नाकाबन्दिका पक्षमा लागेबापत मन्त्रीमण्डलमा प्रमुख पद !

नेपालमाथि नाकाबन्दि लगाउन भूमिका खेल्ने, नाकाबन्दि लम्ब्याउन हरसंभव कोसिस गर्ने, नाकाबन्दिका बेला नेपाल-भारत सिमा क्षेत्रमा बसेर नेपालमाथि अझ सास्ति थप्ने काम गरेबापत संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई नाकाबन्दिका बिरोधी केपी ओलीले उपप्रधानमन्त्रि पदले पुरस्क्रित गरेका छन् । अर्थात् प्रधानमन्त्री केपी ओलीले या त नाकाबन्दिको पिडा भुले या नाकाबन्दिका पक्षधर सामु झुक्नुपर्‍यो ।

राष्ट्रवादी भनेर खुब वाह वाह खाइरहे, प्रधानमन्त्री केपी ओलीले । खासगरि नाकाबन्दि पछि । भारतीय नाकाबन्दिलाई घुँडा टेकाउन उनले अडान लिएकापनि हुन् । तर अहिले उनलाई के बाध्यता पर्‍यो तिनै नाकाबन्दिका हिमायतीलाई सरकारमा सामेल गराउन ? कुन अप्ठेरो फुकाउन उपेन्द्र यादवलाई ओलीले उपप्रधानमन्त्रीको पद दिनुपर्‍यो ?

पहिले जस्तो अहिलेको वामपन्थि सरकार गणितिय हिसाबले अप्ठेरोमा छैन । दुई तिहाई बहुमत लिएर ढुक्कले सरकार बनेको छ । एमाले र माओवादी केन्द्र मिलेर एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी एक भैरहेमात्रै पनि यो सरकारलाई कसैले गिराउन सक्ने हैशियत राख्दैन । तैपनि नाकाबन्दिको पक्षधर संघिय समाजवादी फोरमलाई महत्वपूर्ण मन्त्री पद दिएर सरकारमा ल्याउनुपर्‍यो ? यो त आम जनताप्रतिको अपमान होइन र ? नाकाबन्दि झेलेका, नाकाबन्दिका अप्ठेरा, कष्ट र धम्कि सहेर जुन जनताले केपी ओली र तत्कालिन सरकारलाई साथ दिए आज नाकाबन्दिका पक्षपातीलाईनै पुरस्क्रित गर्दा जनता उपेक्षित भएनन् ?

विसं २०४५ सालमा बहुदलिय प्रजातन्त्र आएपछिकै सरकार मध्ये अहिलेको सरकार सबैभन्दा बलियो छ, संसदमा भएको गणितिय भूमिकाका आधारमा । ति बाहेकपनि यो सरकारलाई समर्थन गर्ने अन्य केहि साना पार्टीहरु छन् । यो सरकारलाई सजिलै गिराएर अर्को कुनैपनि दलले सरकार बनाउन सक्ने हैशियतनै छैन । अहिलेको सरकारले जनताका पक्षमा अलिकति काम गरेर अगाडि बढ्दै गएपनि सरकार सजिलोसित चल्छ । जनतालाई अपमानित गर्नै पर्दैन । तैपनि आम जनतालाई अपमानित गरेर यहि सरकार किन भारतीय नाकाबन्दिका हिमायतीकै पक्षमा उभियो ?

यसो गर्नु के केपी ओली सरकारको बाध्यता त होइन ? शंका धेरै उत्पन्न भएका छन् ।  भारतीय सत्तावर्गले केपी ओलीलाई दबाब दिएको हुनुपर्छ, उपेन्द्र यादवको पार्टीलाई सरकारमा लैजान । भारतीय सत्तासिनहरुको त्यहि दबाबलाई धान्न नसकेर ओलीले अहिलेको मन्त्रिमण्डलमा उपेन्द्र यादवलाई महत्वपूर्ण पद दिएर लगेका पो हुन् की ?

जनताको यति ठूलो विश्वास, मत र आफ्नालागि संसदमा दुई तिहाई मत पुग्दापनि केपी ओलीलाई भारतीय समर्थन, आड र भरोसाबिना सत्ता सम्हाल्न सकिन्न भन्ने धुकचुक हुनुपर्छ । त्यहि शंका मेटाउन उनले उपेन्द्र यादवलाई सरकारमा ल्याएको हुनुपर्छ ।

त्यसो त, केपी ओलीलाई भर्खरै एकता प्रक्रियाबाट आएको माओवादी केन्द्रप्रति भरोसा नभएरपनि हुन सक्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले आफ्नो सरकार गिराएर नेपाली कांग्रेससित सरकार बनाउन गएको घटनाले केपी ओलीलाई भित्र भित्रै निर्धक्क हुन नदिएकोपनि हुन सक्छ । सत्ता स्वार्थमा प्रचण्डको भर हुन्न भन्ने लागेर सरकार गिराउन खेल्न सक्ने संभावित खेलका प्रमुख खेलाडीलाईनै सरकारमा आकर्षक पद दिएपछि सरकार गिराउन सक्ने भयनै मेटिने भयो ।  कुन भूमिकाले गर्दा केपी ओलीले उपेन्द्र यादवलाई उपप्रधानमन्त्री पद दिएर सरकारमा ल्याए ? यि मध्ये केहि न केहि कारण पक्कै छन् । नत्र मधेशी पार्टीहरुप्रति अनुदार भनेर चिनिएका र नाकाबन्दिका बिरोधी भनेर बुझिएका ओलीले किन सहजै सरकारमा सामेल गराउँथे ?

तपाइँको प्रतिक्रिया