दक्षिणी सीमाका नागरिक र गौरवमय नेपाली सेना !
-सरोजदिलु विश्वकर्मा-
भारतीय सरकारी भक्षकहरुबाट १५ जना कलिला युवतीहरु दिनदहाडै वलात्कृत भएका छन् । र, करीव ६ हजारजना राप्ती पारी र वारा जिल्लाको दक्षिणी सीमाबाट विस्थापित भई सदरमुकाम वरपर आएका छन् । कतिपय चेली, छोरी वुहारीहरु दिनदहाडै आफ्नै सासु–ससुरा र लोग्नेको अगाडिको नाङ्गै पारिएर वलात्कृत भएका छन् । ती सरकारी भक्षकहरुको यस्तो जघन्य अपराधहरु नेपालमा धेरै चोटी धेरै ठाउंमा क्रमश हुदैं नआएका होईनन् । तर, कोईलावास, दशगजा र अन्य स्थानबाट यिनको घरमा आगो लगाई झोला–झ्याम्टा र खानपानसमेत लुटपाट गरी लखेट्ने काम हुँदा हाम्रा र्सवहारावादी नेताज्यूहरु मन्त्री को हुने र कसले नेतृत्व गर्ने होडमा तछाड र मछाड गरिरहेका छन् । मधेशीको अधिकारको ठेक्का लिएको मधेसी फोरम त ‘तँ मन्त्री हुने कि म मन्त्री हुने‘ भन्ने होडमै फुट्को संघारमा पुगीसकेको छ ।
भारतको सदिच्छा नै हो– माथिको आदेशानुसार नेपालको सरकारलाई सदैव अस्थिर तुल्याईरहनु अर्थात तलबाट कन्याउदै मुटु–कलेजो लुछ्नु । सिक्कीमलाई उस्ले यसै गर्यो । भुटानमा त्यही भईरहेको छ । अर्थात उसले साना मुलुकहरुलाई कमजोर तुल्याईरहनेक्रममा ‘आकाशमा चील आयो, सावधान भन्दै‘ तलबाट चल्लाहरुलाई चिल्लीविल्ली पार्दछ । फलतः अघिल्लो गिरिजा सरकार हुँदा सुस्ताको १४ हजार जमिन भारतबाट अतिक्रमण भएको थियो भने त्यसपछि माओवादीसंग शान्ति प्रकृयामा हस्ताक्षर हुनासाथ पर्ख र हेरको दाऊमा ऊ मौन बस्यो । अहिले माओवादी सरकारलाई कम्युनिष्ट नै उचालेर भत्काई उसले नै यहाँ अस्थिरता श्रृज्याएको छ । र, यस धमिलो पानीमा गौडागौडाबाट बसेर नयाँ–नयाँ दाऊ लगाउने चेष्टामा ती बल्लभभाई पटेलहरु तम्तयार छन् ।
त्यसैगरी भारतकै कारणले नेपाल भूमि साम्प्रदायिक हिंसाको मैदान हुने सम्भावना बढ्दै गएको छ । जवकि मधेशलाई च्यातेर तान्न नेपालमा आगो लगाई एक मधेश एक प्रदेशको घीऊ छर्किदिएको छ भने यता विभिन्न अपराधी समुह तथा लिम्वुवान र खुम्वुवानका नाममा चल्ने केही तत्वहरुलाई हतियार विक्रि गरिरहेको छ । त्यस्ता अपराधीहरुले नेपालमा अपराध गरी उसकै भूमिमा सुरक्षा पाईरहेका छन् ।
फेरि यो सुध एण्ड पावर कम्पनीले हाम्रा मिडिया र प्रत्यक्षदर्शीहरुकै अगाडि नेपालीलाई सिधै ढाँट्दैछ, जुन हाकाहाकी कुटनीतिक दादागिरी हो । अर्थात यसलाई, कमजोरसंग लुटेर ‘लुटेँ भने लुटेँ लुटेँ, के गर्छस् ?’ भन्दै उल्टै थप्पड हान्ने मुन्द्रे दादागिरी भन्दा फरक पर्दैन । दुधको साक्षी विरालो भने झैं सोही झुठ्मा हाम्रा गोविन्द कुसुमहरु साक्षी बक्दैछन् । जवकि, कुटिएर, चुटिएर, लखेटिएर, बलात्कृत भएर रगत चुहाउँदै दाङ, देऊखुरी र नीजगढ, पथलैयातिर आउनेको भिड अहिले पनि जो–कोहीले देख्नसक्छ । तिनको दर्दलाई सजिलै मनन गर्न सकिन्छ । यस अर्थमा यी उपल्ला थरीहरु झुठ्, बेईमानीसहितको पण्डित्याईं गर्दै तिनै पुराना मालिकको पाऊमा लम्पसार छन्, भन्नै पर्दछ । यसरी पटकपटक अतिक्रमण भईरहँदा नेपाली नागरिक र वालवालिकामाथि यस्ता वितण्डा मच्चिईरहँदा यतिवेला यी नेता तथा सीमा रक्षक नेपाली सेनाहरु फुलीकै लडाईमा सिंहदरवार र भद्रकालीको चार दिवारभित्र निदाईरहेकै छन् भन्नु पर्दछ । परमाधिपति राष्ट्रपति भने कानमा ठेँडी हालेर शितलीटीभित्र मस्त आराममा छन् ।
यता यो हिलाम्मे दहमा हाम्रो राजनेताहरु एकआर्कालाई हिलो छ्यापाछ्याप गर्न तत्पर छन् । तर राष्ट्रियता बचाउने महान कार्यमा भने राष्ट्रको करमा अघाउनेहरुको यतिवेला पद जाने डरले धोती–कन्दनी खुस्किरहेको छ । र, गठवन्धनकारी सरकार सीमा क्षेत्रका नागरिकहरुको पीडामा थाहा पाउँदैं नपाएजस्तो गरेर मौन बसेको छ । नेपालको क्षेत्रफलको हिसाव किताव मिलोस् या नमिलोस्, त्यसप्रति कुनै सरोकार छैन । वरु कुन मन्त्रालय कसले उछिट्ट्याउने जोड–घटाउमा छन्, यिनीहरु । जसो भए होस्, काजविनाका यी राजनेताहरुलाई दक्षिणी क्षेत्रका ती उत्पीडित र दलितहरु मान्छे जस्तै नलागेको पनि होला । अथवा ती मान्छेभन्दा कुर्सी खरिदबिक्रि गर्ने सिंहदरवारका पुराना दलालहरु नै तिनलाई प्रिय लागेको पनि हुनसक्छ । मुख्यतः हाम्रो गरिमामय पार्टी मालेका केही पदलोलुप नेतासमेत सत्ताको मातमा त्यही गन्धे दहमा मुख जोत्न रति हिच्किचाएका छैनन् । सत्य यही हो ।
बिदेशी इशारामा प्रेरित मानवअधिकारवादी कम्युनिष्टहरुलाई भने उदण्ड भारतीय सरकारी भक्षकहरुले हाम्रा नेपाली दाजुभाई, दिदीवहिनीमाथि दिनहुँ आक्रमण गर्दा र हाम्रा चेलीमाथि आफन्तकै अगाडि इज्जत लुटिँला यो उत्पीडन मानवअधिकारको सवाल भएकै छैन । बरु यी अंग्रेजी पदौरे कम्पनीहरु एउटा–एउटा गैरसरकारी अखडामा बसेर अन्तर्राष्ट्रिय प्रोटोकलको वकालत गरिरहेका छन् । ती प्रोटोकल र सन्धि–सम्झौतामा बारा, दाङ, कोईलावास, सुस्ता, दसगजा, कालापानी कहाँ पर्छ भनि खोजीरहेका छन् ।
प्रश्न यहाँनिर हो – यी अधिकारहरु मानवका अधिकारवादीकी, नयाँ अंग्रेजका पुजारी ? यी नेता–सभाषद् जनताका प्रतिनिधि कि, सत्ताका दलाल भईरहने ? हाम्रा परमाधिपति राष्ट्रको परमाधिपति की पदको परमाधिपति ? वास्तवमै ती मानवअधिकारवादी हुन् भने पीडितहरुको पक्षमा उभिन चुक्नु हुँदैन । जनताका प्रतिनिधि हुनेले यो जटील घढीमा सत्ता–स्वादलाई त्याग्दै ती नागरिकहरुको रक्षा गर्नै पर्दछ । राष्ट्रकै परमाधिपति हुँ भन्नेले पनि सेनाको फुली जोगाउन चै बढो चिन्तित हुँदा बारा र कोईलावासका नागरिकहरुको पीडामा तमासा मात्र हेर्न हुँदैन । उनले भारतसंग बोल्नै पर्दछ । अनि हाम्रो गौरवमय छवि भएको सेना ! ….यो सेना जनताको हो की परमाधिपतिको ? राष्ट्र र नेपाली जनताको हो भने राष्ट्रिय सीमामा अतिक्रमण भईरहँदा किन तै चुप मै चुप् छ ? ती कोईलावासी थारु र दलितहरुको सुरक्षा दिन किन कानमा तेल हालेर बसीरहेका छन्, यी छविलालहरु ? ऐतिहासिक छवि बोकेको यो सेनाले यदि सीमा सुरक्षा दिन सक्दैन भने यो गौरवशाली न कहिलै थियो न त हुनेछन् भन्ने स्वतः स्पष्ट हुन्छ । यस्तै छ यहाँको चलन ।