भाषण र आस्वाशन पुग्यो लालबाबु, कामको परिणाम देखाउने पालो

लालबाबु पण्डितको सरल जिवनशैली र स्वच्छ छबीमाथि कसैले शंका गर्दैन । देशको सेवा गर्ने रहर र समाज निर्वाण गर्ने उनको स्वच्छ भावनाको प्रशंसा गर्नेपनि निकै छन् । तर पछिल्लो समयमा उन्का चर्का भाषण, कडा शैली र हरेक दिन केहि न केहि चेतावनीपूर्ण कुरा बोलेर चर्चामा आउने लोभ पलाएको देखिन्छ । तर जनता अब उनका भाषण र चेतावनी होइन कामको परिणाम हेर्न लालायित छन् ।

वातावरण मन्त्रि हुँदा उनके एक वर्षभित्र काठमाडौंबाट धुलो र धुवाँ हटाउने आस्वाशन मात्रै दिएनन् कि प्लास्टिकका झोलापनि हटाउने बचन दिए । काठमाडौंबाट प्लास्टिकका झोला बिक्रिमा प्रतिबन्ध गर्ने मात्रै होइन प्लास्टिकका झोला उत्पादन गर्ने कम्पनीमाथिनै कारवाही गर्ने चर्को भाषण ठोके । यसो भनिरहँदा उनले भुले- प्लास्टिकका झोला उत्पादन गर्ने कम्पनी सरकारको स्विक्रितिमै खुलेका हुन् । ति कम्पनीमाथि वर्षिने कारवाहीको डण्डा सरकारको पुन्पुरोमापनि ठोक्किन आइपुग्छ ।

उनको मन्त्रालय फेरियो । उनी अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री  छन् । मन्त्रि हुनासाथ उनको चर्को भाषण गर्ने शैली छ । कर्मचारी थर्काउने र त्रसित पार्नेपनि गर्छन् उनी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेपछि फेरि उनले कर्मचारीहरुलाई चेतावनी दिने र जनतालाई आस्वाशन बाँड्ने काम थालेका छन् ।

सरकारले तोकेको क्षेत्रमा खटिएर काम गर्न नजाने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् उनले । कार्यालय समयमा कुनैपनि कर्मचारी संगठनका गतिविधि गर्न नदिने, लामो बिदामा कर्मचारीलाई बस्न नदिने द्रिढतापनि गरेका छन् । जो कर्मचारी तोकिएको ठाउँमा जाँदैन र सोर्सफोर्स र भनसुनका आधारमा वा कार्यालय प्रमुखले सहयोग गरेकाले हाजिर गरेर तलब र सेवासुबिधा लिन्छ तिमाथिपनि कारवाही गर्ने आस्वाशन पण्डितले दिएका छन् । टेर्दै नटेर्नेलाई बर्खास्ति गर्नेसम्मको चेतावनी उनको छ । हाजिर गरेर बस्न अनुमति दिने कार्यालय प्रमुखपनि कारवाहीको निशानामा पर्ने छन् ।

उनका आस्वाशन त्यतिमै कहाँ सिमित छन् र ?  ट्रेड युनियनका कुरा नसुन्ने, सरुवाबढुवाका फाईल कर्मचारीले भनेकै आधारमा नहेर्ने र कार्यालयको काम गर्ने समयमा ट्रेड युनियनलाई सक्रिय गतिबिधी गर्न नदिने आस्वाशनपनि बाँडेका छन् । गज्जब छैन त मन्त्री पण्डितको भाषण ?

उनका भाषण मिठा, गुलिया छन् । अब त केहि गर्ने भए जस्तो लाग्छ । तर यि आस्वाशन दिँदा उनले के भुलेका छन् भने नेपालको कर्मचारी प्रशासनलाई ध्वस्त पार्ने काम नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस लगायतका सबै पार्टीले गरेका छन् । आफ्नो सरकार नबनेका बेला वा आफूलाई मन परेको मन्त्रि नहुँदा ति पार्टीकै निर्देशनमा कर्मचारीहरुले असहयोग गर्छन् । तिनले जनताको सेवा र कार्यालयको काम होइन नेता र दलको राजनिति गर्छन् । आन्दोलनमा मजदूर र कर्मचारी उतार्छन् । सडक बन्द र जुलुसमा सहभागि हुन्छन् ।

यो सबै काम गर्न हरेक पार्टीले आफ्नो छत्रछायाँमा ट्रेड युनियनहरु खोलेका छन् । तिनको काम आफ्नो दलको राजनिति गर्ने, आन्दोलन चर्काउने र आफ्ना कर्मचारीहरु सरुवाबढुवा गर्ने हो । ट्रेड युनियनहरुले बिरोधी दलका कर्मचारीमाथि डण्डा लगाउने र आफ्नालाई चाहिएको ठाउँमा सरुवा र बढुवा गर्छन् । ति फाईल बोकेर नेताको ढोका चहार्नेनै ट्रेड युनियनका नेताहरु हुन् । त्यो काम नेता, मन्त्री र पार्टीकै निर्देशनमा हुने हो ।

यदि लालबाबु पण्डितले नेपालको कर्मचारी प्रशासनलाई स्वच्छ, पारदर्शी र जनताप्रति उत्तरदायी बनाउन खोजेकै हुन् भने आफ्नो पार्टीकै निति बदल्नु जरुरि छ । त्यस्तो फाईल नहेर्ने, ट्रेड युयिनमार्फत राजनिति नगर्ने हो भने तिनलाई दलहरुले स्वतन्त्र छोडिदिनुपर्छ । राजनिति चढ्ने भर्‍याङ बनाउनुहुँदैन । कार्यालय समयभित्र गरिने राजनिति, कार्यक्रम, हस्तक्षेप, सरुवाबढुवा, सुनुवाई सबै बन्द गर्ने निति सरकार सन्चालन गर्ने दलहरुले अपनाउनुपर्छ । पार्टीले ट्रेडड युनियनलाई प्रयोग गरेर राजनिति गर्ने र मन्त्रीले बाहिर भाषण गरेर तिनका कुरा सुन्दिन भन्नु जनताले पत्याउने कुरो होइन ।

लालबाबु पण्डितले दिएका आस्वाशन मिठा छन् । जनताकालागि प्रिय छन् । तर उनको शैली कर्मचारीबाट काम लिने, समस्याको समाधान दिर्घकालिन रुपमा खोज्ने भन्दा सस्तो लोकप्रियता र आबेगमा बोलेको देखिन्छ । जतिसुकै इच्क्षाशक्ति, रहर र सफा मनले काम गरेपनि कर्मचारीहरुको सहयोगबिना पण्डितले दिएका आस्वाशन पुरा हुन सक्दैनन् । त्यसैले कर्मचारीहरुलाई तर्साउने, चितावनी दिने र आस्वाशन धेरै बाँड्ने होइन जनताले परिणाममुखि कामको परिक्षामा लालबाबु पण्डित प्रथम भएको हेर्न चाहेका छन् । किनभने गुलिया गफ, मिठा आस्वाशन, चेतावनीपूर्ण बोली, धम्किपूर्ण भाषणबाट जनता आजित भैसके । लालबाबु पण्डितलेपनि आस्वाशन र धम्किपूण भाषण धेरै गरे, अब कामको परिणाम देखाउनुपर्छ ।

तपाइँको प्रतिक्रिया