हरुवालाई सरकारको चाबी, जित्नेलाई लोप्पा

       पतीको लाशमाथि राजनिति गर्नेलाई जनमतको के मतलब ?

 

एमालेका तत्कालिन महासचिव माधव कुमार नेपालले सभासदमै हारे जहाँ जहाँ उठे त्यहाँ त्यहाँबाट । पछि मन्त्री परिषदको कोटाबाट सभासद बने । अचम्म, हुँदा हुँदा त प्रधानमन्त्रीनै बने । एमालेले फेरि कोहि भेट्टाएनछ जनताले रुचाएका । कांग्रेस नेत्री सुप्रभासँग हारेकि बिद्दा भण्डारीलाई रक्षा मन्त्री बनायो । निर्वाचनमा शानदार तरिकाले जतताको मन जितेका माओवादीका झक्कुप्रसाद सुबेदी अहिले सडकको, धुलो खाँदै हिँडेका छन् । उनले हिजो माओवादी नेत्रित्वकै सरकार हुँदापनि मन्त्रीसम्म पाएनन् । तर उनैले सर्वनाक हराएका माधव नेपाल भने झन् प्रधानमन्त्री भएर देखाइदिए ।

 

सुप्रभाले वर्षौंदेखि काठमाडौंमा जरा गाडेर बसेकि बिद्दालाई पछारिदिईन । तर उनै सुप्रभा अहिले कांग्रेसको कोटाबाट सामान्य मन्त्री सम्म बन्न नपाउने रोल क्रममा छिन्। तर उनैले हराएकि बिद्दा रक्षा मन्त्री ।  जनताद्वारा अस्विक्रित भण्डारीले त झन नागरिकन्युज डटकमलाई दिएको अन्तर्वार्तामा ग्रिह वा रक्षा मन्त्रालय बाहेक अरु मन्त्रालयमा त के जानु भनेर फूर्ती लगाएकि छन् । पतीको लाशमाथि टेकेर राजनिति गर्नेहरुलाई जनताको मतको के मतलब ? सेतो सारीले जन विश्वास जित्न छाडेपछि बिदेशी समर्थन हाजिर भएकै छ अनि किन जित्नुपर्‍यो जनताको विश्वास ?

 

के कांग्रेस र एमालेमा जनताले,पत्याएका मानिसहरु कोहि नभएका हुन् र ? तिनै सुप्रबालाई दिए के हुन्थ्यो ? गगन थापा के अरु भन्दा कम हुनेथिए ? नरहरी आचार्यले नेत्रित्व गर्न सक्ने थिएनन कांग्रेसको तर्फबाट ? कम्तिमा जनताले रुचाएकालाई पठाएर जनताको विश्वासमाथि आदर त गर्न सकिन्थ्यो । शंकर पोखरेल, योगेश भट्टराइ, विष्णु पौडेल जस्ता नगन्हएका र जनताले पत्याएकापनि थिए नि एमालेमा । हरुवाहरुलाई पठाउनुनै थियो भनेपनि कम्तिमा राजेन्द्र श्रेष्ठ जत्तीका ठसठसि नगन्हाएका पनि त थिए

 

हुनत सरकारको चाबीनै हरुवाको हातमा परेपछि जित्नेहरुले के आशा गर्नु ? बिजयीहरुको कुन स्थान हुनु ? हुन त यस अघिको सरकारमापनि आफ्नै ग्रिह जिल्लाबाट हारेका वामदेव गौतम ग्रिह मन्त्री भएका थिए नै । तरपनि अहिले झै जित्नेजति सरकार बाहिर र हरुवाजतिलाई सरकारको चाबी थिएन ।

 

त्यति मात्रै हो र ? मधेशी जन अधिकार फोरमका उपेन्द्र यादव अहिले आफ्नालागि होइन, पार्टीका अन्य साथीहरुलाई केहि दर्बिलो मन्त्रालय पाइन्छ कि भनेर कसिकसाउ गरिरहेका छन् । उनले सरकारको नेत्रित्व गर्न पाउने छाँट छैन । वर्षौंदेखि जरा गाडेर बसेको कांग्रेसको किल्ला भत्काएर बिजयि भएका सभासद मात्रै होइनन् उपेन्द्र यादव, मधेशी जनअधिकार फोरमकै अध्यक्ष समेत हुन् । तर उनैले हराएका कांग्रेस नेत्रि सुजाता कोइरालाले कांग्रेसको नेत्रित्व गर्दै सरकारमा जाने भएकि छिन् । अब उनले कांग्रेसको भागबण्डामा पर्ने एउटा सशक्त मन्त्रालय पाउने छिन् । उनलाई परराष्ट्र मन्त्रालय दिनुपर्न् जिकिर गरिपनि सकेका छन् उनैका पिता पार्टी सभापती गिरिजाप्रसाद कोइरालाले । यो त शुरुवात न हो । मन्त्रीमण्डलले पूर्ण आकार पाउन्जेलसम्ममा अझ यस्तै हरुवा र नालायकहरुको कति अनुहार देख्नुपर्ने हो ।

 

बहुदलिय कालमा बरु जनतालाई निर्वाचनम अलि बिश्वास थियो । अर्थात कम्तिमा हामीले दिएको मतको कदर हुन्छ भन्ने थियो । आफुले भोट हालेर जिताएका सरकारमा जान्छन् । जनताले रुचाएकाले जनप्रतिनिधित्व गर्छन् भन्ने थियो । गणतन्त्रमा त त्यो पनि गुमाए । जनतालाई सबै पार्टीले मत हाल्न लगाए । नेताहरु जनपरिक्षामा भोटका बाकस थापेर सरिक भए । अनि परिक्षा दिएर फेल भएपछि फेरि पास भएको नाटक गर्दै जनताका अगाडि गए । जसले सरकार नचलाउन् भन्ने चाहे जनताले तिनैको हातमा पुग्यो सरकारको ताला र चाबी ।

 

साच्चै जनताको मतको कदर नहुने हो भने अब किन गर्नु पर्‍यो निर्वाचन ? किन तेर्स्याउनु पर्‍यो भोटका बाकस ? किन निर्वाचनका नाममा अरबौंको राष्ट्रिय ढुकुटी सक्नुपर्‍यो ? हार्नेले सजिकै सरकारमा महत्वपूर्ण स्थान पाउने हो भने किन निर्वाचन लड्ने ? किन मान्नुपर्‍यो जनताको डर ?  त्यसरि जनताले नपत्याएकाहरु सरकारमा गएपछि जनताप्रतिको तिनमा के जिमेवारी महसुस हुने ?  जनताले के पो आसा गर्ने ? वर्षौं वर्ष सरकारमा टाँस्सिएर गन्हाइसकेकाबाट देशले के पाउने ? नागरिकले के भेट्टाउने ? के यस्तै हो गणतन्त्रको सक्कली रुप ? जनताले चाहेको लोकतन्त्र यहि थियो ? यस्तै लोकतन्त्रका लागि जनताले रगत बगाएर बहुदलिय ब्यवस्था मिल्काएका हुन् ?

तपाइँको प्रतिक्रिया