वामपन्थि दबाउन एमाले हतियार
संबिधान सभाको निर्वाचनपछि पनि ठुलो दल बन्छु र सरकार चलाउँछु भन्ने थियो नेपाली कांग्रेसलाई । तर निर्वाचनपछि त्यो तुवाँलो मात्रै रहेछ भन्ने देखियो । माओवादीले सबैभन्दा धेरै सिट जित्यो । तर सरकार छोड्न यो वा त्यो बहानामा मानेन नेपाली कांग्रेसले । उसले चार महिनासम्म झुलाएर माओवादीलाई सरकार बनाउन दिएन । कांग्रेस दोस्रो ठुलो पार्टी बन्यो । सरकारलाई अनेक बखेडा झिकेर कहिल्यै राम्रोसित चल्न दिएन । माओवादी सरकार असफल भए सरकार बनाउन पाइन्छ भनेर उचालिइरह्यो । तर अहिले माओवादीले सरकारबाट राजिनामा दियो । नेपाली कांग्रेस सरकारमा जान हतारिएको पार्टी । यसैपनि दोस्रो ठुलो दल । तर उसले किन आफुले सरकार नबनाएर त्यति सजिलै तेस्रो ठुलो दल नेकपा (एमाले) लाई सरकार बनाउन प्रस्ताव गरिरहेछ ? के नेपाली कांग्रेसलाई सरकारमा जान मन नलागेर हो ?नेपाली कांग्रेस समझदार भएर हो ? वामपन्थिप्रति नरम र आशावादी भएर हो ?
नेपालमा अहिले सबै कम्युनिष्टहरु मिल्ने हो भने दुइ तिहाई भन्दा बढि हुन सक्ने अवस्था छ । अर्थात देशका अधिकांश जनता कम्युनिष्टको पक्षमा छन् । पछिल्लो समयमा एकिक्रित माओवादी संसदिय परम्परामा आएपछि देशी र बिदेशी सबैले ठानेका थिए कि उनीहरुको लोकप्रियता त्रासको भरमा हो। निर्वाचनमा गए पत्तासाफ हुन्छन् । तर भयो उल्टो । माओवादी झन लोकप्रिय देखिए । सरकार बनाए । संबिधान सभाको उपनिर्वाचनमापनि माओवादीले थप सिट जिते । त्यसले देखायो कि सरकारमा गएपछिपनि माओवादीको लोकप्रियता घटेको रहेनछ । पहिलो पटक भारतिय शासकहरु बिरुद्द सन् १९९० लगायतका सन्धि पूनर्मूल्यांकन गर्नुपर्ने लगायतका प्रष्ठ माग राखे । लागू गराउन नसकेपनि केहि जनपक्षिय घोषणा भए । भारतसँग एकपक्षियरुपमा रहँदै आएको संबन्ध तोडेर छिमेकी चिनसितपनि आर्थिक, सामाजिक र अन्य पक्षमा समान ब्यवहार स्थापित गर्न लाग्यो ।
वामपन्थिहरुको वर्चस्व कायम रहिरहे, लोप्रियता बढे नेपालमा आफ्नो स्वार्थ सिद्द नहुने भयो भारतको । आगमी २० वर्षमा विश्वकै आर्थिक महाशक्ति राष्ट्र बन्ने बाटोमा लागेको चिनलाई आर्थिक र सामरिक रुपमा घेर्ने अमेरिकि योजनापनि तुहिने भयो । उता नेपालका कम्युनिष्टहरु बलिया भए भने भारतका कम्युनिष्टहरुलाईपनि उर्जा हुने भयो । नेपालमा कठपुतली सरकार बनाएर वर्षौं वर्ष लुटिरहने योजना तुहिने भयो । यहि भएर अहिले मुख्य गरि भारत र अमेरिका वामपन्थिहरुलाई दबाउन खोजिरहेका छन् । तर उनीहरुलाई उपयुक्त माध्यमपनि चाहिएको छ । उनीहरुले त्यो माध्यम एमालेलाई बनाउन खोजेका हुन् ।
उनीहरुले एमालेलाई रोज्नुको कारण के हो भने नेपाली कांग्रेसबाट दबाउन खोजे बामपन्थिहरु मिल्ने संभावना रहन्छ । वामपन्थिहरु मिलेभने त्यो गराउन संभव छैन । वाम पन्थिहरुलाई नै प्रयोग गरेमा बामपन्थि शक्ति बिभाजित बन्छ । जति बिभाजित भयो दमनकारिहरुलाई उति सजिलो हुन्छ । एमालेलाई प्रयोग गरेर, उचालेर बिभिन्न कानुन बनाएर दबाउँदा ‘कांग्रेस लगायतका अन्य बामपन्थिहरुलाई ‘वामपन्थिहरुले गरेको हो, हामीले त समर्थन मात्रै गरेका हौं’ भन्दै पानी माथिको ओभानो बन्ने र बामन्थीहरुलाई अलोकप्रिय बनाउन सजिलो हुन्छ । जनताका अगाडि ‘ल हेर बामपन्थिहरु आफु आफुमै यसरि लड्छन्’ भन्दै देखाएर आफु रमिते बन्न पाइयो ।
अहिलेको घटनाले देखाएको छ कि सरकार बिदेशी दबाब, सैन्य बल र प्रतिक्रियावादीहरुको षदयन्त्रबाट बन्न लागिरहेको छ । त्यहि बिदेशी दबाब र सैनिक प्रभाव र समर्थनमै अहिले एमालेको सरकार बन्न लागेको हो । सत्तामा पुर्याएबापत ति बिदेशी शक्ति र नेपाली सेनाले अवस्यै एमालेबाट फाईदा लिन्छ । बिदेशीकै आशिर्वादमा बन्ने एमाले सरकारले तिनका स्वार्थ बाहिर गएर कुनै काम गर्न सक्नेपनि छैन । पाउँदैनपनि । राष्ट्रपतीलाई उभ्याएर जन निर्वाचित सरकारको निर्णयलाई धोती लगाउन र नेपाली सेनाको सैन्य आडलिएर सरकार हल्लाउनेहरुले अब एमालेलाई ढाल बनाएर बामपन्थि दबाउनेछन् । उनीहरुको सबैभन्दा पहिलो दमन माओवादीमाथि हुने प्रवल संभावना छ । त्यसको अर्थ एमालेले पहिले आतंककारि तथा बिध्वंशात्मक कानुन ल्याएर जनताका छोराछोरीमाथि दमन गरेझैं अनेक बहानामा एमालेको एमालेको अब माओवादी भुट्ने संभावना देखिन्छ ।




