलवलमा अल्पसंखयक जातिहरु सखाप हुनेछन् ।

अतः यस घढीमा फेरिपनि गिरिजाको भूमिका र भनाई नै सर्वोपरी हुनसक्दछ । शुशिल, पौडेलहरु छेऊछऊमा बसेर ङयारङयार र ङुरङुर गरिरहन्छन्, जसले हिजो एमालेलाई पनि एक्ल्याएर वहुमतको नाममा वियाँ-कनिकाहरुको राज चलाएकै हुन् । यिनको नौटङ्गी र तमासामा यो मुलुकको हिजो पनि अन्धकार भएकै हो, भविश्य पनि त्यस्तै हुनेवाला छ । तसर्थ: इतिहासमा भूल भयो भनेर पश्चाताप गर्दै सम्भवतः लाहाछाप रामवरणले राजीनामा दिई गिरिजालाई त्यो भूमिका दिनु, माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु नै यतिवेलाको आवश्यकता हो । स्वार्थी र वाहुनका पगरी भिरेकाहरु नभएतापनि अधिकांश एमाले कार्यकर्ताहरु यही पक्षमा छन् । त्यसले र्सवहारा पक्षधरलाई एउटै मोर्चामा उभ्याउनेछ र द्रुतकर गतिमा संविधान निर्माणको प्रकृया अगाडि बढाउने छ भने विकासको गतिलेसमेत अग्रगामी छलाङ्ग मार्नेमा दुईमत छैन । होईन, वहुमतको नाममा फेरिपनि यही गतिलाई स्वीकार्दै जाने हो भने यो मुलुकमा फेरि अर्को असोज १८ र माघ १९ गतेहरु निम्तीने छन् । त्यो दिन हिजोका ज्ञानेन्द्रले मात्रै निम्त्याउने छैनन् । त्यसका लागि वहुमत जनताको साथ हुनेछ । त्यसवेला यी आजका कौरव अनुजहरु सवभन्दा अगाडि त्यसलाई अनुमोदन गर्न तयार हुनेछन् भने माधव-केपीहरु आफ्ना प्रीय अनुज मुसाहरुले धोखा दिएकोमा पुरपुरोमा हात लगाएर पाखा लाग्ने छन् । एमालेले भने गाडिएको रथलाई निकाल्दा निकाल्दै गर्दन काटिएको थाहा पाउने छैन र उसको काटिएको गर्दन माओवादी कहाँ छ भनेर खोज्दै दिल्ली पुग्नेछ ।

तपाइँको प्रतिक्रिया