प्रधानमन्त्रीको भारत भ्रमण र नेपाली पक्षले उठाउनुपर्ने मुद्दा
-राजेन्द्र कुमार लाल/काठमाडौं
नेपालमा प्रधानमन्त्री परिवर्तनपछि नयाँ प्रधानमन्त्रीले भारतको भ्रमण गर्ने परम्परा छ । त्यही परम्परालाई निरन्तरता दिन सम्मानिय प्रधानमन्त्री माधवकुमार नेपालको यो पाँच दिने भारत भ्रमणलाई सरकारले सद्भावनाका रुपमा व्याख्या गरेको छ । हरेक पटकको प्रधानमन्त्री वा राष्ट् प्रमुखको भारत भ्रमणमा अतिरित्त शुल्क घटाएर, विशेष सहुलियत दिएर वा ठूलो ठुल्दाई भारतले झारो टार्ने काम गदै आइरहेको छ । तसर्थ, यसपटकपनि प्रधानमन्त्रीले लिएर गएको जम्वो टोलीलाई पक्कै केही न केही अवश्य पनि दिनेछ । तर पञ्चेश्वरको हल्ला गरेर भारतले आफनो दुनो सोझयाउने काम गर्न सक्छ । वा ९० प्रतिशत सिमाना समस्या समाधान भइसक्यो भनेर सम्झौता गर्न सक्छ भन्ने कुरामा नेपाली टोली सचेत र गम्भीर हुनु अतिनै जरुरी देखिन्छ । नेपाल सरकारले भने अनुसार भ्रमणमा परिमार्जित वाणिज्य सन्धि, भारतीय लगानीको सुरक्षाका लागि ल्याइएको द्धिपक्षीय सुरक्षण सम्भौता तथा नेपालमा जलश्रोत र उर्जा विकासको बारेमा छलफल हुनेछ ।
नेपाल तर्फवाट उठाइनुपर्ने केही महत्वपूर्ण विषय
–तेश्रो मुलुकको सामान नेपाल हुँदै जानु पर्ने । चीनमा उत्पादित सामान नेपालको नाका हुँदै भारत जान पाउनुपर्ने ।
–नेपाली विधार्थीहरुलाई विभिन्न विषयमा दिइँदै आइरहेको छात्रवृति कोटा दोव्बर गरिनुपर्ने ।
–नेपालले भारतमा काम गर्न जाने श्रमिकको खुला पहुँचमा दोब्बर वृद्धि गर्न पाउनुपर्ने ।
-भारतमा काम गर्ने नेपाली श्रमिकहरुको परिश्रमिक भारतीय श्रमिकसरह हुनुपर्ने र तिनीहरुको जीवन विमा गरिनुपर्ने ।
-भारतमा पाँच वर्षभन्दा वढी समय काम गर्ने सम्पूर्ण नेपाली श्रमिकहरुलाई भारतीय नागरिकता दिइनुपर्ने ।
-नेपालवाट भारतमा निर्यात हुने कृषिजन्य वस्तु चिया, कफी, तरकारी तथा जडिवुटिहरुको निर्यातमा क्वारेन्टाइन र गुणस्तर आदिको ब्यवस्था छुट हुनुपर्ने ।
-जलश्रोत विकासमा भारतको अलावा नेपालले अन्य देशलाईपनि प्रयोग गर्न पाउनु पर्ने । सो सम्झौता गर्न नेपालले भारतको सहमति लिनुनपर्ने ।
-नेपाल र भारत बीच भएको १९९६ को सन्धि अनुसार नेपालमा उत्पादित वस्तुहरु भारतमा सुविधायुक्त प्रवेशका लागि मूल्य अभिवृदि वा म्याटेरियल कन्टेन्ट जस्तो जटिल र प्रशासनिक झमेलायुक्त प्रावधानको साटो तीन किसिमका वस्तुबाहेक अरु सवै वस्तु नेपालमा उत्पादित र प्रमाणित गरेको आधारमा भारतमा भन्सारमुक्त एवं परिमाणत्मक बन्देज लगाई निकासी हुने सक्ने प्रावधान पुनः लागु गर्न लगाउने ।
-नेपालमा खाद्य संकट भएको वेलामा भारतबाट चामल, दाल, गहुँ, मकै, चिनी आदि प्राथमिक वस्तु शून्य भन्सार दरमा नेपालले आयात गर्न पाउनुपर्ने ।
-कालापानी, सुस्ता र अन्य विवादित सिमा समस्याको समाधान ।
-काठमाडौमा बागमति सरसफाई र यसको विकासमा प्रतिबद्दता ।
-तराईमा भएका सम्पूर्ण मुख्य नदीहरुको नियन्त्रण कार्य गरिदिने प्रतिवध्ता । किनभने यि नदीको फाईदा भरतलेपनि लिन्छ ।
-पूर्व देखि पश्चिमसम्मको खुला सिमानामा हुने सम्पूर्ण अपराध संयुक्तरुपमा नियन्त्रण गर्ने सहमति ।
-१९५० को सन्धी खारेज गरि नयाँ सम्झौता गर्ने माग ।
-भारतमा वसोवास गर्ने करीब २० लाख नेपाली जनसंख्याको सुरक्षा तथा आवश्यक चाहिने सहयोगहरु ।
विगतमा भएका सहमतिहरुको तुरन्त कार्यान्वयनमा जोड दिनु पर्ने केही विषयवस्तु
-पूर्व पश्चिम हुलाकी सडक (१०२० कि.मी. कालो पत्रे) निर्माण ।
-रक्सौलदेखि अमलेखगंजसम्मको तेल पाइपलाइन निर्माण ।
-जयनगर जनकपुर हुदै विरगंज सम्मको रेलमार्ग विस्तार ।
नेपालले तुरन्तै सहमति वा सम्झौता गर्न नहुने केही सम्झौताहरु
-पन्चेश्वरको सम्झौता । यसको डि.पी.आर.वनाउन सहमति सम्म मात्र गर्न सकिन्छ ।
– सुपूर्दगी सन्धी ।
-भारतीय पक्षले तयार पारेको सिमाना रेखाकंन अनुसारको सिमाना सम्झौता
अन्तमा प्रधानमन्त्रीको भारत भ्रमणवाट हामीले माथिका मुद्दाहरुमा कति सफलता हासिल गर्यो त्यो हेर्न बाँकि नै छ । तर नेपाल आफ्नो आन्तरिक समस्याहरुलाई आफै समाधान गर्न र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन सक्षम छ भन्ने सन्देश प्रधानमन्त्रीले भारतलाई दिने नै छन् भन्नेमा हामी पूर्ण विश्वस्त छौं । साथै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबाट नेपाल र नेपाली जनतालाई फाइदा हुनेछ । र दुई देशको सम्बन्ध अझ प्रगाढ हुने विश्वास हामी सबै नेपालीको रहेको छ ।
(एकै लेखकका एक भन्दा बढि लेख मुख्य प्रिष्ठमा सकेसम्म नराख्ने नेपालप्लसको सोच हो । तर यो लेखको विषय प्रधानमन्त्रीको भारत भ्रमणका कारण गम्भिर र समय सापेक्ष भएकाले प्रकाशित गरिएको हो । प्रधानमन्त्रीले कस्ता कस्ता विषय उठाउनु पर्ला, के गर्नुपर्ला? प्रधानमन्त्रीको भारत भ्रमणबारे बहस चलाउनुहुन पाठकहरुलाई अनुरोध छ । आफ्ना भनाईहरु सभ्य भाषामा राख्नुहोला-नेपालप्लस) ।




