नेपाली रुँदा दार्जिलिङलाई दुख्दैन, नेपालीलाई किन दुख्नुपर्ने दार्जिलिङ ?
दार्जिलिङ यति बेला तातेको छ । दार्जिलिङमा नेपाली भाषीहरुको बाहुल्यता हुँदाहुँदैपनि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बंगाली भाषालाई सबै सरकारी विद्यालयहरूमा अनिर्वाय बनाएपछि त्यहाँका नेपाली भड्किए । नेपाली भाषी भारतीयहरूलेपनि गोर्खाल्याण्ड आन्दोलनलाई चर्काए । नेपाली भाषीहरुमाथि आतंककारीको बिल्ला लगाइदिएर चरम दमन गर्न थालिन मुख्यमन्त्रिले । त्यो देखेर नेपालीहरु धेरैले दार्जिलिङमा चलिरहेको गोर्खाल्याण्डको समर्थन गरेका छन् । दार्जिलिङका नेपालीमाथि गरिएको दमनलाई नेपालकै भूभागमा आफ्नै नेपालीमाथि सरकारले दमन गरेझैं संझेका छन् । मन दुखाएका छन् । तर के दार्जिलिङमा चलिरहेको आन्दोलनमा यति धेरै मन दुखाउनु जरुरि छ नेपालीहरुले ?
नेपालीहरुनै हुन् दार्जिलिङका बासिन्दा । टिस्टादेखि काँगडासम्मको भाग नेपालकै हो । नेपालले सक्ने हो भने त्यसलाई फिर्ता लिन पाउने प्रमाण र आधार छ । तर भारतका सामु कमजोर बनेर, हाम्रा शासकहरुको नालायकिपनले गर्दा नेपाली भूमी भारतले हडपिरहेको हो । सक्ने हो भने यसरि आफ्नो भूमि फिर्ता लिनेगरि अगाडि बढ्नसक्नुपर्छ नेपाली । होइन भने दार्जिलिङमा चलेको गोर्खाल्याण्डको लागि नेपालीहरुले मन दुखाउनु र मरिहत्ते गर्नु किन ? हामीले जसरि गोर्खाल्याण्डमा दमन हुँदा, दार्जिलिनवासीको मन दुख्दा मन दुखाएका छौं के त्यसरिनै दार्जिलिङका नेपालीले हामीलाई पर्दा साथ दिए ? मन दुखाए ?
भुटानका नेपाली भाषीहरुलाई अत्याचार र दमन गर्दै भुटान सरकारले लखेट्यो । बिचल्ली पार्यो । ति रुँदै भारतीय भूमी भएर नेपाल भित्रिए । झापाको शरणार्थी शिविरमा बसे । त्यो खेल भारतीय सरकारलेनै खेलेको हो भन्ने दार्जिलिनवासीलाई राम्ररि थाह छ । त्यति बेला कहिल्यै दार्जिलिङबासीलाई पोलेन । नागाल्याण्डमा अत्याचार भयो, नेपाली भाषीमाथिनै । त्यसमापनि दार्जिलिङवासीको मन रोएन । आसामका नेपालीमाथि उस्तै दमन गर्यो भारतीय सरकारले । त्यहाँपनि दार्जिलिनबासीको आत्मा रोएन । भारतीय सरकारले नेपालमाथि दमन, अत्याचार गर्दै आएको छ । दार्जिलिङवासीले कहिल्यै वास्ता गरेको सुन्न पाइन्न । दार्जिलिङमा चलिरहेको गोर्खाल्याण्डकालागि हामी नेपालीहरुले मात्रै किन समर्थन जनाउनुपर्ने ? किन दिल दुखाउने ?
विश्वको जुनसुकै देशमा होस अन्याय र अत्याचारका बिरुद्द आवाज उठाउनुपर्छ । मानव हित र अधिकारका पक्षमा उभिनुपर्छ । यसरि हेर्ने हो भने दार्जिलिङमाथि भएको अन्याय, अत्याचार र दमनका बिरुद्द आवाज उठाउनु, मन दुखाउनु जायज छ । नत्र ति नेपाली हुन् । ति हाम्रा हुन् । हाम्रो र तिनको बुझाई एकै हो भनेर मन दुखाउनु, दार्जिलिङवासीको गोर्खाल्यण्ड आन्दोलनमा सहमति जनाउनु आवश्यक छैन ।





