गुडवील भ्रमणः एक विश्लेषण
[एमाले र नेपाली कांग्रेस दुवै दललाई भारतले सहोदर भाइका रुपमा हेर्ने गरेको छ भने माओवादीलाई सौताको छोरोको रुपमा । नेपालको शासन सञ्चालनमा यही कठिनाई छ । किनकि, चीनले चाहेरै पनि यहाँका माओवादीलाई केही गर्न सक्तैन । तर, एमाले र नेपाली कांग्रेसले नचाहेर पनि भारतले उनीहरुलाई सहयोग गरिरहन्छ ।]
-अकेला-
आकाशमा र समुद्रमा कति पानी छ भन्ने कुरो आकाशबाट वषिर्न थालेपछि र समुद्रभित्र डुवुल्की लगाएपछि थाहा हुन्छ । तर, सत्तामा जाने र सत्ताबाट चिप्लिनेहरुका मनमा के कति दम्भ, द्वैश र खुराफात हुन्छ भन्ने कुरो कसैलाई थाहा हुँदैन । जव देशका नेताहरु आफ्नो मुलुकको विकास निर्माणमा कम र आफ्नै बिकास निर्माणमा ज्यादा ध्यान दिन थाल्दछन्, तव उनीहरुबाट गरिने राजनीतिको कुनै तुकै बाँकी रहँदैन ।
अस्ति, मंगलबार सपत्नी ६४ सदस्यीय टोली सहित प्रमं माधवकुमार नेपाल भारतको सदभावना भ्रमणमा निस्केपछि नेपालको राजनीतिक वृत्त एकाएक तात्तिएको छ र बिभिन्न अडकलबाजीहरु हुनथालेको छ । सत्तारोहणसँगै भारत भ्रमण गर्नु यहाँका नेताहरुको पुरानो चलन हो तापनि वर्तमान सरकारको गुडवील भिजिट भनिएको यो भ्रमणमा परराष्ट्र मन्त्री सुजाता कोईराला जाने पक्कापक्की भैसके पनि ऐन मौकामा स्वास्थ्यको कारण देखाई स्वयँ प्रमं. नेपाल, उनका सल्लाहकार रघुजी पन्त, अर्थमन्त्री लगायत तमलोपाका राजेन्द्र महतो सहित निस्केको यो यात्राको सुरुमै दाँतमा ढुङ्गा लागेको छ ।
काँग्रेसकी वरिष्ठ नेतृ उर्फ भविष्यकी प्रधानमन्त्री उर्फ वर्तमान परराष्ट्र मन्त्री सुजाताले स्वास्थ्यको बहानामा वर्तमान सरकारको पहिलो भ्रमण रद्ध गरेकी छिन् । तिनले त्यसो गरेर एमालेको नेतृत्वमा नेपाल-भारत बीच हुनसक्ने सन्धी-सम्झौता तथा त्यसबाट निस्कने नकारात्मक परिणामबाट नेपाली कांग्रेसले कतै आफुलाई ढुङ्गोमाथिको तित्रो सावित गर्नखोजिरहेको त छैन ? किनभने, गुडवील भ्रमण भनिएको यो भ्रमणले भविष्यमा अपेक्षाकृत गुडवील कमाउनुको सट्टा एमालेले नचाहेर पनि नेपाल र नेपालीसँग गद्धारी हुनसक्ने सम्भावना एकदम बलियो छ ।
बलेको आगो ताप्ने केही पत्रपत्रिकामार्फत वर्तमान सरकारले भारतसँग विद्युतको प्रसारण लाईन, नौमुरे जलविद्युत परियोजना, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, हुलाकी राजमार्ग, विकास निर्माण लगायत छात्रवृत्ति, संग्रहालय निर्माण, बाग्मती संरक्षण तथा व्यवस्थापन जस्ता कुराहरु उठाउने र त्यसमा भारतले सहयोग गर्ने हल्ला पिटाइएको छ । सरकारको यो हल्लाले केन्द्रदेखि जिल्ला तहका सबैखाले सरकार सम्बद्ध दलहरुका नेता-कार्यकर्ताको नाक घिरौँला जत्रो बनेका छन् । के यी बिचराहरुलाई थाहा छैन होला कि भारतले नेपालसँग के चाहन्छ ?
नेपालको भुमिबाट भारतले चीनको सुक्ष्म अध्ययन गर्न चाहन्छ भन्ने कुरो बिचराहरुलाई थाहै छैन होला र ? नेपालको अपार प्राकृतिक सम्पदामाथि उनीहरुका आका भारतले युगौँदेखि आफ्नो गिद्धेदृष्टि गाड्दै आएको र मुख्य मुख्य सम्पदाहरुमाथि उसकै राज चलिरहेको कुरो लाठ्साब्हरुलाई हेक्का छैन होला ? नेपाल, आतङ्ककारीहरुका निम्ति सुरक्षित स्थल नबनोस र त्यसैको निम्ति त्रिभुवन बिमानस्थलको परिसरभित्र स्क्यानर राख्न प्रस्ताव गरेको कुरो उनीहरुलाई थाहै छैन होला ? अनि, त्यहाँ उत्पादित वस्तु बिक्री गर्ने मुख्य हाटबजारको रुपमा हेरिएको यो भुमिको अर्थ र राजनीतिमाथि मजबुत पकड कायम राख्न भारत कति आत्तुर छ भन्ने कुरोलाई जानाजान् बुझ पचाउनेहरुसँग कसरी सकिन्छ पाठक ?
विगतको ९ महिने शासनकालमा महाकाली र टनकपुर जस्ता मुख्य नदीहरुमाथि सम्झौता गरेर एकचोटी चुकिसकेकाहरुको यो सद्भावना भ्रमण आफैँमा कति सद्भावपूर्ण र फाईदाजनक छ भन्ने कुरो प्रमं माधवकुमार नेपाल त्यहाँबाट फर्केपछि थाहा भैहाल्नेछ । यस बाहेक, नेपालको हित विपरित कुनै सन्धी-सम्झौता नगर्न प्रमं नेपाललाई प्रमुख प्रतिपक्ष दल एकीकृत ने.क.पा. माओवादीको चेतावनी समेत आईसकेको हुँदा माओवादीको त्यो चेतावनी बिपरित कुनै सन्धी-सम्झौता गरिए वर्तमान सरकारको खैरियत नहुने ठोकूवा माओवादीहरु गर्दैछन् ।
उसो त, राजनीतिका दुईवटा पाटा हुन्छन् । एउटा पाटो यस्तो हुन्छ, जो सरकार बाहिर बसेर गरिन्छ र सत्तासञ्चालनसँग त्यसको कुनै सम्बन्धै हुँदैन । अर्को, यस्तो पाटो हुन्छ, जो सरकारमा बसेर गरिन्छ र निकै कठिन तथा चुनौतिपूर्ण हुन्छ । सरकारमा छउञ्जेल सबै राम्रो, र सरकारबाट हट्नासाथ सबैथोक नराम्रो । कुरुप र घिनलाग्दो देखिनुको कारण पनि यही हो । यो एउटा यस्तो राजनीतिक बिमारी हो, जसको कुनै उपचारै छैन ।
हामीकहाँ भएका सबै राजनीतिक दलहरुमध्ये सरकार चलाउन सवैभन्दा सजिलो एमाले र नेपाली कांग्रेसलाई छ । सबैभन्दा कठिन, माओवादीलाई छ । किनकि, माओवादीलाई भारतले हेर्ने दृष्टिकोण र एमाले तथा नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोणमा आकास पातालको अन्तर छ । एमाले र नेपाली कांग्रेस दुवै दललाई भारतले सहोदर भाइका रुपमा हेर्ने गरेको छ भने माओवादीलाई सौताको छोरोको रुपमा । नेपालको शासन सञ्चालनमा यही कठिनाई छ । किनकि, चीनले चाहेरै पनि यहाँका माओवादीलाई केही गर्न सक्तैन । तर, एमाले र नेपाली कांग्रेसले नचाहेर पनि भारतले उनीहरुलाई सहयोग गरिरहन्छ । यस्ताखाले सद्भावना भ्रमणहरु भैरहन्छन् ।
भारतीय खुफिया एजेन्सी ‘र’ को सक्रियतामा माओवादीलाई १२ बुँदे समझदारीभित्र छिराउनु । उनीहरुलाई निशस्त्र तुल्याईनु । छापामारहरुको गिन्ति गरिनु । दोस्रो जनआन्दोलनको पृष्ठभूमि तयार गरिनु । राजतन्त्र फ्याँकिनु । बेबी किङ्ग, सेरेमोनियल किङ्गदेखि सेरेमोनियल राष्ट्रपतिको चर्चा चलाईनु । बिद्रोही नेता प्रचण्डको विवादास्पद भिडियो टेप सार्वजनिक हुनु । उनीहरुको नेतृत्वमा रहेको सरकारद्वारा दिईएको आदेश नेपाली सेनाध्यक्षद्वारा अवज्ञा गरिनु । राष्ट्रपति लगायत प्रायशः दलहरुद्वारा त्यसलाई अनुमोदन गरिनु । नागरिक सर्वोच्चताको उल्लंघन बताईनु । बिद्रोहीहरु अनयास सरकारबाट हट्नु । गिरिजाको मुखबाट नेपाली सेनालाई हाई एलर्टमा रहन सुझाव दिईएको खुलासा यतिखेरै गरिनु र जोरीखोजे माओवादीको हालत तामिल टाईगर्सको जस्तै हुने चेतावनी आउनु । संविधान सभाको निर्वाचनमा भारी बहुमतले बिजयी हुनेहरु सत्ताविमुख हुनु र हार्नेहरु सत्तामा पुग्नु । मन्त्री पदले बिभुषित हुनु लगायत आवश्यक परे भारतले सैन्य सहयोग उपलब्ध गराउने रक्षामन्त्रीको स्पष्टोक्ति लगत्तै स्वयँ प्रधानमन्त्रीकै तात्त्तातो भ्रमण आदिलाई आम वुद्धिजिवि समूहले परेला नझिम्काईकन हेरिरहेका छन् ।
माओवादीले १० वर्षसम्म सञ्चालन गरेको जनयुद्ध भारतमा हुर्केको र त्यहीँका बिभिन्न अस्पताल तथा डिस्पेन्सरीहरुमा माओवादीका घाईते छापामारहरुको उपचार गर्ने गरिएको एकथरी भारतीयहरुको भनाई छ । उनीहरुलाई आवश्यक पर्ने सबै हातहतियारहरु त्यहीँ खरिद गर्नेगरेका कारण माओवादीहरु यहाँसम्म आईपुगेको भन्न अर्काथरी भारतीय रुचाउँछन् । त्यस्तै, माओवादीहरु सत्तामा आइसकेपछि उनीहरुलाई सत्ताच्यूत गर्न आफ्नो ठूलो स्थान रहेको बताउन पनि केही भारतीयहरु पछि पर्दैनन् । माओवादीप्रति भारतीयहरुका यी फरक दृष्टिकोण नै यहाँको सर्वहारा क्रान्तिका लागि सर्वाधिक खतरा छ ।
माओवादीको चीन भ्रमण र एमाले तथा नेपाली काँग्रेसको भारत भ्रमणमा कुनै भिन्नता छैन । चीनको सद्भावना भ्रमणमा निस्केर एकातिर माओवादीहरु भारत लगायत नेपालका पूँजिवादी तथा दलाल पूँजिवादीहरुलाई चाईना कार्ड देखाउन चाहन्थे भने उनीहरुको अवशानपछि नेपाल सरकार प्रमुखको यो भारत भ्रमणले आफ्नो निम्ति चुनौति बनिरहेका भारतीय कार्ड फ्याँकेर शक्ति सन्तुलनका निम्ति माओवादीहरुलाई तर्साउन खोजेजस्तो देखिन्छ । कुनै समयमा उपप्रधानमन्त्री बनिसकेका वर्तमान प्रमं नेपाल यो मामिलामा कति सफल हुन्छन्, या हुँदैनन्, त्यो भविष्यले नै बताउला । परन्तु, सत्तासञ्चालनको जुन बुझ्नै नसकिने नौटङ्की यहाँ बारम्बार खेलिँदैछ, त्यसबाट नेपाल र नेपाली जनताप्रति महाशयहरुको भित्री मनसाय प्रष्टसँग बुझ्न भने कत्ति गाह्रो पर्दैन ।
एमाले यतिखेर केही सच्चिएझैँ देखिएको छ । गाउँ गाउँ पुर्याउन नसकिएको विकास बजेट यतिखेर सर्वत्र पुगेको छ । यदि उसले ढुलमुले तथा दोहोरो चरित्र मात्र त्याग्न सक्यो र आफ्ना नाममा परेको यो चिठ्ठालाई सही ठाउँमा उपयोग गर्नसक्यो भने सँसारको कुनै पनि ताकतले उसलाई सत्ताबाट हटाउन सक्ने छैन । ‘उपरवाला देता है तो छप्पर फाड्के देता है’ भनेको शायद यही नै हुनुपर्छ पाठक । अर्थात, तेस्रो वरियतामा परेको दल-सरकारमा, र पहिलो वरियतामा परेको दल-प्रतिपक्षमा ! वाह रे तकदीर !
माओवादीको भाग्यमा यतिखेर राहु र शनि जस्ता शक्तिशाली ग्रहहरुको छायाँ परेको छ । महामुश्किलले हासिल भएको सत्ताको माछो फुत्किनाको कारण पनि त्यही थियो । पुनः सत्तामा आउन उनीहरुले निकै डण्डा पेल्नुपर्नेछ । अर्थात, ती शक्तिशाली ग्रहहरुको १००८ मन्त्र जप गर्नैपर्ने हुन्छ भने अमेरिका र भारत जस्ता जल्दाबल्दा नक्षत्रहरुको कृपादृष्टी कायम हुनाले काँग्रेसको भाग्य उहिल्यैदेखि निकै बलवान रहँदैआएका कारण काँग्रेस, चाहे सत्तामा रहोस वा नरहोस, शक्ति सन्तुलनको साँचो जहिल्यै सुकै उसकै हातमा रहन्छ । भाग्यमा आएर चन्द्रमा बसेकै कारण आफ्नो खप्पर बलियो बनेको कुरो एमालेलाई पनि राम्ररी थाहा छ । तर, भाग्य छ भन्दैमा डोकामा दुध त अड्दैन । सत्तामा टिक्नका लागि उसले बारम्बार भारतको दर्शन गर्नैपर्ने हुन्छ र त्यसको पाउमा नेपाली राष्ट्रियताको जल त चढाउनैपर्ने हुन्छ । प्रमं नेपालको यो भ्रमण पनि सम्भवतः त्यस्कै निम्ति हुनसक्दछ । अर्थात, सत्तामा टिकिरहन भारतीयहरुको आशिर्वाद प्राप्त गर्ने खुफिया चाल । यदि प्रमं नेपाल यो सम्वेदनशील मामिलामा फेरी पनि चुकेछन् भने एउटा कम्युनिष्ट पार्टी इतिहासको कठघरामा पहिल्यै उभिसकेको त छ नै, एमाले पनि सँगसँगै त्यही कठघरामा उभिने छ । र नेपाली सर्वहारा क्रान्तिका नाराहरु केवल कितावी पानाहरुमै सिमित रहनेछन् ।




