लेक होइन देश लागेर हुम्लामा रोएको त्यो दिन
(सिंह दरबारभित्र को कुर्सीमा जो सुकै अवतरण होस हुम्लालाई त्यसले खासै छुँदैन । संबिधान नयाँ बनोस र पनि हुमलालाई त्यसले समेट्दैन। काठमाडौंको चार किल्लाभित्र जे सुकै घोषणा होउन हुम्लेलीका दुख, पिर, बेदना र छट्पटीलाई तिनले संबोधन गर्दैनन् । किनभने मुलुकको सबैभन्दा पिछडिएको ‘अभागी‘ गन्तब्य हो त्यो । त्यसैले हुम्लाका आफ्नै दुख छन् । आफ्नै बेदना र छट्पटीमा छ हुम्ला । प्राक्रितिक सन्दौर्य त छ नै तर त्यसले एकाध दिन क्यामरा घुमाउनेकालागि आनन्द दिन्छ । हुम्लेलीकालागि भने कष्ट । तिनै हुम्लेलीका भोगाइबारे अनिल रुपाखेतीले एउटा मन छुने रिपोर्ट तयार पारेका छन् नेपाल प्लसकालागि)
-अनिल रुपाखेती, हुम्ला
“जीवनमा केहि न केहि गर्नुपर्छ भन्ने थाहा हुँदा हुँदै पनि मैले आफुलाई कहिले पनि केहि गर्नुपर्छ भन्ने सोचको नजिकसम्म पुग्न दिइनँ । जीवनमा न त सुख भयो, न दुखनै पाइयो । “ मेरो कानमा यहि शब्द आएर ठोकियो । मलाइ दुख्यो पनि । जिबनको बारेमा मेरो जे सोच छ त्यहि मिल्दो अभिब्यक्ती यसरी सुन्दा म टक्क अडिएँ । मुन्टो उठाएँ ।
उनि पाका थिए । आलु काट्दै, नाति खेलाउँदै थिए । म अचम्ममा परेँ । उनि नातीसँग यो कुरा गर्दै थिए भन्ने भान पर्यो मलाइ । यसो बिचार गरें, उनको नातीले यसको मर्म र अर्थ बुझ्न सक्ला त ? उनको नजिक पुग्ने मनसायले अभिबादन गर्दै आफ्नो परिचय दिएँ । म उनी सगैँ बस्दै गर्दा मेरो ध्यान भने ७० नजिकको उमेरमा यस्तो सबल र हक्की शरिरका धनि कसरी भए भन्नेमा केन्द्रित रह्यो ।
“कर्मचारी रहेछौ । ओखती छ तिमिसँग ?“ भन्दै उनले मेरो ध्यानमा मेनका पठाए । के को ओखती ? कसको लागि ? मैलै सोध्न नपाउँदै घर भित्रबाट लामो खोकीको आबाज आयो । मैले आफ्नो झोलाबाट चिसो र ज्वरो को ओखती झीकेर दिएँ । उनले भन्न थाले “त्यो खोक्ने मेरो जहान हो । २ बर्षदेखि यस्तै छे। म सँगै ३ जना हुम्लाका साथिहरु पनि थिए । हाम्रो गन्तब्य थियो –हिल्सा । उनिहरुले घडि हेरे। मैले समय कम छ । बाटो भने लामो छ भन्ने अर्थ लगाएँ।
सीमीकोटदेखि हिल्साको ९६ किलोमिटर लामो मोटर बाटो हुम्लाको बिकासको लागि बिश्ब खाद्य कार्यक्रम र नेपाल सरकारको साझा प्रयास हो। यसको हालको अबस्थाको स्थलगत अध्ययन गरी कार्यालयमा प्रतिबेदन दिन हामी यो यात्रामा निस्कीएका थियौं । समुन्द्र सतहबाट करीब १०० मिटरको उचाइको नेपालगंजबाट हवाइ यात्रा तय गर्दै ३००० मिटरको उचाइमा रहेको सीमीकोटमा रात बिताएर कर्णाली किनारै किनार अघि बढ्दै थियौं हामीहरु ।
देशमा परिवर्तन आयो, छोरा घर आएन
डाँडाफाया गाउँका ति बृद्ध बारे मेरो थप जान्ने इच्छालाइ बाटो काट्ने साधन बनाए, हुम्लाका साथि पाल्देन ले । उनि भन्न थाले –“वनबाट मान्छे आएर उनको छोरा लग्यो । देशमा परिवर्तन आयो । तर उनको छोरा घर आएन । बुहारीले माइत बाटै अर्को घरजम गरी । छोरा र बुहारीको चिनो त्यै नाति हो सर ।” म स्तब्ध भएँ । उनलाई नमन गर्दै हिडे । यत्रो संकटमा पनि उनी अटल थिए। तर म यो बाटो र उकालोलाइ संकट मान्दै छु । “धिक्कार छ मलाइ । ” अनायसै मेरो मुखबाट निस्कीयो । पाल्देनले मेरो अनुहार हेर्दै भने” किन धिक्कार छ भन्नु भाको सर ?“ मैले जबाफ नदिइ कर्णालीको छाललाइ जिबनसँग तुलना गर्नथाले ।
छिनिगिन्टीको आबाज सहित घोडा झोवा नजिकै बनमा चर्दै थिए भने म चाँहि मनमनै कर्णाली तर्दै थिएँ। झोलाबाट क्यामरा झीकेँ र नजिकैको हेप्का गाउँको मोहक दृश्य कैद गरेँ। हामी धारापोरी, डाडाफाया, हेप्का, केर्मी,यलबाँङ, यलगाड, मुचु, पातिहाल्न, यारी, नारागाउँ हिल्सा पुग्न आतुर थियौं । बिहानको खाना धारापोरीमा खाएर कर्णालीलाई पछ्याउँदै थियौ । फोटोपनि लिँदै थियौं । बास बस्न केर्मी पुगियो । करिब १०० घरको घना बस्ती । बाटोमा २ वटा पसल । घर सहितको पर्यटकका लागि क्याम्पसाइडको यहाँ ब्यबस्था रहेछ । दिनको टन्टलापुर घामले अलिक टाउको दुखेकोले म होटेलको कोठामा पसें । होटेलको दाइ भोटे चिया लिएर भित्र पसे । नुन, चौरीको घ्यु, जडिबुटिको चियापत्तिलाइ काठको गवुवामा घोलेर बनाउने यो चिया पाहुना सत्कारको पहिलो चरण हो । म पनि यसको पारखी हुँ ।
चिया हातमा लिएर बाहिर निस्कीएँ। पर ५ जना पर्यटक होटेल तिर लम्कीँदै थिए। क्याम्प साइडमा पहिल्यै भरियाहरु आएर टेन्ट कस्दै रहेछन । जर्मन नागरिक रहेछन् । हिल्सा हुँदै ल्हासा जाने ट्रेकिङ रुट रहेछ यो । आज भोली पर्यटकिय मौसम हो । गोराहरु आउने कुरा मलाइ सुनाउँदै होटेलका दाइ तिनिहरु भएतिर लम्कीए ।
सिरानी नमिलेर बिहान त गर्दन अररो भएछ । नित्यकर्म पनि बाटैमा गर्ने बिचारले हामी अघि बढ्यौं । भात खान यलबाँङ पुगियो। ३ घन्टाको हिडाइ रहेछ केर्मीबाट यलबाँङ । गाऊलेहरु कुदाकुद गर्दै थिए । किनकि त्यो दिन त्यहाँ गुम्बाका लामा आउने कार्यक्रम रहेछ। यलबाँङ गुम्बा जिल्ला भरीकै ठूलो रहेछ। अंग्रेजी र लामा दुवै भाषा पढाइको लागि बैदेशिक सहयोगमा बिद्यालय रहेछ त्यहाँ । होटेलमा खाना पाक्दै गर्दा हामीले हिउँ र हिमाल हेर्दै ल्हासा वियरको मजा लियौं । खालि पेटमा ल्हासा वियरले पेटमा तरंग दियो ।
दुई घण्टा आराम गरेपछि यलबाँङ गुम्बा हेर्दै हामी अगाडि बढ्यौं । बाटामा राम्रा दृश्यहरु हेर्दै मुचु बास बस्न पुगियो । राती भलाकुसारीमा थाहा भयो की माथी बाटोमा त हिउँ धेरै परेको छ । लेक काट्न सकिंदैन । हामी के गर्ने दोधारमा परियो । लौ त भनेर यारीमै बास बसियो । यो फेदीको गाउँ हो । भोली हामीले ४७०० मिटरको नारा लेक पार गर्नु पर्ने । त्यसमा पनि धेरै हिउँ छ कसो गर्ने होला सर ? साथी अमृतजीले डर ब्यक्त गर्नु भएको भान भयो मलाइ । यारी ३७०० मिटरमा थियो । जुन उचाइसम्म म सजिलो अनुभव गर्दै थिएँ । अमृतको कुरा पछि म पनि कसो गर्ने होला भन्ने दोधारमा परें ।
तिन घण्टाको उकालोको लागि लसुन, टिम्बुर र २ थर्मस तातो पानी लिएर छिसमिसेमै हामी उकालो लाग्यौं । हाम्रो उकालोको रणनिति बिस्तारै हिँड्ने र अप्ठेरो अनुभव भएमा तुरुन्तै तल झर्ने थियो । घोडा झोवा लिएर यारीका मानिसहरु हामी भन्दा सखारै उकालो लागेका रहेछन । तिनिहरु देखे पछि मैले उकालो भरी झोला झोवामा राखेर लगिदिन अनुरोध गरें । उकालो लेकको बाटोमा पसिना आयो भने झन कठिन हुनाले मैले यो अनुरोध गरेंको यिए । स्विकृती पनि मिल्यो ।
म्रित्यु नजिकै आयो तर बिचलित भईन
झोला नभएपछि शरिर हल्का महसुस भयो । त्यसपछि सतर्क भएर हामी ४४०० मा पुग्यौं । शिवशिव भन्दारहेछन यो ठाउँलाइ । सायद मानसरोवर जाने बाटो पनि यहि भएर होला । शिवशिव भन्दा मलाइ आनन्दको अनुभूति भयो । रहरलाग्दा हिमाललाइ साक्षि राखेर भटाभट फोटो सेसन भयो । थर्मसको तातो पानी र रोटी खाएपछि त हामीमा नयाँ उर्जा थपियो र जित नजिकै रहेको अनुभूति भयो । यारीका मानिसहरु हामीलाई “बिस्तारै हिड्नु होला । ४५ मिनेटमा उकालो सकिन्छ । हामि भारी मिलाउँछौं ” भन्दैथिए । नभन्दै हामीले ४० मिनेट भित्रैमा नारालाइ जित्यौं ।
थकान हरायो । डरपनि गायव । युद्द जितेको सिपाहिले खुकुरी घुमाए जस्तै क्यामरा घुमाएँ मेलै । के थाहा एकैछिनमा मौसम खराब हुनसक्छ । ४७०० मिटरको नारा लेकमै हिउँसगै घरबार गर्ने सपना देख्न थालें म त । तर त्यो सपना लामो रहेन । भत्कीयो । बादलले नारालाई देखिसहेन । एकैछिनमा घेरा हाल्यो मेरी नारालाइ । उ बचाउ बचाउ भन्दै थिई । तर मैले केहि गर्न नसक्ने देखेर शिवशिवको सहयोग मागें । ढिलो भए बचाउन सकिन्न । फेरी एक पटक कायर प्रेमी बने म । तल हेरेको त हिल्सा कर्णालीको काँखमा चिन्तीत थिई । उ दुब्ली र निन्याउरीपनि । उसले एकोहोरो मलाइ हेर्दै भनी -तपाइ को हो ? म नाजबाफ भए । डाक्टर, बैद्य, नेता, साथीके भनु । साहस बटुलेर सोधे -किनहोला म त आम नेपाली हुँ । उ चुप लागी । उसले मेरो जबाफ चित्त नबुझाएको हरक आयो मलाइ ।
जताततै हिउ थियो डाँडामा । ३० मिनेट तल झरेपछि हिउ पहिरो अकस्मात आयो । मलाइ एउटा ढुंगाले ज्याकेटमा लाग्यो । हेर्दाहेर्दै अर्को ढुंगाले टेकिरहेको छातामा लागेर ३०० मिटर तल लाग्यो । तर मलाइ छाताले बचायो । साथिहरुले आज तपाइले नयाँ जीवन पाउनु भयो भन्दै बधाइ दिए। मनमनै सबैखाले माया गर्नेहरु संझे । मृत्यू नजिकैबाट जाँदा पनि म धेरै बिचलित भइन ।
“पारीको सेर हो त्यो । माथि ताक्लाकोट पर्छ “ गणेशले मलाइ तिब्बत देखाउँदै भने । मैले निहालेर हेरें । पिच सडक, टेलिफोन टावर टल्कीरहेको देखियो । ७ घण्टाको हिँडाइपछि हिल्सा पुगियो । कोदारी पछिको चिन सँगको यो दोश्रो ठुलो नाका । हामी आउने खबर भइसकेकोले खाना तयार थियो । खाना खाएर बजार घुम्ने निर्णय गरियो । लगभग ४५ घर । एउटा झोलुङ्गे पुल । नाङ्गा डाडा । बजारै भरी चाइनिज रक्सी । वियरका भारी र खाली बोतल देखिए ।
लेक होइन देश लाग्यो
कर्णाली किनारको पनि उहि हाल थियो । यो ठाउँ ३८०० मिटरमा छ । लगभग बर्षभरी नै जाडो हुन्छ । मानिसहरु खुब पिउँछन भन्दै साथीहरुले सुनाए । चाइनिज सुरक्षाकर्मीहरु दुरबिनले हामीहरुलाइ हेर्दै थिए । मलाई निको लागेन र साथीहरुलाइ सोधें- हाम्रा सुरक्षाकर्मीहरु खै त ? जबाफ आयो -चौकी मात्र छ । जनयुद्दमा सुरक्षाकर्मी सदरमुकाम केन्द्रित भएका थिए । बिकेन्द्रित हुन बाँकी नै छ । कोदारी पछिको चिन सँगको यो दोश्रो ठुलो नाका सुरक्षाकर्मी बिहिन ? म थप सोचमा परें । पारीपट्टी चिल्लो सडकमा टलक्क टल्किने गाडी गुड्दै थियो । हामीपट्टी चाहिँ धुलो बङबङी उडिरहेको । म फरक्क होटेल फर्किएँ । सिरकले मुख छोपेर रुन थालें । होटेल साहु मोबाइल बजाउँदै आए । सर लेक लाग्यो । हैन मलाइ देश लाग्यो मैले प्रतिउत्तर गरें । उनी ट्वाल्ल परे । मैले हिल्सा संझे । दुब्ली र निहाउरी देखेको कारण पनि बुझें । छिमेकी सेर ले गरेको बिकास र आफ्नो बर्बर अवस्था । राज्यबाट उपेक्षा र असमान ब्यवहार । धन्न सहेकी ।
बिहानै उठेर सेर जाने योजना थियो । तर मसंग पास थिएन । हुम्लीलाइ जिल्ला प्रशासन कार्यालयले पास दिंदो रहेछ । अन्यलाइ चाहिँ चिनियाँ दुतावासको भिसा चाहीने । कार्यालयको कामले आएको र पास, भिसा नभएको मैले ब्यक्तिगत पहलमा सेर नजाने निर्णय गरें । आफ्नो सट्टामा साथीहरुसँग मेरो क्यामरा गयो । सेरबाट ५ घन्टामा मानसरोवर पुगिँदो रहेछ । सेर गाउँ भए पनि भौतिक पूर्वाधार शहरमा भन्दा कम थिएन । टेलिफोनका भिमकाय एन्टेना र कालो सडकले भन्दै थियो -यो गाउँ कुनै शहरभन्दा कम छैन ।
एक घन्टामा नै साथीहरु फर्कीए । त्यो भन्दा बढी बस्न दिँदो रहेनछ चिनियाँ प्रशासनले । सेरबासीलाइ पनि हिल्सा आउन चिनियाँ अधिकारीबाट पास लिनुपर्ने रहेनछ । तर चिनियाँ अधिकारीहरु भने जुनैबेला पनि हिल्सा आउने गर्दा रहेछन । नेपाली अधिकारीहरुलाई चाहिँ बिना पास प्रबेश नपाउने असमान ब्यवहार पनि देखियो । हामीहरु हिल्सा बसाइको सुखद र दुखद अनुभव लिँदै उकालो चढ्यौं । ३ दिनको हिडाइ पछि सिमिकोट पुगियो । कार्यालयको कामले म सफल भएपनि नागरिकको हिसाबले म के भएँ ? यो सोच्दा सोच्दै म त नेपालगंज एयरर्पोट पुगें । तर जीवनमा हुम्लाको लागी केहि न केहि गर्नुपर्छ भन्ने भावनाले मलाइ छोड्न सकेन । म भाग्यमानी महसुस गरिरहेछु ।
(अनिल धादिङ जिल्लाको पीडा निवासी हुन् । उनी संयुक्त राष्ट्र संघिय खाद्द परियोजना, नेपालमा कार्यरत छन् । लेखकको तस्बिर संयोजन गरिदिनुभएकोमा बेल्जियमका एस बी छन्त्याल जीलाई धन्याबाद) ।