मेरो प्रेममा घात गर्ने रबिन्द्र मिश्रलाई चिठ्ठी

-लक्ष्मण थापा /नेदरल्याण्ड

रबिद्र मिश्र जी, म लेख पढ़मा अब्बल त होइन तर कहिलेकाहिँ आफुले आशा र माया गरेकाहरुबाट घात हुँदा मन भित्रको हुटहुटीले जानी नजानी कलम समाउने गर्छु । अरुलाई सुनाउन र देखाउनका लागि भन्दा मन भित्रको त्यहि हुटहुटी निभाउन । आजपनि त्यसै गरेको छु ।

रबिन्द्र मिश्र जी, तपाइँ जुन दिनदेखि बिबिसी सेवाबाट बिदा लिनु भयो त्यो दिनदेखि खै किन हो बिबिसी सेवा प्रति मेरो आँखाहरु अन्धा भएका छन् । अझ भनौं, नेपाल सन्दर्भ सुन्न सधैं आतुर मेरा कानहरु त्यो दिनदेखि यो दिनसम्म बहिरा बनेका छन् । सुनेकै छैन । तर यसको अर्थ यो होइन कि मपनि तपाइले थालेको फोहोरो राजनीतिलाई सफा गर्ने अभियानमा, फोहोरको डुंगुरले भरिएको त्यहि पोखरीमा सँगै हाम फालेर पौडीरहेको छु । फेरी के सत्य हो भने म तपाईहरुसँगै नपौडिएपनि आफुले सकेको साथ दिनु पर्छ भन्ने मान्यता र बैकल्पिक शक्तिको खोजीको पक्षमा भने पक्कै छु ।

रबिन्द्र मिश्र जी, म बैकल्पिक शक्तिको पक्षमा उभिएर बोलिरहँदा पहिला मैले नयाँ शक्ति पार्टी र डाक्टर बाबुराम भट्टराईलाई यहाँ सम्झिनै पर्छ । तर नयाँ शक्ति र उनका बारेमा यहाँ धेरै कोट्याउन आबश्यक छ भन्ने म ठान्दिन । मैले नकोट्याए पनि जो कसैलाई बुझ्न गाह्रो छैन । तपाइले त नबुझ्ने झन् कुरै भएन । अब उनले जति छोप्छु भन्दा पनि छोप्ने कुनै ठाउँ बाँकी छैन । सबै पर्दा खोलिएको छ । लोकका माझ घाम जस्तै छ । लोकले देख्दा बिबेकशील साझाले पनि पक्कै देखेको छ । सायद त्यसैले हुनुपर्छ, बिबेकशील साझाले बाबुराम जीको नयाँ शक्तिलाई नयाँ र बैकल्पिक शक्ति मान्न तयार छैन । यसको अर्थ कसैले आफुलाई नयाँ र बैकल्पिक शक्ति पार्टी भन्दैमा र विद्वानहरुका सबै बिचारहरु उत्तम हुन्छ भन्ने कुरा राजनीतिमा नहुँदो रहेछ । हुँदो हो त आज हामीले रबिन्द्र मिश्र र बाबुराम भट्टराई एक ठाउँमा उभिएको देख्न सक्नुपर्थ्यो ।

रबिन्द्र मिश्र जी, म मनुवा न राजनीति शास्त्रको बिद्यार्थी नै हो, न मेरो त्यो उच्चाई र योग्यतानै छ । तर मेरो मोटो ज्ञान र ब्रह्मले देखेको नेपाली राजनीति सिधा र सरल तरिकाले अघि बद्छ भन्ने कुरामा मलाई पट्टकै बिश्वाश छैन । किनकि हिजो एमाले टुक्रिँदा बनेको माले पार्टीले महाकाली सन्धि र कालापानीमा मार्च पास गर्दा म सिमा नाघेर हौसिएको थिएँ । माओबादीले भारतीय बिस्तारबादका बिरुद्द सुरुंग युद्ध गर्छौ भन्ने कुरामा बिश्वास गरेर चार हात माथि उफ्रिएको म । त्यस्तै, बाबुरामजीले भनेको नयाँ शक्तिलाई मनले स्वीकार नगरे पनि अन्जानमै मन्दिरमा बलि दिने बोकाले टाउको हल्लाए जस्तै टाउको हल्लाउने म मनुवा । आखिर मेरा यी सबै परिबर्तनका चाहनाहरु कर्कलाको पातमा मोतिका दाना टल्के जस्तै टल्किने सुन्दर पानीका ढिक्काहरु भुईँमा पल्टिदा नभेटिए जस्तै पटक पटक मेरा अनेक सपना हराएका छन् । ति द्रिष्य देखेका मेरा आँखाले यो बिबेकशील साझालाई पनि बिश्वास गर्ने कुरै भएन । यी तिनै आँखा थिए, रबिन्द्र मिश्रलाई पनि अर्को ग्रहको प्राणी किन देखोस् ?

तर खै किन हो यतिखेर मेरो मनले मेरा आँखालाई पटक्कै बिश्वास गरेन । जसले आफुलाई जन्मदिने आमाको मुख हेर्ने दिन आमाको रगत खाए बराबरको कसम खाएर दुनियाँलाई चुनौति दिने रबिन्द्र मिश्रलाई बिश्वाश गर्यो र समाजका आफुलाई दिग्गज मान्नेहरुले तपाईलाई लगाएका गम्भीर आरोपहरुलाई कानमा ठेटी ठोकेर हिजो तपाईले अरुलाई सोध्ने खरा प्रश्न जस्तै अरुले तपाईलाई सोध्ने प्रश्नका खरा उत्तर सुन्न मेरा काहरु सधै आतुर भए । तपाई हाम्फालेको फोहर पोखरीमा तपाइँसंगै हाम फाल्न नसकेपनि पोखरीको डिलमा खुट्टा उचालेर हाम्फाल्न बसेका बेला बिबेकशील शाझा पार्टीले रास्ट्रीय सभाका लागि आफ्ना भएका प्रदेश सभाका ३ सांसदले राधेश्याम अधिकारीलाई मतदान गर्ने भनिएको निर्णयले भने म सोच्न बाध्य भएको छु । रबिन्द्र मिश्रलाई अर्को कुनै ग्रहको मान्छे नदेख्ने मेरा यी आँखाहरु सत्य हुन् या उनको कसमलाई बिश्वास गर्ने मेरो त्यो मन ?

रबिन्द्र मिश्र जी, यति बेला मेरो टुटेको मनको ध्यान तपाईको पार्टी निर्माणका भनिएका मुख्य चार खम्बाहरु, पद्दत्ति, पारदर्शिता,इमान्दारी र उत्क्रिस्टतासँग नजिकको साइनो गाँस्ने रास्ट्रीय सभामा राधेश्याम अधिकारीलाई समर्थन गर्ने निर्णयमा समग्रमा आलोचना भएपछि चिन्ता र चासोलाई स्पस्ट पार्न भन्दै जारि गरिएको बक्तब्यको चारवटा विकल्पका बुँदामा आकर्षण भएको छ,

१, पहिलो विकल्पमा भनिएको छ चुनावमा भाग नै नलिनु भनेको हामी जस्तो लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न आएको पार्टीलाई सुहाउने कुरा थिएन ।

रबिन्द्र मिश्र जी, तपाईलाई के भ्रम नहोस भने बिबेकशील साझाले यति बेला खेप्न परेको आलोचना र गुनासो चुनाबमा भाग किन लियो भन्नेमा बिल्कुलै होइन । न त नेपाली कांग्रेसलाई किन समर्थन गर्यो भन्ने नै हो । तपाईलाई के हेक्का रहोस भने कुनै दिन भ्रस्टचारीलाई किरा परोस् भन्दै टिसर्ट र प्ले कार्ड बोकेर सयौं युवालाई सडकमा उतार्ने रबिन्द्र मिश्रले जो भ्रष्टाचारीले पनि चुनाब लड्न पाउनु पर्छ भनेर अग्रभागमा उभिएर वकालत गर्ने राधेश्यामलाई जिताउन मतदान गर्ने निर्णय गलत छ भन्ने हो । यतिबेला ३ मतको महत्वपूर्ण भूमिका नरहेकाले पनि बिबेकशील साझाले चुनाबमा भाग नलिदा जनताको आँखामा बैद्य बा र विप्लब बन्ने थिएनन् । तर मेरो अर्थ यो होइन की चुनाबमा भाग लिएर ठुलै गल्ति गर्यो । पक्कै पनि चुनाबमा भाग लिएर मतदानबाट आफ्ना मूल्य मान्यतालाई स्थापित गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो भन्ने कुरामा म प्रस्ट र दृढ छु ।

२, दोस्रो विकल्प, हामीले आफ्नै उम्मेदवार उठाउन नागरिक समाजका केही प्रवुद्ध व्यक्तित्वहरुसँग गरेको छलफल सार्थक हुन सकेन । हामीले चाहेजस्तो व्यक्तित्वहरूले हामीप्रति सदभाव राख्दाराख्दै पनि साथ भने दिन सक्नुभएन ।

रबिन्द्र मिश्र जी, यो पटकको चुनाबमा रास्ट्रीय पार्टी मात्र बन्ने अपेक्षा र अर्को पटक नेतृत्वको बागडोर समाल्ने दाबी सहित चुनाबमा होमिएको बिबेकशील साझा पार्टीले आफ्नो आधार क्षेत्र र बढि प्रभाब रहेको ठाउँमा पनि उम्मेदवार उठाउन सकेनौ भनेर लाचार बन्नुहुन्छ भने तपाइँले बागडोर समालेर हामी देश बदल्छौं भन्ने सपना आम नागरिकलाई कसरी बिस्वस्थ पार्न सक्नु हुन्छ ? के गएको चुनाबमा व्यहोरेको नतिजाले प्रबुद्व व्यक्तित्वहरुको पनि बिबेकशील साझा पार्टीमा बिश्वास कम भएको हो ? कि हार देखि तपाईहरु डराउन थाल्नुभयो ? होइन भने हार र जितका लागि मात्र नभएर विकल्प एकमा भनिएजस्तै लोकतान्त्रिक अभ्यासका लागि र आम नागरिकको बिश्वाश जित्न पनि आफ्नै उम्मेद्वार उठाउने आँट राख्न सक्नुपर्थ्यो । यो रास्ट्रीय सभाको चुनाब हो र तपाईहरुसंग भएको मत संख्या केवल ३ छ ।

३, तेस्रो विकल्प, वाम गठवन्धन आफुले समर्थन गरेको उम्मेदवारको बारेमा हामीसँग मनोनयन दर्ताको अन्तिम घडीमा मात्र सम्पर्कमा आयो र त्यतिञ्जेलसम्ममा नेपाली कांग्रेससँग हामी र नयाँ शक्ति पार्टीसहित भएर शुरु भएको कुराकानी निकै अघि बढिसकेको थियो ।

रबिन्द्र मिश्र जी, तपाईहरु र नेपाली कांग्रेस बिच निकै अघि बढिसकेका भनिएका कुराहरु के सबै निस्वार्थ भावानाबाट भएका थिए ? यदि निस्वार्थ भावानाबाट कुरा भएका थिए भने आफुलाई विद्यमान राजनीति भन्दा भिन्न भएको नयाँ शक्ति दाबी गर्ने पार्टीले पुनर्विचार गर्नका लागि आपत्ति किन ? मलाई बिश्वाश छ, बिबेकशील साझाले चुनाब चिन्ह तराजु रोज्नुको बिशेष अर्थ पक्कै हुनुपर्छ । आफ्नो चुनाब चिन्हको महत्व र अर्थ प्रमाणित गर्न सक्नुपर्थ्यो । सामान्य भन्दा सामान्य ज्ञान भएको जो कसैले पनि तराजुमा अर्कोतिर कुनै ढक नराखी जोखेर त्यसको तौल मापन गरिन्छ भने त्यो सहि छैन भन्ने बुझेको हुन्छ । अझ बजारको चल्तीको भाषामा भन्ने हो भने त्यो सरासर कालो बजारी होइन र ? होइन भने बिबेकशील साझाको तराजुमा एक पटक होइन दुइ पटक होइन धेरै पटक धेरैजनालाई जोखेको आम नागरिकले देख्न सक्नु पर्थ्यो ।

४,चौथो विकल्प, हाल राष्ट्रिय सभामा अघि सारिएका उम्मेदवारहरूमध्ये समग्रतामा हेर्दा छवि, अनुभव र प्रवुद्धताका हिसाबले तुलनात्मक रुपमा राधेश्याम अधिकारी सक्षम छन् र भोलि राष्ट्रियसभामा विभिन्न जटिल विषयहरूलाई सूक्ष्म ढंगबाट केलाएर विवेकपूर्ण निर्णय लिनसक्ने क्षमता उनमा छ भन्ने हाम्रो विश्वास हो ।

रबिन्द्र मिश्र जी, चुनाब अघि बिबेकशील साझा पार्टी यो पटक रास्ट्रीय पार्टी बन्छ भन्ने तपाईहरुलाई लागे जस्तै धेरैलाई नलागेको कहाँ हो र ? तर तपाईहरु र म जस्तालाई मात्र बिश्वाश लागेर नहुँदो रहेछ । आम नागरिकलाई बिश्वास लाग्नु पर्दोरहेछ । यसको नमिठो ताजा अनुभब तपाईसँगै छ । यति बेला बिबेकशील साझा पार्टीले रास्ट्रीय सभामा राधेश्याम अधिकारिलाई मतदान गर्ने निर्णय माथि प्रश्न उठाएका बेला विकल्प चारमा तपाइँ बडो गर्बका साथ भन्दै हुनुहुन्छ, ‘उहाँ माथि हाम्रो बिश्वाश हो ।‘ यदि तुलनात्मक रुपमा राधेश्याम अधिकारी सक्षम् छन् भने जस्तै बिबेकशील साझा पार्टीले सधै तुलनात्मक रुपमा निर्णय गर्दै जाने हो भने बिबेकशील साझा पार्टीको आबश्यकता र औचित्य के ? भोलि कुनै दिन दिपक मनांगे र खुम बहादुर खड्काका बिच बिबेकशील साझाले मतदान गर्नुपर्ने दिन आयो भने कसका पक्षमा तपाईहरु उभिनुहुन्छ ?

रबिद्र मिश्र जी, केहि दिन पहिले एउटा कार्यक्रमको मन्चमा यसै बिषयलाई लिएर मन्द मुस्कानमा बोल्दै गरेको भिडिओ हेर्ने मौका जुर्यो । तपाइँ भन्दैहुनुन्थ्यो ‘कुनै पूर्ब प्रधानन्याधिसले फोन गरेर हामीले गरेको निर्णय सहि छ भन्नुभयो’ र तपाई आत्मरतिमा रमाउनु भयो । तपाईलाई हेक्का रहोस् कि प्रधान्न्याधिसले गर्ने र भन्ने सबै सहि हुन्छन् भन्ने छैन । तपाइनै होइन र माइतीघरको मण्डलामा गएर केहि हप्ता पहिले प्रधानन्याधिसका विरुद्ध भाषण ठोकेको ? यदि तपाइँ नेता नभएर बिबिसी सेवाकै कार्यक्रममा होस्ट गर्दै हुनुभएको भए राधेश्याम अधिकारीलाई सोध्ने प्रश्न तुलनात्मक ढंगबाट हुन्थे या अरुलाई जस्तै दाँतबाट पसिना निकाल्ने ? त्यसैले अझपनि समय घर्केको छैन, यो निर्णय पुनर्विचार गरेर बिबेकशील साझाले आफुलाई हिजो चुनाबी भाषणमा भनेजस्तै मम चाउमिन होइन पिजा र बर्गर बनेर समाजमा उभिओस । होइन भने अब बिबेकशील साझा पार्टीले खुल्ला मंचमा उभिएर भन्नसक्नुपर्यो ‘हामि पिजा र बर्गरको हैसियत राख्दैनौं । कसैले भेज,कसैले बफ, कसैले मटन नै रोजौं । त्यहि पुरानै मम चाउमिन नै खाऔं !

रबिन्द्र मिश्र जी, जानी नजानी, बुझी नबुझी मनको हुटहुटी निभाउदै थिएँ, कलमको मसि सकिएर चिठ्ठीको बिट मार्दै गर्दा मेरो फेरी पनि बिनम्र अनुरोध छ, राजनीतिमा आफ्नो बिश्वास भन्दा जनताको बिश्वाशको खाँचो हुन्छ । यदि बिबेकशील साझाले गरेको निर्णय सहि छ भन्ने निचोड हो भने मेरो तपाईलाई चुनौती छ, एक पटक आफ्नो फेशबुकमा सहि छ कि गलत भनेर जनतालाई सोध्ने आँट के तपाइँ गर्न सक्नुहुन्छ ? होइन जनतालाई सोध्नु पर्दैन, आफुनै सर्बोपरी ठान्न थाल्नुभयो भने भोली राजनीतिबाट थाकेर नारायणमान बिजुक्छे जस्तै घरमा आराम गर्दै गर्दा यो राजनीतिको गन्हाएको फोहोरलाई सफा गर्न तपाइले त महँगो साबुनले नुहाउनसक्नुहोला, बसाउने महंगा अत्तर दल्नुहोला तर तपाईसँगै त्यो फोहरमा हाम्फाल्नेहरु के गर्लान ? तपाईलाई मेरो प्रश्न ।

तपाइँको प्रतिक्रिया