नेपाल सानो भूमी तर शक्ति सम्पन्न मुलुकहरुकालागि रणनितिक महत्वको : युवा नेता भट्टराई
नेकपा एमालेको स्विजरल्याण्ड कमिटी प्रवाशी नेपाली मञ्चको दोस्रो अधिवेशनमा प्रमुख अतिथिको रुपमा आए नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई । आफ्नो संगठनको तर्फबाट आएपनि उनले आफू सबै नेपालीको सामूहिक प्रतिनिधी भएको बताएर मन्तब्यको शुरुबाटै उपस्थितहरुको मन जिते । भने ‘म नेकपा एमालेको सचिव त हुँ । तर परदेशमा आएका बेला सबै नेपालीको साझा प्रतिनिधी हुँ । परदेशमा रहेका कुनैपनि पार्टीका सदस्य, कार्यकर्ता वा जो हुनुस् तपाईहरुले मुलुक बनाउने एजेण्डा,आर्थिक विकास र सिप सिकाउने योजना लिएर आउनुस नेकपा एमालेले सहयोग गर्छ । हामी हाम्रो पार्टीको हो की होइन भनेर हेर्दैनौं, नेपाल र नेपालीको हित हेर्छौं ।’
संयुक्त राष्ट्र संघ, राष्ट्र संघिय मानव अधिकार आयोग, अन्तर्राष्ट्रिय श्रम संगठन लगायत विश्वका धेरै अन्तर्राष्ट्रिय संस्थाहरु स्विजरल्याण्डमा रहेको र नेपालको शिक्षा, प्रविधी र ग्रामिण विकासका अनेक संरचनामा स्विस सरकारले नेपाललाई धेरै सहयोग दिएकाले स्विजरल्याण्डमा बस्ने नेपालीहरुका लागि धेरै अवशर रहेकोपनि उनले औंल्याए । नेपाल जस्तै भौगोलिक बनावटको देश भएकालेपनि यहाँका नेपालीले स्विजरल्याण्डमा देखे, भोगेको र सिकेको सिप नेपाललाई नमुना हुनसक्ने उनको भनाई थियो। नेपालमा संयुक्त लगानीकालागि यहाँका नेपालीले प्रेरित गर्नुपर्ने बताउँदै भने ‘श्रीलंकामा त्यत्रो ग्रिहयुद्द हुँदापनि त्यहाँ लगानी भित्रिईरह्यो । ग्रिह युद्द भएका अन्य धेरै देशमा लगानीकर्ता गैरहेकै छन् । नेपालमापनि त्यो संव छ र लगानीकर्ताको लागि सुरक्षित छ नेपाल । तपाई बिदेशमा बस्ने हरेक नेपाली मुलुककालागि राजदूत सरह हो । अब तपाईहरुलेनै यो पहल गर्नुपर्छ । ‘ नेपालमा लगानी गर्न कुनै समस्या भए लगानीको योजना लिएर आए आफूहरुले त्यसकालागि सहज बनाइदिने आश्वाशनपनि उनले दिए ।
प्रवाशबाट हेर्दा नेपाल केहि नभएको जस्तो लागेपनि नेपाललाई विश्वकै शक्तिसम्पन्न राष्ट्रहरुले विशेष महत्वका साथ लिएको उनले बताए । त्यहि कारणलेपनि हामीले आफ्नो मुलुकको कूटनिति र छिमेकी मुलुकहरुसितको संवन्धमा विशेष ध्यान दिनुपर्ने औंल्याए । अमेरिका, चिन र भारत सबै मुलुकले कूटनितिक उपस्थिति अन्य विकशित, सम्पन्नशाली र शक्तिसम्पन्न ठानिने मुलुकहरुमा जत्तिकै नेपालमापनि गराएका छन् । त्यसैले नेपाल विशेष र संवेदनशिल अवस्थामा उभिएको छ । हामीले हाम्रा सिमामा दुख पाउने गरेका छौं । नाकाबन्दि ब्यहोर्यौं । तैपनि एकातिरबाट दुख पायौं भन्दैमा अर्कोतिर निकट हुने वा अर्को छिमेकिसित टाढिने होइन । सबैसित समान कूटनितिक संवन्ध राख्नसक्नुपर्छ । दुई विशाल मुलुकको बिचमा रहेकाले त्यो संवेदनशिलतालाई बुझ्न सकिएन भने हामी संकटमा पर्छौं ।’
नेपालमा राजनितिक क्रान्ति समाप्त भई अब आर्थिक क्रान्तिको अभियान शुरु भएको उनले स्पष्ठ पार्न खोजे । नेत्रबिक्रम चन्दको नेपाल कम्युनिष्ट पार्टी र केहि मधेशी दलहरुलाई संकेत गर्न खोज्दै उनले भने ‘केहि दलहरुले सशस्त्र क्रान्तिको कुरो गर्छन् । तर अब त्यसो गर्न संभव छैन । नेपालमा आफ्नै हैशियतले सशस्त्र क्रान्ति हुनै सक्दैन । अब आर्थिक क्रान्तिको युग शुरु भएको छ । हामी त्यो गरेर छोड्छौं ।’ आफ्नै सामर्थ्य र बुतामा नभएर केहि विदेशी लगानी र बलमा त्यस्ता सशस्त्र क्रान्तिका कुराहरु उठ्ने गरेकोपनि उनले सार्वजनिक गरे ।
आगामी डिसेम्बरको हाराहारीमा हुने निर्वाचनपछि नेकपा एमालेको सरकार बन्ने ठोकुवा गर्दै उनले नेपालीहरुलाई नेपालमा अब हुने आर्थिक क्रान्तिको मार्गमा सहयोग गर्दै संयुक्त लगानीकालागि पटक पटक आग्रहपनि गरे । भने ‘अब नेकपा एमालेको बहुमतको सरकार बन्छ । हाम्रो पार्टीले पूर्ण रुपमा आर्थिक क्रान्तिको योजना सार्वजनिक गरेको छ । हाम्रो पार्टीको सरकार बनेपछि हामी पूर्ण रुपमा आर्थिक विकासमा लाग्छौं । तपाई बिदेशमा भएका नेपालीहरुले त्यहि अभियानमा हातेमालो गर्नुस । लगानीको वातावरण र सुरक्षाको ग्यारेन्टि हाम्रो पार्टीले गर्छ ।’
गैह्र आवाशिय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकताको बहस आफूलाई उचित नलागेको उनले सुनाए । नेपालीहरु नेपालीनै रहनुपर्ने तर्क गर्दै उनले भने ‘यो दोहोरो नागरिकता भन्ने शब्दनै मलाई उति उचित लाग्दैन । नेपालीहरु नेपालीनै रहने हो किन दोहोरो नागरिकता ? तपाईहरु नेपाली हो र नेपालीनै रहनुस । किन दोहोरो नागरिकता भन्नुहुन्छ ?’ नेपालीहरुको आफ्नो नागरिकता नगुम्ने सुनिश्चितता संविधानलेनै गरेको तर राजनितिक रुपमा मतदान गर्न पाउने की नपाउने, कुन तहसम्म पाउने आदि विशेष बुँदा, सहुलियत र अधिकारका बारेमा स्पष्ठ ब्याख्या हुन बाँकी रहेको र अागामी संसदले त्यसलाई पारिद गर्ने भन्दै आश्वस्त पारे ।
नेपालमा भएका हरेक प्राजातान्त्रिक आन्दोलन र नाकाबन्दिका बेला प्रवाशी नेपालीहरुले दिएको साथ र समर्थनले आफूहरुलाई उर्जा दिने गरेको भन्दै उनले प्रशंसा गरेका थिए । ‘तपाईहरु जहाँ बस्नुस आखिर तपाईहरुको मन र मस्तिस्क सबै नेपाली हो । माया नेपालकै छ । नेपालका हरेक प्रजातान्त्रिक आन्दोलन र अप्ठेरामा साथ दिँदै आउनुभएको छ । त्यसले हामीलाई उर्जा, हौशला र आत्मबल दिने गरेको छ । त्यसकालागि म समग्ररुपमा मुलुककै तर्फबाट धन्यावाद दिन चाहन्छु ।’
स्विजरल्याण्डमा भएको प्रवाशी नेपाली मञ्चको दोस्रो अधिवेशनमा नेपाली कांग्रेसको भात्रि संगठन, नेकपा माओवादीको भात्रि संगठन र अन्य केहि संस्थाहरुपनि उपस्थित थिए । एकले अर्कोलाई सहयोग गरेको देखेपछि योगेश भट्टराई प्रफुल्ल बनेका थिए । उनले स्विजरल्याण्डमा जस्तै सबै राजनितिक दलका सदस्य, फरक राजनितिक बिचारमा आस्था राख्नेहरुकाबिचमा मेलमिलाप र सरसहयोग अन्य मुलुकका नेपालीहरुबिचपनि हुनुपर्ने बताए । बेलायत लगायत कतिपय देशमा आफ्नै राजनितिक पार्टीका कार्यकर्ताबिचपनि लडाई र झैझगडा,द्वन्द हुने गरेको औंल्याउँदै रोमाञ्चक शैलीमा भने ‘बेलायत र अरु देशका साथीहरुले स्विजरल्याण्डका साथीहरुबाट सिक्नुस कसरि अलग राजनितिक बिचार भएकाहरुपनि मिलेर बस्छन् भनेर । स्विजरल्याण्डका साथीहरुलाई कोचिङ दिन लैजानुपर्ला जस्तो देखियो । बास्तवमा स्विजरल्याण्डमा तपाईहरु जसरि बस्नुभएको छ प्रवाशमा सबै देशका नेपालीहरु बस्नुपर्नेनै यसरि हो । आफ्नो देश छोडेर बाहिर बसेका बेला झैझगडा गर्ने होइन, मिलेर बस्ने हो ।’
राजदूतहरुलाई चुनौति
मुलुक बनाउने आर्थिक अभियान र विकासका योजनामा अब पार्टीहरु लाग्ने हुनाले विदेशका कूटनितिक नियोग र कूटनितिज्ञहरुलेपनि त्यहि अनुसार काम गर्नुपर्ने उनले स्पष्ठ पारे । आफू जुनसुकै मुलुकमा जाँदापनि कूटनितिज्ञहरुले अब पहिलेझैं पासपोर्टमा भिसा लगाउने र सिफारिस पत्र लेखेकै भरमा काम नचल्ने, आर्थिक लगानीका बाटाहरु खोज्नुपर्ने स्पष्ठ योजनामा काम गर्न सुझाव र निर्देशन दिने गरेको भट्टराईले सुनाए । देशको खाँचो, परिस्थिति अनुसार काम गर्न नसके फिर्ता जान तयार हुनुपर्ने र देशले अर्को सक्षम ब्यक्ति पठाउने उनले स्पष्ठ पारे । भने ‘पासपोर्टमा भिसा लगाउने काम त छँदै छ गर्नै पर्यो । तर पहिलेपहिले राजाका पालाम अझैं ऐस आराम गर्न आउने, औपचारिक काम गरेर मात्रै अब राजदूतहरुले हुँदैन । अब देशमा आर्थिक लगानीकर्ता खोज्ने, लगानी भित्र्याउन भूमिका खेल्ने, नयाँ नयाँ सिप र ज्ञानहरुको लागि नेपालमा लैजानकालागि काम गर्नुपर्यो । त्यो काम गर्न नसक्ने हो भने देशले गर्न सक्ने, सक्षम राजदूत पठाउँछ ।’
नेताहरुले देश राजतिज्ञहरुले चलाउने, राजनितिक पार्टीका एजेण्डामा चल्ने भनिएपनि स्विजरल्याण्डस्थित नेपाली दुतावासले नेपाली जनवर्गिय संगठनका कार्यक्रमहरुलाई हेप्ने र बेवास्ता गर्ने गरेको गुनासो गर्दै आएका थिए । त्यो गुनासो नेकपा एमालेका सचिव योगेश भट्टराईसमक्षपनि राखियो । नेपाली कांग्रेसको भात्रि संगठन नेपाली जनसंपर्क समिति, स्विजरल्याण्डका अध्यक्ष श्याम सापकोटाले नेपाली दुतावासले पार्टीका जनवर्गिय संगठनहरुलाई बेवास्ता गर्दै आएको र मन्तब्यका क्रममा त्यसका बारेमा स्पष्ठ पारिदिन भट्टराई समक्ष आग्रह गरेका थिए । ‘देश पार्टीले चलाउँछन् । राजदूतहरु पार्टीका वा पार्टीकै नेता मन्त्रि भएको कुनै मन्त्रालयबाट आउँछन् । तर हामीले गर्ने कार्यक्रममा दुतावासले बेवास्ता गर्ने गरेको छ । के यस्तो कार्यक्रममा दुतावासले चासो राख्नुपर्दैन ? यो कार्यक्रममा प्रमुख अतिथिनै प्रतिपक्षी पार्टीको सचिव हुनुहुन्छ । यो कार्यक्रमस्थलबाट हाम्रो दुतावासको दूरी हिँडेर गएपनि २० मिनेट भन्दा लाग्दैन । तर खै त यहाँ दुतावासको उपस्थिति ? यो दुतावासको हेपाई होइन ?’ भट्टराईले यसका बारेमा आफूले बुझ्ने बचन दिए ।
सबै पार्टीका दस्तावेजमा रेल अभियान
नेकपा एमालेले पहाडमासमेत रेल लैजाने, पानी जहाज चलाउने आदि महत्वाकांक्षी योजना सुनाउँदा आफ्ना पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका पार्टी अध्यक्ष केपी ओलीलाई हाँसोमा उडाउने र आलोचना गरेपनि अहिले अन्य पार्टीले त्यसैको अनुशरण गरेको सुनाए । आफ्नो पार्टीले राजनितिक आश्वासन दिने र कल्पनाशिल राजनितिक दस्ताबेज छोडेर देशमा आर्थिक क्रान्ति गर्ने ब्यवहारिक योजना अगाडि सारेपछि अन्य पार्टीलेपनि पछिल्ला दस्ताबेजहरुमा आर्थिक विकासका एजेण्डाहरु राख्न थालेको भट्टराईले सुनाए । भने ‘हामीले पानी जहाज चलाउने, रेल कुदाउने योजना बनायौं । त्यो बेला हाम्रा नेता, प्रधानमन्त्रीलाई हाँसोमा उडाउन खोजे । तर अहिले हेर्नुस् अन्य पार्टीलेपनि आफ्ना दस्ताबेजमा तिनै कुराहरु समेटेका छन् । आर्थिक विकासका हाम्रा योजना देखेपछि अनुशरण गरेका छन् । हाम्रो आर्थिक योजनाकै पछि लागेका छन् । यो राम्रो हो ।’
नेतालाई घुमाएको होइन सिकाउन ल्याएको
राजनितिक दलका नेताहरु विदेश आइरहन्छन् । त्यसरि नेताहरु आउँदा भात्रि संगठनहरुले पैसा उठाएर बेकारको काम गरेको वा राजनिति गरेको भन्दै आलोचना गरेकोपनि सुनिन्छ । प्रवाशी नेपाली मञ्च युरोपका संयोजक सुभास पोखरेलले त्यसलाई स्पष्ठ पार्ने कोसिस गरे । विकसित र औधोगिक मुलुकका विकास, प्रविधी र संरचनाहरु हेरुन्, यताका नेपालीका दुख हेरुन् र प्रवाशी नेपालीले उठाएका जायज मुद्दाहरुका बारेमा सुनुन्, यताको विकास र संरचना हेरेर नेपालमा केहि लागु गरुन् भन्ने उद्देश्यलेपनि राजनितिक दलका नेताहरुलाई बिदेशमा बोलाउने गरेको बताए । ‘राजनिति गर्नु नराम्रो होइन। देशनै राजनितिले चल्ने हो, देशनै नेताले चलाउने हो । सहि राजनिति गर्नुपर्यो । नेताहरुले उच्चतम विकास र प्रविधिले चमत्कार गरेका देशका नमुना हेरुन्, सिकेर नेपालमापनि केहि लागु गरुन् भनेरै नेताहरुलाई विदेश ल्याउने गरिएको हो’ पोखरेलले भने । कुनैपनि नेपाली सुख र रहरले नभइ आफ्नो देशमा उचित सुविधा र रोजगारीको अवशर नहुँदा बिदेशमा बाध्यताबस बसेको, यदि नेपालमा विकास र उन्नति भई त्यो प्राप्त भए सबै नेपाली स्वदेश फर्कन तयार भएको उनले स्पष्ठ पारे । बाध्यताबस मुलुकमै अवशर नपाउनाले बिदेशिएका नेपालीका मुद्दाहरु सरकारले पुरा गर्नुपर्नेमापनि उनले जोड दिए ।
प्रवाशी नेपाली मञ्च स्विजरल्याण्डका अध्यक्ष संजय मुडभरीको सभापतित्वमा सम्पन्न भएको थियो कार्यक्रम । उद्घाटन सत्रमा प्रवासी नेपाली मञ्च वेलायतका निवर्तमान अध्यक्ष रामशरण सिंखडा,मञ्चको बेलायतका उपाध्यक्ष कुमार केसी, जनसम्पर्क समिति स्विजरल्याण्डका अध्यक्ष श्याम सापकोटा, ग्लोबल नेपाल नेट वर्कका अध्यक्ष सोनाम लामा, एन आर एन स्विजरल्याण्ड उपाध्यक्ष सिमा गौतम, महासचिव भुमी गुरुङ, जनप्रगतिशिल मञ्च स्विजरल्याण्डका उपाध्यक्ष दर्शन आचार्य, प्रतिमा केसी लगायतले शुभकामना र मन्तब्य दिएका थिए ।
अध्यक्षमा मुडभरिसहित सर्वसम्मत कमिटी
अधिवेशनले सन्जय मुडभरीकै अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष श्रवण केसी, उपाध्यक्ष दीर्घश्री मगर र बलराम विक छन् । महासचिव विक्रम केसी, सचिव जीवन भट्टराई, कोषाध्यक्ष अशोक पाण्डे र सदस्यहरुमा विदुर सँग्रौला, सन्तोष राई, प्रविण थापा मगर छन् । प्रवाशी नेपाली मञ्चकोलागि युरोप प्रतिनिधि सुवास पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् ।



















