एक्लै बिलाउनुभन्दा एमालेमा बिलाउने माओवादी निर्णय

नेकपा माओवादी केन्द्रसित दुई वटा बिकल्प थिए । ति दुबै बिकल्प बिलयनै थिए । पहिलो बिकल्प अर्को निर्वाचन सम्ममा एक्लै बिलाउने । अर्को बिकल्प देशको सबैभन्दा ठूलो संसदिय पार्टी एमालेमा बिलय भएर पार्टी एकताको नाममा थोरै भएपनि साख जोगाउने । पार्टी एकताका नाममा एमालेमा बिलय नभएको भए माओवादी अर्को निर्वाचन सम्ममा संभवत एक्लै बिलिन हुने त्रास थियो । माओवादीले पछिल्लो बिकल्प रोजेर सहि निर्णय गरेको छ ।

माओवादीले खोजेकोपनि पार्टी एकताका नाममा सममानजनक बिलय हो । एमालेहरुले पार्टी एकताका नाममा माओवादीको त्यो इच्क्षा पुरा गरिदिएका छन् । पार्टी एकताको सात बुँदे सहमती पत्रमै सम्मानजनक बिलय भएको स्पष्ठ खुलेको छ ।

सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा दुई दलका नेताहरुले हस्ताक्षर गरेको सातबुँदे सहमतिपत्रको दोस्रो बुँदामा भनिएको छ- ‘पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहने छ ।’ यहिँबाट बुझिन्छ कि अब माओवादी केन्द्रले माओवाद छोड्यो । अर्थात् बैचारिक रुपले माओवादी एमालेमा बिलय भयो । अहिलेसम्म मालेमावादलाई मान्दै आएका माओवादीले मालेवाद मान्न स्विकार गरे ।

सहमतिको अर्को बुँदामा माओवाद र एक्काइशौं शताब्दिको जनवादका विषयमा पनि छलफल चल्ने उल्लेख छ । तर यहि सहमतीमा हस्ताक्षर गर्नेमा एमालेका पाँच नेता र माओवादीका तिन जना मात्रै परे । आगामी महाधिवेशनमा माओवादीको अनुपातमा एमालेका कम्तिमा ३० प्रतिशत प्रतिनिधी बढि हुन्छन् । अर्थात् महाधिवेशनमा एमालेका ७० र माओवादीका ३० प्रतिशत । त्यसैले महाधिवेशनमा माओवादी अल्पमतमा पर्छ । माओवादीले यो बुझेरै कार्यकर्ता, नेता र जनतालाई देखाउन मात्रै सहमतिमा यस्तो बुँदा राखेको हो । अर्थात्, सम्मानजनक बिलयको बाटो रोजेको हो । एमालेलेपनि ‘छलफल गर्न पाइने भन्ने बुँदा राखिदिँदैमा के फरक पर्छ र ? महाधिवेशनबाट यो पारिद हुने होइन’ भन्ने मनशाय बुझेरै सहमतिपत्रमा यस्तो बुँदा राख्न सहमत भएको हो ।

नाम कम्युनिष्ट राखेपनि सार र निति, आदर्श र कर्ममा न त एमालेनै कम्युनिष्ट पार्टी हो न माओवादी केन्द्र । यि दुबै संसदिय पूँजीवादी पार्टीमा रुपान्तरण भैसकेका हुन् । संसदिय पार्टीको मुख्य निति के हुन्छ ? निर्वाचनमा सहभागि हुने । संसदमा जाने । सरकार बनाउने । एमाले माओवादी केन्द्रको मूल मार्गपनि यहिनै हो ।

एमालेको कार्यनिति जनताको बहुदलिय जनवाद र माओवादी केन्द्रको एक्काइसौं शताब्दीको जनवाद। एमाले पार्टीको मूल निति मार्क्सवाद लेनिनवाद र माओवादीको माओवाद । यि नारा र निति जनता र कार्यकर्ताका आँखामा छारो हाल्न बाहेक केहि होइन, थिएन । यि दुबै सारमा पूँजीवादी संसदिय पार्टी हुन् । एकै निति, उहि उद्देश्य र समान राजनितिक लाईन लिएका दुई भिन्न पार्टी नाम अलग हुँदैमा अस्तित्वमा रहन सक्छन् ? यो संभवनै हुँदैन । उसो भए एमाले र माओवादी मध्ये कसको अस्तित्व समाप्त हुन्थ्यो ? शान्तिवार्तामा आएर दोस्रो निर्वाचनपछिको अवस्था हेर्दा माओवादी केन्द्रनै आफैं बिलाउने संभावना टड्कारो थियो ।

पहिलो संविधान सभाको निर्वाचनमा पहिलो पार्टी बन्न सफल माओवादी कसरि दोस्रो संविधान सभाको निर्वाचनमा तेस्रो भयो ? माओवादी पार्टी फूटको कारणले मात्रै थिएन । उसको नितिगत कमजोरी र गलत बाटो प्रमुख हो । पछिल्लो संघिय निर्वाचनमा माओवादीको अवस्था के भयो ? यदि नेकपा एमालेसित निर्वाचनमा गठबन्दन नगरेको भए माओवादी केन्द्रको अवस्था लज्जास्पद हुने थियो । यहि अनुपातमा माओवादी अर्को निर्वाचनसम्म पत्तासाफ हुने देखियो । एमालेको भने संगठन बिगतका निर्वाचनमा भन्दा झन बलियो हुँदै गयो । यसरि हेर्दा कम्युनिष्ट नाममा संसदिय राजनिति गर्दै आएका दल मध्ये एमाले सबैभन्दा बलियो त थियो नै, अझ बलियो हुँदै जाने देखियो ।

माओवादी केन्द्रसित नयाँ निति, आदर्श र योजना केहि थिएन । संसदिय राजनितिमा प्रवेश पछि खिईँदै गएको माओवादीका कार्यकर्ता एक पछि अर्को घट्दै गए । केहि गरौं भन्ने भावनाका कार्यकर्तामा निराशा बढ्दै गएको थियो । संसदिय राजनितिमा रमाउने कार्यकर्ता एमालेमै प्रवेश गर्दै जान्थे । क्रान्तिकारी धार रुचाउने वा माओवादमै विश्वास गर्नेहरु कि पलायन हुन्थे कि बिप्लव माओवादीतिर पस्ने संभावना रह्यो । त्यसैले माओवादी केन्द्रले हतार हतारमा सबै त्यागेर एमालेमा बिलय हुने निर्णय गरेको हो । लज्जास्पद बिलय वा एक्लै बिलाउनुभन्दा पार्टी एकताका नाममा बिलय हुन पाउनु माओवादीका लागि अवशरपनि हो ।

तपाइँको प्रतिक्रिया