जनताको आँखामा नेपालको चित्र

  • रामबहादुर गुरुङ / बेल्जियम

ram-bahadur-gurung-belgium-1212

नेपालको स्थिती हेर्दा क्रान्तिकारीहरुले नेकपा माओवादीको दोश्रो राष्टिृय सम्मेलनदेखि त्यसको निचोड चुनवांग वैठकसम्मको निर्णयहरुको गम्भिरतापुर्वक समिक्षा गर्न जरुरी छ । केही त यो पार्टीको एकिकृत जनक्रान्तिमा आइसक्यो । तर विषयलाइ किटेर नै व्याख्या गर्नुपर्ने जरुरी देखिन्छ । त्यो के भने तत्कालिन संम्विधानसभाको नारा जसलाई बंग्याइ टिंग्याइ अन्तमा रणनीतिकनै बनाइयो । अन्तमा सम्पुर्ण माओवादी आन्दोलन यसै नारामा विसर्जित गराइयो ।

अहिले आएर यसै नाराको सार्थकतामा मौलाएको छ, देशी विदेशी प्रतिकृयावादीहरुको चलखेल । हिजोका माओवादीका क्रान्तिकारी एजेन्डाहरु धर्मनिरपेक्ष र जातिय स्वायत्तशासन जो वर्गिय धरातलमा उभिएको थियो, आज तिनै एजेन्डाहरु यो संसदिय राजनीतिक अखाडामा विदेशी शक्तिराष्टृहरुलाइ चलखेल गर्ने माध्यम बनेको छ ।  प्रतिकृयावादीहरुलाइ त्यो नाराको खोल मात्र ओडेर आफुलाइ संसदिय भोट सोहर्ने अथवा सत्तामा वार्गेनिंग गर्ने राम्रो अवशर मिलेको छ ।

राजनीतिक अधिकारबिनाको पहिचानको नारा यतिखेर आदीवासी जनजातिका अगुवा भन्ने प्रतिकृयावादीहरुमा खुव लोकप्रिय भएको छ । त्यस्तै, विहारवाट छिरेका डाँका र तिनैको सुरक्षामा जरा गाडीरहेको तराइको सामन्तका नाइकेहरु अनेक अनेक अवतारमा जनतालाइ भ्रम छर्दै हिँडेका छन् । आफ्नो निकृष्ट स्वार्थमा जनताका छोरा छोरीहरुलाइ वित्थामा सप्तरीमा मराइयो । अहिले कहाँ छ त आन्दोलन ? केका लागि गरियो आन्दोलन ? त्यसको जवाफ मधेशका जनताले राम्रैसँग खोज्न ढिला भइसकेको छ ।

अहिलेको परनिर्भर नेपाल दक्षिण एसियामानै महंगो देशमा पर्छ भन्ने विश्व आर्थिक सुचांकले देखाइराखेको छ । भारत र समुद्रपारको मजदुरीले धानिएको छ अर्थतन्त्र । तिनै मजदुरको रगत पसिनासँग साटिएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिएको छ । अथवा यसो भनौ, धान्न वाध्य परिएको छ । त्यसमा मोज मस्ती सबै दलालहरुले गर्दै आएका छन् । बठा, सक्षम, सम्पन्न नेपालीहरुको धन्दा भनेको विदेशी सामानको आयत र त्यसको विक्री,नोकरसाहहरुसँग साँठगाँठहुनेहरुको ठेक्का पट्टा, राजनीतिक भ्रष्टचार र तस्करी गरी थुपारेका कालो धनवालाहरु देशैभर मौलाएका छन् । घर जग्गा कारोवार गर्ने यस्तै यस्तै दलाली व्यवसाय असाध्यै मौलाएको छ । देशमा कलकारखाना र उद्योग धन्दा भनेको के हो भन्ने अव विद्यार्थीको हाजीरी जवाफमा पनि उत्तर दिन नसकिने भएको छ । विद्युत व्यवस्थापनमा आएको सुधार वाहेक सन्तोष मान्नु पर्ने ठाउँ कतै छैन । जुनसुकै दल सत्तामा आए पनि राष्टृघात गर्नेवाहेक अरु केही भएको छैन ।

अहिले नेपालका संसदिय राजनीतिक दलहरुको उद्धेष्य भनेको जस्तो समिकरण गरेर भएपनि सत्ता हत्याउनु । भ्रष्टचार गर्नु । अब त सानो तिनो भ्रष्टाचार नियन्त्रण गरेको नाटक गरेर एनसेल जस्ता अरवौं खरवौंको भ्रष्टचारलाइ छुट दिएको छ । ठुलठुला राष्टृघाती सन्धि सम्झौता गुपचुपमै सिध्याएका छन् । जनतालाइ यस्ता विषको खबरै छैन । फेरी जनताले सबै यथार्थता वबुझदैनन् पनि । जनताले बुझ्ने विषय भनेको चामल, तेल, ग्याँस,स्कुल फिस र औषधी उपचारनै हुन् । यस विषयमा धेर थोर आवाज उठिरहेकै छ । तर यी विषयलाइ महँगो र पहुँच बाहिर बनाउन ठुला काण्ड के घटिरहेको छ र कसले गरिरहेको छ त्यता पट्टि ध्यान एकदम कम छ । थोरै विषयहरु मिडियाले उठाए पनि ठुलो माछा त उम्किराखेकै अवस्था छ । धेरै मिडियाहरु चम्चागिरीमै छन । आखिर तिनलाइ पनि अहिले बनेको नयाँ सम्भ्रान्त वर्गसँग मिसिनै पर्यो ।

नयां सम्भ्रान्त वर्ग र गिर्दो नेपाली संस्कृती

उत्पादन सम्वन्ध, उत्पादन र उत्पादक शक्ति अनुशारनै समाजको वर्गिकरण हुने हो । र त्यही अनुसरको संस्कार संस्कृती बन्दै जाने त रहेछ । दशवर्षे जनयुद्धलाइ बिर्सजन गराएर माओवादीहरु शान्ति प्रकृयामा आए । र संसदिय धारमा विलय भएको पनि अर्को दशक नाघीसक्यो । यो अवधीमा माथीका तिनवटै विषयमा भारी अन्तर आएको छ । देश अब देश नरहेर त्यो भन्दा तल के हुन्छ त्यसमा झरि सक्यो । किन भने एउटा देश बन्न के के चाहिन्छ भन्ने सबै प्रवुद्ध नेपालीलाइ थाहा भएकै हो । तर अव संस्कार र संस्कृती यस्तो वन्दै छ कि यस्ता विषयले कसैलाइ छुँदैन । मानौं हामीलाइ यसैमा बानी परेको जस्तो भएको छ ।

जनयुद्ध पछिको यो दश वर्षमा जनयुद्धकै उल्लेख्य कार्यकर्ता समर्थक नवधनाड्य वर्गमा फेरिएका छन् भने नयाँहरुले के सिक्ने ? आमरुपमा नैतिकता भन्ने कुन चराको नाम हो भन्ने भइसक्यो । समाज पुरा व्यक्तिवाद तिर धकेलिँदै छ । कसैलाइ कसैको मतलव छैन । नयाँ पुस्ता एकदमै अनुशासनहिन,व्यक्तिवादी र अराजक हुँदै गएको छ । निम्न मध्यम वर्ग र संख्या बढदै गएको मध्यम वर्ग सामाजिकरुपमा उ आफूलाइ भिन्न देखाउन तल्लिन छ । यसै भित्र छन्, नवधनाड्यवर्ग पनि । यो अनुत्पादक समाजको निम्न मध्यम वर्ग र मध्यम वर्गमा वढदै गएको अनावश्यक महत्वकांक्षाले परिवार भित्र अनमेल,निराशा,हतासको वृद्धि हुँदै मानसिक तनावको सिकार हुन पुगेको छ । सामाजिक अनुशासन र नैतिकताको ह्रासले समाज व्यक्तिवादी र पैसामुखी हुन पुगेको छ । यो वर्गको आवश्यकता र सुविधाको लागी स्तरिय शिक्षण संस्था र आधुनिक अस्पतालहरुको निर्माण भएर पनि मनौवैज्ञानिकरुपमा यिनीहरु अलौकिक शक्तिको खोजी गर्ने अनि त्यसतैमा विश्वास गर्नेको संख्यामा वृद्धि भएको छ ।

यो धर्मनिरपेक्षताले दिएको उपहार मध्ये इसाइ धर्मको विभिन्न सम्प्रदायहरुले विदेशी शक्तिराष्टृको लगानीमा अनेक अलौकि विषय प्रचार गर्दै यो वर्गका मनौवैज्ञानिक समस्या भएकाहरुलाइ बन्धनमा पार्दैछन भने विपन्न वर्ग र दलितहरु त धेरै पहिलेदेखि यिनीहरुको चंगुलमा परिसकेका छन् । हिजोका हाम्रा संस्कार संस्कृतीहरु बिर्सदै छौं । उपभोग्य वस्तु जस्तै संस्कृती पनि हामीले आयतितनै मनपराउन थालेका छौं ।

आलु, चिउराको सट्टा चाउ चाउ र पाउरोटी हाम्रै मौलिक खान अभएझैं भएको जस्तो छ । अब नेपालमा पश्चिमेली पर्व क्रिसमस,निउयार र भ्यालेन्टाइन पनि हाम्रै भइसकेको छ । भाषा, साहित्यको अवस्था पनि त्यस्तै छ । यथार्थमा हामी कति कमजोर बन्दै गएका छौं, मुल्यांकन गर्न,समिक्षा गर्न र परिवर्तन गर्न ढिला भइसकेको छ ।

भीरमा उभिएको अर्थतन्त्र

व्यारघाटा असिमित, देशमा आफ्नो उत्पादन नास्ती । तर पनि यो देशका जनता मिठो नमिठो रुखा सुखा अहिलेसम्म खाइरहेकै छन् । माथिल्लो वर्गले जहिले पनि मिठो मसिनोनै खाइरहेकै छन् । तर यही स्थिती कहिले सम्म ? विजुली बेच्ने कुरा सुन्दा पनि हांसो उठदो छ । खोला जति बेच्ने अनि कहाँवाट निकाल्ने विजुली ?

अर्को गफ दिने विषय हो, पर्यटन । देशमै अराजक स्थिती भए पछि कसरी फस्टाउँछ पर्यटन ब्यवशाय ? अझ अर्को गफ दिने विषय हो जडिवुटि । त्यो पनि सबै भारतले कव्जा गरि सक्यो । अब नेपालमा चामल खान्छ पतंजलीको अनि मह खान्छ डावरको । आयुर्वैदिक औषधी सवै पतंजली वा डावरको भए पछि कहिलेसम्म चल्छ नेपालको सिंहदर्वार वैद्यखाना ? भएका राम्रा जमिन सबै घडेरी । त्यही खाएर वस्ने हो भोली अर्थोक त केही छैन हामीसंँग । त्यो पनि कोरिया,मध्यपुर्व र मलेसियाको रोजगारीमा कमी आउने वित्तिकै कस्ले किन्ने ? वैंकहरुमा भएको नगद सुन चांदी,मोटर र वंगलामै सकिगो अव वैंक रित्तो । आखिर ति सवै नगद मित्रराष्टृमा जम्मा भए हामी जिल्लाराम । अर्थतन्त्रको यो चक्रमा दलाल, तस्कर,भ्रष्टचारी कर्मचारीतन्त्र र राजनीतिक भ्रष्टचारीहरु बाहेक अरु त सबै रित्तिनैनै हो ।

अब अचल सम्पत्तिमा लगानी नगर्ने रे वैंकले । तर असुली कसरी गर्ने नी ? जसरी जनयुद्ध शुरु हुनु भन्दा अगाडी साना किसान र मध्यम किसानका जग्गा लालपुर्जा सबै वैंकको कव्जामा थियो । फेरी त्यो अवस्था दोहरिन्न भन्न सकिन्न । यो दलाली अर्थतन्त्रमा वैदेशिक रोजगार वन्द हुने वित्तिकै कुन स्थिती पैदा हुन्छ ? के यहाँका विख्यात अर्थविदहरुले भविष्यवाणी गरेका होलान् ? तर उल्टो व्याख्या गरेका छन् । त्यसैले रामशरण महत जस्ता दलाल अर्थविदलाइ पश्चिमाहरुले सुनको तक्मा लगाइ दिएर उस्ले गरेका काला कर्तुतहरु सबैबाट जोगाइ दिए । र एकछिन भए पनि उनलाइ मुतको न्यानो भएको छ ।

लेँड्को लगाउन ढिला भइसक्यो

माथी उल्लेखित सामाजिक तथा राष्टिृय सबैखाले विसंगती र विश्रृखलतालाइ बिस्तारै बिस्तारै अथवा सुधारवादी ढंगले हटाउने स्थिती अब रहेन । राज्यसत्तामा आमुल परिवर्तन नभइ केही हुनेवाला छैन । अबको उपाय भनेको साम्यवादी लेंडको लगाउने नै हो । यसले मात्र सबै भेदभाव,विसंगती र विश्रृखलतालाइ सम्याएर नयाँ आत्मनिर्भर, शक्तिशाली र सार्वभौम नेपाल बन्नेछ । त्यो भनेको अहिलेको नेपाल कम्युनिष्ट पार्टीले गर्ने भनेको एकिकृत जनक्रान्तिनै हो । त्यसैले, नेपालका सबै वुद्धिजिवी,विशेषज्ञ र सबै राजनीतिक धारका क्रान्तिकारीहरु नेपाल कम्युनिष्ट पार्टीको एकिकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द भइ अघि बढनुको विकल्प छैन । आन्दोलन, युद्द, क्रान्ति अझै बाँकी छ । पुरा भएको छैन । कसैले चाहेर नचाहेर क्रान्ति हुने नहुनेपनि होइन । यो समाज विकासको नियम हो र त्यो हुन्छ हुन्छ । सर्वहारावादी अधिनायकत्व जिन्दावाद ।

तपाइँको प्रतिक्रिया