चुनौतिका थुप्रामाथि झलनाथ खनाल

jhalnath-khanal.jpgलगातार १४ वर्ष एमाले न्त्रित्वको प्रमुख पदमा रहेका माधव कुमार नेपालले आफ्नो राजनितिक यात्रा मात्रै सकेनन। पार्टीकोपनि चुलिएको साखपनि सके। अब पालो आएको छ झलनाथ खनालको। वास्तवमा एमालेमा सम्भावित दाबेदारहरुको निर्वाचनमा पराजय भएपछि उनी एक्लो प्रतिष्पर्धी बने महासचिव पदको। त्यसैले प्रजातान्त्रिक पार्टी भित्र प्रतिष्पर्धा नभइकनै उनी चुनिए। धेरैले अब एमालेको सांगठनिक हैसियत उनको नेत्रित्वमा अगाडि बढ्छ भनेका छन। तर त्यो त्यति सजिलो देखिँदैन। एमालेका निति, नारा, सांगठनिक संरचना, नेताहरुको आचरण, पार्टीको दिशा, खनाल स्वयंको क्षमता र बिगतमा उनले खेलेको भूमिका हेर्दापनि त्यो सहज देखिँदैन। त्यसका अन्य केहि कारण हेरौं है त?

एनजिओ मुखी कार्यकर्ता: एमाले पार्टी पुरै एनजिओको चक्करमा फसेको छ। नेत्रित्व तहका स्थानिय कार्यकर्ता एनजिओकर्मि भएका छन। तिनलाई स्थानिय मुद्दा र चासो छैन। बिदेशी एनजिओको निर्देशन मान्छन। नेपालका अधिकांश एनजिओ किन एमालेनिकट भए भनेर हेर्ने हो भने पनि झल्को मिल्छ किन एमालेको स्थानिय पकड समाप्त भयो भनेर।  एनजिओमुखि नीति र क्रियाकलापका कारण कार्यकर्तामा नयाँपन छैन। जोश जाँघर छैन। गाउँ र समाज बनाउनुपर्छ भन्ने बिगतको भावना छैन। बिदेशी सहयोग ल्याएर ब्यक्तिगत सम्पत्ति कसरि थुपार्ने भन्ने भावना बढि छ। कार्यकर्तामा क्रान्तिकारि भावना नभएपछि समाजमा तिनले क्रान्तिकारि भावना सन्चार गर्न सक्दैनन। सामूहिक भावना नभएका र ब्यक्तिगत सम्पत्तिका लागि दौडिरहेका कार्यकर्ताबाट स्थानिय जनता प्रभावित हुनसक्ने कुरा भएन

 ढुलमुले नीति-एमालेको कुनै खरो नीति नै छैन। जनताको बहुदलिय जनवाद नारामा जे भनेपनि त्यो संसदिय पार्टी भन्दा फरक हुँदै होइन। त्यो कम्युनिष्ट पार्टीको दिशा हुनै सक्दैन। नाम कम्युनिष्ट राखेर नीति र क्रियाकलाप पुरै पूँजिवादी संसदिय पार्टी जस्तो भएपछि अस्तित्वको त्यसमा संकट आउछ नै। त्यो नौलो कुरै होइन। देशको राजनितिमा कुनै स्पष्ठ अडाननै देखिएन । कहिले उ प्रतिगमन आधा सच्चियो भन्दै राजाको शासनमा गयो त कहिले राजतन्त्रको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतालाई प्रधानमन्त्री स्विकार्दै सरकार चलाउन हामफाल्यो। नत सरकारमा गएर उसले कुनै हस्तक्षेपकारि भूमिकानै खेल्न सक्यो। गएकै संबिधान सभाको निर्वाचनकालागिपनि उसले पहिले पूर्ण समानुपातिक प्रणालीको वकालत गरेको थियो। तर आफ्नो मागमा उसले अडान लिनै सकेन।

खुला राजनितिमा माओवादीको उदय-तैपनि नेकपा (माओवादी) खुला राजनितिमा नआउन्जेल एमालेलाई सजिलो भएको थियो शान्तिपूर्ण तरिकाले पनि जनताका माग सम्बोधन गर्न सकिन्छ कम्युनिष्टहरुले भन्दै राजनिति गर्न। माओवादीस्वयं खुला राजनितिमा आएपछि एमालेको शन्तिपूर्ण बहुदलिय जनवादको औचित्य के? ति माग माओवादीले खोसे समान भयो । राजतन्त्र मेट्ने, भूमिको समान बितरण, पिछडिएका जात जातिको जातिय र सांस्क्रितिक अधिकार तथा स्वायत्तता र राज्य पूनर्संरचना लगायतका स्पष्ठ माग लिएर जब एउटा शक्ति देखापर्छ भने उहि समान नामको तर आफ्नो स्पष्ठ अडान, नीति, योजना र उद्देश्य केहि नभएको ढुलमुले पार्टीको पछाडि को लाग्छ ?

सुबिधाभोगि नेता-यो त झन भन्नै परेन। सबैलाई थाह भएकै कुरा हो। सुबिधाका नाममा पजेरो भित्राउने तर ति आफुले प्रयोग नगरि बेचेर वा भाडामा लगाएर खाने। राज्य कोषबाट सुत्केरिले खाने औषधीको भरपाई ल्याएर पुरुषले रकम असुल्ने। मिलेसम्म तारा छुने घर बनाउने। भाई भतिजा साला साली सबैलाई बिदेश पठाउने। ठेक्कापट्टा र पाएसम्म टपरि गाँस्ने सालको पात भित्राउने अनुमति दिदासम्म कमिशन कुल्म्ल्याउने। आफ्ना निर्वाचन क्षेत्रमा वर्षमा एक पटक पनि पाइला नटेक्ने तर दर्जन पटक बिदेशको यात्रा गर्ने। एमालेका अधिकांश नेताको नियति हो यो। नवनियुक्त महासचिवपनि यो मामिलामा खासै कम्ति छैनन। उनलाई हेटौडा घरेलु उद्दोग बन्द हुनुमा भन्दा बिदेशी कोट र टाई आफ्नो दैलामा आइपुग्छ कि पुग्दैन भन्ने सुर्ता हुन्छ। 

बिदेशी इशारा-नेकपा (एमाले) मा बिदेशीहरुको प्रभाव कति छ भन्ने कुरा त महाकाली सन्धि पास हुने बेलाकै घटनाले स्पष्ठ पार्छ। त्यो पास गर्ने र नगर्ने बिषयमा भएको आर्थिक लेनदेन (नेकपा एमालेका बिदेश विभाग प्रमुख भिम रावलस्वयंले पेरिस आएका बेला भारतिय पैसाको खेलमा पास भएको बताएका थिए) र विवादका कारण नेकपा (एमाले) फुटेको थियो। त्यसपछि पनि भारतिय र खासगरि अमेरिकिहरुको निर्देशनमा एमाले धेरै चल्यो। माओवादीहरु शान्ति वार्तामा आएर सरकारमा साझेदार बन्ने बेला संविधान सभाको निर्वाचनका लागि वाम एकताको प्रयास भइरहेको थियो। एमालेले वाम एकता गर्ने बताइरहेको थियो। तर जव पार्टीका महासचिव माधव कुमार नेपाल भारत भ्रमणमा गए उनले भारतिय नेताहरुलाई भेट्नासाथ तात्तातै भारतबाटै वाम एकता गर्न नहुने भनेर प्रतिक्रिया दिए। एमालेमा खाद्द वस्तुको मुल्य बढाउने कि नबढाउने भन्ने दबाबसम्म पर्छ बिदेशीको भन्नेहरु एमालेमै छन। जव नेताहरु आफ्नै निति, अडान, देशको अवस्था र आफ्ना नगारिकको चाहना अनुसार नहिडेर बिदेशीको दबाब सहन्छन तब देश र जनताले दुख त पाउछननै त्यस्तो पार्टीपनि धेरै टिक्दैन

 झलनाथको ब्यक्तित्व-उनी २०३९४० सालदेखि २०४६ सालसम्म नेकपा मालेको महासचिव थिए। उनको पार्टी त्यतिबेलैपनि त्यस्तो ठुलो र शक्तिशाली थिएन। वैचारिक निकटता मात्रै होइन, अस्तित्वको करणले गर्दापनि त्यतिबेला एमाले बन्यो। यदि उनीमा चमत्कारिक क्षमता, उच्च नेत्रित्व क्षमता हुन्थ्यो भने उनले त्यतिबेलाको माले पार्टीलाईपनि सफल नेत्रित्व दिन सक्थे। अझ त्यो बेला त माले पार्टी अहिले जस्तो सुबिधाभोगी भइसकेको थिएन। नेताहरु भ्रष्टाचारमा मुछिएका थिएनन। विशाल भवन र सुबिधा सम्पन्न जिवनको कल्पना बाँकिनै थियो। तैपनि उनके खासै तगडा नेत्रित्व दिन सकेनन। अर्को पक्ष के पनि हो भने उनीस्वयं सुबिधाभोगि हुन। २०४६ साल पछाडि उनी स्वयं रातारात करोडपति बने। बिदेशबाट मगाएर लगाउँछन पहिरन। बिशाल भवनको उच्च सुबिधामा बस्छन।  

नेत्रित्वकालागि अर्को आवश्यक भनेको कार्यकर्ताको पंक्ति हो।  एमालेमा उनी खासै कार्यकर्ताको तहमा बलिया मानिदैनन। कार्यकर्ता तहमा पकड नभए नेत्रित्व सम्हाल्न सहज हुँदैन। उनमा अझैपनि नयाँपन देखिएला जस्तो छनक छैन। किनभने उनले महासचिव पदमा विजयी हुनासाथ आफुले जनताको बहुदलिय जनवादको दिशालाईनै अगाडि बढाउँछु भन्ने प्रतिक्रिया दिए। उनले पार्टीलाई नयाँ दिशा दिन्छु भन्नु भन्दा त्यहि लगभग पुरानो मान्यतालाईनै निरन्तरता दिन्छु भने।

र थप चुनौति-परिवर्तित अवस्थामा जनता टाठा बनेका छन। सांगठनिक रुपमापनि माओवादी त भयो नै, तराईमा अन्य नयाँ संगठनपनि उदाएका छन। त्योपनि उनको लागि चुनौति हो। किनभने पहाडि भागमा माओवादीको वर्चस्व देखिन्छ भने तराईमा मधेशी जनअधिकार फोरमलगायतका दलहरुले एमालेलाई खुम्च्याउँदै छन। त्यो सबैलाई चिर्न देशलाई यस्तै गर्छु र बनाउँछु भन्ने दिर्घकालिन स्पष्ठ निति चाहिन्छ। नेताहरु जनतामुखि हुनु पर्छ। पार्टी कार्यकर्ता चलाख, बलिदानी, जनतामुखि, स्वच्छ, क्रान्तिकारि हुनुपर्छ। त्यस्ता कार्यकर्ता जन्माउन पार्टीको नीति र कार्यक्रम गतिलो हुनुपर्‍यो। अहिलेको एमालेका नेता, पार्टी नीति, कार्यकर्ता को समूह, पार्टीमा गुटबन्दि, नेत्रित्वको होडबाजी र माओवादी खुला राजनितिमा आएकालेपनि खनालको नेत्रित्व सहज देखिदैन। फोटो साभार-नया पत्रिका

तपाइँको प्रतिक्रिया