मसान हुन जनजातीहरु
-सोम नारायण थारु (थनेत)
जनजातीहरु मसान हुन । यो भनाइ कसको होला ? कुन नेताको मुखबाट निस्केको बाणी होला ? अथवा कुन पार्टीको अवधारणा पत्रमा उल्लेखित वाक्य होला भनेर तपाइ हामी खास गरी जातिय र वर्गीय मुक्तिको आवाज उठाउने लाइ उत्सुकताको विषय बन्न सक्छ । यो वाक्य अथवा भनाइ नेकपा एमालेका वरिष्ट भनाउदाँ नेता के पी ओलीको हो । वहाँले आफनो जापान भ्रमणको बेलामा विभिन्न कार्यक्रममा बोल्ने क्रममा यो भनाइ राख्नु भएको हो । अर्थात एउटा पार्टीको जिम्मेवार नेताले त्यही कुरा बोल्छ जुन कुरा त्यो पार्टीको अवधारणा पत्रमा उल्लेख भएको हुन्छ । आदिवासी र जनजातीको परिभाषा के हो ? यिनीहरुको को हुन भन्ने कुरा बताइरहनु पर्दैन । उच्च अहंमकारवादी हिन्दु धर्मको आड र भरोसामा यस देशका सामन्त तथा पुजिंपति वर्गले यहांका आदिवासी जनजाती तथा सोझा साझा, गरिब, इमान्दार र निमुखा जनता माथी अनेकौं तरिकाले शदिऔ. देखि शोषण दमन र अन्याय अत्याचार गर्दै आए ।
देशमा भएको राजनितीक परिवर्तन र घटनाक्रमसँगै यस देशका आदिवासी जनजाती लगायत शोषण दमनमा परेका सबै वर्ग, तह, तप्का र समुदायका मानिसहरु आफनो मुक्तिको लागी एक जुट भइ आन्दोलित हुदैं आइरहेका छन । कुनै बेला जातिय मुक्ति र वर्गिय मुक्तिको आवाज उठाउने पार्टी एमालेलाइ आदीवासी जनजाती तथा यस देशका शोषित, पिडीत वर्गले आफनो बहुमुल्य मत मार्फ सबै भन्दा ठुलो पार्टी बनाएकै थिए । तर जब यहाकाँ आदिवासी जनजाती शोषित पिडित वर्गले एमालेको असली अनुहार देखे । जब तिनीहरुले एमालेका नेताहरुले काठमाण्डुमा महल ठडयाएको देखे । जब तिनीहरुले सामन्तवादको नाइके राजाको खुट्टामा मोहर चढाएको देखे । अनि यस देशका आदीवासी ,जनजाती तथा शोषित पिडीत वर्गले एमाले, काँग्रेस र पँचेहरुमा कुनै अन्तर देखेनन ।
यस देशका शोषित पिडीत निमुखा आदिवासी जनजातीहरुले धेरै कुरा भोगी सके । धेरै राजनितिक उथल पुथल अध्ययन गरी सके । उनीहरु अब पुरातनवादी राजनितीक पार्टीहरु सिद्धान्तमा विश्वास गर्दैनन । उनीहरु मार्क्सवाद र माओवादबाट पनि परिशिक्षित भइ सके । यस कारण उनीहरु अब आफनो जातिय मुक्ति केवल जातिय कुरा उठाएर मात्र सम्भव हुँदैन भन्ने कुरा बुझिसकेका छन । यसले जातिय द्घन्द निम्त्याउन सक्छ र जातिय मुक्तिको मात्र कुरा उठाउनेहरु गोरे बहादुर खपाङ्खी जस्तै दरबारमा गएर विलय पनि हुन्छन । जातिय समस्या वास्तवमा वर्गीय समस्या भएको हुँदा यसलाइ त्यही अनुसार जोडेर अगाडी बढेमा मात्र सफल हुन सकिन्छ ।
जहाँसम्म के पी ओलीले जनजाती तथा शोषित पिडीत जनताले उठाएका मागहरुलाइ मसान भने भन्ने कुरा छ । माथि नै उल्लेख गरी सकियो की जनजाती तथा शोषित, पिडीत जनताले एमालेको असली रुप राम्ररी देखी सके । उनीहरु जसरी पनि वर्षौ वर्षदेखिको उत्पीडन बाट मुक्ति हुन चाहनु स्वभाविक हो । आफनो जातिय पहिचान र अस्तित्वको लागी आवाज उठाउनु राम्रो पक्ष हो । आफनो गुमेको हक र अधिकार प्राप्त गर्नको लागी आन्दोलित हुनु पनि राम्रो हो र तिनीहरु निकै जोडदार, जागरुक र शसक्त ढँगले आफनो आन्दोलनलाइ अगाडी बढाइराखेका छन । तर यो कुरा के पी ओली जस्ता प्रतिक्रियावादी नेताहरुलाइ पचिरहेको छैन । किनभने के पी ओली जस्ता नेतालाइ चिन्ता र डर लाग्न थाली सक्यो । वर्षौसम्म उच्च अहमकारवादी हिन्दु धर्मको आड र भरोसामा यहांका सामन्तवादी र पुंजिपति वर्गले आदिवासी जनजाती तथा शोषित पिडीत जनताहरु माथि एक धर्म, एक संस्कृति र एक भाषा लादेर यतिसम्म दवाएर राखेका थिए की उनीहरु कहिल्यै टाउको उठाउन सकिराखेका थिएनन । अर्थात के पी ओलीको शब्दमा उनीहरु मरि सकेका थिए, मसान थिए । अहिले उनीहरु जागरुक भएको देख्दा के पी ओली कमरेड ले मसान जागेको देख्नु स्वभाविक पनि हो । खबरदार ! जनजातीको आन्दोलनलाइ मसानको सँज्ञा दिने प्रतिक्रियावादी नेता हो ! यस देशका आदिवासी जनजाती तथा शोषण दमनमा परेका जनताहरु अझै जिउदैं छन । जिउदैं मानिसलाइ चिहानमा गाडने कोशीस नगर । यो देशलाइ बचाउन थुप्रै श्रमजिवी, भोका, नाङगा तथा आदिवासी, जनजातीहरुले रगत बगाएका छन र अझै बगाउन तयार छन । यो देश तिम्रो बाउको बिर्ता होइन । यो देशमा तिमी सामन्तहरुको नाइकेको रुपमा रहेको राजतन्त्र जसलाइ तिमीहरुले भगवान मानेर ढोग्छौ त्यसलाइ त नेपाली जनताले घोक्रेठ्याक लगाए भने तिमी लाइ लगाउन कुनै बुढो मँगलवार कुर्नु पर्दैन ।
यो २१औं शताब्दीको वैज्ञानिक युग हो । अहिलेका आदिवासी, जनजातीहरु शोषित, पिडीत, गरिब जनताले भुत, प्रेत, पिसाच र मसानमा बिश्वास गर्दैनन । अहिले त उनीहरुले मार्क्सवाद र माओवादमा विश्वास गर्छन । के पी ओलीले ब्यूँतेका मसानहरुलाइ रातो पन्यु तताएर अथवा बासेको कालो भाले भाकल चढाएर शान्त पार्छ भनेर भारतबाट झाँक्री झिकाउने कोशीस पक्कै गर्ने नै छन । तर के पी ओली जस्ताले देखेको जनजाती मसानलाइ जुनसुकै थामी, गुरौ, र झाँक्रीले पनि सुताउन र निको पार्न सक्दैन । बरु के पी ओली र वहाँको पार्टीलाई त्यो मसानले खाइदिने छ, किनकी नेपाली जनताले, नेपालका शोषित, पिडितले, नेपालका आदिबासी, जनजातीहरुले एमालेबाट जे आशा गरेका थिए, त्यसको ठिक बिपरित पाए । के पी ओली र उसको एमाले पार्टी र्सवहारावर्ग र जनजाती बिरोधी योजना र क्रियाकलापमा लागी परेको छ । हालसालै एमालेका गृहमन्त्री भीम रावलले जनजाती र र्सवहारावर्गको आवाजलाइ दवाउनको निमित्त विशेष शुरक्षा योजना लागु गर्दैछन । यस बाट जनजाती प्रतिको र र्सवहारा प्रतिको एमालेको दृष्टिकोण के हो भन्ने कुरा प्रष्ट हुन्छ । र्सवहारा, गरिब, कमैया र जनजाती बिरोधी नै वास्तवमा प्रतिक्रियावादी हो । यहांनिर कसैलाइ ब्राहमण भनेर जनजाती बिरोधी भनेको हैन । न त कसैको नाक चुच्चो देखेर नै हो । यहांनिर त व्यक्ति र पार्टीको निती र बिचारलाइ भन्न खोजिएको हो । निती र बिचार प्रतिक्रियावादी बोकेको छ भने मगरपनि जनजाती हुन सक्दैन । शेर्पापनि जनजाती हुन सक्दैन, थारु पनि जनजाती हुन सक्दैन । उदाहरणको लागी विजय गच्छेदार थारु भए पनि उसले थारु र जनजातीको प्रतिनिधित्व गर्न सक्दैन । अन्य कोही पनि हुन सक्दैन तर प्रचण्ड र बाबुरामको जस्तो निती र बिचार छ भने गैर जनजाती पनि जनजाती हुन सक्छ ।
के पी ओलीलाइ लागेको मसान सुत्न सक्छ । त्यसको लागी एउटा बैज्ञानिक मार्क्सवादी औषधी छ । त्यो हो आत्मनिर्णयको अधिकार सहितको जातिय, क्षेत्रिय आधारमा संघिय राज्यहरुको स्थापना । अन्य पिछडिएका, उत्पीडनमा परेका जाती क्षेत्रहरुलाइ निश्चित समयका लागी विषेश अधिकार । सबै किसीमका शोषण दमन, अन्याय, अत्याचारको अन्त्य । यी कुराहरु लागु गराउन के पी ओलीले आफनो पार्टीलाई अग्रसर गराउन पहल गर्नु पर्छ न की आफनै नेताको खैरौ खन्ने तिर । तर यी कुराहरु पुरा गर्न माओवादी बिना सम्भव छैन । त्यसकारण माओवादीलाइ सहयोग गर्नुहोस । ओलीलाइ लागेको भुत चट । अनि ओलीले मसान होइन, सच्चा, इमान्दार र राष्ट्रियता बोकेका शोषित, पिडित, जनता देख्नु हुनेछ । त्यहां ओलीले आदिबासी, जनजातीहरुले उठाएका मागहरु जायज पाउनु हुनेछ । अनि वहाँले तिनीहरु सित काँधमा काँध मिलाइ अगाडी बढनु हुनेछ । अनि अर्को पटक जापान जाँदा वहाँले भन्नु हुनेछ “नेपालमा भुत प्रेत मसान छैन त्यहाँ त शोषित पिडित नेपाली जनता छन र तिनीहरुले आफनो हक र अधिकारको लागी चलाएको आन्दोलन जायज छ । ” नेपालको पहिचान, अस्तित्व, समृद्ध विकासको लागी यो नै संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको आवश्यकता हो ! लाल सलाम !
(लेखक नेपाली जनजाती सरोकार मंच बेल्जियमका महासचिव हुन्) ।




