कसले सुन्ने खड्गे दमाईको यो पीडा ?

प्रभा सिं, अछाम

मैले केहि वर्ष यो सूदूर पश्चिम क्षेत्रलाई कार्यगत थलो बनाउँदा धेरै मन पोल्ने, आत्मा रुने, आँखा छचल्किने घटना देखेकि छु । कति त पचाएँ । कति बिर्से हुँला । कति कतै मनको कुनै कुनामा डामेर बसिरहेका छन् । कति घटना त यस्ता लाग्न थाले कि हेर्दा हेर्दै सहज जस्तो हुने रहेछ ।

 

वैशाख महिनाको मध्य। म त्यस्तै कार्यक्षेत्रमा खटिएँ । बिहानै हिँडेकि थिएँ एक गिलास चिया र केहि बिस्कुट कुटुक्क टोकेर । मैले आछाम पुगेर स्थानिय गैह्र सरकारी संस्थाका कार्यकर्तालाई भेट्नु थियो पहिले । त्यसपछि त्यहाँको स्वास्थ्य र खानेपानी लगायतका समस्या र अहिले सम्मको प्रगती विवरण लिनु थियो । घाम बेस्सरि चर्केको थियो । ओहो यो पहाडमा त आफु झन सूर्यको नजिक पुगिने रहेछ कि क्या हो ! टाउको फुट्ला जस्तै भएको छ । निस्कँदा लाहुरे पाराले हिँडिएछ कि, छातापनि थिएन । हुनत कतै कसैलाई पक्रिन हतारिएझैं हुइँकिने हावाले भएपनि छातालाई देखि सहँदैन । एकैछिनमा कच्याक कुचुक पारिदिन्छ र पनि म छाता बोक्न मन गर्दिन।

 

जिब्रो प्याक प्याक भयो । झोलामा च्यापेको दुई वटा बिस्कुटपनि खाईयो । स्थानिय होटेलमा गतिलो खाना पाइने होइन । भात हेर्दै डर लाग्छ। धान हत्तपत्त नफल्ने यो ठाउँमा पो झन आफुले कहिल्यै नदेखेको चमल देख्न पाइने रहेछ । कतिपय ठाउँमा त आँखा चिम्म गरेर सुलुत्त सुलुत्त निल्नुपर्छ भात खाँदा । नत्र आकाश गर्जिएझैं कराउने ढुंगा सहितको भात चपाउनै सकिन्न । कि त यसो पाकेटको चाउ चाउ कि त कोदोको रोटीमा बस्नुपर्छ ।

 

त्यस दिनभरि म कार्यक्षेत्रको योजना बनाउँदै उकालो र ओरालो हिँडे । खानेपानी पाउनपनि मुस्किल पर्‍यो । पसिनाले जिउ निथ्रुक्कै भैसकेको थियो । अछामको सन्तडा गाविसमा पुग्दा घामले खुट्टो डाँडाबाट तलतिर ओराल्दै थियो । तरपनि उसको तेज मरिसकेको थिएन ।

 

ढाडमा झोला छ । नौली जस्तो देखिन्छु म । किनभने मैले थाङ्ने ठानेको मेरो पहिरनपनि त्यो गाउँका स्थानियलाई आधुनिक लाग्छ । अनि बारीका परै कान्लाबाट यसो टाउको उठाएर हेर्न थाल्छन् तिनले । त्यसै गरे एक जना बुढाले मलाई देखेपछि । उनी हेर्दै थिए, म नजिकिँदै गएँ । गफ गाफ शुरु भयो । तिन बिसका रहेछन् उनी । टाउकोमा टोपीको घेरो निस्किएको । लिखुरे शरिर । पसिनाले लुछुप्प । फोटो खिच्न पाइन । किनभने केहि दिन हिँड्दा क्यामराको ब्याट्री खत्तम भैसकेको थियो । अनि चार्ज गर्न बिजुली थिएन गाउँमा । साना गाउँले पसलमा क्यामराका ब्याट्रि किन्ने कोहि आउने भए पो बेच्न राखुन् । त्यसैले किन्न पनि पाइएन ।

 

उनको छोरो रहेछ २५ वर्षको । नाम पद्म दमाई । गाउँमा किन आए माओवादी ? अथवा को आए ? न उनको छोरो राजनिति बुझ्दछ । न कुनै मोर्चामा थियो । अछामको मंगलसेनमा माओवादीले सदरमुकाम ध्वस्त बनाएको बेलामा रहेछ त्यो । मंगलसेन माओवादीले ध्वस्त पारे । सेनाले निसाना बनायो सोझासाझा पद्म दमाई जस्तालाई । गाउँगाउँ पसको नेपाली सेनाले निर्मम कुटेछ छोरोलाई । छोरोको दिमाखले आधा मात्रै काम गर्ने भयो । ६० वर्षे खड्ग दमाईको बुढेस कालको आसाको त्यान्द्रो । उल्टो छोरोलाई के गर्ने भन्ने चिन्तामा डुबेका रहेछन् उनी । असहाय भएपनि कसको के लाग्छ ? गाउँमा पस्ने हरेक टाठाबाठासित उनी बिलौना गर्ने रहेछन् तैपनि कतैबाट छोरो सद्दे बनाउन सकिन्छ कि भनेर ।

 

कुराकानीका क्रममा थाह भयो कि मंगलसेन आक्रमणमा मारिएका आफ्ना साथीहरुको लास जबर्जस्ति बोक्न लगाएछन् माओवादीहरुले पद्म दमाईलाई । सेनाले त्यो कुरा थाह पाएछ । माओवादीका लास बोक्ने ? तँ माओवादी होस भन्दै सेनाले यति कुटेछ कि अब मर्‍यो भन्ने भएपछि छोडेर हिँडेछ । त्यतिबेला कक्षा ९ म पढ्दै रहेछ उसको छोरो । दुखजिलो गरेर उनले उपचारका लागि लगेछन् भारत । शरिरको अरु भागको उपचार त भयो तर दिमाखले भने काम गरेन ।

 

उता खड्ग दमाई आफैंलाईपनि माओवादीले समातेर लगेछन् र १५ दिन राखेर यातना दिएछन् । उनी रहेछन् पहिले नेपाली कांग्रेसको वडाध्यक्ष । उनले नेपाली कांग्रेसको कार्यालयमै गएर दुखेसो पोखेछन् । छोरोको उपचार कतै हुन्छ कि ? नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष भएका । तैपनि पार्टीलेपनि हेर्छ कि भनेर उनी गए रुन कराउन । तर नेपाली कांग्रेसले कुनै वास्ता गरेन ।

 

गाउँमा द्वन्द पिडितका नाममा कति रकम गयो । कति त्यसैका नाममा बिदेश यात्रा गरे । टाढाबाढा र राजनितिककर्मी अनि तिनको नाममा खुलेका गैह्र संस्थाका कार्यकर्ता मोटाए । तर जसको नाममा आयो तिनले केहि पाएनन् । उनका चार छोरा रहेछन् । तिन जना भारतमै आआफ्ना पत्नी समालेर बसेका दुखजिलो गर्दै । असक्त छोरो च्यापेर बसेका उनले अरु छोराले हेरेनन् भनेर दुखेसो सुनाउँदै थिए । भारतमा हुनेले हेर्दैनन्, आफुसँग भएको छोरोले काम नलाग्ने भएर उल्टो आफैंले हेर्नुपर्ने भो भनेर उनी बिचरा म सित रुँदै थिए । आशा न हो, अनि म सित कतैबाट केहि सहयोग पाइन्छ कि भनेर सोध्दै थिए । माओवादीले उनलाई लिएर जाँदा घरमा सात हजार रुपियाँ रहेछ । त्यो पनि लगिदिए भनेर दुखेसो गर्दै थिए उनी ।

 

उनले बताएका ति दुख संझिँदा मन भक्कानियो । तर आफुले उनकालागि तत्कलै गरिदिन सक्ने केहि थिएन । ओहो कति झेलेका मानिसले दुख । कति भोगेका मान्छेले पीडा । जो द्वन्दमा परेर पिल्सियो । जसले द्वन्दको मार खेपिरहेको छ उ गाउँमा तिनै दुख र पीडा पिएर बाँचिरहेको छ । द्वन्दको मार खपेर बसिरहेको छ । तिनै दुखसँग संघर्ष गर्दै बसेको छ । तर जो जन्ने सुन्ने भनाउँदा छन् तिनले एकाध दिन गाउँ घुमेर रिपोर्ट लेखाएका भरमा द्वन्द पिडितका नाममा पैसा कुम्ल्याउने र देश बिदेशको सयर गर्ने गरिरहेका छन् । माओवादीको सरकार पनि आयो तर उनले केहि पाएनन् । देशमा लोकतन्त्र आयो । तर न पिडितले क्षतीपूर्ती पाए न त पिडकहरुले कारवाही नै भोगे । साँच्चिकै खड्गे दमाईहरुका पीडा सुन्ने कसले हो त ?

तपाइँको प्रतिक्रिया