असंभव सपना बुन्ने हामी, आस्वाश दिन खप्पिस नेता

संसदिय निर्वाचनताका केपी ओलीले निकै मिठो भाषण गरे । पूर्व पस्चिम मात्रै होइन काठमाडैंदेखि चिन र बुद्दको जन्मस्थल लुम्बिनीसम्म रेल सेवाले जोड्ने । पस्चिम नेपालको फलामखानी भन्ने ठाउँमा पुगेर फलाम निकाल्ने । हरेक ब्रिद्दब्रिद्दालाई मासिक पाँच हजारका दरले घरघरै पुर्‍याएर बाँड्ने । जरिबुटी प्रशोधन गरेर  बिदेशी मुद्रा करोडौं कमाउने । कुनै नेपाली भोको र नांगो बस्नु नपर्ने, त्यसको जिम्मा सरकारले लिने । ओलीले नेपाललाई सुन्ने गरिएको स्वर्ग जस्तै बनाउने नारा दिए । उनको नारा धेरैलाई मन पर्‍यो । ताली बजाए । दूरगाउँका अशिक्षित र कम बुझ्ने ठानिएकाले मात्रै होइन, देशका अब्बल दर्जाका शिक्षितहरुलेपनि ताली ठोके । पत्याए र भोट मागे ।

छुवाछुत अन्त्य गर्ने, बजार भाउ नियन्त्रण गर्ने, भ्रस्टाचार हटाउने, कालो धन्दा रोक्ने नारा हाम्रालागि सामान्य बनिसके । सडक बनाउने, स्वास्थ्य सेवा सुबिधाजनक गरिदिने, शिक्षामा सुधार गरेर ब्यवहारिक शिक्षा दिने, क्रिषीमा आत्मनिर्भर हुने, बजेट घाटा कम गर्ने, गरिबी उन्मुलन गर्ने, सबैका घरमा खानेपानी पुर्‍याउने । यस्ता नारा हामीले दशकौंदेखि सुन्दै आएका छौं । त्यसैले जनतासित दैनिक सरोकार राख्ने ब्यवहारिक नाराले हामीलाई छुनै छोडिसक्यो । सामान्य नारामा हामी अभ्यस्त भैसक्यौं । त्यसैले हामीलाई महत्वाकांक्षी नारा मन पर्छन् । सगरमाथामा केबल कार लैजाने । रेलको सम्भाब्यता अध्ययननै नभएपनि चारैतिर रेल गुडाउने । काठमाडौंमा मेट्रो रेल दौडाउने । सबैलाई रोजगारी दिलाउने । नेपाललाई स्विजरल्याण्ड बनाउने । यस्ता ठूला ठूला नारा मन पर्ने भएका छौं । हामीलाई जस्ता नारा मन पर्छन् हाम्रा नेताहरु त्यस्तै भाषण गरिदिन्छन् । हामी जे सुन्दा खुशि हुन्छौं हाम्रा योजनाकारहरु त्यस्तै योजना सुनाउँछन् ।

हामी नेपालीको शिर यसैपनि विश्वमा सबैभन्दा अग्लो छ । सगरमाथाको अग्लाईसित हामी आफूलाई नाप्छौं । सगरमाथाको देशका हामी भन्दा उच्च कोहि हुनै सक्दैन । हामी भन्दा शान्तिप्रिय त अर्को नेपाली विश्वको कुनै कुनामा बाँचेको हुन संभवनै छैन । किनभने शान्तिका दूत गौतमबुद्द जन्मेको भूमीका नागरिक हौं हामी । सिता जस्ती नारी, अरनिको जस्ता महान कलाकार र पर्यटक जन्मेको देशका हामी भन्दा घुमन्ते, प्रतिबद्द कोहि हुनसक्ने कुरै भएन । विश्वभरि लड्न पुगेका विर गोर्खालीका सन्तान हामीभन्दा बहादुरपनि कोहि बन्नै सक्दैन । त्यसैलेपनि अरु भन्दा विशेष र महान भएकाले हामीलाई विशेष र महान, उच्च कुराहरु मात्रै मन पर्छन् । अरु भन्दा फरक हुन मन लाग्छ । फरक हुनेनै ठूला र अपत्यारिला आस्वाशन, भाषण र योजनाले हो । त्यसैले हामी जस्तो मन पराउँछौं । हामी जे खोज्छौं र जेमा रमाउँछौं हाम्रा नेताहरु त्यहि सुनाउँछन् ।

त्यसैले परिवर्तन हुनै छ भने हाम्रो सोचमा हुनुपर्छ । हाम्रो बिचार र धारणा बदलिनुपर्छ । हामीले ब्यवहारिक भएर सोच्नुपर्छ । हामीले  महत्वपूर्ण सपना मात्रै बुन्नुपर्छ ।  देशको, जनताको मुख्य खाँचो र प्राथमिकता पहिल्याएर त्यहि खोज्ने र त्यसैमा रमाउने भए मात्र हाम्रा नेताहरुले जनताका सपना अनुसार भाषण र आस्वाशन दिन्छन् । योजनाबिदहरुले पनि जनताको खाँचो अनुसारको योजना सुनाउँछन् ।

तपाइँको प्रतिक्रिया