समयमै संविधान बनाउने अन्तिम उपायः
गिरीजा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री र झलनाथ सारथी
कटुवाल प्रकरण पछाडि, संविधानसभाको कार्यसूचि पटकपटक परिवर्तन हुनु र सत्ताको खेलमा श्री ६०१ हरु लागीपर्नु अथवा माओवादीलाई एक्ल्याएर जान खोज्नुको कारणले करीवकरीव अव संविधान समयमा नबन्ने स्थितीमा पुगीसकेको छ । केही नेताहरु संविधानसभाको विगठन गर्ने मनसायमा पुगेको भन्ने पनि सुनिन्छ । केही श्रीज्यूहरु चैं झोलाकुम्ली कसेर आआफ्नै कुला-दुलामा र्फकन तम्तयार भईसकेका छन् त कोही सभाषद पद सकिइहाल्छकि भनेर रुवावासी गर्न थालेका छन् । यिनै दिनहरु दोहोरिइरहे भने ठोकुवाका साथ भन्न सकिन्छ- संविधान बन्दैन र यी खाईपाई आएकाहरुले एकपल्ट फेरि देश र जनतालाई धोका दिई ज्ञानेन्द्रलाई हसाउँने छन् । अनि नयाँ राजनीतिक अध्यायको शुरु हुनेछ । देशी-विदेशी कुतत्वहरु, जो नेपालमा अस्थिरता सधै निम्तिरहोस् । त्यसको नाममा अनुदान भित्र्याएर कमाईरहौं, जमाईरहौं भन्ने मानसिकता राख्दछन् । तिनको भने विशाल रात्रीभोज नै चल्नेछ । जनता, नागरिक समाज अथवा राजनीतिक कार्यकर्ताको यत्राविघ्न प्रयाशहरु वामगतीको ढलसंगै मिसिएर बग्नेछन् भने यी लामा टुप्पी र चन्दनेहरु त्यतिवेला किनारामा बसेर टाउको समाउने छन् ।
यद्यपि, विवेक पुर्याउने हो भने अझैं समय छ- हामी ठूलो दूर्घटनाबाट यो मुलुक र नेपाली जनतालाई जोगाउन सक्छौं । त्यसका लागि विशेषतः तीन दल अनि केही राष्ट्रवादी मधेसी दलका नेताहरुको वुद्धिको विर्को खोलिनु पर्दछ । यिनका आसेपासे सेनामेनाको घैंटोमा घाम लाग्नु पर्दछ । एमाले, कांग्रेस र माओवादी लगायत फोरम-उपेन्द्रहरुले, विशेषतः गिरिजाप्रसाद कोईरालाले आफूलाई धोईपखाल्नै पर्दछ भने एमालेले पनि केपी-माधव कम्पनीलाई सुनपानीले र्छर्केर चोख्याउनै पर्दछ । किनकी तीन दलको एकता र सहमतीविना कुनै हालतमा कुनै काम पनि अगाडि बढ्न सक्दैन । यसका लागि ‘नखाऊँ भने दिनभरीको शिकार खाऊँ भने कान्छा बाऊको अनुहार’ भनेझैं कसैले नचाहेता पनि गिरिजाले नै पहिलो भूमिका फेरि निभाउनु पर्ने हुनसक्दछ । यता माओवादीलेसमेत अहम्वाद् गालीगौज र वाईसीयल दस्तालाई लगाम लगाउनै पर्दछ र फोरम-एक्सप्रेस-दिल्ली लिमिटेड् कम्पनीहरुले अव क्षेत्रीयतावादभन्दा राष्ट्रावादलाई अगाल्नु पर्दछ ।
यसो गर्न सकिन्छः जवकि विश्वयुद्धमा एकले आर्कालाई ध्वस्त पार्न चाहने युरोपेली र अमेरीकी तथा एशियाई शक्तिहरु यो ५० वर्षे अवधिमा आपसी वैमनश्यतालाई बिर्सँदै अभिन्न मित्र भनेर प्रगतिको शीखर चुमीसकेका छन् । यही ५० वर्षो दौरानमा भारत र चीनले आफूलाई आँक्नै नसक्ने मुलुककोरुपमा स्थापित गरिसकेका छन् । मुगावे र सांगीर्राई, जो जन्मजात शत्रु हुन् उनीहरु मिलेर शासन चलाईरहेका छन् भने नेपालमा हुननसक्ने भन्ने प्रश्नै छैन । वश्- हाम्रा नेताहरुमा भएको टपरी (सत्ता), जनै (सुरक्षा शक्ति) र टुप्पी (पद) को मोह घटेर राष्ट्रको मोह जाग्नु पर्दछ । त्यसले लागि जे-जस्ता भएपनि गिरिजाप्रसादले नै कदम उठाउनु पर्ने भएको छ ।
अतः ‘इतिहास पल्टाऔं, पढौं र विस्मृतीलाई पखाल्दै स्मृति रच्न अगाडि बढौं….’ यही रणनीतिकासाथ मुख्य राजनीतिक दलमा सहमती हुनैपर्दछ । यसका लागि अवको राष्ट्रपती, प्रधानमन्त्री मन्त्रीहरुले ठाउं खाली गर्नै पर्दछ भने यी आलाकाँचाहरुलाई सिक्ने पंत्तिमा राखेर गिरीजा, प्रचण्ड तथा खनालहरुले नेतृत्व लिनुपर्दछ । यी चिठ्ठामा परेका राष्ट्रपती, पहिलो गाँसमै वदनाम भइसकेका छन् भने कटुवाल नामको वल्झी थापेर बनेका प्रधानमन्त्रीको गिरिजाको खराऊजति पनि महत्व छैन । सुरक्षाकर्मीहरु नहुने हो भने सडक वालवालिकालेसमेत यिनलाई ढुंगा हान्दै उनलाई लखेट्छन् । त्यसैले उनको स्थानमा ओजनदार ब्यक्ति आवश्यक छ- त्यसका लागि गिरिजा नै उपयुक्त हुन् । अतः इतिहासमा जो भो सो भो, त्यसलाई बिर्साउनलाई पदस्थापन गर्नुपर्दछ । अर्थात स्वयं रामवरण यादवले ताँड् लगाउन नसक्ने धनुवाण अव उनले गुरुलाई नै हस्तान्तरण गर्नु उपयुक्त हुन्छ । र, जे-जसरी भएपनि २४० वर्षो राजकीय सत्ता फालेर करीव २४० नै सीट पाएको माओवादीले नै सत्ताको नेतृत्व गर्नुपर्दछ ।
त्यसैगरी एमालेले च्याँखे हानेर सत्तामा जाने खेलपनि वन्द गर्नुपर्दछ, किनकी अहिले तेश्रो पंतिमा भएपनि यो जनताको पार्टी, कुनै लामा टुप्पी र चन्दनधारीहरुको मात्रै होईन । त्यसैले मुलुकको निकासका लागि यसले जनताले वहिस्कार गरेका नेताहरुको भिड् लगाउन छोड्नै पर्दछ र सहयोगी भूमिका निभाउनु वेश हुन्छ । अर्थात गिरीजा र प्रचण्डलाई एउटै लिक्बाट हिडाउने सारथी बन्नु पर्दछ, एमाले । वरु मुख्य तीन दलको नेतृत्वमा वाँकी दलहरुले पनि होष्टेमा हैंसे गरे वेश, तव मात्र बन्छ- संविधान । होईन भने माओवादीलाई जानअन्जानमै भोटदिने ३० प्रतिशत जनताले कांगे्रस र एमालेलाई माफ गर्ने छैनन् नै, एमाले र कांग्रेसकै सच्चा कार्यकर्ताहरुसमेत तिनका माउ पार्टी भनी मुख ताकेर रहीरहहने छैनन् । अर्कोतिर जितेर पनि सत्तामा बस्न नपाउने नेताहरुको छातीको ज्वलन पनि निभ्ने छैन ।
यही नै अन्तिम उपाय हो, यसले नै निकास दिन सक्दछ भने पदविहिन भएर बर्बाईरहेका नेतागण, कार्यकर्ता-कणहरुलाई पनि सहमतीमा ल्याउँछ । यसभन्दा वाहिर गएर कोही ‘सहमती हुन्छ वा सहमती गर’ भन्छन् भने त्यसैले जनतालाई मुर्गा बनाएर निमोठ्ने सपना देख्दैछ । किनकी शक्तिको सन्तुलनभन्दा वाहिर रहेर कोही सहमती गर्न तयारै छैन, तयार भएको देखियो भने पनि त्यो देखावटी मात्रै हो, वास्तविकता होईन, जो अहिले भइरहेको छ । यसैका लागि सवै कार्यकर्ता, दल तथा नागरिक अगुवादेखि वुद्धिजीवि जनताले अव पैरवी गर्नुपर्दछ । सम्भवतः विजया दशमीको पुनित अवसरसंगै यो पुण्य कार्यको थालनी गर्दै माननीय श्री ६०१ हरुलाई खेताला लगाइ तिहार देऊसी भैलोसंगै एकता गाँसेर अगाडि बढ्नु पर्दछ । होईन भने मंसीरको धान माघमा पनि पाक्दैन र जेष्ठ १४ गतेसम्म नागरिकका घरघरमा पुर्याउन सकिदैंन ।
अधिकांश जनताले चाहेको पनि यही हो- कि मुख्य दलहरु मिलेर गणतन्त्रलाई सही दिशा प्रदान गरुन् । २०६४ सालको संविधानसभाको निर्वाचन पछाडि आजसम्मको दिनलाई हेर्ने हो भने पनि मुख्य दलहरुवीच सत्ताको साझेदारीता गर्नेभन्दा अर्को विकल्प देखिन्न । यदि त्यस्को विकल्प दिईन्छ भने त्यो दादागिरी लाद्ने कार्यमात्र हुनजान्छ । अर्थात् ‘माओवादीलाई अलग्याएर संविधान लेखिन्छ’ भनेर कोही भन्छ भने त्यो उपवुज्रुक हो, जो प्वाल परेको ढुंगामा भारी बोकेर पारी तर्न खोज्दैछ । त्यसरी घोषित तिथीको मध्येरातसम्म संविधान त आउला, तर भोलीपल्टै मण्डलादेखि शान्तिवाटिकासम्मै नयाँ संविधानमा आगो लाग्ने छ । र, यी पुरैत-पण्डितहरुको होमहोमादीमा हामी गणतन्त्र पक्षधरहरु सवै पर्नेछौं ।





