सम्वादको नौलो आयाम : आईस-ब्रेक्
–अकेला
अन्र्टार्कटिका महाद्धिपमा यसअघि कहिल्यै नपग्लिएका हिमचट्टानहरु पग्लिएका छन् । माईनस डिग्रीभन्दा निकै तल गएपछि समुद्रको पानी फ्रिजिंग प्वाईन्टमा पुगेर जम्ने गर्दछ बरफमा परिणत हुन्छ । तर जव वातावरणमा उष्णता बढ्दै जान्छ, त्यही बरफ पग्लनथाल्दछ । वातावरणविद्हरु यसलाई आईस ब्रेक भन्दछन् । यस्तै आईस-ब्रेक हाल नेपालमा देखिएको छ । तर पानीमा हैन, राजनीतिमा । महाशयहरु हिजोआज जुन आईस-ब्रेकको कुरो गर्दैछन्, त्यो उनीहरुकै सम्वादहीनता र दूरीकै कारण फ्रिज भएको राजनीतिलाई सम्वादद्वारा हल निकाल्नु हो । अनि, भएन त आईस-ब्रेक ?
आफ्नो गल्ति छिपाउन अरुलाई गाली गर्नु र गाली गरेर कहिल्यै नथाक्नु त मानिसको स्वभावै हो । त्यसमाथि-राजनीतिमा, जहाँ जानाजान अच्छा खासा गल्तिहरु गर्ने गरिन्छ । राजनीतिक गोबरगणेशहरु सोँच्दछन् कि गल्ति इश्वरले पनि गर्छ । मान्छे त इश्वर होईन । मान्छेले गल्ति नगर्ने त प्रश्नै उठ्दैन । गल्तिबाटै सिक्ने हो । आदि आदि । उनीहरुको दिलो दिमागमा यिनै कुराहरु ठसाठस् भरिएका हुन्छन् । उनीहरु चटक्कै बिर्सन्छन् कि राजनीतिमा गल्तिको कुनै गुञ्जाईशै हुँदैन । अर्थात, चुक्यो कि त गयो । उनीहरुको यही बिर्सने बानी खराव र खतरनाक छ, जसले गर्दा उनीहरु गल्ति दोहर्याईरहन्छन् र त्यसलाई छिपाउन सच्चाईको च्यादर ओर्ढाईरहन्छन् । गल्तिमाथि गल्ति पनि गर्ने र त्यसलाई ढाकछोप पनि गर्ने । राजनीति, त्यसरी चल्दैन । अहिले, देशको राजनीतिमा भएकै यही हो । अर्थात, गल्तिमाथि-गल्ति र गल्तिमाथि थप अक्षम्य गल्तिहरु ।
राजनीतिक इतिहासमा साठी वटा भोटा फर्टाईसकेको नेपाली काँग्रेस र एमाले, देशकै सबैभन्दा बुढा र अनुभवी दलहरु हुन् । बुर्जुवा शासनको २४० वर्षे इतिहासमा यिनीहरुले धेरैपटक राज गरेका छन् । धेरैपटक राज गर्नुको अर्थ हुन्छ-धेरैपटक चुक्नु । कांग्रेस र एमालेको दिग्दारलाग्दो राजनीतिबाट दिक्कदार जनताले पहिलो पटक २३२ सिट दिएर सत्तामा ल्याएको थियो । पहिलोचोटी माओवादीहरु सत्तामा आउँदा कच्चा खेलाडीको अर्थ त लागेकै हो । तर यतिबिध्न कच्चा निक्लेलान्-कसैले सोँचेनन् । आम नागरिकलाई नपचेकै त्यही कच्चापन हो, जस्लाई छिपाउन अनेकौ गल्तिहरु गरिँदैछ । र लाटागाँडाहरु हिजोआज माओवादलाई गल्ति नै गल्तिको डुङ्गुर ठान्नथालेका छन् ।
दुःख र सुख भन्ने कुरो मानिसको थुतुनोमा भर पर्छ । गतिलो भए दुधभात पनि आईलाग्छ । अगतिलो भए त्यही थुतुनाले आचि पनि खान्छ । जनताका टाउकामाथि अग्रगमन र प्रतिगमनको दोधारे तरवार झुण्डिएका बेला शान्ति सम्झौताको शर्तअनुरुप समयमै वाईसीएल बिघटन गरिएको भए, कब्जामा रहेका घरजग्गा फिर्ता गरिएको भए, मिडियामाथि हमला-हत्या नभैदिएका भए, केही दिनपछि रिटायर्ड हुने नाथे एउटा सिपाहीलाई नचलाईएको भए, टप सिक्रेटलाई वाहियात रुपमा सीडीमा कम्पोज नगरिएको भए वा सीडीलाई सुरक्षित राख्न सकेकै भए वा स्वयं प्रचण्डले आफ्नो थुतुना सिलाएर बसिदिएकै भए, प्रचण्डको के जान्थ्यो ? माओवादीको के जान्थ्यो ? हामी आम नागरिकले राजतन्त्र फ्याँकिरहँदा चूपचाप बस्ने नेपाली सेनाले कसैलाई बाह्र हातको टाँङ्गाले पनि छोएको थिएन । प्रचण्डको थुतुनो मात्र गतिलो भैदिएको भए मुलुकमा सैनिक कू को सम्भावना त दूर, कल्पनै थिएन । स्थिति ब्रि्रेको त प्रचण्डकै थुतुनाले हो । आफ्नै छोरी नखरमाउली भएपछि तन्नेरीलाई मात्रै के दोष ?
सीडीमा प्रचण्डको थुतुनाले जनमुक्ति सेनाको सँख्या र हातहतियार वारे सन्सनिखेज खुलासा गरेकै आधारमा कटवालले आफुमाथि खनिएका माओवादीलाई ठीक पार्न कडा से कडा कदम चाल्न सक्दथ्यो । अर्थात, सैनिक ‘कू ‘ गर्न सक्दथ्यो । तर गरेन । किनकि, कटवाल बाठो थियो । राजनीतिक दलहरुको सहयोग र र्समर्थनमा राष्ट्रपतिबाट गराउन सकिने काम जनताद्वारा अनुमोदित भै आएकाहरुलाई सिद्धयाएर आफ्नो हात रंगाउन कटवाल किन चाहन्थ्यो ? कटवाललाई दशा लागेको त थिएन । उसले नेपाली सेनाको ‘हार्ड कू ‘ भन्दा राष्ट्रपतिको ‘सफ्ट कू’ नरोजेको भए दशा त बरु झण्डै झण्डै, पाँच हजार लडाकुको बलमा नेपाली सेनासँग जोरी खोजिरहेका प्रचण्डलाई लागिसकेको थियो । दशाले कुत्कुत्याएकै कारण केही दिनमै रिटायर्ड हुने जावो एउटा सिपाहीसँग उनी अल्झिन पुगेका थिए ।
सुविधासम्पन्न एकलाख सेनासँग नाथे पाँच हजार ब्रि्रोही सेनाको के जोर ? यसवारे धूर्त कटवाल भलिभाँति जान्दथ्यो । कदाचित, त्यो धुत्याईँ कटवालले नगरेको भए र कटवालद्वारा त्यस किसिमको चलाखी नगरिएको भए माओवादीलाई सवक सिकाउने निहुँमा मुलुकमा सैनिक ‘कू’ हुनसक्दथ्यो र शिशु लोकतन्त्रकै घाँटी निमोठिन सक्दथ्यो । कटवालको चलाखी त हेर्नुस, साँप पनि मर्यो, लठ्ठी पनि भाँचिएन । अर्थात, राष्ट्रपति लगायत राजनीतिक दलहरुको सहयोग र र्समर्थनमा राष्ट्रपतिद्वारा माओवादी नेतृत्वको सरकारले दिएको आदेश उल्ट्याउन लगाएर आफु चाहीँ पदमै बहाल रहे । अनि, प्रचण्डको ताल् हरिरहृयो । यो हो बुद्धिमानी र अस्सली चलाखी ।
आफुद्वारा बर्खास्त गरिएका कटवाल पूनर्वहाली भएर, आफुहरुलाई उल्टो लोप्पा ख्वाएर, रिटायर्ड भएर पनि कहाँ पुगिसके । तर प्रचण्ड ? कटवालद्वारा जहाँ छाडिएका थिए, तहीँको तहीँ छन् । अर्थात, सडकमा, जहाँ उनी नेपाली सेनाले सरकारको अवज्ञा गरेर नागरिक सर्वोच्चाका बदलामा सैनिक सर्वोच्चता लाद्नखोजेको, राजनीतिक दलहरुको मिलोमतोमा राष्ट्रपतिले असंवैधानिक कदम चालेको र आफुहरुलाई सिद्धयाउने खेल भएकोले सत्ता परित्याग गर्नुपरेको किस्सा सुनाउँदै सहानुभुति बटुल्ने चेष्टा गरिरहेका छन् र चाहेरै पनि आम नागरिकले उनलाई सहानुभुति दिनसकिरहेका छैनन् । किनकि, पच्चीसौँ वर्षो अथक प्रयासपछि महामुश्किलले हासिल भएको सत्ताको दूर्लभ साँचो हुर्र्याएर प्रचण्ड चुकिसकेका छन् र सडकमा पच्छारिसकेका छन् । सडकमा पच्छारिनुको अर्थ नाताकत हुनु हो ।
२३२ सिट ल्याएर लोकतन्त्रको ऐतिहासिक प्रधानमन्त्री बनेका प्रचण्ड लगायत अन्य कुनै पनि दलका नेता वा कार्यकर्तामा जनताले राजनीतिक सँस्कार नै देख्दैनन् । उनीहरुको यिनै कुसँस्कारसँगै यहाँको समाज, राष्ट्र र यसको राष्ट्रियता आत्मदाह गर्ने तर्खरमा छ । वाहियातका बखेडामा अल्झिएर, कामकुरा एकातिर-कुम्लो बोकी ठिमीतिर गरी सत्ताको दूर्लभ साँचो फ्याँकेर सडकमा आउनु र फेरि त्यही सत्ताकै निम्ति गुहार लगाउँदै हिँड्नु र नागरिक सर्वोच्चताको पूनर्वहाली, आफ्नो नेतृत्वको राष्ट्रिय सरकार, त्यो नभए फेरि हतियारै उठाउने कुरो गर्दै हिँड्नु, सबै नेपालीका हातमा बन्दुक हुनुपर्ने आपत्तिजनक अभिव्यक्तिहरु आउनु, नागरिक सर्वोच्चता जस्तो गम्भिर विषयलाई हतियारसँग जोडेर हेरिनु र चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डालाई विवादमा तान्ने चेष्टा गरिनु राजनीतिक बिक्षिप्तता हो । गल्ति गर्ने बेलामै सोँचिनु पर्दथ्यो, सोँचिएन, चुकियो । चुक्नुको अर्थ हो-सिद्धिनु । सिद्धियो । ढिलो भैसक्यो । अव गाला रातो पारेर घाँटी सुक्नेगरी चिच्याउनु भनेको फेरी पनि गल्तिमाथि गल्ति थप्नु मात्रै हो । केही हुनेवाला छैन । अतः शीघ्रातिशीघ्र, यथासम्भव एकमात्र निर्विकल्प उपाय आईस-ब्रेकतिर आफ्नो ध्यान केन्द्रित गर्नू र नेपाली राजनीतिमा गिर्दो आफ्नो छविलाई सुधार्नु ।




