सिंहदरवार र झिल्के सालिक
-बसन्त महर्जन
प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारअगाडि पृथ्वीनारायण शाहको सालिक अझै पनि ठडिएको छ । अघि खाकी रंगमा रहेको सो सालिकलाई हालै रंगाएर झिल्के बनाइएको छ । यो सालिकका सर्न्दर्भमा के गर्ने भन्ने सम्वन्धमा विवाद नै देखिन्छ । विभिन्न खाले विवादका बीच सम्वन्धित निकायले मध्यममार्ग अपनाउन खोजेको देखिन्छ, इनामेलबाट झिल्के बनाइदिएर, ताकि सालिक आक्रमणको तारो नबनोस् ।
सालिकहरूले इतिहास बोल्छन् । नेपालमै पनि मल्ल राजाहरूका सालिक सुरक्षित छन् । राणाशाहीहरूका सालिकहरू पनि सुरक्षित नै छन् । शाहवंशीय राजाहरूको सालिक आक्रमणको तारो बनिराख्दा पनि राणाहरूका सालिक सुरक्षित नै रह्यो । यसको अर्थ हो, जनताले राणाहरूका सालिकलाई इतिहासको वस्तु ठानिसकेका थिए । जति बेला कालिमाटीस्थित राजा महेन्द्रको सालिक पटक पटक आक्रमणको तारो बनिरहेको थियो, त्यति बेला गद्दीमा उनका कान्छा छोरा ज्ञानेन्द्रले तानाशाही व्यवस्था लाड्न खोज्दै थिए । राजा ज्ञानेन्द्रको मनोवल गिराउने एउटा मनोवैज्ञानिक उपाय उनीसंग सम्वन्धित कुराहरूमाथि धावा बोल्नु पनि हुन्थ्यो । ज्ञानेन्द्र त्यही बाटोमा हिड्न खोजिरहेका थिए जुन बाटो भएर महेन्द्र हिडेका थिए । ज्ञानेन्द्रमा आफ्नो बाबुबाजेको धङ्धङ्ती थियो । यस अवस्थामा महेन्द्रदेखि पृथ्वीनारायण शाहसम्मलाई अतीतका रूपमा नभई वर्तमानकै रूपमा लिइनु स्वाभाविक थियो र आक्रमणको तारो बनाइयो । अन्ततः राजतन्त्रको समाप्तीपछि पूरै शाहवंशका कुराहरू इतिहासको अंश बनेको छ । यसै भएर हो नारायणहिटी दरवार अहिले म्युजियममा परिणत भएको छ ।
अब प्रश्न उठ्छ, इतिहासले कोल्टे फेरिसकेको अवस्थामा पृथ्वीनारायण शाहको सालिक पनि ऐतिहासिक बन्यो भने सिंहदरवार अगाडिको सालिकमाथि तलमाथि गर्नु हुन्छ त ? यस विषयमा छलफल चलाउनुपर्ने देखिन्छ । बदलिंदो परिवेशमा यदि सिंहदरवारलाई प्रशासनिक निकायको रूपमा नभई नारायणहिटी दरवारलाई जस्तै म्युजियम बनाएको भए सालिक त्यस ठाऊँमा ठिक थियो । तर अझै पनि प्रशासनिक निकाय नै रहेका कारण त्यो सालिक त्यहाँ सुहाऊँदो भएन । हिजोसम्म सिंहदरवारलाई पृथ्वीनारायण शाहको सालिकले कुनै अर्थ दिन्थ्यो होला तर अहिले त्यही सालिकले अनर्थ पैदा गरिराखेको छ । अझै पनि त्यो सालिक त्यहीं राखिनु पर्छ भन्ने अडान लिने हो भने ठिक छ, राख्न सकिन्छ तर सिंहदरवारलाई प्रशासनिक केन्द्रलाई अन्यत्र सार्नु पर्दछ ।
राजा पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतीक हुन सक्दैन । राष्ट्र भनेको भूगोल पनि अवश्य हो । तर भूगोललाई मात्र ध्यान दिंदा त्यो राष्ट्र वा राष्ट्रियता खोक्रो मात्र हुन्छ । राष्ट्रिय एकताको अभ्यास त्यस अवधिमा कहिल्यै पनि गर्न पाइएन, नेपाली जनताले । शासकीय शक्तिको आडमा र्सवसाधारणलाई दवाउन सक्नु नै राष्ट्रिय एकता कायम गर्नु होइन । पुथ्वीनारायण शाहले मात्र नभई उनका उत्तराधिकारीहरूले समेत राष्ट्रिय एकतामा पटक्कै ध्यान दिएन । वैवाहिकलगायत कुनै पनि पक्षमा नेपाली जनतास“ग सम्वन्ध नै राख्न चाहेन बरु विभिन्न भाषा, धर्म, संस्कृति लगायतका कुराहरू एक निश्चित समुदायमा विलयन गर्ने योजना बनाउन थाल्यो । नेपालीहरू माझ नै ‘फुटाउ र शासन गर’को नीति लिएर चलाएको शाहवंशीय शासनबाट राष्ट्रिय एकताको भावना जागृत हुन सक्दैन पनि ।
सिंहदरवार अगाडिको पृथ्वीनारायण शाहको सालिक ऐतिहासिक पनि होइन । ऐतिहासिक हुनलाई त्यसमा इतिहासको झलक हुनु पर्दछ । त्यो सालिक पृथ्वीनारायण शाह जिऊँदो छदै वा देखेका कलाकारबाट बनाइएको होइन । धेरै समय पछि बनाउने हो भने पनि रेखाचित्र वा तस्वीरलाई आधार लिनु पर्दछ तर त्यस्तो केही आधार लिइएको छैन । उनको रेखाचित्रको अनुहारसंग सालिकको अनुहार पटक्कै मिल्दैन । वास्तविकता के हो भने, सालिक निर्माणको आधार कलाकार अमर चित्रकारको स्वयंको जीउडाल हो भने अनुहार काल्पनिक । हेक्का रहोस्, सो मूर्ती निर्माण अघि कलाकार स्वयंले मोडलिङ गरेर तस्वीर खिचाएका थिए र सोही तस्वीरको आधारमा सालिक तयार गरेका थिए । यस अर्थमा सो सालिकले कुनै पनि ऐतिहासिक महत्व राख्दैन, तर्सथ इतिहासस“ग नभई कला सम्वन्धित म्युजियममा मात्र यो शोभा बन्न सक्दछ । फेरि बुझ्नु पर्ने अर्को कुरा हो, कुनै पनि दिवंगत व्यक्तित्वको सालिकलाई रंगाईदैन पनि । र्वर्तमान नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारस“ग पृथ्वीनारायण शाहको कुनै सम्वन्ध नभएको अवस्थामा उनको सालिक त्यहा“ ठड्याइनुको तात्विक अर्थ नभएको मात्र नभई आपत्तीजनक पनि हुन्छ । बरु त्यस ठाउ“मा समग्र नेपाललाई प्रतिनिधित्व हुने कुनै एउटा प्रतीक राखिनु पर्छ, नेपालको राष्ट्रिय झण्डा मात्र ठड्याउनु नै पनि पर्याप्त हुन्छ ।




