सेतो सारी र विद्याको राजनिति
मैले केहि दिन अगाडि एउटा ब्लग लेखेको थिएँ ‘हरुवालाई सरकारको चाबी, जित्नेलाई लोप्पा‘ शिर्षकमा । त्यहाँ अवश्यैपनि हरुवा भएरपनि विद्या भण्डारी र सुजाता कोइरालालाई मन्त्री बनाईएकामा आपत्ती थियो । तर केहि साथीहरुले त्यसलाई महिलालाई हेपेको, महिलाले गरेको प्रगतिलाई देख्न नसकेको, घोर पुरुषवादी सोचको रुपमा अर्थ लगाए । त्यहि भएरपनि आज यो ब्लग लेखौं लेखौं जस्तो लाग्यो । हुनत मलाई अलि पहिलेदेखिनै यो विषयमा लेखौं लेखौं जस्तो नलागेको होइन । अहिले पाठकहरुलेनै प्रसंग उठाएकाले पनि मौका मिल्यो भन्नुपर्छ । र यहिँनिर स्पष्ठ पनि पारिहालौं, मैले त्यसलाई अन्यथा ठानेर होइन कि जायज प्रसंग उठाएको र थप बहस गर्नुपर्छ भन्ने ठानेर हो ।
त्यसरि अर्थ लगाउने मित्रहरुलाई एउटा कुरा के भ्रम नरहोस भने मदन भण्डारी मारिनासाथ उनैकी पत्नीलाई सेतो सारी पहिर्याएर निर्वाचनमा ल्याउनु कारण लोग्नेकोलास माथि राजनिति हो । होइन भने अहिले सेतो सारी नलगाउने विद्याले किन सेतो सारी लगाईन त्यो बेला ? चुनाब लड्नकालागि मात्रै ? अनि विद्याले त्यो बेला के भनेकि थिईन याद गर्नु भएको छ ? “मेरो सेतो सारी कांग्रेसलाई कात्रो भयो, म बदला लिएर पतीको हत्यारा पत्ता लगाउनपनि राजनितिमा आएकि हुँ “। उनले आफ्ना हत्यारा कांग्रेस हुन् भनेर हाकै भनेकि थिईन । गिरिजा प्रसाद कोइरालालाई निकै पटक आरोपपनि लगाईन । सेतो सारी लगाएर कांग्रेसलाई गाली गर्दै चोक चोक मा हिँडिन उनी भोट माग्दै । पती मदन भण्डारीको नाममा लगाई एको सेतो सारीलाई उनले भोट माग्ने हतियार बनाईन् । तर आम जनताका अगाडि गरेका कहाँ गए त ति आश्वासन ?
कति पटक गयो अहिलेसम्म एमाले सरकारमा ? कति पटक गइन विद्या भण्डारी पदमा ? मन्त्री बनेर कति पटक खाईन उनले जनताका नाममा भत्ता ? कति पटक चढिन झण्डा हल्लाउँदै गाडीमा ? अनि कहा गए त ति नारा ? कता पुगे ति आश्वासन ? मदन भण्डारीको राजनिति उनकि छोरीलाई भारतीय दुतावासको पाउमा परेर खाली भारतमा चिकित्सा क्षेत्रको अध्ययन गराउनु मात्र थियो ? मदन भण्डारीले त्यसैको लागि राजनिति गरेका थिए ? आफु मरेपछि आफ्नी पत्नी सेतो सारी लगाएर बच्चा घिसार्दै भोट माग्न जाओस, पजेरो चढोस, छोरी पढाउन भारतीयका अगाडि लम्पसार परोस, रोओस भन्ने सोचेका हुँदा हुन् मदन भण्डारीले ? कि मदन भण्डारीका सपना दुखि जनताका घरमा टेक्ने थियो ? गरिबलाई गास जुटाउनु थियो ? गरिबलाई चप्पल पुर्याउनु थियो कि पत्नीलाई पजेरो चढाउनु थियो ? नेपालीलाई आफ्नै आँगन र आफ्नै वस्तीबाट नांगै र भोकै पिटपाट पारेर भारतीयले खेदेको बेला त्यसका बिरुद्द बोल्नु थियो मदन भण्डारीको लक्ष्य कि उल्टो भारतीयका अगाडि लम्पसार परेर आफ्नी छोरीलाई निशुल्कमा भारतमा पढाउनु थियो ?
अर्को कुरा यदि त्यतिबेला उनलाई घरायसी कामले फुर्सद नभएर राजनितिको अघिल्लो पंक्तिमा सक्रिय हुन सकेकि थिईनन् भने झन् पतीको अवसान भएपछि कसरि फुर्सदिली भईन ? मदन भण्डारीको सपना पुरा अरु नेताले गर्न सक्ने थिएनन् ? कुरा मदनकि पत्नी सितको मात्रै रहेन । उनले बिगतमा के गर्छु भनेकि थिईन ? के गरिन र के बोलिन भन्नेसितपनि सबन्धित हो । प्रसंग कुन पार्टीको को भन्ने सँग मात्रै होइन । जुन पार्टीको भएपनि पतीको छबीको दुरुपयोग नहोस भन्ने हो । जसले दुरुपयोग गर्छ त्यो गलत नै हो जुन पार्टीको भएपनि । एमाले होस कि कांग्रेस । माओवादीको होस कि फोरमको । पारिवारिक लोकप्रियतालाई कसैलेपनि दुरुपयोग गर्नु हुन्न भन्ने हो ।
यहाँ विद्याको प्रसंग किन आयो भने उनी पटक पटक सत्ताको स्वाद चाखेकि। जनताका नाममा निकै बाचा गरेर केहि पुरा गर्न नसकेकि । मदन भण्डारीको छबीलाई गलत रुपले वा खाली पारिवारिक स्वार्थमा प्रयोग गरेकि । मदन भण्डारीका थोरै भएपनि सपना पुरा गर्छु भनेर केहि गर्न नसकेकि । जनताको परिक्षणमा पनि भर्खरै मात्रै असफल भएकि । मलाई लाग्छ यस्तै नालायक पात्र अहिले यत्रो पदमा कोहि पुगेको छैन । विद्या भण्डारीको बिगत कति धेरै उज्वल छ ? चम्किलो छ ? कति क्षमतावान छन् उनी ? देश र जनताको लागि उनले बिगतमा कुन त्यत्रो उपलब्धिमुलक काम गरिन र अहिले उनी जनताले नरुचाउँदा नरुचाउँदैपनि सरकारमा उनलाई नलगि भएन ? के उनलाई नलगेको भए रक्षा मन्त्रालय खालि बस्थ्यो ? महिलानै चाहिएको भएपनि अरु कोहि महिला रक्षा मन्त्री हुन तयार हुने थिएनन् ? त्यसैले उनका बारेमा पर्याप्त बहसनै भएको छैन । जनताद्वारा अस्विक्रित ब्यक्ति जो यत्रो महत्वपूर्ण पदमा पुग्यो उसका बारेमा अहिले गरिएका बहस र टिप्पणी अपुग छन् ।
केहि साथी “बिधुवा महिलाले केहि प्रगती गर्ने बित्तिकै पतीको म्रित्युको फाइदा लिएको भन्नु घोर पुरुषवादी सोच हो” भन्नेपनि देखिए । समान्य अर्थमा त यो ठिकै हो । तर यस्तो सोच्ने साथीहरुले अलिकतिपनि के नबुझेको देखियो भने यहाँ कुनै सामान्य महिलाका बारेमा चर्चा गरिएको होइन । यहाँ प्रसंग चलाइएकि महिला त रक्षा मन्त्री पो त गाँठे । यत्रो सार्वजनिक पद धारण गरेकि महिलाको बारेमा सार्वजनिक टिका टिप्पणी नगर्ने ? यस्ता पदमा बस्नेहरुको अर्थमा सामान्य नागरिक सरह ब्यवहार गरिन्न र गरिनुहुन्न भन्नेसम्म नबुझ्ने मित्रहरुलाई के भन्ने ? सार्वजनिक आलोचना नसहने हो भने त सार्वजनिक पदमा बस्नै भएन नी होइन र ?
महिला रक्षा मन्त्री हुनुहुँदैन भन्नेपनि पटक्कै होइन । किन नहुने ? महिलाहरु भन्दैमा रक्षामन्त्री बन्न सक्दैनन् भन्ने पटक्कै होइन । पुरुष जस्तोलेपनि सक्ने तर जति सक्षम भएपनि महिलाले चाहिँ नसक्ने भन्ने पो बरु घोर पुरुषवादी सोच होला त । सक्षम भए महिला वा पुरुष जसलेपनि चलाउन सक्छन् । किन रक्षा मन्त्री मात्रै, म त महिलालाई नै किन नबनाउने प्रधानमन्त्री ? महिलालाई नै किन नबनाएको राष्ट्राध्यक्ष पो भन्छु त झन । तर के लोकतन्त्र भनेको हरुवाहरुको राईदाई चल्ने ब्यवस्था हो ? लोक भनेको आम जनता होइन ? अनि आम जनताको तन्त्रलाई होइन र लोकतन्त्र भन्ने ? अनि त्यो लोकतन्त्र कसकालागि हो ? जनताका लागि हो भने जनतालेनै अस्विकार गरेकालाई सत्ताको भर्याङमा जबर्जस्ति उकाल्ने किन ? महिलालाई नै बनाउनु छ भने के जनताले रुचाएका अन्य महिलालाई बनाए हुन्न ?




