नागरिक सर्वोच्चताको खिल्ली
–रामहरी ओझा
२०६६ साल जेठ ३ गते एकिकृत नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्डले काठमाण्डौंको खुलामञ्चमा भाषण गरेको सुन्दा उहिले गाउँमा घटेको एउटा सत्य घटनाको याद आयो । श्यामवहादुर भन्ने एक सोझा साझा मान्छे । देवी देवतालाई पशु वली दिनु पर्ने हिन्दु संस्कार अनुसार उनलाई पनि बोकाको वली दिन धामीझाक्रीहरुले भनेछन् । बिचरा सोझा र इमान्दार मान्छे वलीको लागि कालो वोका खोज्दै छिमेकी गाउँमा पुगे । मोल मोलाई गरेर कल्कलाउदो कालो बोका डोर्याउँदै आईरहेका श्यामवहादुर काकालाई गाउँका केही छट्टु केटाहरुले देखेछन । सैतानी गर्न रमाइलो मान्ने उनीहरुले सोझा श्याम काकालाई उल्लु वनाउने योजना वनाए । योजना मुताविक वाटोमा उनीहरु अलि दुरी वनाउदै एक्ला एक्लै उभिए ।
पहिलो भेट हुने केटाले काकालाई सोध्यो काका तपाईले वाख्रा कहाँवाट ल्याउनु भयो ? श्याम काकाले भने–मूर्ख बाख्रा होईन बोका हो । उ हास्यो । यस्तो कृत्रिम हासो कि उसको हासोले काकाको कुरालाई झुटो सावित गरोस । र भन्यो काका पनि सोझो मान्छे भन्या त झन हामीलाई नै ढाट्ने ! वाख्रो ल्याउने, बोका भन्ने । काका वास्ता नगरि अगाडी वढे । अलि पर अर्का युवा थिए । उनले पनि काकालाई सोधे–श्याम काका वाख्रो कतिमा ल्याउनु भयो ? काकाले झोक्किएर भने– मूर्ख बोका हो तर त्यहाँ पनि त्यस्तै कुरा दोहोरियो ।
काका चुप लागि अगाडी वढे । उनले मनमनै सोचे यिनीहरु जो भेटेपनि यसरी बाख्रो किन भनिरहेका छन । उनी सोच्दै अगाडी वढ्दै थिए कि अर्का युवाले भनिहाले–काका बाख्रा पाल्न लायकको छ । राम्रो जातको बाख्रा किन्नु भएछ । अव त काकालाई दोधार भएछ, उनलाई आफैले किनेर ल्याएको बोकाप्रति शंका लाग्न थाल्यो । तिन–तिन जना पढे लेखेका युवाहरुले बाख्रो भन्दैछन, के भएको होला भन्ने सोच्दै अगाडी वढिरहेका वेला एक युवाले काका नमस्कार भनेर सुरु गरे । काका बाख्रा त व्याउने जस्तो छ नि ! हो ? अव त श्याम काकालाई एकदमै बिश्वास हुन थाल्यो र मनमनै भन्न थाले – यो मोराले बोका भनेर बाख्रो दिएको रहेछ कि क्या हो ?
काका यति भ्रमित भएकी उनले त्यो बोका हो वो बाख्रो हो भन्ने ठम्याउनुको सट्टा फर्केर सिधै बोका बिक्रि गर्ने किसानको घर पुगे र रिसाउदै भने– डाँका, बोका भनेर बाख्रो वेच्ने ? चाहिन्न तेरो बाख्रो ल्या मेरो पैसा । बिचरा किसानको कुरै नसुनी एकोहोरो रुपमा आफ्नो कुरामात्र राखेर गए । सोझा–साझा मान्छेलाई सन्का छुटेछ । वलीको बोका खोज्न गएका काका भोक्भोकै साँझ घर फर्केछन । आफुलाई पढेलेखेका भन्ने युवाहरुले हामीले यस्तो गरिदियौं भन्ने सान देखाउनका लागि र गाउँको बिचमा वसेर खित्का छोडेर हास्नका लागि सोझा मान्छेलाई “मूर्ख हो” भन्ने वनाउनका लागि मात्र यस्तो गरे । तर काका सही ठाउँमा थिए । उनले बोका नै ल्याएका थिए । ति धोका दिने केटाहरुसंग अहिलेसम्म पनि काकाको राम्रो सम्वन्ध वनेन ।
कमरेड प्रचण्डको भाषणवाट मलाई किन हो किन श्याम काकाको त्यो घटना याद आयो । नेपाली जनता पनि सोझा छन । इमान्दार छन । उनीहरुले बेईमानी–फटाही जानेका छैन । अलि ठुलो हुलले चर्को स्वरमा जे करायो त्यही कुरा “ठिकै हो कि क्या हो” भन्ने निश्कर्ष तुरुन्तै निकाली हाल्छन । सही बिश्लेषण गर्न सक्ने क्षेमतामा नेपाली जनतालाई पुर्याउनुपर्ने पर्ने आवश्यकता कसैले पनि ठानेनन् । आफुलाइ खाटी कम्युनिष्ट भन्ने र सर्वहारा श्रमजीवी वर्गको एकल अधिनायकत्व स्थापना गर्छु भन्ने मार्क्स, लेनीन र माओका चेलाहरु देखि समाजवादी राज्य व्यवस्था स्थापना गर्ने नाममा जनताको टाउकोमा बसी रजाई गर्नेहरुसम्मले जनतालाई सु–सूचित गर्न आवश्यक ठानेनन् । अहिले आएर तिनै दक्षिणपन्थी र वामपन्थी भनाउदाहरु जनताका बिचमा दोहोरो भ्रम सृजना गरिरहेका छन । हिजोका दिनमा दरवारले जनतालाई आधारभुत आवश्यकताको पहुँचवाट टाढा राखेको भन्नेहरु अहिले आपसमै कुकुरे लडाई लडिरहेका छन । एउटाले एकथरी गर्छ र जनताका लागी गरेको भन्छ, अर्कोले अर्कोथरी गर्छ र त्यो पनि जनताका लागि हुन्छ । तर यथार्थमा यिनीहरुले गरेका सवै काम व्यक्तिगत तथा दलगत स्वार्थलाई केन्द्रबिन्दुमा राखेर गरेका हुन । यसवाट जनतालाई रत्तिभर पनि फाईदा भएको छ भने त्यो संयोगमात्र हो ।
अहिले नयाँ बिषयले चर्चा पाएको छ । नागरिक सर्वोच्चता र बिदेशी प्रभु । कमरेड प्रचण्डले आफ्नो जेल कपाल र दहीरंगे जुङ्गा टल्काउदै नागरिक सर्वोच्चताको लागि रुकमांगद कटुवाललाई कारवाही गरेको ठोकुवा गर्दछन । राष्ट्रपतिले बिदेशी प्रभुको इसारामा कार्यकारणी अधिकार सहितको मन्त्रीपरिषद्ले गरेको निर्णय उल्टाएको आरोप लगाए । जनताको पक्षमा निर्णय गर्दा पनि काम गर्न नदिएकोले आफुले सरकारवाट राजीनामा दिएको वताए । नागरिक सर्वोच्चताको लागि सरकार दाउमा लगाउने आफुमात्र जनपक्षीय नेता भएको पनि फलाके । राष्ट्रपतिको कदमका बिरुद्ध सडक र सदन आन्दोलन गर्ने घोषणा गरे । गाउँगाउँवाट, टोलटोलवाट आन्दोलन छेडिने धम्की पनि दिए ।
वा कमरेड वा, क्या मज्जाको भाषण । त्यो भाषणले आम नेपाली जनतालाई श्याम काका जस्तै “ए हो कि त क्या हो” भन्ने भ्रम सृजना गर्न सफल भएको छ । प्रचण्ड महोदयले खोकेपनि ताली पिट्ने वानी परेका माओवादी कार्यकर्ताहरुले बिचबिचमा वसेर ताली वजाएको सुने पछि के बोल्दा रहेछन त प्रचण्डले भनि कार्यक्रम स्थल पुगेका बिभिन्न क्षेत्रका महानुभावहरुले र आम जनताले पनि ताली वजाई उनको कुरालाई अनुमोदन गरे । प्रचण्डहरुको छाती ढक्क भयो ।
बिषय–प्रसंगको कुरा गर्दा राष्ट्रपति डा. रामवरण यादवले उठाएको कदम पक्कै पनि असंबैधानिक हो, यसमा कसैको दुईमत हुन सक्दैन । र असंबैधानिक होईन भनेर वसह गर्नु पनि समय खेर फाल्नु वाहेक अरु केही होईन । तर त्यही कटुवाल प्रकरणमा संबिधान र सैनिक ऐन मिच्ने काम प्रचण्डहरुवाट पहिले नै भईसकेको थियो । कानुनले दिएको अधिकारभन्दा माथी उठेर निर्णयगर्दा नागरिक सर्वोच्चताको ख्याल नहुने अर्कोले त्यही वाटो प्रयोग गर्दा अर्कोलाई प्रश्न उठाउने ? आफुले गरेको गल्ती अरुले पनि दोहोर्याउन सक्छन भन्ने कुराको हेक्का के प्रचण्डहरुलाई पहिले थिएन ? कि त माओवादीले जे गरे पनि नागरिक सर्वोच्चताका लागि हुने अरुले गरेको सवै बिदेशी प्रभुको इसारा वा सैनिक सर्वोच्चता हो । संबिधान मिच्ने खेलको सुरुवात प्रचण्ड सरकारवाटै भएको हो । डाक्टर साहावले त आफ्नो पेशागत धर्म अनुसार एन्टिबायोटिक मात्र खुवाएका हुन । पेशा छोडेर लामो समयसम्म राजनीतिमा लागेका कारणले होला बिचरालाई कति मात्राको एन्टिबायोटिक दिने भन्ने थाहा भएन र निको हुनुको सट्टा प्रतिक्रिया (रियाक्सन) गर्यो ।
अहिले उक्त प्रकरण सर्वोच्चमा छ । त्यसको शल्यक्रिया गर्ने वा सामान्य औषधी दिने वा मृत घोषणा गर्ने त्यो जिम्मा अव सर्वोच्च अदालतको हो क्यार ! नागरिक सर्वोच्चताका कुरा उठाउनेहरुले न्यायिक सर्वोच्चता पनि बुझ्नु जरुरी छ । राष्ट्रपतिले गलत गरेका हुन, त्यसवारेमा मुद्धा न्यायिक प्रक्रियामा छ । अदालतमा पुगेको मुद्धालाई फेरी सडक र सदनवाट उठाउने निर्णयले कस्तो प्रकारको नागरिक सर्वोच्चता खोन्दैछन कमरेड प्रचण्डहरु ? यदि यस्तै हो भने भोली कुनै अर्को व्यक्तिको नेतृत्वमा रहेको कार्यकारणी अधिकार सहितको मन्त्रीपरिषद्ले कुनै व्यक्तिलाई मुत्युदण्ड दिने निर्णय गरिदेला अरे ! त्यसपछि के हुन्छ ? त्यतिवेला राष्टप्रमुखले सजाय गर्न मिल्दैन भन्न मिल्ने कि नमिल्ने ?
आदरणीय नेता ज्यूहरु तपाईहरुका आ–आफ्नै प्रकारका नागरिक सर्वोच्चताका परिभाषाहरु आफ्नै खल्तीमा राख्नुहोस । नेपाली जनतालाई उल्लु वनाएर, नेपाली जनतामा भ्रम सृजना गरेर नेपाली जनतालाई फेरी सडकमा आउन र फेरी ज्यान गुमाउन, फेरी रगत वगाउन नउस्काउनुहोस । काठमाण्डौंका रामहरी श्रेष्ठको हत्या हुँदा, कञ्चनपुरका पत्रकार प्रकास ठकुरी वेपत्ता भएको दुई वर्ष बित्दा, पत्रकार उमा सिंहको हत्या हुँदा, पत्रकार जगत जोशीको हत्या हुँदा र पछिल्लो पटक प्रचण्ड थैवको हत्या हुँदा नागरिक सर्वोच्चताको कुरा कसको सिरानीमा थियो भनि नेपाली जनताले प्रश्न गर्न पाउने कि नपाउने ? दैलेखमा शिक्षक–बिस्थापित हुदैछन । रामेछापमा फरक बिचार राख्ने पार्टीका कार्यकर्ताहरुलाई जिल्ला छोड्न उर्दी दिईएको छ । अर्धाखाँचीमा केन्द्रीय सदस्य टोपवहादुर महोदयले समेत फरक दलका कार्यकर्ताहरुलाई आक्रमण गर्न निर्देशन दिएका छन । पोखरामा त्यस्तै भएको छ । यि घटनाहरुमा तपाईको नागरिक सर्वोच्चताको परिभाषाले मेल खान्छ कि खाँदैन ?
त्यसकारण आदरणीय कमरेडहरु हिजोका दिनमा दरवार, कांग्रेस, एमाले सवैले आफ्नो भुडी भरेकै हुन । तपाईहरु पनि भुँडी भर्नका लागि नै यत्रो लडाई लडेर आउनु भएको छ । चुपचाप भुँडी भर्नुहोस । नागरिक सर्वोच्चताको खिल्ली उडाएर नेपाली जनतालाई दुःख दिने अनि दलगत सर्वोच्चता र व्यक्तिगत सर्वोच्चता स्थापना गरेर थपडी वजाउने दुस्साहस नगर्नुहोस । यदि यस्तै गर्नुहुन्छ भने जुन दिन नेपाली जनताले तपाईको वास्तविकता बुझ्नेछन् त्यसदिन देखि जनता फर्केर तपाईतिर ……………..पनि गर्ने छैनन् ।
ओझा नेपाल पत्रकार महासंघ, डोटी शाखाका सचिव हुन् ।