कुर्सीको भागबण्डै गर्न नसक्ने सरकारले जनतालाई दिने के ?
चार हप्तापनि नाघ्यो माधव कुमार नेपाल प्रधानमन्त्री भएको । शुरुमै आधा दर्जनलाई बिना बिभागिय मन्त्री बनाएर जात्रा देखाइयो । फेरि पटक पटकका वार्ता भए । निकै भए कोठे बैठक । भेटघाट र छलफलको गन्ति भएन । तर तेस्रो चौथो पटक मन्त्री परिषद बिस्तार गर्दापनि मन्त्री मण्डलले पूर्णत पाउन सकेको छैन । देश यस्तो संक्रमणकालिन अवस्थामा छ तर हाम्रा केहि गर्छु भनेका पार्टीहरु एक महिना सम्मपनि मन्त्री छान्न सक्दैनन् ।
उनीहरुको प्राथमिकता भनेकै हरेक दिन मन्त्री पदको मोलमोलाई गर्नु भएको छ । तिनलाई जनताका समस्या टार्नु छैन । सडकमा टायर बलोस । सडक जाम होस । नेपाल बन्द होस कुनै फिक्रि छैन । तिनलाई मतलब छ केवल कुर्सीको । चिन्ता छ खाली पदको । नत्र एक महिनासम्मपनि मन्त्री मण्डल बिस्तार गर्न सकिने थिएन ? अझ लाजै मर्नु, हुँदै नभएका मन्त्रालय खडा गर्ने रे । गरिब देशको बजेट जोगाउन भएका मन्त्रालय गाभ्नु वा तिनको खर्च घटाउनु त कहाँ हो कहाँ उल्टो भएका मन्त्रालय पनि फोरेर धेरै बनाउने रे । त्यो किन ? देशको आवश्यकताले हो र ? दलहरु धेरै भएकोले मन्त्रालय भागबण्डा नमिलेर । धेरैलाई झण्डा हल्लाउँदै सरकारी गाडीमा सयर हुनु परेर ।
निकै चमचम थियो सरकार गठन गर्ने बेला । बिदेशीको बलले गर्दा तालुमा आलु फलेर प्रधानमन्त्री हुँदा माधवकुमार नेपालले खुशियालीमै करिब छ सयलाई त भोजनै दिए सरकारी ढुकुटीबाट । यो राष्ट्रिय सरकार हो । यसले निकै गर्छ भन्नेपनि थिए । तर अहिले हेर्नुस त सरकारको क्या बिजोक । जनतालाई केहि गर्लान । केहि देलान । संबिधान बनाउन जोडजुलुम गर्लान भन्ने त कहाँ हो कहाँ । भएका मन्त्री पदसमेत बाँडेर लिन सकेका छैनन् । मन्त्री पद बाँडेर लिन नसक्ने । शुरुमै पदमै लफडा गर्ने । आआफ्ना दाबी गर्ने । कुर्सी ताक्नै महिनौं लगाउनेले जनताको लागि के गर्लान ?
संबिधान सभाको काम मुख्यत नयाँ संबिधान बनाउने हो । यो बेला गठन भएका कुनैपनि सरकारले त्यसैलाई प्राथमिकता दिनुपर्ने हो । तर त्यसमा कुनैपनि दल गम्भिर देखिँदैनन् । दलका नेताको ध्यान नयाँ संबिधान बनाउनभन्दा पद र कुर्सी हत्यानमै बढि तानातान देखिन्छ । बरु मन्त्री मण्डल गठनको काम छिटो किनारा लाग्नुपर्नेमा झन असन्तुष्टि बढेको छ । त्यसैको कारणले गर्दा एक महिना हुँदासम्मपनि सरकारमा कांग्रेस र एमाले मात्रै सहभागि हुने अवस्था स्रिजना भएको हो । झन सद्भावना पार्टीले त सरकार गठन प्रक्रिया एमाले र कांग्रेसले मनखुशि गरेकाले सरकार बाहिरै बस्ने चेतावनी दिएको छ । संबिधान निर्माणका लागि भनेर कुनै दल तातेका देखिँदैनन् । लाग्छ तिनलाई संबिधान बनाउनुनै छैन । अहिलेकै अवस्थालाई जति सकिन्छ तन्काउँदै लगेर जति सकिन्छ मन्त्री बन्ने राजनितिक अवस्था जुनसुकै भड्खालोमा खसोस् । एक महिनासम्म मन्त्री पद बाँडेरसम्म लिन नसक्ने यस्ता गतिहाराहरुले जनताका लागि के गर्लान् ?




