हजारौं नेपालीको बिचल्ली, छुँदैन सरकारलाई ?

             प्रधानमन्त्री किन चुप ?

 

bisthpit_index1

 

वर्षादको बेला । कोहि काखमा वालिका चेपेका छन् । कसैको ढाडमा कुम्लो छ । कसैले वालवालिका डोर्‍याएका छन् । नांगा खुट्टा, नांगै शरिर । आँखा भरि बलिन्द्रा आँशु । आत्मभरि नेपाली हुनुकै पीडा । बाउ बाजेका पालादेखि खन्दै र खोस्रँदै आएको थात थलोबाट भारतीयले लखेटेर हजारै नेपालीको बिचल्ली भएको छ । घर भत्काइएका छन् । बाख्राका पाठा र गाइगोरु लखेटिएका छन् । घरभित्रबाट थुतेर आँखै अगाडि आफ्नी चेली छोरीमाथि भारतीयले बलात्कार गर्दा टुलुटुलु हेरेर बस्नु परेको छ । खादै गर्दाको बटुको समेत थुतेर मिल्काउँदै त्यहाँका नेपालीमाथि भारतिय सिमा सुरक्षा फौजले कुटपिट र यातना दिँदै लखेटेको छ । तिनले हाकाहाकी नेपाली सिमा मिचेर उताका किल्ला नेपालतिर सार्दै यो हाम्रो भूमीमा किन बस्छौ भन्दै लेखेटेका छन् । दाङको सिमावर्ती क्षेत्रका बासिन्दाका पीडा भनिसक्नु छैन । खप्नेको त के देख्नेका समेत आङ जिरिङ्ग हुने खालका छन् । यस्तो द्रिष्य देख्दापनि किन छुँदैन सरकारलाई ? किन देख्दैनन् नेताहरु ? के सरकार पुरै भारतीयहरुको हो ?

 

सिमा सुरक्षा बलको काम सिमानाको रक्षा गर्नु हो । अवान्छित गतितिबिधीलाई नियन्त्रण र निगरानी गर्नु हो । सिमा मिच्ने, सार्ने, भत्काउने र जनतालाई यातना दिने लखेत्ने होइन । तर भारतीय सिमा सुरक्षाकर्मीहरुको काम भने सिमा उखलेर नेपालतिर सार्ने र नेपालीलाई लखेट्ने, कुट्ने, यतना दिने, आतंकित पार्ने, लुट र नेपाली चेलीबेटीमाथि बलात्कार मच्चाउने भएको छ । यो कुनै लुकेर भएको छैन । हाकाहाकी, दिन दहाडै भएको छ । संचार माध्यमहरुले त्यो अत्याचारको दिनदिनै सार्वजनिक गरिरहेका छन् ।जिल्लाको प्रशासन रमिते भएको छ ।

 

छिटपुटरुपमा मात्रै भएकोपनि होइन । दाङको करिब २२ गाविसका जनतालाई एकै पटक लखेटेको छ त्यहाँको सिमा सुरक्षा बलले । र त्यहाँका जनता कोहि कता भागेका छन् । कोहि रुदै र कराउँदै शरण माग्न सदरमुकाम आइपुगेका छन् । कोहि समुदयिक वनमा आएर विस्थापित भएका छन् । तर सरकारको पारा ? उनीहरुलाई सिंह दरबारको कुर्सी हत्याउनमै मारामार छ ।

 

यो घटनाले मुख्य दलहरु एकिक्रित नेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेसी जनअधिकार फोरमलाई बढि पोल्नुपर्ने हो । मुख्यगरि प्रचण्ड, गिरिजा कोइराला, माधव नेपाल, झलनाथ खनाल र उपेन्द्र यादवलाई बढि सुर्ता हुनुपर्ने हो । चासो लाग्नुपर्ने हो । ठुला दलमध्ये माओवादीले त्यसको बिरोध गरेपनि अन्य ठुला दल चुप लागेर बसेका छन् । हुनत हिजो सरकारमा भएका बेला माओवादीलेपनि खासै ठोस काम गर्न सकेन नै । सरकार बाहिर हुनासाथ सिमा अतिक्रमण बारे बढि कुर्लिने र सरकारमा भएका बेला सुस्ताउने त नेपाली नेता र दलको नियतीनै हो ।

 

जेहोस, अहिले राष्ट्रिय जनमोर्चा र एकिक्रित नेकपा (माओवादी) लाई बाहेक अरु दललाई त्यसले पटक्कै छोएको देखिँदैन । आफ्नो देशको राष्ट्रिय सुरक्षा पहिलो चासो र प्राथमिकता हुनुपर्ने हो । नागरिकको सुरक्षा सबैभन्दा बढि संबेदनशिल बन्नु पर्ने होइन र ? तर कांग्रेस, एमाले र फोरमका नेताको प्राथमिकता कुर्सी तानातानमै छ । कांग्रेसलाई कसले सरकारको नेत्रित्व गर्ने भन्नेमै भ्याई नभ्याई छ । एमाले आफ्नै कुर्सी जोगाउनमा तल्लिन छ । फोरमलाई त झन नेपाल भारतमा परोस कि जहाँसुकै के मतलब ? बरु भारतीय राजदूत राकेश सुदले एमाले र कांग्रेसको पार्टी बैठकमै गएर सरकार छिटो बनाउन दबाब दिने गरेका छन् । सरकार कस्तो बनाउने, कसलाई ल्याउने, कुन कुन पार्टीको बन्ने भन्ने निर्णय र निर्देशन भारतिय राजदूतबाट लिनमै कांग्रेस र एमालेलाई ठिक्क छ । तर तिनले भारतीयहरुबाट भएको सिमा अतिक्रमण र नेपालीमाथि भएको अत्याचारका बारेमा चुँसम्म बोलेका छैनन् ।

 

 

सरकारमा बस्नेहरु कतिसम्म निरिह देखिएका छन् भने सारा नागरिक समाज र आम जनताले यसको चौतर्फि बिरोध गरिरहेको छ । तर सरकार सञ्चालनमा भागबण्डा गरेका दल तैचुप मै चुप छन् । मन्त्रीहरुको नाम माग्न दलहरुलाई हरेक दिन दशौं पटक आव्हान गर्न भ्याएका प्रधानमन्त्रीले यस मामिलामा मुख नखोलेर भारतिय आशिर्वादबाट सत्ता पड्काएको भन्ने आरोपलाई आफैं मलजल गरिरहेका छन् । भारतीय सञ्चार माध्यमहरुले प्रधानमन्त्री घोषित हुनु अघिनै भारतिर भारतीय मूलकोको भनेर गरेको प्रचारप्रसारलाई प्रधानमन्त्री आफैंले कतै पुष्टी गर्न खोजेका त होइनन् ?


 यो घटनाले देखाउँछ नेपाली कांग्रेस, फोरम र एमालेका नेता के चाहन्छन् ? सरकार भारतीय हित चाहन्छ कि नेपालीको ? यो सरकार आफ्नो राष्ट्रिय सुरक्षाका मामिलामा कति नालायक छ भन्नेपनि यहि घटनाले देखाउँछ । सरकारको प्राथमिकता सिमा सुरक्षा, नगरिकका पीडा सुन्ने होइन कि जो सुकैको दबाब र छायाँमुनी होस कुर्सीमा टाँस्सिन पाए पुग्छ । (तस्बिर-नागरिकन्युज डटकम)

तपाइँको प्रतिक्रिया