आदिबासी समूदायमाथि अलकायदाको खतरनाक घण्टी

-दिलबहादुर चौधरी

 इतिहासका पाना पल्टाउने हो भने बिभिन्न कालखण्डमा आदिबासी जनजातिहरु तमामखाले दुःखकष्ट सहँदै कष्टपूर्ण जीवन ब्यतित गर्दै आइरहेका छन् । पौराणिक कालका साम्बरा जसका ९९ वटा दुर्गहरु थिए, जो सयौं वर्षसम्म इन्द्रसँग लडेका थिए । अन्तमा सुतिरहेको बेलामा इन्द्रद्वारा मारिएका थिए । नेपालमा पनि लिगलिग कोटका घले राजाहरु षडयन्त्रपूर्ण ढंगले दौड प्रतियोगितामा पराजित भएपछि शाहहरु गोरखाका राजा भएका हुन् भन्ने कुरा बुझिन्छ । बि.स. १९१० को मुलुकी ऐनले पनि आदिबासीहरुलाई मास्न सकिने जातिको रुपमा राखेको थियो भन्ने कुरा ऐनले बोल्छ ।

 यसरी बिभिन्न कालखण्डमा जान्नेसुन्ने भनाउँदाहरुद्वारा सर्वसाधारणहरु ठगिएका छन् भन्ने कुरा इतिहासले बताउँछ । तर कतिपय अवस्थामा बिकृत मानसिकताका कारणले मानिसहरु खूद दुःख झेल्न पुग्छन् । बिकृत मानसिकताका ब्यक्तिहरु धूर्त, चलाक ब्यक्तिहरुका लागि अन्याय र अत्याचार गर्ने मोहडा हुन पुग्छन् । तिनै मोहडाका कारण पूरा समुदाय दुःख झेल्न बाध्य हुन्छ ।

 देशमा एउटा समय थियो, जुन समयको स्मरण गर्दा आङ सिरिङ्ग हुन्छ । आम नेपालीहरुका लागि राणाकाल मात्र असहृय थियो होला, तर आदिबासीहरुका लागि पंचायतकाल पनि त्यत्तिकै अभिशप्त थियो । यो कालमा सुदूरपश्चिमका आदिबासी थारुहरु राणा छोरा र मूसाकालका रुपमा परिचित थिए । खसहरुका मुखमा गाली गर्ने शव्दका रुपमा माँ-चकारी, राणा छोरा र मूसाकाल भरीभराउ थिए, जुन सम्झँदा नै बडो दुःख लाग्छ । यो समयको अन्त्यपछि सेना-प्रहरीको नजरमा थारु जति माओवादी र माओवादीको नजरमा पनि थारुहरु सामन्त हुन पुगे । दुइटैको पेलानमा थारुहरु नराम्ररी पेलिए । माओवादी बनाउने नेताहरु र इञ्चार्जहरु सबै खस भएपनि यात्रा गर्दा सेना प्रहरीद्वारा खानतलासीमा थारु सताइए । अन्यथा नलागोस्, यो देशको तीतो यथार्थ हो ।

 माओवादीका नाममा, सुराकीका नाममा, व्यभिचारीका नाममा, शोषक र सामन्तका नाममा या यस्तै कुनै नाममा बढी मात्रामा फेरी पनि थारु नै मारिए । बेपत्ता पारिए । अंगभङ्ग गरिए । जरिबाना गरिए । बलात्कृत भए । यी अतितका घाउहरु बिस्तारै पुरिंदै गइरहेको थियो । एन बक्तमा त्यही समुदायमा अलकायदा आइपुगेको छ । यसले आदिबासीहरुलाई धरधरी रुवाउन सक्छ । कहीं नभएको जात्रा हाँडी गाउँमा भनेझैं नेपालको कुनै जातिमा नदेखिएको संगठन थारुमा कसरी आधार पायो । जन्म लियो । यो आमचासोको बिषय हुन पुगेको छ ।

 जहाँ गरिबी हुन्छ, जहाँ अन्याय र अत्याचार हुन्छ, त्यहाँ अपराध पनि मौलाउने मौका पाउँछ । यस अवस्थामा इमान्दार थारुहरुमा अलकायदा आउनै सक्तैन भन्न सकिन्न । सम्भावना रहन्छ । जो सोझो हुन्छ, उसलाई सबले फकाउन सक्छन् । तर देशमा अलकायदा नछिरेको अवस्थामा कसैलाई अलकायदाको मान्छे हो भनी यदि आरोप लगाइन्छ भने त्यो खुलेआम अलकायदालाई निम्तो हो । यदि देशमा अलकायदा साँच्चिकै छिरेको हो भने त्यसले वाईसियललाई ठूलो धक्का दिन सक्छ । अन्ततोगत्वा नेपाल सरकारको लागि नै भारी पर्न सक्छ । बिश्व महाशक्ति राष्ट्र अमेरिकालाई आच्छुआच्छु पारिरहेको अलकायदा नेपाललाई शान्तसँग बस्न दिन्छ जस्तो लाग्दैन । अलकायदा कुन उद्देश्यले नेपाल पसेको हो ? त्यसमा भरपर्छ ।

 यदि २०६३ श्रावण ८ गते सुदूर सन्देशमा प्रकाशित भए अनुसार अलकायदा “नेपाललाई मुश्लिम राज्य बनाउने योजना” सहित पसेको हो भने हिन्दू (खस) हरुलाई पनि आपत आउन सक्छ । उता एकपल्ट फेरी थारुजति अलकायदा घोषित हुन सक्छन् र सेना-प्रहरीबाट दुःख पाउन सक्छन् । यो निकै सोचनीय बिषय हुन पुगेको छ । किनकि अलकायदा कुनै हँसी, मजाक वा लाञ्छनाको बिषयबस्तु होइन । यसले तवाही मच्चाउन सक्छ । अल्पसंख्यक मुश्लिम पनि यसमा त्यत्तिकै मुछिने अवस्था आउन सक्छ ।

 बिश्व आतंकवादी संगठनको नाममा अमेरिकाको सूचीमा नेपालको सब भन्दा ठूलो दल नेकपा माओवादी अहिले पनि सूचीकृत छ । तर सूचीमा अलकायदा पहिला एवं शिर्ष स्थानमा छ । जहाँ अलकायदा पुग्छ, त्यहाँ अमेरिका पुग्छ । हामी समाचार सुन्छौं र टेलिभिजनमा देख्छौं अमेरिकाले अलकायदाको नाममा, तालिवानको नाममा धेरै मान्छे मारिसकेको छ । पाकिस्तानमा अलकायदाका नेता भएको आशंकामा अमेरिकाले मलामी गइरहेको समुह समेतलाई बाँकी राखेको छैन । छेप्यास्त्र आक्रमण गरेको छ । अलकायदाका नाममा धेरै निर्दोषहरु मारिसकिएका छन् । यस्तो परिस्थितिमा नेपालमा अलकायदाको जन्म हुनु वा जन्माउनु आम नेपालीको लागि दुःखद कुरा हो । त्यसमा पनि सदाबहार रुपमा थिचोमिचो परिरहने अधिकारबाट बञ्चित आदिबासी थारुहरुका लागि झन दुःखद बिषय हो । अलकायदाका जिल्ला कमाण्डर वा कार्यकर्ता रहेका भनिएका गाउँ ठाउँका लागि र परिवारका लागि झन दुःखद बिषय हो ।

 अलकायदाको संगठन बिस्तार गर्ने डा. असलाम खान नयाँ दिल्लीमा बस्ने, तिनले नेपालमा अन्य कोहिलाई नपाई शेराको घरमा डेरा गर्ने जुन कुरा आएको छ, निकै रहस्यमयी छ । बर्दिया बिष्णापुरका थेम्मन चौधरी र कैलालीका शेरा चौधरीबाट नेपाल बिशुद्ध मुश्लिम राज्य बन्न सक्छ वा सक्तैन ? जसको रहनसहन बिल्कुल भिन्न रहेको अवस्थामा असलाम खान मुश्लिम समुदायमा जानुको सट्टा थारु समुदायमा किन गए ? जहाँ थेम्मन शेरा बस्छन्, त्यहाँ सँधै बंगुर-सुँगुर बसेरा गर्छन् । तिनबाट मुश्लिम राज्य बन्ने सम्भावना कत्तिको छ ? कतै जातिय आधारमा संघीयताको भयले सामन्तहरुले संघीयतालाई धरापमा पार्न खेलेको खेल त हैन ? कतै मातृकाका कार्यकर्ताहरुलाई हतोत्साह पार्न पुष्पकमलका कार्यकर्ताहरुले खेलेको भूमिका त हैन ? कतै थारुहरुमाथि दमन गराउन भारतद्वारा खेलिएको खेल त हैन ? यी र यस्ता धेरै सवालहरु थारु समुदायमा उव्जिएका छन् ।

 २०६६ श्रावण ११ गतेको राष्ट्रिय साप्ताहिकको वेभसाइटमा ‘किन पस्दैछन् बिन लादेन नेपालमा ?’ नामक शिर्षक दिई लेखिएको छ -“आफूहरु अलकायदाका प्रतिनीधि भएको साबिती बयान दिइसकेको अवस्थामा पनि नेपाल प्रहरीले पक्राउ परेका ब्यक्ति नक्कली अलकायदा भएको प्रमाणित गर्ने कोशिश गरिरहेको छ ।” त्यही साप्ताहिकमा ‘नेपालमा मात्र अलकायदा बाहेकका बिभिन्न नामधारी १२८ भन्दा बढी आक्रमणकारी समुहहरु कार्यरत रहेका छन्, जसका पछाडि कुनै न कुनै रुपमा भारत, पाकिस्तान र अमेरिकाको सहयोग र समर्थन रहेको छ’ भनी उल्लेख गरेको छ । र आक्रमणकारी समुहको नाममा ‘संयुक्त थारु मुक्ति मोर्चा र थारु राष्ट्रिय मोर्चा नेपाल’ को नाम पनि सम्मिलित छ । निश्चय पनि जुन संगठनलाई बिश्वले नै आतंकवादको समुहमा राखिसकेको छ, त्यस संगठनलाई नेपालमा चलखेल गर्ने छुट दिनुहुँदैन । तर तिनका नाममा कुनै निर्दोषहरु पर्नुहुँदैन । जबर्जस्ती जन्माउनु पनि हुँदैन । गहिरो अनुसन्धान प्रहरीले गर्नैपर्छ ।

 अन्त्यमा के भन्न सकिन्छ भने अहिले देश संक्रमणकालमा छ । सोहि कालको फाइदा उठाई बिभिन्न खाले संगठनहरुको उदय पनि भएको छ । धेरैजसो ठाउँमा अन्याय र अत्याचारको बदला लिन अन्याय र अत्याचार गर्न नै यस्ता संगठनहरुको जन्म हुने गरेको पाइन्छ । अन्याय र अत्याचारको बदला लिन अन्याय र अत्याचार गर्नु न्याय हो भन्ने गलत मानसिकता पनि छ । नेपालमा जुन अलकायदाको हल्ला छ, त्यो बास्तविक हो वा आरोप मात्र हो ? आरोपित ब्यक्तिहरु अलकायदाबाटै सञ्चालित हुन् वा धनपैसाको लोभमा डरलाग्दो संगठनको नामले धनी हुन खोज्ने अपराधिक ब्यक्ति हुन ? यी ब्यक्तिहरु पहिले कुन संगठनमा थिए ? र कसरी अलकायदामा सामेल भए ? असलाम खान के साँच्चि नै नेकपा माओवादीलाई हतियार सहयोग गर्ने ब्यक्ति हुन् ?  असलाम खान, एनेकपा माओवादीको सम्बन्ध अहिले छ कि छैन ? यो कतै एक दलले अर्को दललाई हतोत्साह पार्न खेलिएको खेल हो वा भारतले हिमाली खण्डमा सिर्जना गरिदिएको खम्पा बिद्रोही जस्तै हुन ? यी याबत बिषयको बारेमा सरकार गम्भिर भएर खोजबिन गर्न आवश्यक छ । अलकायदा कुनै लर्तरो संगठन नभएकोले कुनै अभियुक्त वा अपराधीलाई त्यससँग जोड्नु देशको हितमा हुँदैन । कुनै अपराधीको कारणले कुनै समुदायलाई लक्षित गर्नु न्याय संगत हुँदैन ।

अपराधीको कुनै जात हुँदैन भन्छन् । भोलीका दिनमा राज्यद्वारा कुनै समुदायमाथि बिगतकै व्यवहार दोहोरिनु हुँदैन । यदि यसो भयो भने आम नेपालीकै जीवन कष्टपूर्ण हुन सक्छ । तसर्थ यस गम्भिर बिषयमा आम नेपाली नै गम्भिर हुन आवश्यक छ । प्रहरीका अनुसार अलकायदा नेपालमा पहिलो पल्ट थारुमा डेरा गरेको हुनाले थारु समुदाय झन गम्भिर हुनैपर्छ । आम समुदायलाई उसले यस सम्बन्धमा सचेतीकरण गर्नैपर्छ । अलकायदा पस्यो भन्नु आदिबासी आकाशमा खतराको घण्टी बज्नु हो भनी बुझ्दा हुन्छ ।

तपाइँको प्रतिक्रिया