धार्मिक द्वन्द भड्काउन गाईकाण्ड

-सन्तोस चिमरिया

मुसलमानहरुमा दुई प्रमुख शाखाहरु छन । सिया र सुन्नी । सिया अल्पसंख्यक हुन । सुन्नी बहुसंख्यक हुन । दुबैका पैगम्बर पनि एउटै हुन – मोहम्मद । दुबैको शास्त्र पनि एउटै हो – कुरान । दुबैले पुज्ने इश्वर पनि एउटै हुन – अल्लाह ।

इस्बिको छैटौं शताब्दीमा आएर मोहम्मदले प्रारम्भ गरेको इस्लाम धर्म उनी बाँचुन्जेल शाखा रहित थियो । पुज्य एउटा मात्र अल्लाह हुन र उनका अन्तिम दुत मोहम्मद हुन भनेर स्वीकार गर्ने सबै इस्लामपन्थी हुन योग्य थिए । त्यहाँ सुन्नी र सियाको अस्तित्व थिएन । उनको मृत्यु लगत्तै उनका अनुयायी र परिवारका सदस्यहरुबिच को उत्तराधिकार हुन योग्य ? भन्ने प्रश्न ठूलो चुनौती भएर खडा भयो ।

मोहम्मदका छोरा थिएनन् । त्यसैले ज्वाईं अलीले बंशवादको वकालत गरे । बाहिरियाले लोकतन्त्र र जनमत भने । आजका सियाहरु तिनै बंशवादको वकालत गर्ने अलिहरूका अनुयायी हुन भने सुन्नी भनेका तात्कालिक जनमतवादीहरु हुन । तर अघोरै अचम्म के छ भने आज चौध सय बर्ष पछि बंशवादको वकालत गर्ने सिया समुदायको नेतृत्वकर्ता इरानमा निर्वाचित सत्ता छ । सुन्नी अर्थात जनमतवादीहरुको नेतृत्व गर्ने साउदी अरबमा चरम बंशवादी र अनुदार राजसंस्थरको हातमा सत्ता छ । अर्थात सिया र सुन्निका नेतृत्वकर्ताहरु उलटफेर भएर बिपरित ध्रुबमा बिराजमान भएक छन । तर दुश्मनी घटेको छैन ।
धार्मिक उदेश्यले प्रेरित भएर मोहम्मदले संगठित गरेको धार्मिक जमातमा उनको मृत्यु लगत्तै “राजनीति”ले प्रबेश पायो । त्यस यता यो चौधसय बर्षमा सिया र सुन्नी बीच युद्ध नभएको सान्तीपुर्ण एउटा घन्टा पनि छैन । दिन र हप्ताको त कुरै छोडौं ।

उनिहरु कति स-ससाना बिषयमा लड्न सक्छन् भने हात बाँधेर प्रार्थना गर्ने कि हात खुल्ला राखेर भन्ने निहुँमा भयावह युद्ध हुन्छ । भएका छन । दुइचोटी प्रार्थना गर्ने कि पाँच पटक, त्यसमा लडाइँ भएका छन् । यदी मानिस भन्ने जीबले लड्न चाह्यो अथवा उसलाई लडाउन पर्यो भने सबैभन्दा उपयुक्त हतियार भनेकै उसको धार्मिक संबेदना माथि प्रहार गर्नु हो । पछिल्लो समय चरम मानबिय संकट उत्पन्न हुने गरि सिरियामा जुन द्वन्द्व चर्किएको छ । त्यसलाई जारी राख्ने उर्जा भनेकै परस्पर बिरोधि सिया- सुन्नीको धार्मिक संबेदना नै हो । बाँकी सबै मुद्दामा छलफल र सम्झौता हुनसक्छ । तर धार्मिक आस्था र संबेदनामा छ्लफल र सम्झौताको संभावना अत्यन्तै नगन्य हुन्छ ।

लामो संक्रमणपछी स्थायित्वको झिनो अनुभुती हुनेगरी केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भए लगत्तै नेपाली समाजमा गौमासको मुद्दा चर्को र जबर्जस्त उठाउन खोजिएको छ । त्यसको पक्ष र विपक्षमा समाज र समुदायलाई बाड्न खोजिएको छ । हिन्दु र गैरहिन्दु भनेर सिंगो देशलाई ध्रुवीकरण गर्न खोजीएको छ । यसका प्रायोजकहरु यो बिषयमा व्यापक बहस र चर्काचकी होस चाहान्छन् । द्वन्द्व होस भन्ने चाहन्छन । हाम्रो संभाबित स्थाईत्वलाई धरापमा पार्न चाहन्छन् । हाम्रा समृद्धिका सपना र संभावनाहरुलाई निमोठ्न चाहन्छ्न । छोटकरीमा भन्दा उनीहरू हामीलाई सिया र सुन्नी बनाउन चाहान्छन ।

गौहत्या वा गौमास ठूलो मुद्दा होइन । खाएपनि हुन्छ । नखाए पनि चल्छ । यदि कसैलाई यो ठुलै मुद्दा हो भन्ने लाग्छ भने त्यसको समय सापेक्ष समाधान खोजी गरौंला । हामीले यो भन्दा ठुला ठुला द्वन्द्व व्यवस्थापन गरेका छौं । हामीले गणतन्त्र ल्याएका छौ । संघीयता ल्याएका छौं । धर्मनिरपेक्षलाई स्वीकार गरेका छौं । तर गाईको पुच्छर समाएर द्वन्द्व भड्काउन आउनेहरूदेखि सबै समुदायका मानिसहरू संचेत हुनुपर्छ । कसैलाई चलखेल गर्ने भूमी तयार पर्न हामी सहयोगी बन्नु हुँदैन ।

हामी भविष्य उन्मुख दोबाटोमा खडा छौं । एउटा उज्यालो गन्तव्यमा पुग्ने बाटो । अर्को अन्धकार खाल्डोमा जाकिने बाटो । हाम्रो छनौटलेनै हामी पुग्ने गन्तव्यको निर्धारण गर्छ । त्यसैले आउनुस उन्मादहरुको परित्याग गरौं । सोचौं । एकपटक सामाजिक वास्तविकतालाई नियालौं । एकपटक हामी किन उकासिदै छ सोचौं । हामी त उदार हृदयका देशबासी हौं ।

यहाँ त मंगोल आदि पुरुष शिबलाई बहुसंख्यक आर्यहरु देवादी देब भनेर पुज्छ्न् । आर्यमुलका गौतम बुद्धलाई बहुसंख्यक अनार्यगरु देवता मानेर पुजा गर्छन् । फेरि एउटा पशुको बिषयलाई लिएर हामी कसरी आर्य र मंगोल हुन सक्छौं ? के यस्तो उदार इतिहास बेकेका हामीहरु वास्तवमै गाई जस्तो एउटा साधारण पशुलाई लिएर द्वन्द्वउन्मुख हुन सुहाउछ ? मैले अघि नै भनें, यो ठूलो मुद्दा हुँदै होइन । तर द्वन्द्व चर्काउन मुद्दाहरु ठुला पनि चाहिँदैनन् ।

अन्त्यमा, गाईलाई सियोको रुपमा प्रयोग गरिएको छ । भोली फालीको रुपमा अर्थोकै प्रयोग हुन्छ । मैले सिया र सुन्नीको उदाहरण दिएर माथी नै भनें, लड्न र बाझ्न एउटै मुद्दा हजार बर्षलाई काफी हुन्छ । हामी गाई खाने र नखाने बिषयमा हजार बर्ष लड्न सक्छौं । हामी देशलाई गाईको बहानामा सिरिया जतिकै बनाउन सक्छौं । तर मेरो आग्रह हामी लड्नु हुँदैन भन्ने हो । लडाउनेहरुलाई सफल बन्न दिनु हुँदैन भन्ने हो । म एकपटक पुनः स्मरण गराउन चाहान्छु, हामीले यो भन्दा धेरै ठूलाठूला द्वन्द व्यवस्थापन गरेका छौँ । यसलाई पनि गर्न सकिन्छ । बस तपाईं जुनसुकै समुदायको भएपनि बिबेक नगुमाउनुन् । तपाईं बहुलाउने प्रतिक्षामा द्वन्द्वका ब्यापारीहरु बसिरहेका छन् । तिनको व्यावसायिक सफलताको कारण नबन्नुन् । बिज्ञापन नबन्नुन् ।

(चिमोरियाको फेसबूकबाट)

तपाइँको प्रतिक्रिया