फ्रान्समा पारासिटामोल, मास्क र पञ्‍जाको खरिदबिक्रीमा रोक, स्वास्थ्यकर्मीको समर्थनमा हरेक दिन ताली

चैत्र ५, २०७६ ददि सापकाेटा

पेरिस — बुधबारदेखि फ्रान्समा पारासिटामोल, मास्क र पञ्जाको बिक्रीवितरणमा सरकारले पूर्णरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा बजारमा पारासिटामोल, मास्क र पञ्जाको अभाव बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो । अब सिटामोल खरिद गर्न पनि चिकित्सकको सिफारिस चाहिने छ ।

कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा नागरिकले औषधिपसलबाट व्यापक रुपमा पारासिटामोल, पञ्‍जा र मास्क खरिद गरिदिँदा स्वास्थ्य क्षेत्रमा अभाव सिर्जना भएको भन्दै यस्तो निर्णय गरिएको स्वास्थ्य सेवा विभाग पेरिसका महानिर्देशक प्रध्यापक जेरोम सालामोँले सार्वजनिक गरेका छन् ।

फ्रान्समा हरेक दिन चिकित्सकहरुलाई कम्तीमा ६० लाख थान पञ्‍जाआवश्यक पर्ने, लाखौं बट्टा सिटामोल चाहिने र नागरिकहरुले स्टक राख्‍न खरिद गरिदिँदा चिकित्सकहरुलाई अभाव भएकाले बन्देज गरिएको बताइएको छ ।

नागरिकहरुमाउचित तरिकाले पञ्‍जा र मास्क लगाउने ज्ञान नहुँदा त्यसले भाइरस रोक्नुको साटो झन फैलाउन सक्ने सम्‍भावना रहेकाले पनि प्रतिबन्ध लगाउने निर्णय गरिएको सालामोँले बताए ।

यसैबीच,कोरोना भाइरसको संक्रमणका बेला स्वास्थ्यकर्मीहरुले रातदिन खटेर स्वास्थ्य सेवा पुर्याएकाले तिनको मनोबल बढाउन, आदर र सम्मानस्वरुप हरेक साँझ सात बजेदेखि आठ बजेसम्म झ्यालझ्यालबाट ताली बजाइने छ । मंगलबार बिहानदेखि सामाजिक सञ्जालबाट यो अभियान सुरु गरिएको थियो । साँझ सात बजे पेरिसका विभिन्न ठाउँमा नागरिकहरुले झ्याल खोलेर ताली बजाएका थिए । उनीहरुले कोरोना भाइरसको संकट पूर्ण रुपमा नहटेसम्म यसलाई जारीराख्ने छन् । यसअघि यस्तै अभियान स्पेनका नागरिकहरुले पनि चलाएका थिए ।
स्वास्थ्यसेवा विभाग, पेरिसका महानिर्देशक जेरोम सालामोँका अनुसार फ्रान्समा कोरोना भाइरस फैलिएपछि हालसम्म सात हजार सात सय ३० जनामा संक्रमण भएको छ । तीमध्ये एक सय ७५ जना भएको छ भने छ सय ९० जना सघन उपचारमा छन् । तीमध्ये सात प्रतिशत ६५ वर्षभन्दा कम उमेरका छन् । सालामोँले हरेक तिनदिनमा कोरोनाबाट संक्रमितको संख्या तेब्बर हुने र आगामी केहीदिनसम्म यो प्रवृत्ति बढ्ने पनि सार्वजनिक गरेका छन् ।

प्रकाशित : चैत्र ५, २०७६ १३:३६

(साभार – कान्तिपुर डटकम)

तपाइँको प्रतिक्रिया