आइन्द्रो नसते द्रोणसुते…, यसपाली दशैमा खशी काटे, अर्को दशैमा मान्छे नकाटे…

-सरोजदिलु विश्वकर्मा

sarojdilu_bk1यसपालीको दशैं मुखमै आईसकेको छ । प्राय हिन्दू र हिन्दूसंग सम्वन्ध जोडिएका धर्मीजनहरुले घरघरमा खशी, बोका, राँगा, सुँगुरको जोरजाम् गरिसकेको हुनुपर्छ । ती गर्दन् रेटिने जन्तुको आगमनसंगै घरघरमा खुशी छाएको छ । तर यसैवेला सभाषदज्युहरुमा दुःखका दिन शुरु भएका छन् । किनकी, श्री ६०१ सरकारहरुको यस्तै हठ्मा, लठ् भइरहने हो भने आर्को दशैसम्म बोका र च्याङग्रा मात्र नभई वम र वारुद र एम्वुसहरु भित्रिने छन् । जवकि मुलुकमा संविधान सभाको अघिल्लो ६ महिना सहजै रहेता पनि यो ६ महिना जटील रह्यो । अवको ६ महिना बढो कठिन हुनेछ भने संविधानको समय पछाडिको ६ महिना संविधान बनेतापनि नबनेतापनि द्धन्दमा फस्नेवाला छ । अनि, यसपालीको दशैमा ती पशुहरु काटिए झैं अर्को दशैंमा भने मान्छेले मान्छेलाई नै वली चढाउनेवाला छन् । सो वेला एउटा जाति वा सम्प्रदायले अर्को जाति तथा सम्प्रदायको छायाँ देख्नसमेत रुचाउने छैनन् । त्यसवेला ६०१ महोदयहरुलाई नेपाली जनताले खोरभित्र सुँगुर रोपेझै अनेक तरहले रोप्नेछन्, घोच्ने छन् । यिनको २।२ वर्षसम्म भत्ता र सत्तामा लुटुपुटिँदा चिल्लिएको थुतुनो, तन्किएको भुँडी र उछिटि्टएको पीँधले कहिले नसोचेको दुःख पाउने छन् । कुतिको बाटो मरेको विरालो च्यापेर लथ्रिएको वटुवा झैं आआफ्ना घर-डेरामा फर्किँदा यिनका अनुहारमा भुस्याहा कुकुरले सू गर्न समेत हिच्किचाउने छन् । यतिमात्र होईन, संविधान नबनेको खण्डमा यिनीहरु न घरको रहनेछन् न त वनको । न दरवारको रहनेछन् न घरवारको । विचराहरुको भविश्य देख्दा दया लागेर आउँछ । सभाषद् सकिएको २।४ महिनापछि खेती गर्ने कि, जागीर खोज्दै हिड्ने या खाडीतिर लाग्ने ?

 यो त भयो, यी गन्यामान्याहरुको भविश्य-रेखा । अव गणतन्त्रवादी जनताको हालत के हुने ? तिनको पनि जोखाना हेरौं । आजसम्म गणतन्त्रलाई आत्मसाथ गरेका यी लोकतन्त्रप्रेमी जनताहरु मिति सकिएको ६ महिनाभित्र न खुकुरीको मित्र हुनेछन् न अचानोको रक्षक । गणतन्त्रलाई संस्थागत गर्ने मुद्दालाई ती ६०१ ले त्यसै छोडेर भाग्दा त्यसवेलासम्म जातीय र संघीय आन्दोलनले उघ्ररुप लिईसकेको हुनेछ । कसैले कसैलाई भन्ने, आग्रह गर्ने वा सुनुवाई गर्ने स्थिती रहन्न । लिम्वुवान, खुम्वुवान, थारुहट्, दलित, सवका हातमा हतियार हुनेछन् । मधेसीका हातमा भाला र कटुवा । अनि मुश्लिमहरुको मुठ्ठीमा मशालहरु हुनेछन् । हरेकले आत्मरक्षा र स्वाभिमानका लागि एकले अर्कोलाई प्रहार गर्नैपर्ने समय आउने छ । वेद् बोकेर अरुलाई गोली गठ्ठाका भारी बोकाइ हैकम् जमाउदै आएकाहरुलेसमेत आत्मरक्षाका लागि जानेपनि नजानेपनि हतियारै बोक्नु पर्नेछ । अनि को गणतन्त्रवादी, को लोकतन्त्रवादी, को राजावादी, को माओवादी आफैभित्र एकले अर्कोलाई छप्काउने समय आउने छ । यतिमात्र होईन, राजधानीमा नेवार वाहेक अरुले बोल्न र चियाउन सक्नेछैनन् । पूर्वमा लिम्वुवान खुम्वुवानले नाक चुच्चेहरुलाई देख्नसक्ने छैनन् । तर्राईमा मधेसीलाई टोपी लगाउने अनुहारहरु मशान जस्तै लाग्नेछन् । अनि पश्चिममा थारुहरुले मधेसीहरुको छाला उप्काउने छन् ।

 त्यो दिन के होला, हामी एकक्षण कल्पना गरौं त ! यी क्षेत्री-वाहुन, दलित, मुश्लिम र अरु अल्पसंख्यकहरुको के हालत होला ! अन्ततः के हालत होला यो मुलुकको !! धेरै केही हुँदैन, एकले अर्कोलाई मुला छप्काएझैं छप्काउने वाहेक । अतः अर्को दशैको सेरोफेरोमा पशुको वलीले होइन, धेरै वटा घर-आँगन, चौतारा, चौवाटो, जंगल र तलाऊ आदिमा मानव वली भएको सुनिने छ, देखिने छ ।

 संविधान सभाको चुनाव हुनेवखत धेरै ब्यवस्थापिका सांसदज्यूहरुको वीचमा रुवावासी चलेको थियो । उनीहरु भन्दैथिए- ‘हरे किन यति छिट्टै चुनाव गरेको ? ‘ यही डरले आजका सभाषद्ज्यूहरु पनि ‘ओफ, यति छिट्टै किन आउँदैछ जेष्ठ १४ गते.. ?’ भनेर पुपुर्र्रोमा हात लगाउन थालिसकेका छन् । किनकी निर्धारित तिथीको भोलीपल्ट यिनको खातापाता सवै वन्द हुनेछ । दुहुनो गाईजस्तो संसद सचिवालय पनि थारो हुनेछ । वरतिर-परतिर अतिथि भईजाँदा चप्काउन पाईने अन्नधन्न र एन्जिओ-आईन्जीओका चिल्ली-साँप्राहरु वरु कुकुरलाई खाईनसक्नु हुनेछ । यिनले सुँग्न पनि पाउने छैनन् । त्यसले सायद, समयभित्र काम सम्पन्न गर्न चाहिरहेका छैनन्, यी छ सौ एक महामहिमहरु ।

 हामीलाई शब्द सुन्नै गाह्रो भएतापनि अजिङगरले जिउँदै बाख्रो पचाए झैं मुलुक र जनतालाई नै सजिलै पचाउन वानी परेकाले नेतागणलाई फेरिपनि यी शब्दहरुले अलिकती पनि बिझाउने छैन । तिनीहरु फेरि भन्नेछन्- समयमै संविधान बन्छ, यही सरकारले बनाउँछ । विल्कुल वकवास र वकुम्फुसे कुरा हुन् यिनका । किनकी वितेको १६ महिनामा मस्यौदामा त सहमती हुन सकेन भने वाँकी ८ महिनामा के के गर्ने, के के भ्याउने ? कि त जसोतसो मध्यराती संविधान ल्याउने र विहान मुलुकै जलाउने ? जवकि, संविधानको एकएक वुँदामा दुईतिहाई मत जुट्नु पर्दछ, जुन माओवादीविना सम्भव हुँदैन । अनि माओवादीलाई हरेक क्षेत्रमा एक्ल्याएर, संविधान बन्छ भन्नु कतिको वुद्धिमता हो ? केही सत्ताधारी पदाचारीहरुले भनिरहेका छन्- माओवादी नै सहमतीमा आउनु पर्छ । तोरीलाउरेहरु ! आफूचैं जसोतसो सत्ता कब्जा गर्ने, अनि सहमती खोज्ने ? कोही वेवकुफ छैन- र्सवश्व लुटाएर आफैं र्समर्पण गर्ने ।

 यसो भनिरहँदा माओवादी मान्याज्यूहरुले मलाई धन्यवाद देलान् । तर त्यसको कुनै जरुरत छैन, किनकी पशुको वली दिन छाडेर मान्छेले मान्छेकै वली दिनुपर्ने दिन दोहोरियो भने त्यसको पहिलो जिम्मा माओवादीले लिनु पर्छ । किनकी परिवर्तनका लागि जातीय हिंसाको विजारोपन गर्ने यिनैहरु हुन् । यता, मलाई मेरा आफ्ना कम्रेडज्यूहरुले ‘यताको मादल भिरेर उताको गीत गाउँने ?’ भन्ने नगरेका पनि होईनन् । तर देशलाई बचाउन र जनताको सदिक्षालाई र्सार्थक तुल्याउन दल र सदस्यताभन्दा माथि उठ्नैपर्दोरहेछ । यही नै सत्य हो । होईन भने यो राष्ट्रको नागरिक हुन सकिदैन, दलको कार्यकर्ता मात्र हुइन्छ । उता सात साले क्रान्तिकारीज्यूहरुलाई पनि पर्नु पीर पर्ला । तर तिनले पीर गर्नुभन्दा विहान विहानै ऐना हेरेर आफूलाई धोई पखाल्नु अच्छा हुनेछ । किनकी उसको शुद्धिकरणविना त वागमतीको ढल पनि बग्दैन भने यो मुलुक त के कुरा । अतः आइन्द्रो नसुते, द्रोण सुते…., माली गाईको दहीमा रञ्जित दूर्गा भवानीको प्रसाद लाईकन सवै नेता, सभाषद्ज्यूहरुको मनमथिङ्गलमा सद्वुद्धि नै सद्वुद्धि नै भरियोस् । ब्यक्तिगत स्वार्थ, दलगत भावनाभन्दा माथी उठीकन सवैमा राष्ट्रिय भावनाले बास गरोस् र ६७ साल जेष्ठ १४ भित्र जन अपेक्षाअनुसारको संविधान आओस् ।

 अन्तमा, जाति, धर्म, वर्ग, लिंग, भाषा, संस्कृति, मधेसी र पहाडीको भूत सवै नागरिकको आत्माबाट दूर होस् । लिम्वु-लिम्वु मिलेर लिम्वुवान, मधेसी-मधेसी मिलेर एक मधेश एक प्रदेश अथवा थारु-थारु जुटेर थरुहट राज्य खोज्ने विकृती हराओस् । हरेक दलका कार्यकर्ता, नागरिक समाजका स्वदेशी विदेशी गिद्धिजीवि जनहरुको मनमा एकता अखण्डता, भातृत्व, सहअस्तित्व र सम्मानको भावनाको विकास होस् । र ब्यावहारिकभन्दा वौद्धिकमात्र बन्न खोज्ने महत्वकांक्षाको विनाश होस् । अनि हामी सवै मिलेर समृद्ध, समुन्नत गणतन्त्रको नेपालको नेपाली नागरिक भईरहन पाऔं । विजया दशमी २०६६ को यही शुभकामना सहित ।

तपाइँको प्रतिक्रिया