चितवन घटना : खुकुरी दलकै पुनराबृति !

-सिद्धिचरण भटराई

मलाई अचेल के लाग्न थालेको छ भने हाम्रो युवा संगठनमा नै दरवारीया, सिआईए र रअका घुसपैठिया पसेका छन । यीनीहरु नेकपा(नेकपा)का केन्द्रिय अध्यक्ष र लोकप्रिय नेताहरुलाई बदनाम गराउन उनिहरुकै पक्षमा काम गरेजस्तो गरेर मण्डलेवाद स्थापित गर्न र व्यवस्था प्रति नै मानिसको बितृष्णा बढाउन लाग्दैछन । कारण हुन : रवि लामिछाने काण्डको हनुमानगिरी बिरोध, ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रवेश निषेध र चितवनमा आक्रमण ।

लक्ष्यमा सिजिंग पिंग भ्रमण

म के कुरा शसंकित छु भने नेपाल भारत र चिनको शक्ति संघर्षको चेपुवामा छ, अर्को भर्खरै चिन बिरुद्ध इण्डोप्यासिफिक रणनीतिबारे भयंकर बहस शुरु हुनु पुर्व नेपालमा चिनियाँ राष्ट्रपति सिजिंग पिंगको भ्रमणको तयारी हुँदैछ । पश्चिमा गुप्तचरहरु नेपालमा ठूलै भाँडभैलो होस र चिनियाँ राष्ट्रपतिको भ्रमण रोकियोस भन्ने चाहिरहेका छन । चिनको बिआरआई बिरुद्ध भारत र पश्चिमाहरुले बिबिइएनको प्रस्ताव अगाडि ल्याएका छन । नेपाली सत्ता शक्ति राष्ट्रहरुको रणनीतिक चेपुवामा पर्दैछ । यही परिप्रेक्ष्यमा केही शंकास्पद व्यक्तिहरुलाई भ्रष्टाचार, महंगीका बिरुद्ध सडकजनमत बनाउन परिचालित गरिएका हुन सक्छन ।

ठीक यही वेलामा बघिनीको आक्रमण गर्ने र चिथोर्ने तरिकाहरु नेताहरुबाट आएका छन, नभन्दै कथित नेपालका लागि नेपाली नामक अभियानका अभियन्ता ठानिएक ज्ञानेन्द्रशाही माथि सांघातिक आक्रमण भएको छ । यो के सि भ्रमण लक्षित त हैन ? त्यही इण्डोप्यासिफिक रणनीतिको एक खुफिया हिस्सा त हैन ? । मलाई लाग्छ, ज्ञानेन्द्रको लक्ष्य र उनलाई आक्रमण गर्नेहरुको लक्ष्य सिजिंगपिंग भ्रमण असफल बनाउन मलजल गर्नु हो । यो ओली सरकारलाई अरु असफल बनाउने प्रयत्ननै हो ।

युवा संगठन नै बैचारिक छैन

युवा संगठनका नेताहरुको स्तर हामीले हेरेका छौं राजनीतिक वैचारिक प्रशिक्षण नभएको लामो समय भयो । प्रशिक्षण भनेका सिमित औपचारिकता लागि मात्र बनेका छन । राजनीतिक विश्वव्यापी सम्बन्धले आन्तरिक राजनीतिमा पार्ने प्रभावका बारेमा हामीले गंभीर रुपले आजका युवालाई सिकाएका छैनौ । युवा कमिटीमा आउँदा सजिलै आएपनि युवा संघहरुलाई राजनीतिक विचारले लैस बनाउने प्रयत्न अत्यन्त टिठलाग्दो हुँदा जुनुसुकै बाटोबाट घुसपैठियाहरु छिर्ने र आन्दोलन बदनाम गर्ने सम्भावना रहन्छ । आज गुटको हित प्रधान र समग्र पार्टीहित गौण हुँदा जस्तोसुके पृष्ठभुमिको युवा पनि योजनाबद्ध रुपमा घुस्न सक्छ । क्रान्तिकारी पार्टीमा बुर्जवा र प्रतिक्रियावादी र पुरातनपन्थी पार्टीकै नेता रहेछ भनेपनि आज पसेर भोली जुनसुकै तहको टिकट पाएको हामीले बिर्षिसकेका छैनौ । यसरी हामीलाई छिन्नभिन्न पार्न, कमजोर बनाउन ओलि लोकप्रिय हुँदा ओलीकै कनसुत्ली गर्दै उनकै मान्छे भएर घुसपैठिया छिरेको छ ।

कमजोर समाजवादी शैली

आलोचना र आत्मालोचना गर्ने कम्युनिष्ट र समाजवादी शैलि कमजोर भएपछि गुणगान गाउनेहरुमात्र प्रिय लाग्ने भए नै । प्रिय हनुमानहरु जमातलाई पार्टी र समर्थक ठानिने संष्कार नेतृत्वमै हुर्कदै जाने भैहाल्यो । आलोचनात्मक चेत भएकाहरु अराजक, पार्टी बाहिर मात्र बोल्ने भित्र नबोल्ने भैहाले । भित्र पार्टीका प्रशिक्षण एकोहोरो नेताको भाषणमा सिमित हुने र जनता र कार्यकर्ताबाट आउने विचारहरुबारे ध्यान नै नदिने स्वयंपाके रोग हाम्रो आन्दोलनमा सल्कीएको १५ बर्ष भन्दा बढि भयो । यो रोगले गुट झांगीयो पार्टी प्रणाली मर्दै र हराउँदै गएको छ । सचेत र तार्किक कार्यकर्ता भन्दा हनुमन्तेहरुको जमात बलियो छ । हनुमन्तेको नाउँमा आलोचकहरुमाथि हिंसात्मक आक्रमणमै उत्रेर लोकतन्त्रकै हुर्मत लिन तम्सिएका छन । ज्ञानेन्द्र शाही माथि चितवनमा भएको आक्रमण यसैको उदाहरण हो ।

सत्ता समर्थककै संविधानका ठाडो उल्लंघन

संविधानको  भाग ३ मौलिक हक र कर्तव्यको उल्लेख गर्दै भनिएको छ – स्वतन्त्रताको हक अन्तरगत प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्तिको हक हुनेछ , विना हात हतियार भेला हुने स्वतन्त्रता, नेपालको कुनैपनि भागमा आवत जावत गर्ने स्वतन्त्रता, संघसंस्था र दल खोल्ने स्वतन्त्रता हुने उल्लेख छ । शाहीले यही अधिकार प्रयोग गर्दै सरकारका गतिविधी र भ्रष्टाचार नियन्त्रण गर्न नसेकेकोमा बिरोध गर्दै हिँडेका छन । सरकारको बिरोध गरेको बिरोधमा भौतिक आक्रमण भएको छ । यो लोकतन्त्रका लागि र नागरिक स्वतन्त्रताका लागि लडेको गौरवशाली पार्टीप्रति आस्थावान कुनै पनि क्याडर कार्यक्रम स्थलतर्फ जाँदै गरेको एउटा नागरिक माथि त्यसरी आदर्शच्युत भएर भौतिक आक्रमणमा उत्रन सक्दैन ।

ज्ञानेन्द्र शाहका वैयक्तिक अधिकारका पक्षमा

म स्वयं संविधान सभाका लागि लडेको छु । लोकतन्त्र र गणतन्त्रका लागि जेल गएको छु, कलम चलाईरहेको छु । हिजो सारा नागरिक समाजलाई यो मुद्धामा एक मत भुमिका बनाउन खेलेको छु । यो व्यवस्थाका पक्षमा लडेको हुनाले यसको रक्षाका लागि म लडछु र लडिरहनेछु । तर कुनै वैचारिक हिसावले हामीले बनाएको संविधानको परिधिभित्र रहेर विचार प्रवाह गर्छ भने उसको अधिकारलाई कुण्ठीत गर्ने कुनैपनि कुराको बिरुद्धमा उभिनु हिजो त्यही स्वतन्त्रताका लडने योद्याहरुको पनि कर्तव्य हो । यो कर्तव्यबोध गर्नेहरुले मात्र यो व्यवस्था बचाउन सक्छन । उग्र उद्दण्ड समर्थकका नाममा भएका गतिविधी हामी भर्खर स्थापित गर्न लागेको व्यवस्थाकै बिरुद्ध प्रयोग हुने निष्चित छ । यसले फाईदा प्रतिक्रियावादीहरुलाई हुन्छ अग्रगामीहरुलाई हुँदैन ।

अन्ध समर्थकहरुकै कारण अलोकप्रिय

ओलीलाई अलोकप्रिय बिरोधीहरुले गराएको होइन, उनकै समर्थकका नाममा भएका गतिविधिीले गराएका हुन । सही धरातलमा हुँदा ओलिका बिरोधीहरुको बिरोधले त उनलाई लोकप्रिय नै हुने बनाएको थियो । प्रचण्ड र योगेशको लोकप्रियता समाप्त पार्न उनकै समर्थकहरुका नाममा अराजनीतिक गतिविधि फैलाएर जनताले आशा गरेका नेताहरुको व्यक्तित्वलाई निराशामा बदल्ने योजनाबद्ध काम हुँदैछ । यी झुटा सममर्थकहरुले नौटंकीमाथि आदर्शवान नेताहरुले दृष्टि पुर्याउन मेरो अनुरोध छ । सँगसँगै यी आन्दोलन चर्कदै गएर सिजिंग पिंगको संभावित भ्रमण प्रभावित गर्ने गुह्य रणनीतिको पनि नेताहरुले भेउ पाउँदा राम्रै हुन्छ ।

म ज्ञानेन्द्रलाई समर्थन गर्दिन तर उनले उठाएका भ्रष्टाचार बिरुद्धको अभियान सामाजिक चरित्रको बनोस भन्ने म चाहन्छु, उनका अभिव्यक्ति शैली मलाई मन पर्दैनन । तर मन नपर्दैमा उनले संविधानतः पाउने हकको उपभोगबाट उनलाई बञ्चित गर्ने तरिकाको समर्थक हुन म सक्दिन ।

युवाआन्दोलनको विकृती तल सम्म झांगीएको छ । नेकपा युवा संघका नाममा कब्जाकारी ठेकेदारी, बिकासका नाममा कमसल र मुनाफाखोर विकासे निर्माण र मुनाफाखोर प्रबृतिमा लिप्त, व्यवसायिक गुणको अभिबृद्धि होइन ठेक्का पट्टा नदिए पार्टीनै छाडने धम्कि, खोला नाला गिट्टी बालुवामा चरम दोहन, जनप्रतिनीधिलाई दिएको भोट गलत तरिकाले आर्थिक लाभलिन बाध्यपार्ने प्रबृति संग गासिँदै गएको छ ।

०१४ सालको चुनावबाट नेपाली कांग्रेसको दुईतिहाई असफल बनाउन दरबारले भरत सम्सेरको खुकुरी दल बनाएर घुसपैठ गरायो । कांगे्रसकै नाउँमा गाउँमा आतंक सृजना भयो जनताले गाली गर्दा तेरो घरमा कांग्रेस पसोस भनेर सराप्ने अवस्था सृजना भयो । के नेकपा(नेकपा) भित्र पनि ०१७ सालमा खुकुरीदलले ताण्डब मच्चाएझै मच्चाउने घुसपैठ छैन भन्न सकिन्छ र ? अहिलेको दुईतिहाई बलको केपि ओलीले  हेक्का राख्नेकि नराख्ने ?

नभुलौं : पञ्चायत छिटो ढल्नुमा मण्डलेहरुको भुमिका

यसलाई बौद्धिक कुर्तक फैलाएर उत्पादनमा लागेको र लगाइएको भन्दै जनतालाई भ्रमित दिशाहिन बनाइएको छ । कांग्रेसले शुरु गरेको कुप्रथामा व्यवस्थीत चिरफार गरी स्पष्ट प्रणाली स्थापित गर्न युवाहरुको भुमिका हुनु पर्नेमा तस्करी, मिलिभगत र मैखाउँ मैलाउँको मनपरि तन्त्रप्रति युवाहरुलाई अभ्यस्त बनाउने काम भएको छ । स्थानिय पार्टी यसलाई व्यवस्थि तगर्ने मार्गदर्शन गर्न सकेको छैन । यो अवस्थालाई जतिसक्दो व्यवस्थीत गरियोस, पञ्चायत छिटो ढल्नुमा मण्डलेकाण्डको ठूलो भुमिका छ भन्ने ख्याल गरियोस । लेनिले भने झै क्रान्तिकारी आन्दोलनमा एक प्रबृति क्रान्तिको नाउँ लिँदै क्रान्तिकै गला रेट्ने प्रबृति पनि जीवित हुन्छ यसलाई क्रान्तिकारीहरुले चिन्नु पर्छ । क्रान्तिकारी चेत जगाऔं ।

(लेखक मदनभण्डारी अध्ययन केन्द्र रुपन्देहीका अध्यक्ष हुन्)

तपाइँको प्रतिक्रिया