विवेकशिल साझा पार्टीपनि ‘मम र चाउमिन’ कै पक्षमा

‘नयाँ जोगीले धेरै खरानी घसेर फरक देखाउन खोज्छ, अरु जोगीभन्दा’ भन्थे । रविन्द्र मिश्र राजनितिमा प्रवेश गर्दा त्यसो भन्ने धेरै थिए । पुराना पार्टीहरुका निति, उद्देश्य र तिनको काम गराईलाई उनले खुब आलोचनापनि गरे । आफ्नो पार्टीलाई प्रिथक देखाउन उनले ठाउँ ठाउँमै भेला गरेर मुख्यगरि युवायुवतीको मन जित्ने कोसिस गरे । नेपाली कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीबाट देश बन्दैन भनेर निकै भाषण ठोके । तर अहिले आएर त्यहि विवेकशिल पार्टीले आफू नेपाली कांग्रेसको निकट रहेको देखाएको छ । नेपाली कांग्रेसकै नेतालाई माघ २४ गते हुने राष्ट्रिय सभा चुनावमा दिन राजि भएको छ ।

प्रदेश नम्बर तीनमा विवेकशिल साझाका तीन प्रदेश सभा सदस्य छन् । तिनले कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई मत दिने भएका छन् । विवेकशिलको भनाई चाहिँ अन्य दलका झन उदेकलाग्दा भए रे उमेदवार । त्यसैले नेपाली कांग्रेसलाई मत दिने रे । तर्क त आफू सुहाउँदो जे दिएपनि भयो । निर्वाचन सकिएका अवस्थामा अब मतदातालाई कुनै स्पष्ठिकरण दिनुपर्दैन । तिनले विविकशिल साझा पार्टीलाई दिएको मत नेपाली कांग्रेसका नेतालाई दिन्छौं भनेर सोध्नुपनि पर्दैन ।

तर प्रश्न उठ्छ, आफूलाई प्रिथक देखाउन एमाले, नेपाली कांग्रेस, माओवादी पार्टीलाई किन गलत देखाउनु परेको थियो ? पार्टी मन नपरेको भए के ति पुराना पार्टीका अशल नेतासितै मिलेर निर्वाचनमा गएको भए के हुन्थ्यो ? त्यति बेला पुराना पार्टीमा असल नेता, असल निति नदेखेको विवेकशिल पार्टीले निर्वाचनपछि कसरि असल नेता देख्न थाल्यो ?

निर्वाचन अघि आफ्नो पार्टीको प्रचार प्रसार गर्ने क्रममा रविन्द्र मिश्रले भनेका थिए ‘नेपाली मतदाता रेस्टुरेन्टमा गएर मेनु हेर्छन् । अन्तिममा मम र चाउमेननै मगाउँछन् । नयाँ खाना पिजा र बर्गर मगाउँदैनन् ।’ आम मतदातालाई पुराना दलहरुकै पक्षमा रहेको देखाउन उनले यसो भनेका थिए । उनले यसो भनेपनि आखिर विवेकशिल साझा पार्टीकै नेताहरुसमेत मम र चाउमिनकै पक्षमा रहेको तिनको पछिल्लो निर्णयले देखाएको छ । रविन्द्र मिश्रको पार्टी विवेकशिल साझालेपनि नेपाली राजनितिक परिवेशमा सयौं मेनु हेरेर मम र चाउमिननै छानेको छ ।

यो पार्टीका नेताहरुलाई अब अनुभव हुँदै गए होला, निर्वाचन अघि जनताका सामु जे बोलिन्छ त्यो अनुसार ब्यवहारमा लागू गर्न त्यति सहज छैन । वर्षौंवर्षदेखि राजनितिमा लागेका पार्टीका नेताहरुका बोली किन निर्वाचनपछी फेरिन्छन् भन्ने हेक्कापनि अब विवेकशिलका नेताहरुलाई हुनुपर्छ । निर्वाचनमा आश्वासन दिन जति सजिलो छ त्यसलाई पुरा गर्न सहज छैन । नयाँ नारा र गुलिया भाषण सुन्नासाथ पछी लागिहाल्ने, आकर्षित भैहाल्ने युवा जमातलाईपनि अब हेक्का भएहोला, निर्वाचनमा जुनसुकै पार्टी वा नेताबाट आएपनि निर्वाचनको बेलाका आश्वासनहरु बलेसीको फोका झैं फुट्न सक्छ । केहि समय धैर्यता नगरि त्यसलाई तौलिन सकिन्न ।

नेपाली कांग्रेसका उमेदवारलाई विवेकशिल पार्टीले कुन शर्तमा मत दिन लागेको हो ? त्यसका बारेमापनि स्पष्ठ पार्नुपर्ने हो । नेपाली कांग्रेससितको छलफलपछी उक्त पार्टीका उमेदवारलाई दिईने सहयोग कुनै शर्तबिना पक्कै होइन होला । कुनै न कुनै शर्त त पक्कै राखेको होला । नेपाली कांग्रेसलेपनि केहि आश्वाशन त पक्कै दिएको होला । त्यस्तो कुनै शर्त थियो कि थिएन भन्ने बारेमा चाहिँ विवेकशिलले मुख खोलेको छैन ।

(फोटो स्रोत- सेतो पाटी डट कम)

तपाइँको प्रतिक्रिया