जातिवादभन्दा वाहुनवाद नै जिन्दावाद
-सरोजदिलु विश्वकर्मा
फरक-फरक च्यापु भएका किच्चकै किच्चक जातका घरवेटीहरु । यो १६ वर्षे काठमाडौं बसाईमा एक दर्जन जति डेरा सरिएछ । कति डेरा समयमा वहाल तिर्न नसकेर सरियो । कतिमा भौतिक सुविधा र सरसफाई नभएर सरियो । कतिमा विवाह नगर्नाका कारणले त कतिमा विवाह गर्नाका कारणले सरियो । कतिमा विधार्थी भएका कारणले र्सर्नु पर्यो त केहीमा घरवेटीकी छोरीका कारणले झोलीकुम्ली बोकेर हिड्नुपर्यो । डेरा सरिरहनुको दोष मेरो होईन, तिनै किच्चक घरवेटीहरुकै हो । वहाल तिर्न २।४ दिन ढिला हुँदा ‘निस्केर जा’ भन्ने, पानी, धारा, टोइलेटको सुविधाविना भाडा उठाएर खाने, विधार्थीहरुको सम्वेदना नबुझी रातविहानै पैसा माग्ने र हाम्रा पैसाले हिःपप् छोरीको लिपीस्टीकदेखि पेन्टीसम्म किन्न हुने तर छोरी दिन नमान्ने यी घरवेटी बाहरु, अनि हाम्रै कमाइमा मोज र भोज गर्ने ती तरुणी छोरीहरुले फर्केर नहेर्नाले पनि डेरा सरियो । यस्तै छ, राजधानीको बसाई ।
यसपाली भने पत्रकार भएको आरोपमा डेरा सरियो । कम्युनिष्ट पार्टीको खुन्खार कार्यकर्ता हाम्रा भुपु घरवेटी बा वहाल बस्ने तरुनीहरुलाई भने भाडा लिदैंनरहेछन् । सुनिन्थ्यो- घरवेटी छोरीसंग लभ पर्यो भने खल्तीबाट भाडा तिर्न पर्दैन रे । तर मेरा घरवेटी छोरीहरु भने सवै धुतार । वरु कतिमा त घरवेटीहरु नै तरुणीवरुणी वहाल बस्नेहरुसंग नै लभ् गर्दारैछन् । वस् ती तरुनीले घरभित्र बोलाएर दाँत ङिच्याईदिए पुग्यो । अनि, एकदिन रंगेहात फेला परे घरवेटी बा र सायद यो भित्रका अरु खुल्दुलीहरु खोतलिने डरले पत्रकार भन्नासाथ उनले निस्केर जा भने । अनि भर्खरै डेरा सरियो ।
अघिल्लो वर्ष पानीको हाहाकार हुँदा पाटनको कुम्भेश्वर धारामा पानी भर्न जाँदा लोकल पाहरुले (पा भनेको नेपाल खाल्डोका आदिवासी) र वहालवालाहरुलाई वोईलर ठानी रड्ले टाउको फक्ल्याक्क पारिदिएको सम्झँदा अहिले पनि आङ जिरिङ्ग हुन्छ । आजपनि हामी वोईलरले ती पाहरुको अगाडि शीरनत गरेर ‘हजुर निगाह होस्’ भन्नै पर्छ । नत्र, तिनले ‘हामी लोकल’ भन्नासाथ हामी बोईलरहरुले टाउको जोगाउन दौडनु वाहेक अर्को विकल्प हुन्न । तिनै पाहरुको त्राहीमा हामी वोइलरहरु राजधानीमा शीर उचालेर कोरकोराउन पनि प्रतिवन्धित छौं । कुनै मजवुत कानुन छैन यी घरवेटी विरुद्ध उजुरवाजुर गर्ने । कोही सुनिदिनेवाला पनि छैन वहालवालामाथिको अन्याय । त्यसैले उसले ‘निस्केर जा’ भन्नासाथ मरेको विरालो काखी च्यापेर र्सर्नु परिहाल्छ । किनकी राष्ट्रलाई कहिल्यै कर नतिर्ने यी घरवेटी वाहरुका लागि हामी सवै वहालवालाहरु पाखे र खान नपाएर काठमाडौं छिरेका शरणार्थीहरु हौं । अनि उनको नजरमा हामी किरायदार सेकण्डक्लास नागरिक नै हौं। अर्थात हामी भनेको उनको कमाई गरिदिने जोताहा गोरुसरह हौं, तिनले जसरी जोतेपनि हुन्छ ।
हुन त वहाल बस्नेहरु नहुने हो भने कतिपय घरवेटीहरुले या सडकमा बसेर माग्नु पर्दछ या चोर्न हिँड्नुपर्छ । यिनका छोराहरुले मुँद्रा लाउन पनि पाउने छैनन् भने छोरीहरुले सेन्टी र पेन्टी फेर्न पाउने छैनन् । चौवाटोमा पसल थापेर वहालवालाहरुको कमाई कज्याउने यिनको धन्दा पनि चल्ने छैन । त्यसवेला मात्र सवै उस्तै मानिस भन्ने यी घरवेटीहरुको चेतना खुल्ने थियो ।
यी घरवेटी बा तिनका छोरीहरुको रवाफ हेर्दा राजधानीमा घर भाडामा लाउनेहरुको भविश्य अझ अन्धकार देखिन्छ । जवकि संघीय प्रणालीमा जाँदा राजधानीमा नेवाहरुको अधिपत्य हुने निस्चित छ । ती नेवार भनेकै यहाँका पक्का घरवेटी बाहरु हुन् । अनि जव नेवारहरुको अधिपत्य जम्छ, गैरनेवारलाई यहाँका भुस्याहा कुकुरलेसमेत भुक्नेछन्, लखेट्ने छन् । तिनलाई ठाडो आँखाले हेर्दा पनि हाम्रा आँखा निकालिने छन् । झन् त्यसवेला हामी दलितहरुको हालत के होला ? एकैक्षण कल्पना गरौं त । आजै त छिः छि र दुर्दुर गर्ने यी घरवेटीहरुले डेरामा त परै राखौं, घरको फेरामा एकक्षण उभिँदासमेत वहाल उठाउने छन् ।
अर्थात, यस प्रसंगलाई एकक्षण जातीय राज्यसंग तुलना गरेर हेरौं: यदि माओवादीले उठाएजस्तो जातीय राज्यमा गईयो भने अल्पसंख्यक र उत्पीडितहरु विशेषतः दलित र मुश्लिमहरु तथा वहुसंख्यक जातजातिहरुको सम्वन्ध पनि घरवेटी बा र वहालवाला पाखेवीचको जस्तो हुने देखिन्छ । जस्को उधाहरण आजको नेवारमय राजधानीले प्रष्ट दिएको छ । भोली नेवा राज्यमा अल्पसंख्यकले यो भन्दा चर्को उत्पीडन र वहुसंख्यकको दादागीरी भोग्नै पर्छ । यसका अलावा थारुहट, ताम्वासालिङ्ग, लिम्वुवानमा ती वाहेकका जातिहरु आजका किरायकादारको हालतमा पुग्ने छन् । मधेशमा गोरा छालाहरुलाई लोकल पाहरुले शीर उचो गरेर हिड्न दिने छैनन् । यस्ता जातीय राज्यमा अल्पसंखयकहरुले मरेको विरालो काखी च्याप्दै मुसाले मुसा नै वाँदरले वाँदर नै, खरायोले खरायो नै साथी खोजेजस्तै आफ्ना जात समुहको खोजी गर्दै बर्साईसर्राई गर्नुपर्ने तिब्र सम्भावना रहन्छ । जवकि लोकतन्त्रमा वहुमतकै निर्णय सदर हुन्छ । जवकि वहुसंख्यकहरु आफ्ना जातजाति र समुहको पक्षमा नै लाग्नेछन् । यसलेगर्दा अल्पसंख्यकहरुले कहिले न्याय पाउने छैनन् र न्याय माग्न जाँदा पीडितले वंगलामुखिमा झै रड् खानुपर्ने स्थिती प्रत्येक राज्यमा दोहोरिन्छ । अतः शुरुशुरुमा त कांग्रेस-कम्युनिष्ट एक हौं भनेजस्तै जातीय राज्य पाएकोमा एकताको माहोल नै होला, तर अन्नतः चुप लागेर खुरुखुरु कर तिर, यात झोली-कुम्लो कसी बाटो लाग् भन्ने हालतमा यी दलित तथा मुश्लिमहरु पुग्नेछन् । यतिमात्र होइन, जातीय राज्यका पक्षपाति जानजातिभित्र समेत वहुजात हुनेले अवसरको उपभोग बढिभन्दा बढि गर्न पाउँछन् भने कुसुण्डा, लेप्चा, झाँगड आदिको हालत त उही हो, आजका राजधानीका वहालवालाभन्दा गए गुज्रेको ।
माओवादीमा नागरिक सर्वोच्चताको आन्दोलनसंगै जातीय गणराज्य घोषणा गर्ने अभियान पनि शुरु भएको छ । थारुहट र किराँत राज्य घोषणा भईसकेका छन् । सायद अव खड्ग विश्वकर्माले कालिकोटे राज्य बनाउलान् नै । त्यसो भयो भने त दलितप्रति माओवादी पार्टीका कार्यकर्ताहरु वास्तवमै समवेदनशील रहेछन् भन्ने बुझ्नुपर्दछ । नत्र अरु जातिको राज्यमा दलितले आफ्नो पहिचान गुमाएर वहुमत जातिको पहिचान ग्रहण गर्नु र उनीहरुको अधिपत्यलाई स्वीकार्नु हो । र, त्यसवापत दलितले केही निगाह पाउँनेछन्, जुन आजको विष्ट कमाएर दुईचार माना वाली बटुल्नु जस्तै हो । अतः ती जातीय राज्यमा दलितहरुले चै फेरिपनि विष्टैमात्र कमाउनु पर्ने र त्यसवापत पुच्छर र गर्दन बोक्ने अथवा खला उठाउनु पर्नेहुन्छ । अर्थात आजको नेपा राज्यमा पाहरुले हामी किरायदारलाई जसरी आफ्नो लंगौटी झैं सम्झेर ‘आईज बस् अनि निस्केर जा’ भनिरहन्छन्, त्यसरी नै जातीय राज्यका नयाँ पाहरुले अल्पमत र दलित मुश्लिमहरुलाई ‘खाए खा नखाए घिच्’को स्थितीमा पुर्याउने छन् । र, तिनका छोराछोरीहरुले हाम्रा हाड्-छाला तरेर सेन्टीपेन्टी लगाईरहने छन् । त्यसवेला हाम्रो भने डेरा खोज्दै र र्सर्दैर्सर्दै प्रत्येक राज्यमा जात्जातका घरवेटी पोस्ने धन्दामात्र हुनेछ ।
अतः जनजातिको पक्षमा आईएल्ओ १६९ ले जसरी ब्याख्या गरेको छ, त्यो नेपालको संस्कृति र बनोट अनुसार छैन, दलित तथा अन्य अल्पसंख्यकको भावना प्रतिकुल पनि छ । साथै हामी आईएलओ लागि नयाँ नेपाल बनाउन गईरहेका पनि होईनौ, नयाँ नेपाल नेपाली जनताको लागि बनाउने हो । त्यसैले माओवादीलगायत जनजाति, वुद्धिजीवि मित्र र प्राडाहरुले जातीय राज्यको सोंचलाई उखेलेमात्र हामी सवै मिलि अतिहिन्दू वाहुनवादी संस्कारविरुद्ध लड्न सक्छौं । होईन, फेरि पनि स्वायत्त जातीय राज्यमा हामी अल्पमत र उत्पीडित जातिलाई किरायदार मात्र बनाउने हो भने हाम्रा लागि जातिवादभन्दा वाहुनवाद नै जिन्दावाद ।




