मतगणनाको संकेत : वामपन्थी सरकारको आम चाहना

प्रतिनिधी सभा र प्रदेश सभा दुबैमा अहिलेको निर्वाचनले वामपन्थि गठबन्दन अगाडि छ । कम्तिमापनि ७० प्रतिशत अग्रताले वामपन्थि गठबन्दनले जित्ने संभावना देखियो । मतदाताहरुले वामपन्थिहरुलाई सत्ता र सरकार एकजूट भएर चलाएको देख्न चाहेको सन्देश दिएको देखिन्छ ।

२०४७ सालमा बहुदलिय ब्यवस्था आएपछि पटक पटक सरकार बने । एक पटक नेपाली कांग्रेसको एकल सरकार बन्यो, सरकार बनाउन एकल बहुमत पाएरै । तरपनि नेपाली कांग्रेसले आफ्नै सरकार टिकाउन सकेन । देश बनाउने मुद्दा र बहसले होइन । सरकारमा कसले हैकम चलाउने, कसका पक्षका आफ्नाहरु सरकारमा जाने भन्ने आन्तरिक कलहले । त्यसपछिका कुनै पनि सरकार एकल पार्टीको नेत्रित्वमा बनेन र देशमा सधैं सरकार बदलिभैराख्यो ।

देशमा गणतन्त्र आएपछि पनि नेपाली जनताले कसैलाई एकल पार्टीका आधारमा सरकार चलाउने शुद्द बहुमत दिएनन् । नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई सामान्य बहुमत दिए, दलका आधारमा । उसले सरकार त बनायो मिलेर, तर खासै जनताको चाहना सिद्द गर्न सकेन । त्यसपछिको निर्वाचनमा फेरि नेपाली कांग्रेसलाईनै प्रमुख दल बनाए । माओवादीलाई सजायँ दिए, तेस्रो दलमा झारिदिएर । एमाले दोस्रो रह्यो । यि तिनै दलले पार्टी बदलिबदलि सरकार चलाए । कुनैपनि मिश्रित दलको सरकारले जनताका आशा र जिम्मेवारी पुरा गर्न सकेनन् । बरु सरकारमा बसेर मस्ति गर्ने, देश चुस्ने र जनहितबिरोधी काम गर्दापनि अर्को दललाई दोषी देखाएर उम्किन सहज भयो ।

तिन दशक लामो अनिश्चितता, अस्थिरता, महँगी, भ्रस्टाचार, कालो बजारी, बढ्दो बेरोजगारी र सास्तिले जनता आजित भैसकेका हुन् । जनतास्वयंलेपनि सायद महसुस गरे कि वामपन्थिहरु एक जुट हुनै पर्छ । देशमा बामपन्थिहरुका दुई दर्जन लगभग पार्टी छन् । ति मध्ये अधिकांशको निति खासै भिन्न छैन । तरपनि ति बिच सहकार्य र एकता किन भएन ? किन र के स्वार्थले बामपन्थिहरुलाई अलग र बिभाजित बनाउँछ ? बनाइरहेको छ ? बामपन्थिहरुबिच एकता हुन नदिने कुन तत्व हो ? समान निति र कार्यदिश बहेका वामपन्थि दलहरु किन फरक फरक निर्वाचन चिन्ह र समूहमा मत माग्न जनताको ढोका चहार्छन् ?

पछिल्लो समयमा वामपन्थिहरुबिचको साझा गठबन्दनले आम जनताको त्यहि चाहना, कौतुहलता र जनईच्क्षालाई सम्बोधन गरेको अहिलेको निर्वाचनले संकेत गरेको छ । जबसम्म वामपन्थिहरुबिच मेलमिलाप, एकता र सहकार्य हुन्न तबसम्म हामी जनताले विश्वाश गर्ने छैनौं भन्ने बिगतका निर्वाचनमा जनताले सन्देश दिएका रहेछन् । अहिले वामपन्थिहरुबिच साझा सहमती र गठबन्दन गरेर निर्वाचनमा जाँदा जनताले अधिकांश क्षेत्रमा वामपन्थिहरुलाई मत दिएका छन् । अहिलेको मत, अग्रता र बिजयी अन्तिमसम्म कायम रहे वामपन्थिहरुको सरकार बहुमतकै आधारमा बन्ने संभावना देखिएको छ । जनताले वामपन्थिहरुको मेलमिलाप, एकता र सझा सहमती खोजेका रहेछन् भन्ने देखिन्छ ।

वामपन्थिहरु एकजुट भए मात्रै जनताको विश्वाश र भरोसा जित्न सकिने रहेछ भन्ने त देखिएको छ नै, वामपन्थिहरुका मुद्दा समान हुँदा हुँदै फुटेर अलग हुँदा जनताले विश्वास नगर्ने रहेछन् । फुटेको वामपन्थिलाई होइन जुटेको वामपन्थि मात्रै जनताको रोजाई र विश्वाश रहेछ ।

तपाइँको प्रतिक्रिया