प्रथाजनित संस्था : माइन्जन प्रणाली

कुमार यात्रु / सिरहा

थारु, दनुवार, सन्थाललगायतका आदिवासी जनजाति समूदायमा प्रचलित प्रथाजनति संस्था  माइन्जन प्रणाली पूर्बी तराईमा लोप हुने अवस्थामा पुगेको छ । सामाजिक सुव्यबस्थाका लागि कुनै समयामा शक्तिशाली मानिएको यो प्रणाली राज्यको असहयोग र सम्बन्धीत समूदायको वेवास्थाका कारण लोप हुने अवस्थामा पुगेको हो ।

सिरहास्थित थारु कल्याकारी सभाका जिल्ला अध्यक्ष दुर्गानन्द चौधरीका अनुसार बर्दिया, कैलालीतिर बडघर वा बलमन्सा र दाङ देउखुरीतिर महतवा, बडघर भनिएझै पूर्बी तराईको सिरहा, सप्तरी, महोत्तरीलगायतमा माइन्जन प्रणाली भन्ने गरिन्छ । कुनै समयमा सशक्त र शक्तिशाली मानिएको यो प्रथाजनित संस्था आधुनिक रहनसहनका कारण सम्बन्धीत जातीय समूदायले नै बेवास्था गर्ने गरेका छन् । तथापि, यसको अस्तित्व भने अझै बाँकी छ ।

दनुवार जागरण समिति सिरहाका अध्यक्ष धिरेन्द्रदेब सिंह दनुवार पनि माइन्जन प्रणालीले समाजलाई सुरक्षा, नेतृत्व र समाजलाई न्याय पु¥याँदै आएको धारणा राख्छन् । ‘माइन्जन प्रणाली दनुवार समूदायको सबैभन्दा पुरानो प्रथाजनित संस्था र कानुन हो । यसको सक्रियता रहेसम्म दनुवार समाजमा शान्ति सुव्यबस्था र मेलमिलाप रहेको थियो ।’ अध्यक्ष दनुवारको तर्क थियो ।

माइन्जनको काम कर्तव्य र अधिकार

माइन्जन प्रथाले स्थानीय गाउँको विकास योजनामा श्रमदान गराउने, कुलो खानेपानीको निर्माण, ग्रामदेवताको पुजा तथा समान्य बादविबाद मिलाउने काम गर्दछ । थारु कल्याकारी सभाका जिल्ला अध्यक्ष दुर्गानन्द चौधरी थप्छन् –‘थारु समाजमा देखिएको बालबिबाह जस्तो कुरीति हटाउने श्रेय माइन्जनलाई दिनु पर्छ । समाजमा बालबिबाह समाप्त पार्ने काम माइन्जनले नै गरेका हुन् ।’

कुनै समयमा माइन्जनलाई असिमित अधिकार रहेको लहानका थारु, दनुवारलगायतका अगुवाहरु बताउछन् । तर यस्तो अधिकार लिखित भने थिएन । न्याय प्रणालीमा माइन्जन न्यायधिश जस्तै हुन्थे । तर माइन्जनले न्याय दिँदा एकपक्षिय नभएर सामुहिक रायका आधारमा यस्तो न्याय दिने गर्दथे । प्रगन्ना, देशबन्धा, महतवा र घरधु¥या जस्ता चारतहमा गाउँको शासन र न्यायप्रणाली चलेको आफूले थाहा पाएको बताउँदै थारु कल्याकारी सभाका जिल्ला अध्यक्ष दुर्गानन्दले पुरानो कुरा सम्झदै भने–‘जबसम्म  माइन्जन प्रथा सक्रिय थियो तबसम्म सबै खाले मुद्धाको गाउँमै मेलमिलाप गराउन सफल हुन्थयो । थाना प्रहरी वा अदालतमा यस्ता सामाजिक बिबादहरु कमै पुग्ने गर्दथ्यो । राणाकालमा माइन्जनलाई कानुनी मान्यता समेत थियो । तर अहिले माइन्जनहरु केबल भोज भतेरका बेला देखाइने शोभाका बिषय मात्र भएका छन् ।’

अन्तराष्टिय कानुनको मान्यता

अन्तराष्टिय श्रम संगठन महासन्धी नम्बर १६९ ले आदिवासी जनजातिका प्रथाजनित संस्था र कानुनलाई मान्यता दिएकोृ छ । यो महासन्धी आदिवासी जनजातिको अधिकार सम्बन्धी अन्तराष्टिय कानुन हो । २०६४ साल भाद्र ५ गते नेपालको संसदले अनुमोदन गरेको यो महासन्धी नेपाल कानुन सरह लागू हुन्छ । नेपाल सन्धी ऐन २०४७ को दफा ९ अनुसार यो महासन्धी नेपाल कानुन सरह लागू हुन्छ ।

यसैगरी आदिवासी जनजाति सम्बन्धी संयुक्त राष्ट संघीय घोषणापत्रमा पनि आदिवासी जनजातिका सामाजिक, साँस्कृतिक, आर्थिक तथा राजनीतिक संस्थाहरु, तिनका अभ्यास, प्रथा तथा कानुनी प्रणालीलाई संरक्षण गनु पर्ने उल्लेख छ ।

स्थानीय सरकार सुधारको पक्षमा

माइन्जन प्रणाली सहकारात्मक हुँदा हुँदै पनि स्थानीय सरकार भने यो प्रणालीलाई सुधार तथा परिमार्जन गर्नू पर्ने पक्षमा उभिएको छ । सिरहास्थित धनगढीमाई नगरपालिकाका प्रमूख हरिनारायण चौधरी माइन्जन प्रणाली हाम्रो परम्परा भए पनि यसको निरन्तरतामा भने अरु बहस गर्न आवश्यक रहेको बताउँछन् । ‘कुनै बेला माइन्जन प्रणालीका आधारमा थारु लगायतका समूदाय चल्ने गरेको थियो । तर अहिलेको प्रविधिमा आधारित समाजमा त्यही प्रणालीलाई निरन्तरता दिनु पर्ने कुरा सान्दर्भिक हुन्न ।’

नगरप्रमूख चौधरीको भनाई छ –‘माइन्जन प्रथा हाम्रो समूदायको अतीत हो । तर यस प्रथाका कारण समूदायमा अनावश्यक आर्थिक व्यय बढेको, भोज भतेर तर्फ समाज आकर्षित भएका लगायतका अन्य बिसंगति र बिकृतिलाई पनि बढावा दिएको सन्दर्भलाई सम्झनु पर्दछ  ।

हिन्दूपरम्परा प्रभावित

पूर्बी थारु लगायत आदिवासी जनजाति समूदायमा रहेको माइन्जन प्रणाली हाल बिकृत अवस्थामा रहेको समाजशास्त्री डा. कृष्णबहादुर भट्टचनको पनि छ । समाजको अन्तरघुलन, बसाईसराई तथा हिन्दूपरम्पराको प्रभावमा परेर माइन्जन प्रणालीमा मिश्रित स्वरुपमा आएको हुन सक्छ भन्दै डा भट्टचनले भने  –‘प्रथाजनित संस्था तथा कानुनको प्रयोग बाँके बर्दिया तथा कैलालीका थारुहरुको बडघर, बलमन्सा र मुस्ताङतिर प्रचलित ध्यम्प परम्परालाई मान्न सकिन्छ । अन्य आदिवासी जनजाति समूदायमा पनि प्रथाजनति संस्थाहरु रहेका छन् तर ती संस्था, परम्परा र रीतिहरु हिन्दूकरणको चपेटामा परेका छन् । जसलाई पुनर्जिवन दिन आवश्यक छ ।’

आखिर जे भए पनि माइन्जन प्रणाली पूर्बी तराईको आदिवासी जनजाति र स्थानीय समूदायको साझा प्रथाजनित संस्था हो । यो प्रणाली तराईमा उच्च जाती र दलितमा देखिन्न । तथापि अहिले पनि माइन्जनको सम्मान गर्ने परिपाटी भने कायम रहेको छ । मूलतः आदिवासी जनजातिमा सूचिकृत थारु, दनुवार, सन्थाल तथा मण्डलहरुमा रहेको यो परम्परालाई राज्यतहबाट मान्यता दिएर हाम्रो परम्परा तथा गौरबलाई निरन्तरता दिनु नै उचित मार्ग हुने देखिन्छ ।

(इन्डिजिनियस फिचर सेवा)

तपाइँको प्रतिक्रिया