लोकतान्त्रिक पद्दतीप्रति निष्ठा देखिएन माओवादीमा
प्रधानसेनापती प्रकरणपछि प्रधानमन्त्री पदबाट राजिनामा दिँदा प्रधानमन्त्री प्रचण्डले भनेका थिए-अर्को सरकार गठनकालागि बाटो सहज बनाईदिन मैले राजिनामा दिएको हुँ । राजिनामा सार्वजनिक गर्दा उनले नेपाली जनताको सर्बोच्चता कायम भएन भने सरकार आफ्नालागि केहि नभएको बताएर निकै सहानुभूती पनि पाए । तर उनले जे भने त्यो गरेनन । उनले सरकारबाट राजिनामा त दिए तर सरकार सञ्चालनको सर्बोच्च निकाय संसद सञ्चालन हुन दिइरहेका छैनन् आफ्नो पार्टी मार्फत ।
राजिनामा प्रधानमन्त्री नयाँ सरकार निर्माण गर्न सहज होस भन्ने ठान्ने हो भने उनको पार्टीले तुरुन्त संसद बस्न दिनुपर्छ । किनभने नयाँ सरकार बन्नकालागि संसद बसेर पहिले प्रचण्डको राजिनामा प्रस्तुत हुनुपर्छ र मात्रै नयाँ सरकार निर्माणको प्रक्रिया अगाडि बढ्छ । मुखले नयाँ सरकार निर्माणमा सहज होस् भन्ने तर संसद बस्न नदिएर अवरुद्द गरिरहनु अर्थ नयाँ सरकार निर्माण मा भाँजो हाल्नु हो । संसद अवरुद्द गरिरहने हो भने नयाँ सरकार निर्माण हुन नदिएर सरकारमा आफैं टास्सीरहने चाहनाकारुपमा बुझ्ने छन् अब जनताले ।
प्रधान सेनापती प्रकरणमा दलहरु बिदेशी प्रभुको अगाडि झुकेपनि, बिदेशीको ईशारामा चलेपनि माओवादीले सरकारको नेत्रित्व गर्न अन्य दलको विश्वास गुमाएको हो । उसले त्यो विश्वास गुमाएपछि महुमत पुर्याउन सक्ने दलले सरकार निर्माण गर्छ नै । त्यहि संसदिय परम्परा अनुसार अहिले नेकपा (एमाले) ले नयाँ सरकार निर्माणकालागि बहुमत पुर्याएको छ । अब उसले निशर्त सरकार बनाउन पाउनुपर्छ । त्यसमा माओवादीले संसद अवरोध गर्नु संसदिय परम्परा, विश्वास र मान्यता बिरुद्द हो । लोकतान्त्रिक पद्दतीमा विश्वास गरेर आएको माओवादीले त्यसलाई स्विकार गर्ने मात्रै होइन त्यसका मान्यताहरुलाई आदर गराउनु उसकोपनि कर्तब्य हो ।
संसद चल्न दिँदैमा उसका बिरोधका सबै बाटा छेकिए भन्ने होइन । लोकतान्त्रिक पद्दतीमा बिरोध र आफ्ना असहमती जनतासमक्ष पुर्याउने थुप्रै बिकल्प छन् । संसदिय पद्दतीमा उसले आफ्ना मागहरु पुरा गराउनका लागि अवलम्बन गर्ने बिरोधका उपाय संसद भित्र होस वा बाहिर सुरक्षित रहन्छन् ।
जनताले यसैपनि बिद्रोहीका रुपमा माओवादीलाई मत दिएर ठुलो पार्टी बनाएका होइनन् । लोकतान्त्रिक पद्दतीमा आएकोले उसको त्यहि विश्वास र निष्ठालाई मत दिएका हुन् । त्यसैले जनमतको कदर गर्नकालागि पनि उसले संसद सुचारु चल्न दिएर देखाउनुपर्छ । नत्र लोकतन्त्र प्रतिको निष्ठा उसको देखाउनकालागि मात्रै हो भन्ने बुझिन्छ।




