हनिमुन मनाउन नपाउँदै ढल्ने भो त सरकार ?
साँच्चै संबिधान बनाउने भित्रि आकांक्षा कुनैपनि दलको छैन जस्तो देखिन्छ । माओवादी आफैंले सरकारबाट राजिनामा दियो । नैतिकताको आधार देखाएर उसले राजिनाम दिएको दुई महिनापनि भएको छैन । उ फेरि सरकार बनाउन हतारिएको छ । भर्खरै सकिएको माओवादी बैठकले फेरि राष्ट्रिय सरकार बनाउने माओवादीको नेत्रित्वमा भनेर पारिदनै गरेकाले सरकार परिवर्तन हुनसक्ने बलियो संकेत देखाएको छ । अर्थात उसले सक्ला वा नसक्ला तर यो सरकरलाई फालेर फेरिआफ्नै नेत्रित्वमा सरकार बनाउने प्रयास थालेको छ ।
उता माओवादीसँगै सरकारबाट बाहिरिएको मधेशी जनअधिकार फोरमको एक हिस्सा उपेन्द्र यादव समूहलेपनि यहि बेला यो सरकारको आयु लामो नभएको भन्दै राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन् । एकिक्रित माओवादीका नेता नारयणकाजी श्रेष्ठ (प्रकाश) ले त माओवादीको प्रयास अहिलेको सरकारलाई टिक्न नदिने भनेर स्पष्ठै बताए। उनले सरकारको दिनगन्तिनै शुरु भएको पनि बताए । माओवादीले त्यसकालागि बिभिन्न दलका असन्तुष्ट पक्षसँग राष्ट्रिय सरकार गठनकालगि संवाद शुरु गर्ने सार्वजनिक गरिसकेका छन्।
माओवादी यति छिट्टै सरकार बनाउन किन हतारिएको हो ? ९० दिनपनि सरकार बाहिर नबस्ने मानसिकता थियो भने किन सरकारबाट राजिनामा दियो ?माओवादीको सरकार यसैपनि कुनै दलले गिराएको होइन कि अन्य दलहरु असहमत हुँदा हुँदै प्रधान सेनापती बर्खास्तीको विषयमा आफैंले जानी जानी सरकारबाट हट्ने वातावरण बनाएको हो । अहिले फेरि त्यहि अवस्थामा वा जितेका प्रधान सेनापती रुक्मांगत कटुवाल रहेकै अवस्थामा किन सरकार बनाउन हतारिएको हो ? फेरि अब बन्ने सरकार यसैपनि त माओवादीको एकमना हुने संभावना छैन । र माओवादी स्वयंले राष्ट्रिय सरकार बनाउने भनेकाले फेरि दर्जनौं दलको खिचडी सरकार कति दिन टिक्ने हो ? प्रधान सेनापती प्रकरणमा माओवादीलाई साथ नदिएका तिनै दलसित मिलेर फेरि सरकार बनाउँदा तिनले माओवादी नेत्रित्वको सरकारलाई अब साथ दिन्छन् भन्ने के निर्क्यौल छ ?
एउटा स्पष्ठ के चाहिँ हो भने यो सरकार साँच्चै आफ्नै सक्षमता र जनचाहनामा बनेको होइन । बिभिन्न बिदेशी चलखेल, चाहना, दबाब र प्रयासमा बनेको हो । सरकार जनचाहना अनुसार गठन नभएकैले सरकारमा सम्मिलित सबै पार्टीभित्र तिब्र मतभेद देखिएको हो । सरकारको नेत्रित्वकर्ता दल र सरकार प्रमुख स्वयं जनताद्वारा सरकार चलाउनका निम्ति निर्वाचित थिएनन् । सरकारको महत्वपूर्ण मन्त्रालय ओगट्नेपनि जनताले लत्याएका र उहि पटक पटक सत्तामा गएर गन्हाएका अनुहार छन् । त्यसैको कारणले सरकार गठन भएर महिनादिन बित्दापनि मन्त्री परिषदले पूर्णता पाउन सकेको थिएन । सरकार गठन प्रक्रियामै असफल भएपछि त्यस्तो सरकार कसरि टिक्ने ? जनतालाई के दिने ? संबिधान सभामा सबैभन्दा ठुलो दल माओवादीलाई बाहिरै राखेर कसरि सफलतापूर्वक सरकार चलाउने ?
अहिले संबिधान सभाको सबैभन्दा ठुलो दल माओवादी सरकार बाहिर बसेको छ । मधेसी जनअधिकार फोरमको ठुलो हिस्सा सरकार बाहिरै छ । उसले आफ्नो दल फुटाएको आरोप कांग्रेस र एमालेलाई लगाएकालेपनि उ जतिखेर र जसरिपनि यो सरकार गिराउन चाहन्छ । नागरिक समाज र बाहिरको ठुलो बौद्दिक हिस्सा समेत यो सरकारबाट त्यति सन्तुष्ट देखिन्न । सरकारमा सामेल मधेशका दलसमेत सन्तुष्ट छैनन् । अरु भुरेटाकुरे दल त हावा जता बहन्छ उतै फर्किने हुन् । ति हातमा हरियो घाँस देखाउनासाथ फेरि दगुर्दै अर्को समिकरणतिर दगुरिहाल्छन् । अन्य दललाई फकाएर, धम्काएर, जुधाएर वा अनेक तरिकाले आफ्नो पक्षमा पार्न चतुर खेलाडी हुन् माओवादी। त्यसैले माओवादीले अहिले पक्कैपनि यो सरकार गिराएर अर्को राष्ट्रिय सरकार गठन गर्न सकिन्छ भन्ने संभावना र अवस्था देखेरै सरकार परिवर्तन गर्न तम्सेको हुनुपर्छ ।




