शब्दजाल, भेडातन्त्र र संयन्त्र

-राजभानु-

आजभोलि  कुनै पनि समाचार साईटहरु हेर्यो भने खाली ठूला ठूला शब्द ओकलिएको भाषण बाहेक केहि भेटिन्न ! हाम्रो  स्वघोषित “बरिष्ठ” नेताहरु अनेक लोकप्रिय नाराहरू बडो नाटकीय ढंगले प्रस्तुत गरेर सर्बसाधारणलाई दिग्भ्रमित बनाउन उद्यत छन ! उद्धेश्य ?? पूराना करतूत ढाकछोप, नव आयाम प्रति आफ्नो झूठा लगनको प्रस्तुति र स्वबिबेक प्रयोग नगर्ने, दलको अन्धो चस्मा धारण गरेका र कान नछामी कागको पछि लाग्ने प्रब्रित्तिलाई आफ्नो पक्षमा पार्ने ! कठै हामी नीरीह जनता, नीरीह पनि कसरि भन्ने खै, बिबेकहीन नै हौं खासमा, अझै तीनैको पछि लागिरहेका छौँ ! अझै हामीलाई नै जम्मा पारेर हामिलाईनै बोक्न नसक्ने शब्दको भारी बोकाईरहेका छन र हामी आफ्नो संपूर्ण आस्था, बिबेक बन्धकी राखेर एउटा गधा सरह पछि लागिरहेका छौँ !यस्तो सजिलै भीड़ जम्मा गर्ने, आफुले जे भन्यो त्यहि पत्त्याउने र वाहियात बकम्फुसे भाषणमा ताली बजाउने हामिजस्तो पशुहरुको भीड़ पाउनु त नेपाली नेताहरुको भाग्य नै हो !

नेताहरूले केहि राम्रो गर्न पनि नपर्ने, अरुले गरेको नराम्रो देखाउना सके बस् भैगो ! नत्र पनि ठीकै छ, केहि बिग्रिहाल्दैन ! आफ्नो पालामा ठाउँ-ठाउँमाँ “न्यायामुर्तीहरू” भर्ती गरिहालेको छ ! आफुलाई हीत हुने मुद्दा प्रतिपक्ष बीना एकैदिनमा फैसला, अहीत हुने मुद्दा जीवनभर ! यो भन्दा आनंद के होला त ??  जति भ्रष्टाचार गरे पनि, जति अनियमितता गरे पनि, जति पदको दुरुपयोग गरे पनि, प्रचलित कानूननै तोड़ मरोड़ गरे पनि पुन: निर्बाचित हुन पईरहेका छन नै ! के गर्नु शब्द नै त रैछ नि ठुलो नेपालमा, कर्म को त केहि अस्तित्व नै रहेनछ ! बोल्नेको पीठो साँचैनै बिक्ने रहेछ, नबोल्नेले चामल पनि बेच्न नसकेर कुयाएर फाल्नु पार्ने रैछ ! मारमाँ पर्ने चाहिँ हल्का सोच्न सक्ने, कसैको पक्षको चस्मा नलगाको, आफ्नो काम गर्ने र चापलूसी गर्न नजान्ने हामी जस्ता जनता ! हाम्रो चिन्ताको बिषय चाहिँ यो असुरक्षा, बंद-हड़ताल, नीरीह सरकार, हरुवाहरुको जगजगी, जित्नेहरूको नीरिहता, हाम्रो कार्यकर्ताहरुलाई छुट अरुलाई “दण्डहीनता पक्षेपण” को बिल्ला भिराउने मनस्थिती आदि जस्तो यो माहोलले देशलाई कता डोर्याईरहेको छ ?

राजनीति भनेको चोर, डांका, हत्यारा र दोगला प्रबृत्ति हुनेहरुको एउटा खेल हो भन्ने धारणा सर्बसाधारणको मानसपटलमा छापिसकेको छ | “दण्डहीनताको अन्त्य” गहन सवाल भैकन पनि कति सस्तो भैसक्यो | तर पनि हालको ह्त्या हिंसाको माहोलले गर्दा अझै पनि प्रचलित नारा रहन सफल छ | नेताहरु अझै पनि यही मंत्र जपेर एकातिर पिडीतहरु प्रति गोहीको आंसू पोख्दै छन, आशाका गठरी बेच्दै छन, सान्त्वानका झूठा शब्दहरु ब्यक्त गर्दै छन भने अर्को तर्फ़ धमालाहरुलाई सम्रक्षण पनि गर्दै छन | बलात्कृत चेलिको पक्षमा आवाज उठाउने कोही छैन | सत्तामा बसेका सभासद्को लहलहिमा सुरक्षा संयन्त्र अपराधिको पक्षपोषण बेहिचक गरिरहेको छ, हामी मौन छौँ, मौननै बस्न रुचाउँछौँ | थुक्क हामी जनता! संपूर्ण यथार्थ छर्लङ्ग देखेर पनि तिनैको पछि लागिरहेका छौँ | यो स्थितीले यस्तरि बिकृत र बिकराल रूप लीनुमा यिनै नेताहरुको हात छैनर ? भयावह स्थिति यीनैले सम्रक्षण प्रदान गरेर निम्तिएको होइन र ? धिक्कार छ हामीलाई ! हामी नेताको सम्रक्षण गर्छौँ र नेताहरु अपराधिहरुको | नीचहरुलाई फूलमालाले अभिनन्दन गर्छों र अर्कोतिर सजायको माग पनि हामीनै गर्छौँ | भनिन्छ नेताले जनताको प्रतिनिधित्व गर्छ, नेता जनता भन्दा राम्रो हुन सक्दैन र यो भानाईको पूर्णरूपमा पुष्टि हाम्रो हालको क्रियाकलापले गर्दछ |

दण्डहीनता के कांग्रेसले माओबादिलाई सत्ता हस्तांतरण गरेको रात फलेको फल हो र ? निश्चय पनि होइन ! यो त बिगतको दशक देखिनै हाम्रो मतको पुरस्कार स्वरुप तीनै कांग्रेस, एमाले र अनेक गठबन्धनले रोपेर, स्याहार-सुसार गरेर फलाएको फल हो | आफ्नो फल आफैंलाई खुवाइँदाको पीडा स्वरुप निस्केको ऐया नै हो “दण्डहीनताको अन्त्य” मंत्र | आफ्नो मुखमा घोचो परेपछि र आफ्नो खाल्डोमा आफैँ पर्न थालेपछिको चिच्याहट्को चीत्कार हो यो | यसको पक्षपोषण गरिनु हुदैन र जसले गरे पनि यसको बिरोध गरिनु पर्छ होईनर ? नराम्रो कामको सजाय पाउने पालो सबैको आऊँछ | खबरदार !!

अर्को भारी शब्द भनेको “राष्ट्रिय सहमति” | संपूर्ण साना पार्टीको हूलले सबैभन्दा ठुलो पार्टीलाई राष्ट्रिय सहमतिको ध्वांस दिएर धम्काउनु, त्यों पनि सुध र मेननहरुले फालेको हड्डिको तुक्रमा, भनेको संपूर्ण दक्षिण अमेरीकी राष्ट्रहरु मिलेर अमेरिकालाई थर्काउनु सरह हो ! दन्ते कथामा सुहाउँछ तर यथार्थमा नीरीहनै साबित होला | “नागरिक सर्बोच्चता” अर्को अमूल्य मुद्दा हो खासगरी हरुवाको मंत्रिमण्डलले जनताको चाहना, अभिमत र प्रजातंत्रको परिभाषालाई ठाडै ललकारेपछिको परिस्थिमा | नागरिक सर्बोच्च हुन की होईनन भन्ने ठुलै प्रश्न बनिरहेको छ नयाँ नेपालमा | माओबादीको निर्णय हतार र हठात थियो, पूर्ण सही थिएन र सजाए पनि पाए, भोगे उनीहरूले | राष्ट्रपतिको गल्तिको सजाय कसले दिने ?

अहिलेको परिस्थितीमा राष्ट्रप्रेमि नेपालीहरुमा उब्जिरहेको प्रश्नहरु: के नेपाल सार्बभौम राष्ट्र हो त ? के नेपालले आफ्नो आतंरिक मामलाको निर्णय आफैँ लीन सक्छ त ? की भूटान जस्तै हामीले पनि आतंरिक मामिला हेर्न भारतीय राजदूत र पराराष्ट्र दूतनै बोलाउने नियम बनाको हौं ? बिरुध गर्दैनौँ भने त समर्थन गरेको सरह होइन र ? सुजाता जोष्ट, रामसरण महत आदिको हतार हतारको स्पष्टिकरणले त त्यतै ईंगीत गर्छ त ! बीर गोरखाली रे हामी ! त्यों अभिमान, त्यों गौरव त अब ईतीहसको पानाहरुमा मात्र रहे | बोर्डरमाँ कैले परिचालित नहुने, नेपाली दबाउन मात्र प्रयोग हुने र जैले पायक, सुरक्षित स्थानको ब्यारकमा पाल्तु कुकुर जस्तो सुत्ने भतुवा सेनाको निम्ती कैले सम्म कर तिर्ने हामीले ? के कसैले बिश्वासका साथ भन्न सक्छ नेपाल दोश्रो सिक्किम अथवा दोश्रो भूटान बन्दैछैन भनेर ?

प्रत्यक्ष चुनाब नलडेको गीरिजा प्रसादले अब एउटा राजनीतिक संयंत्र बनाउने रे आफ्नो नेतृत्वमा ! ए बाब्बा के को सम्यंत्र ? कस्तो सम्यंत्र ? के ईरानको जस्तो बनाउने हो ? ईरानमा त बिरोध भैरहेको सम्यंत्र किन बनाउने नेपालमा ? फेरि सम्यंत्र  बनाउने र सम्यन्त्रको प्रमुख हुन्छु भन्ने गिरीजा को हो ? यस्तो अधिकार के सम्बिधानले वा जनताले गीरिजालाई दिएका छन र ? नयाँ नेपालमा गीरिजा सिर्फ र सिर्फ एउटा सभासद मात्र हुन र कुनै सभासादले भन्दा बढ़ी अधिकार उनले पाउनु भनेको अन्य सभासद्को मान हानि गर्नु सरह हो | स्मरण रहोस् धमालाको पक्ष पोषण गर्ने यिनै हुन त्यत्रा प्रमाणहरुका बाबजूद पनि | के यही गीरिजालाई पुन: सरकार प्रमुख हुन जनआन्दोलन २ भएको हो त? के यसैका लागी १९ नेपालीले प्राण आहूति दिएका हुन त ? अब पनि गीरिजले किन एमालेलाई सरकारमाँ नेतृत्व प्रदान गरेको भन्ने बुझ्न सकिन्न ? अब पनि गीरिजाको पक्ष लिने छन भने उपाय डाक्टर होइन परमात्मानै होलान !

माओबादीको नीती ५% पनि ठीक नहोला तर अन्य दल तुलनात्मक रुपमा धेरै खत्तम नभए पनि माओबादी भन्दा थोरै चाहिँ पक्कै छैनन है !! रावणलाई ईंगीत गर्दैमा आफु बिभिसन भैन्छ र ? जनताले चाहिँ यस्ता भ्रष्टहरुले जे जे गरे पनि, जे बनाए पनि हो ठीक हो, ठीक छ भनेर बस्नु पर्ने ? अब के सफल हुने बिद्यार्थिलाई सिकाउने, तह लगाउने, आदेश दिने आधिकारिक बिद्यार्थी फ़ैल भएको नै हुने भयो त? ईतिहासमै हरुवा, भ्रष्ट, असक्षम, कूनिती प्रवर्तक र अधोगत नीतीवान प्रामाणित गिरीजा नै देश चलाउन किन चाहियो ? जनतामाथि शासन लाद्ने अनेक नामका यस्ता संयन्त्र बनाउने नीति ठीक बेठीक भन्ने जनमत सङ्ग्रहबाट निर्क्यौल गरिनु पर्छ ! जसले जे मन लाग्यो त्यहि गर्ने परम्परा हामीलाई मान्य छैन ! गीरीजाले नै हरेक निर्णय गर्ने भय ऐले को रा अस्तिको नेपालमा के फरक भयो ता ? यस्ता प्रमाणित बिचारहीनलाई अनेक नाममा किन पुन: सत्तामा आफ्नो आधिपत्य जमाउन दिने ? होशीयार हुने समय आएको छ ! यदि संयन्त्र बनाउने हो भने पनि त्यसमा सहभागी हुने प्रतिनीधिहरू प्रत्यक्ष निर्बाचन बाट चुनिनु पर्छ, कुनै पतीत गिरीजाले निर्णय लिन सुजाताको “आची गर्ने टालो” फेर्ने कुरा होइन यो ! राजनीतिक संन्यास को अर्थ शायद यही होला !

निश्चय पनि आन्दोलन सकिएको छैन ! संपूर्ण ब्यबस्था अझै पुरानो आचार, पूरानै मनस्थिति र पूरानै चालमै दौडिरहेको छ-किन त ? पूरानै पतीतहरू यसरी टाउको ठड्याएर बेहिचक आफ्नो करतूत निरंतर जारी राखिरहेका छन, नयाँ र स्वच्छ ब्यबस्थाको सपना देख्ने हामी जस्ता नीरीह जनतालाई आफ्नो कूटिल हाँसोले गिज्याउँदै ! “माओबादी भिडियो” काण्डले तिर्मिरिएको नेपाली आंखा सम्हालिने अवसर आएको छ !

तपाइँको प्रतिक्रिया