कसले बनाइदियो उपराष्ट्रपतीलाई खेल्ने मैदान ?
-बलराम गिरी
यो पंत्तिकारले एक महिना पहिले उपराष्ट्रपति (निबर्तमान !) प्रमानन्द झा नेपाल र नेपालीका प्रथम उपराष्ट्रपति हुन् कि हिन्दी भाषा प्रचार गर्ने नेपाल नियोगका पमुख संयोजक हुन् ? भनेर लेखेको थियो । अब यसमा कुनै शंका बाँकी रहेन । दूधको दूध र पानीको पानी छर्लङ्ग भएको छ । झण्डै तीन दशकसम्म सर्बोच्च अदालतमा न्यायधिश भएर काम कार्बाहीको प्रक्रियामा नेपालीमा लेखिएको कानूनका धारा, उपधारा तथा दफा र उपदफालाई त्यही नेपाली भाषामा नै चिरफार गरेका, चरेश काण्डको आरोपमा घटुवा भए पछि पनि कार्यरत भई सेवा निबृत्त भएका उनले त्यही सर्बोच्च अदालत र त्यही नेपाली भाषाको मानमर्दन गर्नुको कारण नबुझने अब कोही छैन (स्मरण रहोस् यिनकी ठूली छोरी नेपाली बिषयकी सहप्रध्यापिका छिन्) । सर्बोच्च अदालत भन्दा माथि बस्ने हिम्मत यिनलाई कसले दियो ? यो पनि अब लुकेको बिषय रहेन ।
उपराष्ट्रपति बन्दा देखि नै भाषिक युद्धको बिजारोपण गरेका झा पदीय हिसाबले नेपाल र नेपालीका उपराष्ट्रपति भए पनि जिमेवारी र रणनीति अनुसार उनी सदा नेपालमा हिन्दी भाषालाई स्थापित गर्ने भारतीय दलाल भन्दा माथि उठ्न नसकेको इतिहास र्छल‹ नै छ । नेपालको उपराष्ट्रपति भएर यिनले राष्ट्र र जनताको भलोको लागि के गरे ? राजनीतिक गतिरोध अन्त्य गर्न कुनै पहल गरे कि, झाडापखालाले सोत्तर भएका जनतालाई जीवनदान दिए ? अहँ, यिनले नेपाल र नेपालीको लागि एउटा सिन्को समेत भाँचेका छैनन् । तर, हिन्दी भाषाको लागि यिनले के गरेनन् ? छि : लाज नै लाग्छ यिनको हर्कत संझिँदापनि पनि । बिभिन्न नाटक मञ्चन पछि गत आइतबार दिउँसो चार बजे नेपालीमा पुनः सपथ लिने संकेत गरेका थिए तर यी भन्दा माथिका राष्ट्रपति र प्रधानमन्त्री यिनलाई नेपालीमा सपथ गराएर चोख्याउन सिधै भन्दा गधालाई नुहाएर गाई बनाउन असिन-पसिन भएर प्रतिक्षा गर्दा पनि यी किन गएनन् ? यसको जवाफ त राकेश शूदलाई मात्रै होइन हामी दूरदराजका जनतालाई पनि प्रष्टै छ ।
सच्चा राष्ट्रभक्त नेपालीको (जन) अदालतले त यिनलाई पुनः नेपालीमा सपथ खान लगाएर चोख्याउने निर्णयभन्दा भाषिक युद्धको आडमा राज्यद्रोहको अभियोग लगाएर देश निकाला गर्नु पर्ने हो । हो, सबैलाई आफ्नो मातृभाषा प्यारो हुन्छ । त्यसैले यिनले मैथिलीमा नै सपथ खाएको भए यिनलाई सच्चा नेपाली भनेर सम्मान गर्न सकिन्थो । मधेश मात्रै होइन नेपालका कुना-कुनामा बिभिन्न थरिका भाषाहरु चलनचल्तिमा छन् । नेपालीहरु बीच सर्म्पर्क भाषाको रुपमा रहँदै आएको एकताको प्रतिक नेपाली भाषालाई अझ सबल रुपमा नेपालका हिमाल, पहाड र तर्राईसम्म स्थापित गर्दै आफ्नो मातृभाषाको महत्व र उपयोगितालाई स्थापित गर्न यिनले मैथिलीमा सपथ खाएको भए पनि यो बिबाद बढ्ने थिएन । विशुद्द हिन्दी भाषालाई नै सारा नेपालीहरुको सम्पर्क भाषा मात्रै होइन राष्ट्रिय भाषाकै रुपमा मान्यता दिन कम्मर कस्नुको गन्तव्य नेपाललाई निको नहुने क्यान्सर रोग सल्काएर तर्राई-मधेशबाट बिस्तारै सार्दै-सार्दै सगरमाथाको शिरमा लगेर महात्मागान्धीको धोती फहराउने कार्यको निरन्तरता नै हो । त्यसैले यिनलाई फेरि नेपालीमा सपथ खान लगाएर चोख्याएर पुनः खेल्ने मैदान दिनु सरासर राष्ट्रघाति निर्णय सिवाय अरु केही हुने छैन । अतः यिनको सपथ होइन राजिनामा नै सही निर्णय हो ।
कसले बनाइदियो यो खेल्ने मैदान
हाल सतहमा देखिएको भाषिक युद्धको तातो जटिलताको जग बसाल्ने काम कसले गरेको थियो भन्ने यथार्थ थाहा पाउन मात्र एक वर्ष अघिको राजनीतिक इतिहास पल्टाए मात्र पनि प्रष्ट हुन्छ । संविधानसभाको चुनाव सम्पन्न भए पछि दलहरुमा बढेको सत्ता मोह र खिचातानीको फोहोरी खेलमा जब राजनीतिक यात्राले सहमतीयबाट अबैध गणितीय पथमा ओरालो लाग्यो तब नै प्रमानन्द झा उदाएका हुन् प्रथम उपराष्ट्रपतिको पदीय अबतारमा । यिनलाई उपराष्ट्रपतिमा सिफारिस गर्ने पर्दाका खेलाडी उपेन्द्र यादवहरु र पर्दा भित्रको निर्देशक (ठुल्दाई) को यसमा कुनै दोष नै छैन । किन कि तिनीहरुले त आफ्नो रणनीतिक यात्रामा केबल एउटा पात्रलाई अघि सारेका मात्र न हुन । र, यसलाई बैधानिकताको श्रीपेच पहिराइदिने शक्ति बर्तमान कठपुतली सरकारको नेतृत्व (सतहीरुपमा) गरेको एमाले र के.पी.ओलीहरु हुन ।
सबैलाई ज्ञातब्य छ, आफ्ना हरुवा नेता माधब नेपाललाई राष्ट्रपतिमा माओवादीले समर्थन नगरेको रिसमा कांग्रेस (मधेश)का नेता डा.रामवरण यादवलाई जिताएको थियो । त्यस्तै उपराष्ट्रपतिको निर्वाचनमा त झन् माओवादीसँग अझ बदला लिन नै न त माआवादीकी प्रत्यासी शान्ता श्रेष्ठलाई नै समर्थन गर्यो न त आफ्नै दलबाट उठाएकी (संविधानसभाको चुनावमा पराजित भएकी नै भए पनि) महिला नेत्री अष्टलक्ष्मी शाक्यको पक्षमा नै अडिग रहन सक्यो । इतिहासको पानामा सुवर्ण अक्षरमा लेखिने गणतन्त्र नेपालको प्रथम उपराष्ट्रपति जस्तो गरिमामय पद र जिमेवारीमा महिलाको सुअबसरलाई कुठराघात गरेर प्रमानन्द झा जस्ता कलंकित पात्रलाई खेल्ने मैदान बनाउने एमाले नै हो । सौताको रिसले लोग्नेको काखमा “सु”गर्ने एमालेको तात्कालिन निर्णय र यात्राको गन्तव्य नै हो यो । कांग्रेसको धर्म यथास्थितिवाद र मधेशवादी दलहरुको धर्म ठूलो दाइको मार्गनिर्देशन पालना गर्नु हो ।
तर, आफ्नो दललाई कम्युनिष्ट भन्ने एमालेको जोइटिंग्रे प्रबृतिले नै मुलुक अझ राजनीतिक द्वन्दमा फस्दै गएको छ । बेलुका एउटा निर्णय र सहमति गर्ने अनि भोलि बिहान मैदानमा बिपक्षिको खेमामा उभिएर आफ्नै गोलरक्षकका बिरुद्ध गोल हान्ने राजनीतिक बैमानी एमालेले बिगत देखि नै गर्दै आएको छ । जुन निरन्तरता गत शुक्रबार भएको संबैधानिक समितिको सभापति चयन प्रक्रियामा पनि दियो । नेपाली कांग्रेस र एमालेहरु माओवादीलाई संविधान बनाउन जिमेवार नभएका् भनेर आरोप लगाउन तल्लिन नै छन् र उसलाई बिल्कुलै अलग्याएर अघि बढ्ने कसरत पनि गरिरहेका छन् । माओवादीलाई कमसेकम कुनै पनि जिमेवारीमा समलग्न गराउन तथा राजनीतिक सन्तुलनका लागि भने पनि संवैधानिक समितिको सभापतिको पदभार दिएर उसको परिक्षा गर्नु पर्ने थियो । तर अबसर नै दिइएन । के माओवादीलाई बाहिर राखेर १४ ज्येष्ठ २०६७ भित्र गणतन्त्र नेपालको पहिलो संविधान बन्ला ? बन्न त बन्ला प्रमानन्द झाहरुको संविधान बन्ला तर सारा नेपालीहरुको बन्दैन । कतै निलाम्बर आचार्यको नियुक्ति दिल्लीमा बनेको संविधानलाई नेपालीमा अनुवाद गर्ने मात्रै त होइन ? यो बेला नागरिकसमाजका अगुवाहरु के हेरेर बसेका छन् ? किन आवाज उठाउँदैनन् प्रमानन्द झाको बिरुद्धमा ? र किन चुप लागेर बसेका छन् दलहरुको मनपरि तन्त्रमा ? यही पारा हो भने संविधानसभाबाट नेपालको संविधान बन्नेवाला छैन । बिरबलको खिचडी जस्तो भई सकेको संविधानसभाबाट होइन अब सडकबाटै पो लेख्नु पर्ने हो कि संविधान, नागरिकसमाजले सोच्नु पर्ने बेला आएको छ ।
यति बेला नेपालको राजनीतिको राष्ट्रिय नेतृत्त्र तहमा राष्ट्रपति नेपाली कांग्रेस -मधेश), उपराष्ट्रपति फोरम (मधेश), प्रधानमन्त्री एमाले (सपथ नलिंदै भारतद्वारा भारतीय मुलका नागरिक भनेर भनिएका पात्र माधब नेपाल मधेशकै ) उपप्रधामन्त्री फुटेको फोरम (मधेश), संविधानसभाको अधक्ष्य एमाले, संवैधानिक समितिको सभापतिमा पनि नेपाली कांग्रेसकै बर्चस्व छ । सरकारी गठजोडको अंकगणितमा पनि सिंगै बाइस दल एकातिर छन् । राज्य सञ्चालनका सम्पूर्ण प्रमुख कुर्सीमा आफै आसिन भई पदीय हिसाबमा कुनै पनि जिमेवारीमा नरहेको प्रतिपक्ष्यलाई मात्रै दोषी देख्नु कति न्याय संगत छ ? बाइस दल र देशीबिदेशी ठूला दाइहरुको सहयोग र र्समर्थन छ भनेर डंका पिट्ने बर्तमान कठपुतली सरकारले उपराष्ट्रपतिको भाषिक प्रकरणलाई त सल्झाउन सकिरहेको छैन भने नया जनसंविधान बनाउँछ भनेर हामीले आशा गर्नु ब्यर्थ छ ।
खैर ! मदन भण्डारीको हत्या पश्चात एमालेको महासचिवको पद ग्रहण गर्दा हत्यारा पत्ता लगाई कार्बाही गर्ने कसम खाएका, इतिहासकै अति कलंकित राजा ज्ञानेन्द्रका कोमल चरणमा दाम राखेर ढोगे पनि र संविधानसभाको चुनावमा दुई दुई क्षेत्रबाट पराजित भए पनि माआवादीको आग्रह र सहयोगमा संवैधानिक समितिको सभापति हुदै प्रधानमन्त्रीमा बहाल रहेका माधब कुमार नेपाल र उनको नेतृत्वको सरकारले उपराष्ट्रपतिको भाषिक युद्ध र प्रतिपक्षको नागरिक सर्बोच्चताको आन्दोलनलाई सही सम्बोधन गरी तोकिएको समयमा नै संविधान बनाउँला त ? हेर्न बाँकी नै छ । अनि माधब नेपालले मदन भण्डारीका बास्तविक हत्यारालाई र्सार्वजनिक गरी कार्बाही गरेर नेपाली कम्युनिष्ट आन्दोलन र स्वयं एमालेलाई नै न्याय गर्ने हिम्मत गर्लान् ? या प्रतिपक्षको आन्दोलन वा गिरिजाको पुत्री मोहको अन्तिम बिन्दुमा यी कुर्सीबाट खस्ने हुन् थाहा छैन । त्यसै पनि यो प्रधानमन्त्रीको कुसी गिरिजाले केही समयको लागि (सुजताको धरातल नबनेसम्म) बोकाएको भारी मात्रै न हो र माधब नेपाल उनैको खेतला न हुन् ।
पालुण्टार १, गोरखा
हाल- साउदी अरब, (अलखोबर) ।




