श्रेष्ठ हत्याकाण्डमा राजनितिक रंग भर्दै छन एमाले कांग्रेस

ramharu-shrestha.jpgकोटेस्वरका ब्यापारी रामहरी श्रेष्ठको हत्याकाण्डको जति बिरोध र भर्त्सना गरेपनि पुग्दैन। यो जघन्य अपराधको माफी मागेकै भरमा माओवादीले उम्किन पाउनुहुन्न। सत्तामा बसेको पार्टीले उसका भगिनि संगठनमार्फत देशको कानुन हातमा लिने छुटपनि छैन। सगठनबाट निष्काशन गरियो, आन्तरिक कारवाही गरियो भन्यो अनि सकियो का भरमा छोडिनु हुन्न माओवादीलाई।
रामहरीको हत्यामा संलग्नलाई अबिलम्ब जनता सामु उपस्थित गराएर कारवाहि गर्नै पर्छ। यस्ता अपराध हुन नदिन माओवादीले पूर्ण आश्वस्त पार्नुपर्छ जनता समक्ष। तिनका परिवारले उचित राहत पाउनुपर्छ ।
तर अहिले यहि दुखद घटनालाई नेकपा एमाले र नेपाली कांग्रेसका यूवा संगठनहरुले राजनितिक दाउको रुपमा प्रयोग गर्न थालेका छन जुन कदापी उचित होइन। एउटा राजनितिक पार्टीको भगिनि संगठन मार्फत हत्या गरिएका ब्यक्ति र उनका परिवारलाई उचित न्याय दिनुको साटो फेरि त्यहि पिडालाई अर्को पक्षले राजनितिक फाईदा लिनु अन्यायपूर्ण र बेइमानी हो।  निर्वाचनमा आफुले खाएको हारलाई उनीहरु अहिले माओवादीबिरुद्द बदलाको रुपमा लिन खोज्दै छन यो हत्याकाण्डलाई। अहिले एमाले र नेपाली कांग्रेसका यूवाहरु सडकमा ओर्लिएर दिनदिनै प्रद्प्रदर्शन गर्ने र उपत्यका बन्दसम्म गर्ने कार्यक्रम लिएर उत्रेका छन। उनीहरुको प्रदर्शन रामहरीको परिवारलाई राहत दिने र न्याय दिलाउने भन्दा माओवादीलाई गाली गर्ने, जनता उचाल्ने र अस्थिरता बढाउनेतिर उद्दत देखिन्छ। रामहरी श्रेष्ठको परिवारलाई राहत र न्याय दिनु भन्दा राजनितिक प्रतिशोधको रंग बढि देखिन्छ।
 

अहिले देश गणतन्त्रको बाटोमा हिडिरहेको छ। गणतन्त्र घोषणा हुन नदिन देश र बाहिरका प्रतिगामीहरुको चलखेल छ। राजतन्त्रका हिमायतिहरुले गणतन्त्र घोषणा नगर्न चेतावनि दिइरहेका छन। यो बेला सबै दल र अझ यूवा वर्गहरु त्यस्ता षडयन्त्र बिरुद्द लाग्नुपर्ने हो। तर देशको मुल जिम्मेवारी बिर्सिएर उनीहरु सामान्य राजनितिक स्वार्थकालागि मरिमेट्दैछन। देश कठिन राजनितिक संकटमा उभिएका बेला एक आपसमा भएका आन्तरिक गुनासा, मतभेदहरुलाई छोडेर गणतन्त्रका लागि लाग्नुनै अहिले देश र जनताको आवश्यकता हो। रामहरी हत्याकाण्ड प्रकरणलाई राजनितिक रंग दिएर अशान्ति मच्चाउँदा सायद एमाले र नेपाली कांग्रेसलाई सिमित फाईदा पुग्ला। तिनले माओवादी बिरुद्द केहि जित्लान। तर त्यसले गणतन्त्र घोषणामा कुनै ब्यवधान खडा गर्‍यो भने देश र जनताले चाहि हार्ने छन। (फोटो साभार-नयाँ पत्रिका)

तपाइँको प्रतिक्रिया