यहि हो त हामीले खोजेको नयाँ नेपाल ?
[आज भोलि दिनदहाडै विच चौक चौराहामा मानिसको हत्या हुनु नौलो मानिँदैन । तराईमा पुलिस प्रशासनले पनि कम आंतक मच्याइरहेको छैन् । मुठभेडको नाउँमा राजनैतिक व्यक्ति तथा निर्दोष मानिसहरुको हत्या भइरहेको वुझिन्छ ।]
-राजेन्द्र कुमार लाल/काठमाडौं
नयाँ नेपालको सपना दश वर्षे जनयुद्घदेखी गणतन्त्र नेपाल आइपुग्दासम्म खुवै सुनियो । नेपालमा लोकतन्त्र, गणतन्त्र स्थापना भएको पनि दुई वर्षभन्दा वढी हुन थाल्यो । तर आम नेपालीहरुको अवस्था झन झन् कष्टकर वन्दै गएको देखिन्छ । म आज भन्दा एक हप्ता पहिले जनकपुर र विराटनगर केही काम विशेषले गएको थिएँ । त्यहाँ एक हप्ता जति वसें । तल लेखिएका वस्तुस्थिति थाहा पाउँदा मलाई अनुभव भयो कि तराई र मधेशको अवस्था साँच्चै नै दयनिय छ ।
कुनै समयमा भारतमा नेपाली भन्ने वितिकै बहादुर, इमान्दार र सोझाका रुपमा चिनिएकाहरु अव त्यहाँ राम्रा छवि भएका मानिँदैनन् । अहिले विभिन्न शंका उपशंकाको दृष्टिकोषले हेरिन्छन् । पहिला नेपालीहरु भारतमा आफ्ना छोरा छोरीहरुको विवाह गर्न डराउँथे । तर अव भारतीयहरु खासगरी विहारी र उत्तरप्रदेशवासीहरु नेपालमा अशान्ति छ भनेर आफनो छोरा छोरीहरुको विवाह नेपालमा गर्न छाडिसके । तराईमा विशेषगरी छोरीहरुको विवाह विभिन्न कारणहरुले (दाइजो, रुढीवाढी परम्परा, शैक्षिक अवस्था आदी) गर्दा धेरै कठिन भएको छ । हालसम्म दाइजो प्रथाले मधेसीहरुलाई पिरोलेको थियो भने विगत चार पाँच वर्षदेखि विभिन्न राजनैतिक तथा अपराधिक समूहले तराईमा मच्चाइरहेको हत्या हिंसा, चन्दा आतंक, अपहरण जस्ता तान्डवले गर्दा तराईको अवस्था अतिनै गंभीर हुँदैगएको छ ।
आज भोलि विच चौक चौराहामा मानिसको हत्या दिनमैं हुनु नौलो मानिदैन । तराईमा पुलिस प्रशासनले पनि कम आंतक मच्याइरहेको छैन् । मुठभेडको नाँउमा राजनैतिक व्यक्ति तथा निर्दोष मानिसहरुको हत्या भइरहेको वुझिन्छ । यसैगरी, जनकपुरमा विवाह पंचमीको वेला धेरै ठूलो उत्सव हुने गरिन्थ्यो । लज तथा होटलहरुमा बस्नलाई ठाउँ पाइन्नथ्यो त्यो बेला । हरेकको घरमा पाँच दश पाहुना आएकै हुन्थे । तर यस पटक त अचम्मै भयो । कुनै खास भिडभाड देखिएन् । सोध्दा भारतवाट पर्यटकहरु धेरै कम आएकोले कुनै पनि प्रकारको चहलपहल रहेनछ । र धेरैजसो व्यापारीहरुको लगानीनै घाटामा गएको थियो ।
यसैगरी तराईवाट धेरै जसो पहाडी समुदायका मानिसहरु विभिन्न प्रकारका समस्याहरुका कारण हालका दिनमा काठमाडौ, हेटौंडा अथवा पहाडमा बसाईसराई गरेको पाइन्छ । तर त्यहीँकै वासिन्दाहरु विशेष गरी वाह्मण, कायस्थ, मुमिहार र राजपुतहरु अव कहाँ गई शान्तिले वस्ने भन्ने सोच्न वाध्य भएका छन् । किनभने अव आंतक मच्चाउनेहरुको निशाना यिनिहरु नै भैरहेका छन् । सवैभन्दा दुःख लाग्दो के भने पहाडवाट शिक्षण वा सानातिना जागिर गरेर आफनो जिविका चलाइरहेका मधेसीहरुलाई तराईतिर फकाईदै छ र मधेसवाट पहाडी समुदायहरु र उच्च जातिका मधेसीहरुपनि विस्तारै पलायन हुँदै गएको देखिन्छ ।
यसैगरी जलवायु परिवर्तनका हिसावले विश्वभर नेपाल सहित ४९ मुलुकहरु जोखिममा परेका छन् । नेपालले हालसम्म जलवायु सम्वन्धि राष्ट्रिय कार्यक्रम समेत तयार गरेको देखिदैन । जलवायु परिवर्तनले गर्दा नै नेपालमा वर्षायाम एक देखी दुई महिनाको दरले सरेको देखिन्छ । विगतको पाँच वर्षो तथ्यांक हेर्ने हो भने हरेक वर्ष वाढी पहिरोले तराईको हजारौं हजार बिघा खेतीयोग्य जमिन मरुमूमिमा परिणत हुँदै गएको देखिन्छ । नेपालमा हाल कतै सुख्खा त कतै वाढी पहिरोले देशको आर्थिक अवस्थानै तहसनहस पारेको छ । समयमा ध्यान दिई रोकथाम र न्यूनिकरण गरिएन भने अव आउने दश वर्षमा सम्पूर्ण तराईका खेतीयोग्य जग्गाहरु मरुभूमी बन्नेछ भन्दा अतियुक्ति नहोला ।
नेपालमा वैदैशिक ऋण, अनुदान र सहयोग विगतका केही वर्षहरुमा करीव शत प्रतिशतले वढेको देखिन्छ तापनि औसत नेपालीको प्रतिदिनको औसत आय एक डलर भन्दा वढ्न सकेको छैन । विगतका विभिन्न सरकारहरुले नेपालीहरुका टाउकोमा पुस्तौंसम्म भ्याई नभ्याईसम्मको वेदैशिक ऋण वोकाइएको छ । तर हामी नेपालीहरु पनि कम कहाँ छौ र ! नेपालमै एक ठाँउवाट अर्को ठाँउ सम्म पुग्न हप्ता वा महिनौ लाग्छ । किनभने नेपाल वन्द गर्नमा त हामी नेपालीले बिश्व किर्तीमान नै वनाएका छौं । विगतमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपनि आज जातिय, क्षेत्रीय नारा दिई नेपाललाई टुक्राटुक्रा पार्ने षडयन्त्र भइरहेको आभास हुन्छ । कतै एक मधेश एक प्रदेश, कतै तामसालिंग, कतै लिम्वुवान, कतै खम्वुवान, कतै मुस्लीम त कतै थारुको आन्दोलनले देश विस्तारै विस्तारै गृहयुद्ध तिर धकेलिँदै गएको छ । नेताहरुको सत्तामोह, आआफ्नै अडानले गर्दा देशको सिमाना पनि छिमेकी देशले मिच्ने गरेका छन् ।
नेपाल २१ औं शताव्दीतिर उन्मुख नभै उही प्राचिन युगमा पुग्ने भयो जहाँ नेपालीहरुले लोडसेडिंगले गर्दा टुकी र लालटेनमा रात विताउन बाध्य हुने भएका छन् । साथै खाद्य उपभोग वस्तुमा विगतको एक वर्षमा ५५ प्रतिशतले मुल्य वृद्धि भएर आम नेपालीहरु मारमा परेका छन् । २५ रुपैयामा पाइने खाद्य वस्तुको मूल्य ४० रुपैयाँमा पुगेको हुँदा आम नेपालीको जीवन झन झन कष्टकर बन्दै गएको छ । त्यसैगरी नेपालका पुल पुलेसाहरु ९० प्रतिशत उच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक भइसकेको अवस्थामा भोलिका दिनहरुमा यात्रा झन अप्ठेरो र जोखिमपूर्ण हुनेछ ।
बास्तवमा, लोकतन्त्र स्थापना पश्चात् नेपालको राजनिति द्रुत गतिले अगाडि बढ्नुपर्थ्यो । त्यो कछुवाको गतिमापनि हिँड्न सकिराखेको छैन । शान्ति सुरक्षाको स्थिति दिन प्रति दिन बिग्रिँदै गइराखेको छ । राज्यका तिनै अंगहरु कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका निरीह देखिन्छन् । विधिको शासनको कार्यान्वयनमा राज्य मौन देखिन्छ । शान्ति प्रक्रिया अझ तार्किक निष्कर्षमा पुग्छ भने विश्वास कमै जनमानसमा छ । माओवादी लडाकुहरुको समायोजन चाँडै होला र समयमै जनताले नयाँ संविधान पाइएला भन्ने विश्वास धेरै कममा पाइन्छ । तसर्थ, समयमा संविधान लेख्न सकिएन, शान्ति प्रक्रिया निष्कर्षमा पुगेन र देशमा सुरक्षाको स्थिति बलियो भएन भने नेपाल गृह युद्ध को चपेटामा परेर असफल राष्ट्रको सूचिमा पर्नेछ भन्ने कुरामा हामी सवै नेपालीहरु सजग र सचेत हुनैपर्छ ।
दश वर्षे जनयुद्घ, एतिहासिक पहिलो र दोश्रो जनआन्दोलन र मधेश आन्दोलनमा शहीदत्व प्राप्त गर्ने बीर नेपालीहरुको आत्मा आज पक्कै नेपालको अवस्था देखेर रोइ चिच्याइरहेको होला । र आफूलाई सोधी रहेका होलान् के तिनले दिएको वलिदान यस्तै नयाँ नेपालको लागि हो त ? तराई मधेश, पहाड र हिमालमा वस्ने आम साधारण नेपालीहरुले भन्न शुरु गरिसके, के नयाँ नेपाल भनेको यही हो ?
मेरो विचारमा नयाँ नेपाल नेताहरुको भरमा मात्र वन्दैन । हामी सवै नेपालीहरु विश्वको जुनसुकै कुनाकाप्चामा रहे पनि नयाँ नेपाल निर्माण गर्न आफ्नो तर्फबाट सक्दो सहभागिता जनाउनुपर्छ । त्यसकोलागि आफनो भूमिका राम्रो सँग निर्वाह गर्नै पर्छ । र वेला वेलामा सरकार र नेताहरुलाई खवरदारी पनि गर्नै पर्छ । दलिय, लैङ्गकि, जातिय, वर्गीय, क्षेत्रीय आन्दोलनहरुवाट माथि उठेर हामी नेपालीहरु जो जहाँ छौ त्यहीवाट नेपाललाई अव हरित, आर्थिक र शैक्षिक क्रान्तितर्फ उन्मुख गराउनै पर्छ । सामाजिक र राजनैतिक भेदभावहरुलाई आपसी मेलमिलाप, सहमती, सहकार्यद्धारा सकारात्मक रुपान्तरण गर्न सकियो भने आउने दश वर्षमा नेपाल आर्थिक रुपले आत्मनिर्भर, सुन्दर, शान्त र पर्यटककीय क्षेत्रमा विकसित राष्ट्र हुनेछ । अनिमात्र नयाँ नेपाल यथार्थमा देख्न पाइनेछ । अनि मात्र हामी सवै नेपालीहरु गर्वले भन्ने छौं- हो यही हो हामी सवैले सोचेको नयाँ नेपाल । नयाँ नेपाल । नयाँ नेपाल । (तस्बिर संयोजन-एस बी छन्त्याल, बेल्जियम) ।




